
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहान असिन-पसिन हुँदै कांग्रेस चोक आइपुगे । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानमा हिँडेका प्रचण्ड नवलपुर गैंडाकोटस्थित कांग्रेस चोकमै भेटिनु संयोग हुन सक्ला । तर उनले केही दिनदेखि सुनियोजित रूपमै कांग्रेसको नाम लिइरहेका छन् ।
कहिले कांग्रेस त कहिले एमालेसँग तालमेल गर्दै पटक-पटक सत्ताको नेतृत्वमा पुगेका प्रचण्ड गत १७ असारमा तिनै ठूला दल मिलिदिएपछि प्रतिपक्षमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने बताइरहेका प्रचण्डले चितवनबाट नयाँ वर्षसँगै केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुने दाबी गरेपछि देशमा एक प्रकारको तरंग ल्यायो । उनले पछिल्ला केही दिनयता सरकार फेरिने मात्रै होइन, कांग्रेस नेतृत्वमा सरकार बन्ने संकेतसमेत गरिरहेका छन् ।
प्रचण्डले अहिलेको सरकार ढल्छ किन भनिरहेका छन् ? जागरण अभियानमा जनता के भन्दैछन् ? राजावादी र ज्ञानेन्द्र शाहले के चाहेका हुन् ? प्रस्तुत छ, यिनै विषयमा प्रचण्डसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको संक्षिप्त कुराकानी :
चितवनबाट नयाँ सरकार फेरिनसक्छ भन्नुभयो, त्यो राजनीतिक चर्चाको लागि हो कि साँच्चै फेरिने, फेर्ने खेल छ ?
सरकारको क्रियाकलापबाट जनतामा असन्तुष्टि छ, आक्रोश छ । विभिन्न रूपमा जनता सडकमा छन् । यो एउटा कारण हो । दोस्रो कुरा, स्वयं सत्तारुढ भनिएका दलभित्र व्यापक असन्तुष्टि देखियो । नेपाली कांग्रेस र नेकपा एमालेभित्रै पनि असन्तुष्टि छ ।
तेस्रो, कांग्रेसका नेताहरूले नै बाहिर के बोलिराख्नुभएको छ सरकारका विरुद्ध ? त्यही कारणले मैले यो सरकार नयाँ वर्षसँगै ढल्ने देखिन्छ भनेको हुँ । ठ्याक्कै तिथिमिति तोकेर भनेको होइन । देशमा घटनाक्रम जसरी विकास भइराखेको छ, त्यो हेर्दा, सत्तारुढ दलभित्रै सरकारप्रति असन्तुष्टि, आक्रोश हेर्दा यो सरकार धेरै टिक्दैन भन्ने देखिन्छ ।
दलहरूले सरकार परिवर्तनको कसरत गरेका कारण बोल्नुभयो कि भन्ने लागेको थियो । होइन, ढाल्दिउँ कि क्या हो जस्तो पो लागेर बोल्नुभएको हो ? कि प्रस्ताव आयो कतैबाट ?
कांग्रेस वा कुनै दलका नेताहरूले भनेका कारण मैले बोलेको होइन । हुन त मेरो कांग्रेस, एमाले दुवै दलका नेताहरूसँग कुरा भइराख्छ । भेट पनि भइराख्छ । ती कुराहरूबाट सरकारप्रति असन्तुष्टि अभिव्यक्त पनि भइराखेकै छ । तर सरकार अर्को बनाउनुपर्यो भनेर मैले भनेको पनि छैन, उहाँहरूले त्यसरी प्रस्ताव ल्याएको पनि होइन । राजनीतिक विश्लेषणका आधारमा भनेको हुँ ।
केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्छन् भन्नुभो । अहिले फेरि नयाँ वर्षसँगै सरकार फेरिन्छ पनि भन्नुभो, यत्तिकै बोलिदिनु भा हो त ?
यत्तिकै बोल्ने कुरा होइन । लास्टमा मैले विश्वासको मत लिएँ नि, त्यतिबेलै संविधानको धारा २०७६ को ३ अनुसार ठूलो दलका हिसाबले सरकार बन्नुपर्छ, २०७६ को २ त असफल भइसक्यो भनेको थिएँ ।
त्यो बेला पनि मैले ठूला दलको हिसाबमा शेरबहादुरजी प्रधानमन्त्री हुनुपर्छ भनेकै हो । त्यसकारण पछि पनि यो सरकार संवैधानिक पनि छैन, लोकतान्त्रिक पनि छैन, पारदर्शी पनि छैन भनेर भनिराखेकै छौं । किनभने, संविधानअनुसार त ठूलो दलको नेता प्रधानमन्त्री बन्नुपर्ने हो । त्यसमा सफल हुने, असफल हुने भिन्न कुरा हो । तर संविधानको भावना र मर्म भनेको त त्यही हो । त्यो मिचेर बनेको सरकार हो यो । त्यही कुरालाई अस्ति मैले जोड दिएको हुँ ।
तपाईंले सरकार परिवर्तन हुन्छ भनिरहँदा एमालेले त प्रचण्ड सत्तामा नहुँदाको छटपटी हो, कुण्ठा हो भनिरहेको छ नि ?
