
३१ चैत, काठमाडौं । वर्ष २०८१ नेपालको लागि विभिन्न घटनाहरूको साक्षी बन्यो। यस वर्ष प्राकृतिक प्रकोपले ठूलो क्षति पुर्यायो भने सत्ता अदलबदलले देशलाई तरंगित बनायो।
प्राकृतिक प्रकोपका कारण हजारौं मानिसहरू विस्थापित भए भने राजनीतिक घटनाक्रमले देशको शासन प्रणालीमाथि प्रश्न उठाइरहेको छ । आन्दोलन महिना मानिने चैतमा राजनीतिक प्रदर्शन हिंसात्मक बने । यसैमा मिसियो वातावरणीय प्रदूषण पनि ।
निराशाका बीच खेलकुद र संस्कृतिले केही सकारात्मक क्षणहरूसँग साक्षात्कार पनि गराए, यही वर्ष ।
समग्रमा, प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता र सामाजिक मुद्दाहरूले देशलाई विभिन्न कोणबाट प्रभावित बनायो, गत वर्षहरूमा जस्तै तर नयाँ उचाइमा ।
सहकारी ठगीको खुलासा र कारबाहीदेखि पूर्वराजावादी प्रदर्शनसम्म, न्यायका लागि मौन विरोधदेखि गठबन्धन फेरबदलसम्म । खेलकुदको उत्साह र दुर्घटनाको पीडा सँगसँगै रहे । यी सबै क्षणहरूलाई शब्दहरूले भन्दा बढी व्याख्या गर्नेछन् यी तस्वीहरूले । १४ तस्वीरमा हेर्नुहोस् वर्ष २०८१-
१. विनाशको छायामा बाँचेको सिस्नेरी
सिस्नेरीमा बाढीपहिरोले सडक र छेउछाउका बस्ती बगाएपछि देखिएको दृश्य । वर्षातसँगै आएको बाढीपहिरोले सडक, बस्ती र मानिसका सपना एकसाथ बगायो । सिस्नेरीको यो दृश्यले प्रकृतिको अप्रत्याशित रौद्र रूपलाई चित्रित गर्छ – जहाँ मानिसहरूको दैनिक जीवन क्षणभरमा ध्वस्त त भयो नै, सँगै पारिस्थिति प्रणाली पनि अलगथलग भयो ।
२. सहकारी अर्थात सहकार्य तर …
सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा देखिएको दृश्य । यो दृश्यले सहकारी क्षेत्रमा व्याप्त घोटाला र त्यसमा राजनीतिक दल र नेताहरूको संलग्नताको आशंकालाई बलियो बनाइदियो अनि विकल्प रोजिएका नागरिकको विश्वास कमजोर ।
सहकारी ठगीको आरोपले घेरिएका लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा देखिएको यो दृश्यले नेपाली राजनीतिमा उठेको गम्भीर प्रश्नलाई दर्शाउँछ।
३. बसाइँ सरेको हिमचितुवा
मोरङको उर्लाबारीबाट उद्दार गरी जावलाखेलस्थित चिडियाखानामा राखिएको हिउँ चितुवा । हिमाली भेगमा मात्रै पाइने यो चितुवा बाटो बिराएर तराई झरेको विज्ञहरू बताउँछन् । तर, यो तस्बिरले वन्यजन्तुहरूको बदलिँदो बासस्थान र पर्यावरणमा आएको परिवर्तनको संकेत गर्दछ।
जंगली जीवन संरक्षणको प्रतीक यो हिमचितुवाले मानिसलाई चेतावनी दिएको छ कि प्राकृतिक सन्तुलन बिथोलिए हामी आफ्नो थातथलोबाट विस्थापित हुनेछौं ।
४. काठमाडौंको प्रदूषणको कहर
वायु प्रदूषणले ढाकिएको स्वयम्भूनाथको यो दृश्यले राजधानी काठमाडौं विश्वकै प्रदूषित शहरहरूमध्ये एक बन्नुको भयावह वास्तविकतालाई चित्रण गर्दछ। यो वर्षपछि राजधानी काठमाडौं विश्वकै प्रदुषित शहरमा सूचीकृत भएको थियो ।
धमिलो हावाले स्वयम्भूनाथको पवित्र गुम्बज लुकाएको छ। यो दृश्य राजधानीको प्रदूषण रूपी ‘अदृश्य शत्रु’को ठोस प्रमाण हो। नयाँ वर्षसम्मको प्रदूषणको निरन्तरतालाई भने चैत मसान्त आसपासको वर्षाले क्रमभंग गरिदिएको छ ।
५. पूर्वराजाको शक्ति प्रदर्शन
पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलको प्रवेशद्वारमा समर्थकहरूले स्वागत गरेको दृश्य । समर्थकहरूको जोशिलो स्वागतले देखाउँछ – राजतन्त्रको माग अझै पनि नेपाली राजनीतिको छायामा डुलिरहेको छ।
६. वैश्विक पहिचान बनाइरहेको क्रिकेट
नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक भेटको यो दृश्य टीयू मैदानको हो । नेपाल र वेष्ट इण्डिजबीच टीयू क्रिकेट मैदानमा भएको पहिलो मैत्रीपूर्ण खेलको यो तस्वीर नेपाली क्रिकेटको बढिरहेको वैश्विक पहिचान प्रमाणपत्र हो । खेल मात्र होइन, यो राष्ट्रिय गर्वको प्रदर्शनी हो।
७. निर्मला कुर्मी: न्यायको लागि आँसु र आगो
निर्मला कुर्मीको न्यायका निम्ति माईतीघरमा प्लाष्टिक ओढेर प्रदर्शन गरिरहेका रुबी खानसहित प्रदर्शनकारीहरू । यी महिलाहरू न्यायको मागमा मूर्ति जस्तै छन् तर जीवनशक्तिले भरिपूर्ण । तस्बिरमा पीडितहरू राज्यको उदासिनता र न्यायको ढिलाइप्रति आक्रोश व्यक्त गरिरहेका देखिन्छन् । तिनको दृढताले समाजलाई प्रश्न गरिरहेको छ: ‘हामीले कति पटक यस्तो दृश्य देखिरहनुपर्ने हो?’
