
काठमाडौं । फिल्म ‘पोइ पर्यो काले’को दोस्रो श्रृंखला निर्माण हुँदैछ । अनलाइनखबरले दुई महिनाअघि नै फिल्मको सिक्वेल ‘पोइ पर्यो बूढो’ निर्माण हुन लागेको र दीपेन्द्र लामाले निर्देशन गर्न लागेको खबर प्रकाशित गरेको थियो ।
अब भने यो फिल्मलाई लिएर नयाँ खबर छ । फिल्मको निर्माताको रुपमा राजीव गुरुङ अर्थात् दीपक मनाङेको प्रवेश भएको छ । प्रस्तुतकर्ता किरण नेपालीले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले निर्माताको रुपमा सहकार्य गर्ने तय भएको बुधबार जानकारी दिए ।
‘निर्माताको रुपमा उहाँसँग हामी सहकार्य गर्दैछौं,’ नेपालीले भने, ‘हाम्रो सहकार्य यसमा पनि निरन्तर हुन्छ ।’ नेपाली र मनाङेले अहिले हलमा चलिरहेको फिल्म ‘दुई नम्बरी’मा पनि सहकार्य गरेका छन् ।
‘दुई नम्बरी’को क्रेडिट लाइनबाटै ‘पोइ पर्यो बुढो’को औपचारिक घोषणा समेत भएको छ । तर चलचित्र विकास बोर्र्डमा भने निर्माताले यो शीर्षक एक वर्षदेखि ‘होल्ड’ गरिरहेका थिए । निर्माता नेपालीका अनुसार चुनाव लगत्तै फिल्म छायांकनमा जाने तयारी भइरहेको छ । तर कलाकार अहिलेसम्म तय भइसकेका छैनन् ।
बुधबार नै निर्माता मनाङे नयाँ खबरको कारण समाचार शीर्षक बनिरहेका छन् । उनी गण्डकी प्रदेशको प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4