१० कात्तिक, गोरखा । प्रदेश अस्पताल गोरखामा सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा आएको छ । बिहीबारबाट कक्ष सञ्चालनमा ल्याइएको हो ।
अस्पतालले यसअघि सर्जिकल आईसीयू सेवा दिँदै आएको थियो । अहिले मेडिसिन आईसीयू (एमआईसीयू) सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शम्भु अधिकारीले बताए । ‘२०७९ साल चैत्र २४ गतेबाट सर्जिकल आईसीयू सेवा दिदै आएका थियौं,’ उनले भने, ‘आजबाट फुल फेजमा मेडिसिन आईसीयू सञ्चालन गरेका हौं ।’
उनका अनुसार हाललाई पाँच वटा वेड सञ्चालनमा छन् । आठ जना नर्सिङ स्टाफसहित अन्य चिकित्सक खटिएका छन् । रिफर गर्नुपर्ने जटिल प्रकृतिका बिरामीहरूको उपचार अव अस्पतालमै गर्न सकिने अधिकारीले जानकारी दिए ।
‘आईसीयू आवश्यक पर्ने जटिल प्रकृतिका बिरामीहरूलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता थियो, अब त्यो हट्छ,’ उनले भने । जटिल प्रकृतिका बिरामीको जीवनरक्षाका लागि आईसीयू महत्वपूर्ण हुने अपेक्षा गरिएको उनी बताउँछन् ।
प्रतिक्रिया 4