करोडौंको लगानी, नयाँ उद्यमीका फरक–फरक व्यावसायिक आइडिया र शार्कहरूसँगको रोचक मोलमोलाइ । ‘शार्क ट्याङ्क नेपाल’को दोस्रो सिजनको अफिसियल प्रोमो सार्वजनिक भएको छ ।
प्रोमो सार्वजनिक भएसँगै यसपटक साढे सात करोड रुपैयाँसम्मको लगानी कसले र कुन व्यवसायमा पाउँदैछ भन्ने कौतूहल बढाएको छ ।
केही घण्टाअघि सार्वजनिक प्रोमोमा पहिलो सिजनमा शार्कहरूले गरेका लगानी सम्झौता र त्यसमा जोडिएका उद्यमीका डिलका झलकहरु समेटिएका छन् ।
त्यस्तै, बिहीबार सार्वजनिक ‘बियोन्ड द ट्यांक’मा शार्कहरूले पहिलो सिजनको अनुभव सुनाएका छन् । पहिलोपटक नेपाली उद्यमीका व्यावसायिक योजना सुन्दा र उनीहरूका व्यवसायमा लगानी गर्दा कस्तो अनुभव भयो, के सिकाइ भयो र दोस्रो सिजनबाट उनीहरूको अपेक्षा के छ भन्ने विषयमा उनीहरूले आफ्ना धारणा साझा गरेका छन् ।
पहिलो सिजनको अनुभवले आफूहरूलाई नेपाली उद्यमशीलताको सम्भावना नजिकबाट बुझ्ने अवसर दिएको उनीहरूको भनाइ छ ।
विभिन्न क्षेत्रका उद्यमीले सीमित स्रोतसाधनबीच व्यवसाय सुरु गरेर त्यसलाई विस्तार गर्न खोजेको देख्दा आफूहरू प्रभावित भएको उनीहरूले बताएका छन् । केही व्यवसायमा लगानीको सम्भावना देखिए पनि सबै व्यवसायमा लगानी गर्न नसकिने र त्यसका लागि व्यवसायको आधार, बजार, वित्तीय अवस्था तथा भविष्यको सम्भावनालाई हेर्नुपर्ने अनुभव उनीहरूले सिजन १ बाट लिएका छन् ।
पहिलो सिजनमा भेटिएका उद्यमी र उनीहरूका व्यवसायले आफूहरूलाई धेरै कुरा सिकाएको शार्कहरूको अनुभव छ ।
कतिपय व्यवसायमा उत्पादन राम्रो भए पनि बजार विस्तारको योजना कमजोर देखिएको थियो भने केही उद्यमीले राम्रो व्यावसायिक सम्भावना प्रस्तुत गरेका थिए । यही अनुभवका आधारमा दोस्रो सिजनमा उद्यमीहरूको प्रस्तुति र व्यवसायिक तयारी अझ परिपक्व हुने अपेक्षा गरिएको छ । शार्कहरुले कार्यक्रमले गर्दा नै नेपालमा युवामा जोश, सृजनशीलत़ा र ब्यापारलाई अघि बढाउने हुटहुटी रहेको देख्न पाएको र दोस्रो सिजनको लागि उत्साहित रहेको सुनाए ।
अब दोस्रो सिजनमा शार्कहरूको अनुभवसँगै उद्यमीहरूको तयारी पनि परीक्षण हुनेछ । आयोजकका अनुसार यस सिजनमा करिब ६० देखि ७० जना उद्यमीले आफ्ना व्यावसायिक योजना शार्कहरूसामु प्रस्तुत गरेका छन् ।
ती विभिन्न स्टार्टअप तथा उद्यममा शार्कहरूले कुल करिब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् ।
पाँचै शार्क दोहोरिए
‘शार्क ट्याङ्क नेपाल’को दोस्रो सिजनमा पहिलो सिजनकै पाँच जना शार्क दोहोरिएका छन् । आइएमई ग्रुपका सह-संस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र वैद्य अर्गनाइजेसनकी निर्देशक रितुसिंह वैद्य दोस्रो सिजनमा पनि लगानीकर्ताका रूपमा रहनेछन् ।
पहिलो सिजनमा उद्यमीहरूको व्यवसाय, लगानीको जोखिम र बजार सम्भावनालाई नजिकबाट बुझेका यी शार्कले दोस्रो सिजनमा अझ कडा प्रश्न र व्यावसायिक मूल्यांकन गर्ने देखिन्छ । नयाँ सिजनको प्रोमोमा पनि उद्यमी र शार्कबीचको यही संवाद र मोलमोलाइलाई प्राथमिकताका साथ देखाइएको छ ।
आयोजकका अनुसार सिजन १ को तुलनामा यसपटक प्रस्तुत भएका व्यवसायको आकार र गुणस्तर ६० देखि ६५ प्रतिशतले वृद्धि भएको छ । विशेषगरी प्रविधि, फुड एन्ड बेभरेज तथा कृषि-उद्यमका क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको बताइएको छ ।
कहिलेदेखि हेर्न पाइन्छ ?
नयाँ उद्यमीका नवीन आइडिया र करोडौंको लगानीसहित ‘शार्क ट्याङ्क नेपाल’ दोस्रो सिजनमा फर्किएको ‘शार्क ट्याङ्क नेपाल’को दोस्रो सिजन १६ मंसिरदेखि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजन एचडीमार्फत निर्माण तथा प्रसारण हुँदै आएको कार्यक्रम हरेक हप्ताको बुधबार र बिहीबार राति ८ बजे प्रसारण हुनेछ ।
ग्लोबल आइएमई बैंक मुख्य प्रायोजक रहेको दोस्रो सिजनलाई एक्सट्रिम इनर्जी ड्रिंक, प्रोटोन इ.मास र फोनपेको फोनबिजले ‘पावर्ड बाई’ गरेका छन् । द एभरेस्ट होटल काठमाडौं हस्पिटालिटी पार्टनरका रूपमा जोडिएको छ भने बर्जर पेन्ट्स, जुवारा र एसियन ब्याट्रीज को-स्पोन्सर छन् ।
पहिलो सिजनमा ८० भन्दा बढी उद्यमीले पिच गरे
यसअघि २ जुलाई २०२५ देखि सुरु भएको पहिलो सिजनमा २० एपिसोडमार्फत ८० भन्दा बढी उद्यमीले आफ्ना व्यवसायको पिच गरेका थिए । पहिलो सिजनमा करिब ३५ देखि ४० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको थियो ।
जैविक सेनिटरी प्याड ‘साथी’, ‘मेरो कोडिङ’, फर्निचर ब्रान्ड ‘आर्ट माया’, ‘भोला फुड्स’, ‘सन्ध्या पोते हाउस’ र एजुकेसन टेक ‘भेडा’ लगायतका स्टार्टअपले पहिलो सिजनमा शार्कबाट लगानी जुटाउन सफल भएका थिए ।
‘शार्क ट्याङ्क’को मुख्य आकर्षण भनेकै उद्यमीले आफ्नो व्यवसायको मूल्य, लगानीको आवश्यकता र भविष्यको योजना शार्कसामु राख्नु हो । शार्कहरूले त्यसको वित्तीय अवस्था, बजार, सम्भाव्यता र जोखिम मूल्यांकन गर्दै इक्विटी वा ऋणका सर्तमा लगानीको प्रस्ताव गर्छन् ।
प्रतिक्रिया 4