
१५ फागुन, गोरखा । ‘सहिदको बलिदानबाट प्राप्त भएको व्यवस्था जोखिममा छ । सडकमा त्यसको विरुद्धमा मुर्दावादको नारा लागिरहेको छ । सिंहदरबारमा फोहोरको डंगुर भएको छ । त्यो डंगुर निर्माण गर्नमा हामीले काँध थापेर माथि पठाएको नेताहरुको पनि मनग्य योगदान छ’, लेखक खगेन्द्र संग्रौलाले भने, ‘त्यो फोहोर सफा गर्न समाजमा एउटा ठुलै अभियान आवश्यक छ । यो व्यवस्थालाई संस्थागत गर्न अभियान संचालन गर्नु जरुरी छ ।’
जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको २९ औ स्मृति दिवसको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित प्रगतिशील साहित्यिक गोष्ठीमा लेखक संग्रौलाले अहिलेको राजनीतिक परिवेशलाई यसरी साहित्यिक व्यंग्य गरेका हुन् ।
बुधबार भएको कार्यक्रममा संग्रौलाले गणतन्त्रविरुद्ध सडकमा गर्जन उत्पन्न हुन थालेको समेत उनले सुनाए । उनले भने, ‘पञ्चायतकालमा कल्पना या मनमा राजाको बारे कुनै टिप्पणी गर्दा पुलिसले समातेर मार्ला कि भनेर डर लाग्थ्यो, अहिले त्यही पञ्चायतका अवशेषहरु सडकमा निस्केर गणतन्त्र मुर्दावाद, संघीयता मुर्दावाद भनिरहेको छ, धर्म निरपेक्षता मुर्दावाद भनिरेको छ ।’
जनयुद्धकालमा देशका विभिन्न ठाउँमा सहिदद्वार र शहिद स्मारक बनेपनि त्यसको संरक्षण हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘जनयुद्ध कालमा देशका विभिन्न भागमा ठाउँठाउँमा शहिदद्वार र सहिद स्मारक खडा गरिएका हुन्थे,’ उनले भने, ‘राजनीति गाउँबाट काठमाडौं पस्यो, नेता काठमाडौंबाट सिंहदरबार पसे, तर गाउँगाउँमा देखिएका सहिद स्मारक र सहिदद्वारको संरक्षण भएनन् ।’
गोष्ठीमा सहभागी लेखक सोमत घिमिरेले जनयुद्धबाट नेपाली राजनीतिको धार परिवर्तन गरेको बताए । गोष्ठीमा माओवादी नेता लेखनाथ न्यौपानेद्वारा प्रस्तुत जनयुद्ध, बलिदान र समाज रुपान्तरण विषयक कार्यपत्रमाथि टिप्पणी गर्दै उनले सिंहदरबारमा पोको पारेर राखिएको राजनीतिक परिवर्तनलाई सुलिकोटसम्म ल्याइदिने काम जनयुद्धले गरेको धारणा व्यक्त गरे ।
‘जनयुद्धअघि महेन्द्रका चश्माबाट मधेस अर्कै थियो, त्यसलाई जनयुद्धले भत्कायो,’ उनले भने, ‘जनयुद्धले पहिचानको मुद्दालाई स्थापित गर्यो, सांस्कृतिक विविधतालाई पहिलो पटक स्वीकार गर्यो ।’ जनतालाई सार्वभौमसत्ता र मालिक बनाउने लडाइँ अझै बाँकी रहेको उनले सुनाए ।
अर्का लेखक युग पाठकले क्रमभंग र छलाङको सिद्धान्त स्मरण गराए । ‘क्रमभंगपछि पक्का पनि विपत्ति आउँछ, विपत्तिसँग लडेपछि अनि बल्ल छलाङ हुन्छ,’ जनयुद्धको प्रसँगलाई जोडेर उनले भने ।
लेखक रामकुमार भण्डारीले जनयुद्धका सहिद र वेपत्ता परिवारको अहिलेको अवस्थाबारे चिन्तन गर्नुपर्ने अभिव्यक्ति राखे । सहिद र वेपत्ताका मुद्दाहरुलाई स्थापित गर्न नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरे । पटक पटक माओवादीकै नेतृत्वमा सरकार बन्दा पनि सहिद र बेपत्ताका मुद्दाहरुलाई स्थापित गर्न नसकिएको उनले बताए ।
बारपाक सुलिकोट गाउँपालिकाको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा २९ जना सहिद परिवारलाई सम्मान समेत गरिएको छ । जनही १० हजार नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए ।
कार्यक्रमकै अवसरमा बलिदानी जगमा आजको परिवर्तन बिषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता समेत भएको छ । प्रतियोगितामा शैलपुत्री माविका युनिक पनेरु पहिलो, अन्तरज्योती माविकी दिपिका सुनार दोस्रो र माझथर माविकी एन्जिला सुनार तेस्रो भएकी छन् । उनीहरुलाई नगद पुरस्कार दिइएको पालिकाले जनाएको छ । फागुन १४ लाई माओवादीले बलिदानी दिवसको रुपमा पनि मनाउँदै आएको छ ।
प्रतिक्रिया 4