
१० चैत, काठमाडौं । अर्थ मन्त्रालयले समन्वय नगरी बजेट रोक्का गरिदिँदा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले पाउने पूर्वघोषित नगद पुरस्कार प्रदान गर्न ढिलाइ भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ ।
गएको असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई २५ हजार र सामुहिक खेलका स्वर्ण विजेतालाई जनही १५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय राखेप बोर्डले गरेको थियो ।
नवौं राष्ट्रिय खेलकुदमा ३९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । व्यक्तिगत खेलका ३०४ र सामूहिक खेलका ५३६ जना खेलाडीका लागि १ करोड ५६ लाख ४० हजार रुपैयाँ आवश्यक पर्छ । तर, अर्थ मन्त्रालयले जानकारी नै नदिई राखेपको खाता रोक्का गरिदिएकाले खेलाडीलाई प्रदान गर्ने पुरस्कार रकममा केहि ढिलाई हुन गएको सदस्यसचिव टंकलाल घिसिङले स्वीकार गरे ।
राखेपको खाता रोक्का भएका कारण खेलाडीको पुरस्कारमात्र होइन ओलम्पियन तथा एसियाली खेलकुदका पदकधारी र दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडीले पाउँदै आएको मासिक भत्तासमेत दुई महिनादेखि रोकिएको छ । सरकारले ओलम्पियनलाई मासिक ४ हजार र एसियाड पदकधारी तथा साग स्वर्णधारीलाई मासिक ६ हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।
बुधबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, ओलम्पियन संघलगायतले सदस्यसचिवलाई भेटेर राष्ट्रिय खेलकुदका स्वर्णधारीले पाउनुपर्ने पुरस्कार र अन्तर्राष्ट्रिय पदकधारीले पाउनुपर्ने भत्तामा विलम्ब भएकोबारे ध्यानाकर्षण गराएका थिए ।
‘अर्थ मन्त्रालयले खाता रोक्का गरेको हामीले पछिमात्र थाहा पायौं । अहिले खेलुकद मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरुसँग पटक पटकको छलफलपछि उनीहरु फुकुवा गर्न सहमत भएका छन् । तर, काम भइसकेको छैन’ राखेप सदस्यसचिव घिसिङले पुरस्कार विजेता खेलाडीलाई केही दिन धैर्य गर्न अनुरोध गरे ।
स्वर्ण विजेताको छिनोफानो भएसँगै राखेपले पुरस्कार रकम सबै खेलाडीको बैंक खातामा हालिदिने निर्णय गरेको थियो । खेलाडीसँग बैंक खाताको विवरण संकलन गर्ने तथा खाता नभएकालाई खोल्न लगाउने प्रक्रियाले नै हप्तौं लागेको सदस्यसचिव घिसिङले सुनाए ।
८४० जना खेलाडीको खाता रहेको १६ वटा बैंकमा प्रमाणीकरणका लागि पठाउँदा बैंकहरुले पनि ढिलासुस्ती गरिदिएको गुनासो उनको छ । राखेपले माघ २० गते कृषि विकास बैंकमा खाता भएका ३८ र राष्ट्रिय बाणिज्य बैंकमा खाता भएका १४५ जना स्वर्ण विजेता खेलाडीका लागि ३६ लाख २० हजार रुपैयाँ निकासा गरिदिन कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनुरोध गरेको थियो ।
‘त्यही दिन राखेपको खाता रोक्का भएको हामीले थाहा पायौं,’ सदस्यसचिव घिसिङ भन्छन्, ‘हाम्रो नियत खेलाडीको पुरस्कार अड्काउने थिएन । लम्बेतान प्रक्रियामा जाँदा केही ढिलाइ भएको हो ।’
सदस्यसचिव घिसिङले विगतका वर्षहरुमा खेलाडीको पुरस्कार रकममा घोटाला भएको गुनासो आएपछि यस वर्षदेखि सिधै खेलाडीको बैंक खातामा हालिदिने निर्णय गरिएको बताए ।
नवौं राष्ट्रिय खेलकुदमा सहभागी ६ हजार १२७ खेलाडीमध्ये व्यक्तिगत र सामुहिक खेलबाट स्वर्ण जितेका ८४० जनाले नगद पुरस्कार पाउन लागेका हुन् ।
राखेपले राष्ट्रय कीर्तिमान कायम गर्नेलाई पनि ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो । पौडीमा पोखरीको दूरी विवादका कारण राष्ट्रिय कीर्तिमानको पुरस्कारलाई अहिले थाती राखिएको छ ।
प्रतिक्रिया 4