५ मंसिर, नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन शाह भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री शाहको यो भ्रमणका लागि नयाँ दिल्लीमा पनि तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री पुग्नुअघि दिल्लीमा स्वागतका लागि राष्ट्रपति भवन अगाडिको बाटोमा नेपाल र भारतको झण्डा पोलमा राखिएको छ ।
आइतबार दिउँसो सवा ३ बजे उनी नयाँ दिल्ली पुग्नेछन् । लगत्तै सोही दिन उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन् ।
उक्त भेटवार्ता आइतबार साँझ ६ बजे होटल ताजमहलमा हुने विदेश मन्त्रालयले जनाएको छ । त्यसबाहेक आइतबारका लागि प्रधानमन्त्री शाहको अन्य भेटघाट वा कार्यक्रम तय भएको छैन ।

उनले सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत एवं भेटघाट गर्नेछन् । त्यस्तै, सोही दिन उनले राजघाटस्थित समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गर्नेछन् ।
लगत्तै, उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । उक्त भेटवार्ता हैदरावाद हाउसमा हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मध्यान्ह १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति र सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यतालिका तय भएको छ ।
सोही दिन दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति निवासमा हुने उक्त भेटघाटपछि दिउँसो ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया 4