+
+
Shares

पाकिस्तानी नेटफ्लिक्स सिरिज ‘जो बचे हैं संग समेट लो’ रिलिज नहुँदै भारतमा किन उठ्यो प्रतिबन्धको माग ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १७:१८

पाकिस्तानको मनोरञ्जन उद्योगका लागि एउटा ठूलो अवसर मानिएको सिरिज अब विश्वव्यापी दर्शकमाझ पुग्ने तयारीमा छ । पाकिस्तानको पहिलो नेटफ्लिक्स ओरिजिनल सिरिजका रूपमा चर्चामा रहेको ‘जो बचे हैं संग समेट लो’ डिसेम्बर ४ मा रिलिज हुँदैछ ।

तर, सिरिज विश्वका १९१ देशमा एकसाथ पुग्ने तयारी भइरहँदा भारतमा भने यसको प्रदर्शन रोक्नुपर्ने माग उठेको छ । सिरिज रिलिज हुनुअघि नै भारतमा सुरु भएको यो विवादले यसको अन्तर्राष्ट्रिय प्रदर्शनलाई समेत चर्चामा ल्याएको छ ।

एमडी फिल्म्सको ब्यानरमा बनेको यो सिरिजको कथा चर्चित पाकिस्तानी उपन्यासकार फरहत इश्तियाकले लेखेकी हुन् । सिरिजको निर्माण तथा निर्देशन मोमिना दुरैदले गरेकी छन् ।

सिरिजमा सुरुवातमा पाँच एपिसोड हुने बताइएको छ भने कुल १३ एपिसोडसम्म पुग्ने सम्भावना छ । कथा तीन पुस्ता र उनीहरूका जीवनमा जोडिएका छ वटा प्रेमकथाको वरिपरि घुम्छ ।

फरहत इश्तियाकले सन् २०१३ मा यही नाममा उपन्यास लेखेकी थिइन् ।

के छ सिरिजको कथा ?

‘जो बचे हैं संग समेट लो’को कथा मुख्य रूपमा सिकन्दर र लिसाको वरिपरि घुम्छ । सिकन्दरको भूमिकामा अहद रजा मिर र लिसाको भूमिकामा इकरा अजीज छन् ।

सिकन्दर हार्वर्डमा कानुन पढिरहेका हुन्छन् । आफ्नो अतीतका कारण मानसिक रूपमा असहज बनेपछि उनी इटालीको रोम पुग्छन् । त्यहीँ उनको भेट लिसासँग हुन्छ ।

लिसा चित्रकार हुन् । उनको जीवन पनि आफ्नै उल्झन र अतीतसँग जोडिएको छ । रोममा यी दुईको भेटसँगै उनीहरूको जीवनले अप्रत्याशित मोड लिन्छ ।

सिरिजको ट्रेलरअनुसार यसको छायांकन रोमसँगै कराँची, स्कार्दु र लन्डनमा पनि गरिएको छ ।

प्रेम, सम्बन्ध र मानवीय सम्बन्ध सिरिजका मुख्य विषय हुन् । फरक पुस्ताका पात्रहरूको जीवनमार्फत यी विषयलाई प्रस्तुत गरिएको छ ।

सिरिजको नाम र यसको मूल अवधारणा चर्चित पाकिस्तानी कवि फैज अहमद फैजको एउटा गजलबाट प्रेरित रहेको बताइएको छ ।

त्यसैले, यसको कथा केवल प्रेमसम्बन्धमा सीमित छैन। जीवनभर सँगालिएका सम्झना, सम्बन्ध र अनुभवलाई पनि कथाको महत्वपूर्ण हिस्साका रूपमा प्रस्तुत गरिएको छ ।

एकै सिरिजमा पाकिस्तानका ठूला कलाकार

‘जो बचे हैं संग समेट लो’को अर्को आकर्षण यसमा देखिने पाकिस्तानी मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको ठूलो समूह हो । अहद रजा मिर र इकरा अजीजसँगै फवाद खान, माहिरा खान, हानिया आमिर, हमजा अली अब्बासी, सनम सइद, माया अली, अमिना शेख, खुशाल खान, अहमद अली अकबर र बिलाल अशरफलगायत कलाकार सिरिजमा छन् ।

