अब्राहम लिङ्कनले आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै भनेका थिए, ‘मेरो छोरो जतातिर भिड छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस्। सुनेको कुरालाई राम्रोसँग छुट्याउन सक्ने होस्।’
अर्थात् लिङ्कन चाहन्थे- आफ्नो छोरा भिडतन्त्रबाट टाढा होस्।
‘भिडतन्त्र’सँग यस्तो तागत हुन्छ, जसले आफूभन्दा फरक मत राखेकै कारण कसैलाई ‘बहिष्कार’ गरिदिन सक्छ। आफ्नो मतलाई मात्रै सर्वोपरी ठान्छ। फरक मत राख्नेलाई निमिट्यान्न पार्न चाहन्छ।
सामान्य अर्थमा- उत्तेजना, आक्रोश र बदलाभावले प्रेरित जमातबाट निर्णय गराउन खोज्नु भिडतन्त्र (मोबोक्रेसी) हो। भिडका अगाडि तथ्य, तर्क र विवेकको कुनै स्थान हुँदैन। त्यो भन्दा पनि डरलाग्दो पक्ष- भिडले प्रश्नलाई निषेध गर्छ, विचार र स्वतन्त्रताको हत्या गर्छ।
पछिल्लो केही दिनयता त्यही भिडतन्त्रको सिकार भए, निर्देशक तथा अभिनेता प्रकाश सपुत। भिडतन्त्रद्वारा प्रकाश यसरी न्याँकिए कि, सामाजिक सञ्जालमा उनलाई बहिष्कारको ट्रेड नै चल्यो।
आखिर के ‘अपराध’ गरेका थिए प्रकाशले ?
प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक विमोचन कार्यक्रममा गएर प्रकाशले ओलीको झुटोमुटो तारिफ गरे। त्यहाँ उनले ओलीलाई परिवर्तनका नायक भन्दै ५ मिनेट खर्चिएका थिए।
त्यसपछि भिडतन्त्रले प्रकाशलाई ओलीको ‘झोले’ देख्न थाल्यो। अनि नेपाली रजतपटमा भर्खर फुल्न खोज्दै गरेका प्रकाशको सिर्जनामाथि नै प्रहार गराइयो।
अर्थात् प्रकाशको डेब्यु निर्देशकीय फिल्म ‘बसन्त’ बहिष्कार गर्ने ट्रेड चल्यो, हलमा त्यसको जबर्जस्त प्रभाव छँदैछ।
कुनै एक सन्दर्भमा, हजुरबुवा समान उमेरको देशको प्रधानमन्त्रीलाई तारिफ गर्नु अपराध हो ? कसैको बिहेमा जाँदा शुभकामना अनि मलामी जाँदा श्रद्धाञ्जली नै भन्ने होला नि ? व्यावहारिकताको लेन्स लगाएर हेरौं त, त्यो कार्यक्रममा गएर प्रकाशले ओलीलाई गाली गरेर फर्किनुपर्थ्यो ?
मानें, उनले त्यसो भनेर ठूलै अपराध गरे रे ! अनि के यो बहिष्करणमै राखिनुपर्ने अपराध हो ?
यो त केवल सामन्तवादको अवशेष हो, भिडतन्त्रको कुरूप चित्र हो।
हो- केपी ओलीप्रति थुप्रै असहमति छन्। आरक्षणदेखि समावेशिताका विषयमा सधैं विपक्षमा वकालत र व्यवहार गर्ने ओलीको नियतमै प्रश्न छ, मन्त्रिपरिषद् किन दलितविहीन बनाएको भन्ने जिज्ञासा छ, पार्टीभित्र दलितलाई किन सधैं बहिष्करणमा राखेको कारण जान्नु छ।
फेरि पनि ओलीले माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूले एमाले छोडेर जाँदा पनि जे-जसो गरेर होस्, एमालेलाई फेरि ब्युँत्याएकै हो, दोस्रो पार्टी बनाएकै हो, ऊबेलादेखि पार्टीभित्र लड्दै आएकै हो, प्रकाश सपुतले भनेजस्तै संघर्ष गरेकै हो।
हो, यत्ति भन्नलाई कुनै आइतबार कुर्नु पर्दैन। ओलीको ‘झोले’ पनि बनिराख्नु पर्दैन।
तर, भिडतन्त्रले तर्क र तथ्य जान्दैन। किनकि, जल्दाबल्दा मुद्दामा हुने सैद्धान्तिक, बौद्धिक र वैचारिक बहसलाई निषेध गर्नु भिडतन्त्रको मुख्य चरित्र हो।
यदि भिडतन्त्रले तथ्य र तर्क जान्दथियो त, फिल्मको विषयवस्तु, अभिनय, अन्य प्राविधिक पक्ष र समग्र फिल्मको विषयमा बहस हुँदो हो। यदि फिल्म नै मन नपरे, नहेर्ने विकल्प छ पनि। तर अहिले सामाजिक सञ्जालमा फिल्मलाई लिएर हैन, प्रकाशले ओलीको तारिफ गरेकै कारण दर्शक हलमा गएका छैनन्। वा यसरी भनौं, दर्शकलाई हलमा नजान मनोवैज्ञानिक दबाब सिर्जना गरिएको छ।
सडकमा होहल्ला गर्ने र सामाजिक सञ्जालमा जथाभावी लेख्दै दबाब सिर्जना गरेर आफूले चाहेजस्तै गराउन केही व्यक्ति तथा समूह लागिरहेका छन् पछिल्लो समय। यो मनोविज्ञान लोकतन्त्रमाथिकै प्रश्न हो। जब आफ्ना विचारहरू स्वतन्त्र भएर अभिव्यक्त गर्न पाइँदैन, त्यहाँ लोकतन्त्र बाँकी रहन्छ र !
