७ असोज, काठमाण्डौ । कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले एमाओवादी अध्यक्ष प्रचण्डको ठाडो आदेशमा आफु राजीनामा दिएर फिर्ता नआउने बताउनुभएको छ । ‘म अहिले एमाओवादी कार्यकर्ता हैन, मुलुककै प्रतिनिधि हुँ’ शर्माले अनलाइनखबरसँग टेलिफोनमा भन्नुभयो-‘उहाँको ठाडो आदेश मानेर राजीनामा दिएर फिर्ता आउन मेरो गरिमाले दिन्न ।’ आफु संसदीय सुनुवाईको प्रकृया पार गरी राष्ट्रपतिबाट नियुक्त भएकाले प्रचण्डप्रति जवाफदेही हुन नसक्ने उहाँको भनाई थियो ।
‘औपचारिक प्रकृयाबाट गरिने सवै कारवाही फेस गर्न तयार छु, मैले कुटनीतिक मर्यादा बिपरित काम गरेकी छु भने महाअभियोग लगाएर मलाई बर्खास्त गरियोस्’ शर्माले भन्नुभयो-‘षडयन्त्रपूर्वक मलाई हटाउन खोजिएको छ, त्यसको डटेर सामना गर्छु ।’ गैरकुटनीतिक आचरण देखाएको भन्दै आलोचना खेपीरहेकी शर्मालाई हालै एमाओवादी अध्यक्ष प्रचण्डले टेलिफोन गरी राजीनामा गरेर फिर्ता आउन सुझाव दिनुभएको थियो । ‘उहाँलाई पनि दलालहरुले प्रभावमा पारेछन’ शर्माले भन्नुभयो-‘मैले सुधारको काम गरेको देखेर आत्तिएका दलालहरुले यहाँदेखि केन्द्रसम्मै प्रभाव पारेका छन, त्यसमा एमाओवादी अध्यक्ष प्रचण्ड पनि पर्नुभयो ।’
आफुलाई ‘राजनीतिभित्रको राजनीति’को सिकार बनाइएको भन्दै शर्माले त्यो राजनीति बुझ्न र शक्तिकेन्द्रहरुलाई खुसी पार्न नसक्नु आफ्नो कमजोरी रहेको बताउनुभयो । ‘हो मैले दलालहरुसँग मिलेर पैसा कमाउन र शक्ति केन्द्रहरुलाई ‘पत्रम् पुष्पम्’ गर्न सकिन’ शर्माले भन्नुभयो-‘मेरो कमजोरी यत्ति हो, त्योबाहेक मैले केही गल्ती गरेकी छैन् ।’ कतारले आफुलाई फिर्ता बोलाउन पत्र लेखेको कुरा पनि झुट भएको शर्माको दावी छ । ‘अहिले पनि म यहाँका मन्त्रीहरुसँग अपोइन्टमेन्ट लिएर भेटिरहेकी छु, उहाँहरुले त्यस्तो केही भन्नुभएको छैन’ शर्माले दावी गर्नुभयो-‘कतारले पत्र लेख्यो भन्ने सवै झुट हो, त्यस्तो पत्र लेखेको छ भने सार्वजनिक गरे हुन्छ ।’
आफु परराष्ट्र नेतृत्वबाट पनि पिडीत भएको भन्दै शर्माले हुँदै नभएको कुरालाई मिडियामा सार्वजनिक गर्ने काम गरिएको बताउनुभयो । ‘मसँग नियमित तरिकाले भएका कुराकानीलाई उहाँहरुले मायाकुमारीसँग मौखिक स्पष्टीकरण सोधियो भनेर प्रजारबाजी गरिदिनुभयो ।’ शर्माले भन्नुभयो-‘फेरी अहिले कतारले पत्र लेखेरै फिर्ता बोलाउन भन्यो भनेर प्रचारबाजी गरियो, यो सवै झुट हो ।’