निर्देशक मोमिना दुरैदका छोरा शाहजैन दुरैदले पनि यही सिरिजबाट अभिनयमा डेब्यु गर्दैछन् । पाकिस्तानी दर्शकका लागि भने फवाद खान र माहिरा खानको जोडी विशेष आकर्षण बनेको छ ।

यी दुई यसअघि चर्चित पाकिस्तानी ड्रामा ‘हमसफर’मा सँगै देखिएका थिए । भारतमा समेत उनीहरू परिचित अनुहार हुन् ।

अभिनेत्री अमिना शेखले यो प्रोजेक्टमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनका अनुसार एउटै प्रोजेक्टमा यति धेरै कलाकार एकसाथ आउनु पाकिस्तानी मनोरञ्जन उद्योगका लागि पनि विशेष अवसर हो ।

आठ वर्षको तयारी, २०० दिन छायांकन

यो सिरिज निर्माणको यात्रा पनि छोटो थिएन ।

निर्देशक मोमिना दुरैदका अनुसार परियोजनामा काम गर्न करिब आठ वर्ष लागेको थियो । यसको छायांकन मात्रै २०० दिनसम्म चलेको थियो ।

निर्माता तथा कलाकारहरूका लागि यो सिरिज केवल अर्को एउटा प्रोजेक्ट होइन, पाकिस्तानी सामग्रीलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने एउटा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

अभिनेत्री अमिना शेखले नेटफ्लिक्समार्फत पाकिस्तानका लागि अन्तर्राष्ट्रिय बजारको ढोका खुल्ने अपेक्षा व्यक्त गरेकी छन् ।

लेखिका फरहत इश्तियाक पनि यो सिरिज विश्वभर पुग्न लागेकोमा उत्साहितसँगै केही डरसमेत रहेको बताउँछिन् । उनका लागि यो व्यक्तिगत उपलब्धिभन्दा पनि पाकिस्तानी कथा र संस्कृतिलाई विश्वका दर्शकमाझ पुर्‍याउने अवसर हो।

संगीतदेखि ट्रेलरसम्म चर्चामा

सिरिजको संगीत तथा ब्याकग्राउन्ड स्कोर चर्चित संगीतकार रोहैल हयातले तयार पारेका छन् ।

उनी ८० र ९० को दशकमा ‘भाइटल साइन्स’ ब्यान्डका सदस्य थिए । पछि ‘कोक स्टुडियो’को सुरुवाती र लोकप्रिय चरणमा पनि उनको महत्वपूर्ण योगदान रह्यो ।

परम्परागत र आधुनिक पाकिस्तानी संगीतलाई मिसाएर प्रस्तुत गर्ने शैलीका कारण रोहैल हयातको संलग्नतालाई सिरिजका लागि महत्वपूर्ण मानिएको छ ।

सिरिजको ट्रेलर र संगीत सार्वजनिक भएपछि कलाकारहरूले समेत सामाजिक सञ्जालमार्फत यसलाई प्रचार गरेका छन्। यससँगै दर्शकमाझ सिरिजप्रतिको चासो पनि बढेको देखिन्छ ।

अभिनेत्री माहिरा खानले आफ्नो पात्र राहतबारे सामाजिक सञ्जालमा लेख्दै यो पात्र आफ्नो जीवनको एउटा हिस्सा बनेर रहने संकेत गरेकी छन्।

भारतमा कस्तो प्रतिक्रिया ?

पाकिस्तानी ड्रामा दक्षिण एसियाका दर्शकमाझ लामो समयदेखि लोकप्रिय छन् । युट्युब र सामाजिक सञ्जालले यसको पहुँच झन् फराकिलो बनाएको छ ।

भारतसहित विभिन्न देशमा पाकिस्तानी ड्रामाका संवाद, पात्र र दृश्यमा आधारित सामग्री सामाजिक सञ्जालमा भाइरल हुँदै आएका छन् ।

तर, यसको लोकप्रियता मुख्यतः पाकिस्तानी भाषा, संस्कृति वा कलाकारसँग पहिल्यै परिचित दर्शकमाझ बढी केन्द्रित रहेको विश्लेषण पनि छ।