प्रकाशलाई हेरेर अब कसैले, कहिल्यै विचारहरू निर्धक्क भए राख्न सक्लान् ? सायद अब हामीले प्रकाशबाट कुनै पनि विषयमा व्यक्तिगत विचार सुन्न पाउने छैनौं। जसरी यसअघि प्रधानमन्त्री ओलीदेखि पूर्वप्रधानमन्त्री माधव नेपाल हुँदै राप्रपा सांसद ज्ञानेन्द्र शाहीसम्मलाई आफ्नो फिल्म ‘नमेटिने घाउँ’मा राखेका निर्देशक रमित ढुंगानाले फिल्म नचलेपछि उद्घोष गरे- अबदेखि कहिल्यै नेताहरूलाई फिल्ममा राख्दिनँ।
त्यसको कारण थियो- नेताहरू फिल्ममा राखेको कारण उनको फिल्मलाई गरिएको बहिष्कार। यो कुरा उनी आफैंले भनेका थिए।
रमित र प्रकाशले जे भोग्नुपर्यो, यो भिडतन्त्रबाट, यदि यो बहिष्कार संस्कृति यस्तै जब्बर रहिरहे अब कसैले, कहिल्यै भिडभन्दा फरक विचार राख्ने छैनन्। बुझिराखौं, भिडको सिकार अहिले प्रकाश सपुत भएका हुन्, पछि अरू कोही हुनेछन्। त्यसपछि पनि भइरहने छन्।
यसअघि पनि बालेन शाह र राष्ट्रिय झन्डाको सन्दर्भ सहितको सामग्री पस्किएकै कारण अनलाइनखबरले भोगेको नियति होस् या राजेश हमाललाई ‘महानायक’ नमान्दा दीपाश्री निरौलालाई गरिएको बहिष्कार होस्। अनि कैलाश सिरोहिया प्रकरणमा बोलेकै कारण महजोडीमाथि गरिएको अपमानदेखि सन्दीप लामिछाने/पल शाह प्रकरणमा पीडितको पक्षमा बोल्नेहरूलाई गरिएको व्यबहारसम्म आइपुग्दा लोकतन्त्रको ब्युटी मानिने अभिव्यक्ति स्वतन्त्रतामाथि नराम्रो प्रहार भएको छ।
भिडतन्त्र यति कुरूप ‘ब्लाइन्ड सिस्टम’ हो नि, यो कुनै धर्मभन्दा कम छैन। भिडतन्त्रसँग अनियन्त्रित र असंयमित भिडबाहेक अरु केही हुँदैन। पछिल्लो समय हामीकहाँ पनि त्यही भिडतन्त्रले समाजलाई कुरूप बनाइरहेको छ। आफैं न्यायालय, आफैं प्रशासन, आफैं राज्य, सर्वेसर्वा आफैं जसरी उपस्थित भइरहेको भिडले लोकतन्त्रलाई नराम्ररी चिथोरेको छ।
भनिन्छ- सत्यको परिभाषा व्यक्तिपिच्छे फरक-फरक हुनसक्छ। मुलुकका जल्दाबल्दा विषयमा व्यक्तिपिच्छेका विचारहरू निर्धक्क भएर राख्न पाउनु लोकतन्त्रको मर्म हो।
अहिले केही पक्ष देशमा राजसंस्था चाहियो भनेर सडकमा छन्। उनीहरूका विपक्षीको तर्क छ- राजसंस्थाले बोल्न दिँदैन। उसको विरुद्धमा बोलेवापत लगेर थुन्छ। अनि, भिडतन्त्रको आडमा एउटा सर्जकको लागि उसको सिर्जना पस्किनबाट बन्चित (बहिष्कार) गर्नु चाहिँ जेल कोच्नु भन्दा के फरक छ र ?
कुनै कलाकारले आफूलाई ‘सही’ लागेको विचार भिडलाई ‘गलत’ लाग्यो भन्दैमा उसलाई बहिष्कार गर्दै जाने हो भने राजसंस्था र लोकतन्त्रमा के फरक रह्यो र !
