६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धमा नयाँ मोड र सहकार्य विस्तारको अवसरका रूपमा व्याख्या गरेका छन् ।
केही भारतीय सञ्चारमाध्यमले भ्रमणलाई विगतको कूटनीतिक दूरी घटाउने प्रयासका रूपमा हेरेका छन् भने केहीले यसलाई भारतप्रति नेपालको नीतिगत दृष्टिकोणमा आएको बदलावको संकेत मानेका छन् ।
शनिबार प्रकाशित द इकोनोमिक टाइम्सको रिपोर्टले बालेनको भारत भ्रमणलाई ‘भारतप्रति नीतिगत बदलाव’को संकेतका रूपमा व्याख्या गरेको छ । प्रधानमन्त्री बनेपछि सुरुमा विदेश भ्रमण नगर्ने र भारतीय विदेश सचिवसँग भेट नगर्ने निर्णय गरेका शाह अहिले नेपालको पूर्वाधार र आर्थिक विकासका लागि भारतसँग सहकार्य विस्तार गर्न इच्छुक देखिएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टका अनुसार भारत भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले ऊर्जा तथा कनेक्टिभिटीसँग सम्बन्धित परियोजनाको उद्घाटन गर्ने, नयाँ परियोजनाको शिलान्यास गर्ने र संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ। स्टार्टअप, प्रविधि, नवप्रवर्तन तथा खेलकुदजस्ता नयाँ क्षेत्रको सहकार्य पनि छलफलमा समेटिने अपेक्षा गरिएको छ ।
नेपालले भारतसँग थप हवाई मार्ग उपलब्ध गराउन पनि आग्रह गर्ने तयारी गरेको रिपोर्टमा उल्लेख छ । पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोगसम्बन्धी अनुमति नेपालले खोजिरहेको छ ।
नेपालले भारतसँग २ अर्ब अमेरिकी डलरको आर्थिक सहयोग प्याकेज माग गरेको विषय पनि द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । उक्त प्याकेजमा ऊर्जा तथा अन्य पूर्वाधारका लागि ऋण, सिद्धार्थ राजमार्ग स्तरोन्नति र बाढीपछिको पुनर्निर्माणका लागि अनुदान समेटिएको बताइएको छ ।
द इन्डियन एक्सप्रेसले शनिबार प्रकाशित रिपोर्टमा प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डामा व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत, भौतिक तथा डिजिटल कनेक्टिभिटी, प्रविधि तथा नवप्रवर्तन र खेलकुदलगायतका विषय रहेको जनाएको छ ।
अखबारका अनुसार बालेनको भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र भारतको ‘नेबरहुड फर्स्ट’ (छिमक पहिलो) नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई महत्त्व दिएको जनाएको छ ।
टाइम्स अफ इन्डियाले पनि शनिबार प्रकाशित रिपोर्टमा मोदी र बालेनबीच भारत–नेपाल सम्बन्धका समग्र पक्ष तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने जनाएको छ । भ्रमणका क्रममा ऊर्जा परियोजनाको उद्घाटन, द्विपक्षीय सम्झौता र सहयोगका विभिन्न विषयमा छलफल हुने रिपोर्टमा उल्लेख छ ।
सम्बन्धलाई इतिहासभन्दा भविष्यतर्फ लैजानुपर्ने तर्क
भारतीय सञ्चारमाध्यममा समाचारसँगै विचार लेखमा पनि बालेनको भ्रमणलाई सम्बन्ध सुधारको अवसरका रूपमा प्रस्तुत गरिएको छ ।
द प्रिन्टमा शनिबार प्रकाशित एक लेखमा विगतका विवादभन्दा भविष्यको सहकार्यलाई प्राथमिकता दिनुपर्ने तर्क गरिएको छ ।
लेखमा भ्रमणले दुई देशबीच सम्बन्ध सामान्यीकरण गर्ने र विवाद समाधानका लागि संवादलाई सहज बनाउने अवसर प्रदान गर्न सक्ने उल्लेख छ । साथै प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, गोर्खा भर्ती, सीमा विवाद र भारतीय नोटको समस्या जस्ता लामो समयदेखि अल्झिएका विषयलाई संवादबाट अघि बढाउनुपर्ने सुझाव दिइएको छ ।
सो लेखले दुई देशबीच नियमित उच्चस्तरीय संवादलाई संस्थागत गर्दै नयाँ पुस्ताको आवश्यकता अनुरूप डिजिटल कनेक्टिभिटी, प्रविधि, डेटा सहकार्य र शैक्षिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।
साथै एउटा भ्रमणले सबै विवाद समाधान गर्न नसके पनि नियमित संवाद र व्यवहारिक सहकार्यले सम्बन्धमा सुधार ल्याउन सक्ने उल्लेख गरिएको छ ।
सीमा विवाद र अन्य असमझदारी कायमै
इनेडिया टुडेले बालेनको भारत भ्रमणलाई विगतमा देखिएका कूटनीतिक असहजताका बीच सम्बन्ध सुधारको प्रयासका रूपमा प्रस्तुत गरेको छ ।
अखबारले भारत र नेपालबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद रहेको उल्लेख गर्दै गत मे महिनामा बालेनले सीमा विवाद समाधानमा चीन र बेलायतको भूमिका खोजेको विषयपछि भारतले तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको घटनालाई स्मरण गरेको छ ।
दुई देशबीचको सम्बन्धमा सीमा विवादसँगै व्यापार, पारवहन र अन्य विषयमा सहकार्य तथा मतभेद दुवै रहेको रिपोर्टमा उल्लेख छ ।
नेपालको बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण, आर्थिक सहायता, व्यापार, पारवहन, ऊर्जा र कनेक्टिभिटीसम्बन्धी सहकार्य विस्तारका विषय पनि भ्रमणका महत्त्वपूर्ण एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको यो भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले विशेष चासोका साथ हेरेका छन् । विगतको कूटनीतिक असहजता हटाएर आर्थिक तथा विकास साझेदारीलाई व्यवहारिक परिणाममा पुर्याउने अवसरका रूपमा भ्रमणलाई व्याख्या गरिएको छ ।
प्रतिक्रिया 4