नेटफ्लिक्सजस्तो विश्वव्यापी प्लेटफर्ममा प्रवेश पाएपछि भने पाकिस्तानी सिरिज नयाँ दर्शकसम्म पुग्ने सम्भावना बढेको छ।

भियना युनिभर्सिटी अफ म्युजिक एन्ड परफर्मिङ आट्र्सका स्क्रिनप्ले राइटिङका प्राध्यापक डा. उमैर अहमद खानले भारतमा नेटफ्लिक्सको अनुभवलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

उनका अनुसार नेटफ्लिक्सले भारतीय दर्शकका लागि स्थानीय कथा र सांस्कृतिक विषयलाई विश्वस्तरीय निर्माण शैलीसँग जोडेर प्रस्तुत गरेको थियो । यसले स्थानीय सामग्रीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सहयोग गरेको उनको भनाइ छ।

तर ‘जो बचे हैं संग समेट लो’मा भने धेरै चर्चित कलाकारलाई एकै ठाउँमा राखिएको विषयमा उनले प्रश्न उठाएका छन् ।

उनका अनुसार दुई-तीन ठूला कलाकारसँगै नयाँ तथा कम परिचित कलाकारलाई महत्वपूर्ण भूमिकामा अवसर दिएको भए पाकिस्तानी मनोरञ्जन उद्योगको वास्तविक क्षमता अझ फराकिलो रूपमा देखाउन सकिन्थ्यो।

उनले ट्रेलरको निर्माण, छायांकन र लोकेसनको प्रशंसा गरे पनि संवाद र अभिनय केही ठाउँमा स्वाभाविक नदेखिएको टिप्पणी गरेका छन् ।

यसले एउटा प्रश्न पनि जन्माएको छ, विश्वव्यापी दर्शकका लागि बनाइँदै गर्दा पाकिस्तानी ड्रामा उद्योगले ठूलो बजेट, आकर्षक लोकेसन र चर्चित कलाकारमा मात्रै भर पर्नु पर्याप्त हुन्छ त?

डा. खानका अनुसार भारतको अनुभवबाट सिक्नुपर्ने कुरा यही हो, विश्वस्तरीय निर्माणसँगै स्थानीय कथाको मौलिकता पनि जोगाइराख्न आवश्यक छ।

भारतमा प्रतिबन्धको माग

सिरिज रिलिज हुनुअघि नै भारतमा भने यसलाई लिएर विवाद सुरु भएको छ।

भारतमा फिल्म उद्योगसँग सम्बन्धित श्रमिक, प्राविधिक तथा कलाकारको अधिकारका लागि काम गर्ने संस्था अल इन्डियन सिने वर्कर्स एसोसिएसन (एआईसीडब्ल्यूए)ले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउँदै ‘जो बचे हैं संग समेट लो’ भारतमा रिलिज हुन नदिन माग गरेको छ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार उक्त पत्रको प्रतिलिपि नेटफ्लिक्स इन्डिया र भारतीय सूचना तथा प्रसारण मन्त्रालयलाई समेत पठाइएको छ।

संस्थाले पाकिस्तानी फिल्म, ड्रामा र सिरिजमाथि स्थायी प्रतिबन्ध लगाउन कानुन बनाउनसमेत माग गरेको छ ।

पत्रमा पुलवामा, पहलगाम र सन् २००८ को मुम्बई हमलालगायत घटनाको उल्लेख गर्दै पाकिस्तानमाथि भारतमा आतंकवादलाई प्रोत्साहन गरेको आरोप लगाइएको छ।

भारतमा पाकिस्तानी फिल्म, ड्रामा तथा वेब सिरिजमाथि प्रतिबन्धको माग पहलगाम आतंकवादी हमलापछि भारतले लिएको नीतिसँग जोडिएको छएआईसीडब्लुए ले यही पृष्ठभूमिमा ‘जो बचे हैं संग समेट लो’लाई पनि भारतमा रिलिज हुन नदिन माग गरेको हो।

यसै आधारमा ‘जो बचे हैं संग समेट लो’को भारतमा प्रदर्शन रोक्न माग गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?