अब भिडतन्त्रले प्रकाश सपुतलाई नै किन प्रहार गरिरहेछ भन्ने अन्तर्यतिर लागौं।
भिडतन्त्रले प्रकाश र ‘बसन्त’लाई बहिष्कार गर्नुको कारण अरू केही नभएर क्रुर जात व्यवस्था नै हो। उनले यसपटक ‘बसन्त’मार्फत जसको वर्ग-समुदायको कथा भन्न खोजेका छन्, त्यसको बहिष्कार हो। प्रकाशमाथि प्रहार हुनुको अर्को कारण उनको पछाडि जोडिएको जात नै हो।
नेपाली समाजमा भिडतन्त्र भर्खर बामे सर्दैछ, तर जात व्यवस्था ३५ सय वर्षदेखि सतिसालझैं ठडिएको छ। जसले कथित उपल्लो जातबाट प्रतिनिधित्व गर्ने कलाकारलाई कहिल्यै कसैको झोले देख्दैन, उनीहरूका सिर्जना बहिष्कार गर्दैन, तर प्रकाश सपुतलाई कुनै न कुनै बहानामा झम्टिहाल्छ।
एउटै काम गर्दा कसैलाई छुट, कसैलाई तल्लो किसिमका जातीय शब्द राखेर गरिने टिप्पणीहरूमाथि मेरो विमति छ । त्यसो त, हाम्रो प्रथम दृष्टिमै जात छ। घुमाइफिराइ प्रकाश सपुतले गरेका कमजोरीमा सिर्जनाभन्दा पनि जातीय गालीगलोजको क्रम ‘गलबन्दी’ देखि ‘सकम्बरी’सम्म देखिएकै हो।
सामाजिक सञ्जाल हेर्दै थिएँ, एक जना ‘जान्ने सुन्ने’ले लेखेको देखें- बसन्त’मा कमिनी र सार्की वा कामी र दमिनीबीच प्रेम किन देखाइएन ? घरभित्रैको समस्या नदेखाउने, टोलमा रोएर हुन्छ ?
‘नेपालमा ९९ प्रतिशतभन्दा बढी कथित उच्च जातका फिल्म मेकरले बाहुन–क्षेत्री पात्रहरू राखेर फिल्म बनाउँछन्। तर बाहुन र क्षेत्रीबीचको जातीय विभेदको कुरा किन उठाउँदैनन् ?’ भनेर प्रतिप्रश्न गरियो भनेर निहुँ खोजेको जस्तो हुन्छ, जसले कहिल्यै समाधान दिँदैन। खाली यत्ति भन्न खोजेको- बुद्धिजीवीको खोल ओढेकाहरू समेत भिडतन्त्रसँगै लागेर ‘बसन्त’ बहिष्कार गर्न लागेका छन्। ताकि, ‘बसन्त’ले गरेको जातीय समानताको बहस दबाउन सकियोस्, निस्तेज पार्न सकियोस्।
फेरि सामाजिक सन्जालकै कुरा,
-महिनावारी कुरीति हो, बार्नु हुँदैन भनेर देखाउँदै गर्दा पुरुषसत्तावादी चरित्र भएकाहरूले लेख्छन्- संस्कार भाँड्नेलाई बहिष्कार गरौं !
-प्रकाशले फिल्ममा धार्मिक समानताको कथा भनेको मन नपराउने अतिवादीहरूले भनिरहेका छन्- प्रकाश क्रिश्चियनको दलाल हो, बहिष्कार !
जात व्यवस्थाविरुद्ध लड्न शान्ति (गैरदलितले) पनि साथ दिनुपर्छ भनेर फिल्मले बुझाएको धेरैलाई मनै परिरहेको छैन। प्रकाशले ‘दमाई महाराज’ देखि ‘बसन्त’ सम्म जातीय विभेदको विरुद्ध बहस छेडेको जातीय सर्वोच्चतावादीहरूलाई पचेकै थिएन/छैन। र त ओलीको तारिफको बहानामा सिंगो जात व्यवस्था विरोधी कथालाई बहिष्कार गर्ने जमात हो त्यो। इतिहासदेखि एकछत्र शासन र शोषण गर्दै आएका उनीहरूलाई आफूहरूमाथि कसैले चोर औंला उठाएको कहाँ मन पर्थ्यो र !
अन्त्यमा प्रकाशलाई भन्नैपर्ने कुरा,
‘बसन्त’ हेरिसकेपछि यसप्रति थुप्रै असहमति रहे। अरु तपसिलका विषय मानेर एउटा चाहिँ भन्नैपर्ने विषय- दलितले आज पाएको अधिकार दलितले नै लडेर ल्याएको हो। अरुले साथ दिएको मात्रै हो, त्यो पनि अपर्याप्त। प्रकाश सपुतले यत्ति भन्न हिच्किच्याएका छन् वा भनौं, डराएका छन्। र, कुनै न कुनै रूपमा त्यसको क्रेडिट कांग्रेस र कम्युनिष्टलाई दिएका छन्।
कांग्रेस र कम्युनिष्ट जन्मिनुभन्दा अघि नै सुरु भएको हो दलित आन्दोलन। कांग्रेस-कम्युनिष्टभन्दा जेठो आन्दोलनलाई उनीहरूकै हली जसरी कथा भनिनु फिल्मको सबैभन्दा ठूलो कमजोरी हो।
            
                            
                        
                    
                            
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4