८. सँगै बसेका दूरीका नेता
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गर्ने क्रममा देखिएको दृश्य। ओलीले गरेको यो शपथ नेपाली राजनीतिक भविष्यको एउटा नयाँ अध्याय हो, वा पुरानै चक्रअन्तर्गत अर्को एउटा फन्को ? प्रश्न जीवितै छ, जवाफ अनिश्चित नै छ ।
९. कतारी अमिरको भ्रमण: कूटनीतिकको उचाइ
दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलमामा स्वागत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । कतारी अमिरको नेपाल भ्रमणले नेपाल-कतार सम्बन्धको नयाँ माइलस्टोनलाई संकेत गर्छ तर, यो दृश्य नेपाली श्रमिकहरूको योगदानको ऋण पनि सम्झाउँछ।
१०. चैत्र १५: राजतन्त्रको तस्बिर
चैत्र १५ गते पूर्वराजाको समर्थकहरुले प्रदर्शनका क्रममा गरेको आगजनीपछि देखिएको जडिबुटीस्थित सन्चो उत्पादन कम्पनीको भवन । जडिबुटीमा लागेको आगोले राजतन्त्र समर्थकहरूको रोष हिंसात्मक गतिविधिमा बदलिएको देखिन्छ । हिंसात्मक आन्दोलनले पूर्वराजाका समर्थकहरू निकै रक्षात्मक देखिए ।
११. सौर्य एयरलाइन्स दुर्घटना: सुरक्षाको सवाल
काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज । उक्त दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका थिए । यो दुर्घटना नेपालको विमान सुरक्षा प्रणालीमा रहेको गम्भीर कमजोरीको प्रतिबिम्ब पनि हो। सिंगो देशलाई स्तब्ध बनाउने यो तस्वीरले सरकार र नागरिक दुवैलाई सचेत र सतर्क रहन सिकाएको छ ।
१२. झ्याप्ले खोला पहिरो: प्रकृतिको कहर
काठमाडौं र धादिङको सिमानास्थित पृथ्वी राजमार्गको झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएका सवारी साधन । जहाँ पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका थिए । यसले नेपालको भौगोलिक संवेदनशीलता र अभावग्रस्त विपद् प्रबन्धन प्रणालीसँगै प्राकृतिक भयावहतालाई दर्शाउँछ ।
१३. पूर्णिमाको उज्यालो
एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाडौंमा गरिएको स्वागतको दृश्य । श्रेष्ठ नारी सशक्तीकरण र अदम्य साहसको प्रतिक बनेकी छन् । उनको अनुहारको उज्यालो नामको होइन, कामको हो ।
तस्वीरमा पूर्णिमा श्रेष्ठको अद्वितीय आरोहणसँगै पत्रकारिता, साहस र उचाइ एउटै फ्रेममा अटाएको छ।
१४. क्रिकेट क्रेज
१० वर्षपछि टी ट्वान्टी विश्वकमामा पुगेपछि तीनकुनेमा अमेरिका र वेष्ट इण्डिजमा भएको नेपालको खेल हेरेर रमाउँदै समर्थक । तीनकुनेमा भेला भएका समर्थकहरूको उत्साहले नेपाली क्रिकेटको लोकप्रियतालाई दर्शाउँछ।
तस्वीरले भन्छ- नेपालीको राष्ट्रिय एकताको रंग क्रिकेट जर्सीमा छ । र, दर्शकको यो स्तरको समर्थन नेपाली क्रिकेटको दुर्लभ सम्पत्ति हो ।
प्रतिक्रिया 4