एमालेले त सुरुदेखि नै त्यही भनेको हो नि । आम जनताले बुझेका छन्, विभिन्न माध्यमबाट पनि जनतालाई थाहा भएकै छ । अहिले सरकारतिर हाम्रो ध्यान होइन, जनतातिरै छ । जनताकै बीचमा जाँदा हामीलाई सकारात्मक परिवर्तन पनि आइनै राखेको छ । त्यसैले सरकार २०८४ सम्मै चलिराखे हुन्थ्यो पनि त भनिराखेकै छु नि !
कांग्रेस–एमाले चलिराखे हुन्छ, हामी जनतामा गइराख्छौं । प्रचण्डको कुण्ठा भन्नु एमाले भित्रको आतंक हो । मैले सरकार परिवर्तन हुन्छ भनिदिएपछि एमालेका केही नेता आतंकित भएका छन् ।
शेरबहादुर देउवा हुनुपर्थ्यो भनेपछि एउटा आतंक छ, कतै भित्र कुरा भइसक्यो कि भनेर, सहमति भइपो सक्यो कि भनेर । अलोकप्रिय सरकारको नेतृत्व यतिबेला आतंकित छ ।
एउटा षडयन्त्रबाट आएको हो नि केपी ओलीको सरकार । भयंकर ठूलो षडयन्त्र, जालझेल बेइमानीबाट आएको हो । त्यही भएर मैलेजस्तै अरुले पनि गरिराखेका छन् कि भन्ने भित्रभित्रै लागेको हो केपी ओलीलाई । त्यसैलाई उनले कुण्ठा भनेका हुन् । यो कुण्ठा होइन, एमाले नेतृत्वभित्र पैदा भएको मानसिकताको उपज हो ।
तपाईंले सरकार परिवर्तन हुन्छ भनिदिएपछि सत्ताबाहिर रहेका अन्य दलले पनि भन्न थालेका छन्, यो तरंगमात्रै कि तयारी पनि हो ?
मेरो कुराले देशमा तरंग त आएकै छ । सांसदहरूको हस्ताक्षर नै भएको त मैले थाहा पाएको छैन । विभिन्न चर्चा, परिचर्चा र छलफल भए होलान्, हुन्छन् । यो कुनै तयारी होइन, जनताबाट अलोकप्रिय बनेको सरकारको नेतृत्वको डर हो । फेरि भन्छु, यो सरकारभित्र उब्जिएको आतंक हो ।
पटक-पटक सत्तामै गएको माओवादी अब सत्तामा जाँदैन भनेर जनताबाटै आशंका गरेको अभियानकै क्रममा देखियो । तपाईंले त्यस्तै संकेत गर्दा थप बल पुगेको छ नि ?
सार्वजनिक रूपमा जनतालाई भनेका छौं, हामी अहिले सरकारमा जाने कुरातिर होइन, जनतासँग सम्बन्ध बलियो बनाउनमै केन्द्रित छौं । यो सरकार २०८४ सम्मै जान्छ भने पनि तनाव छैन । ढिलो ढलोस्, केही छैन । खाली देशमा जसरी कुशासन भइराखेको छ, भ्रष्टाचारीको रक्षा गर्ने काम भएको छ, राम्रो काम गर्नेलाई दण्डित गरिएको छ, यसको विरोध त हामीले नगर्ने कुरै हुँदैन ।
हाम्रो सरकारमा जाने कुरा होइन । तर सरकारको क्रियाकलाप हेर्दा यो सरकार जति रह्यो देशका लागि त्यति घातक हुन्छ भन्ने हामीलाई चिन्ता छ । विरोध गर्नुको अर्थ सरकारमा जाने हतारो भनेर कसैले व्याख्या गर्छ भने त्यसले हाम्रो विचारको, हाम्रो राजनीतिको, अभियानको मर्म बुझेको छैन ।
२०८४ अघि नै तपाईं भइदिनूस्, आइदिनोस् भन्ने प्रस्ताव आयो भने के गर्नुहुन्छ ?
अहिले कसैले भनेको स्थिति छैन । त्यसैले हाइपोथेटिकल कुरातिर नजाऔं । देशको रक्षा, संविधानको रक्षा गर्ने कुरामा हामी कहिल्यै पछि पर्दैनौं । जिम्मेवारीवोध हामीलाई छ । तर सरकारमा पहिलेको जस्तैगरी जाने रुचि वा मनस्थिति विल्कुलै छैन ।
बीचमा रोकिएको तराई–मधेश जागरण अभियान गैंडाकोटबाट सुरु भएको छ । अहिले गणतन्त्र बचाउनुपर्छ भन्ने र राजतन्त्र ल्याउनुपर्छ भन्नेहरू सडकमा हुँदा तपाईंलाई चाहिँ जनताले के भनिरहेका छन् ?
पहिलो कुरा, झापाबाट हामीले यो अभियान सुरु गर्यौं र चितवनसम्म आएर केही दिन स्थगित गर्नुपर्यो । यहाँसम्म आउँदा जनताको निकै ठूलो उत्साह, सहभागिता देख्यौं । हजारौंको संख्यामा पार्टी प्रवेशको लहर पनि हामीले देख्यौं । वृद्धवृद्धादेखि युवायुवती, बालबच्चासम्म पनि अब भरोसा भनेको माओवादी केन्द्र नै हो भनेको हामीले महसुस गर्यौं । भनेको पुर्याउने त माओवादी नै रहेछ भन्ने विश्वास जनतामा पैदा भएको पायौँ ।
अभियानमा हामी जनताकै घरमा बस्यौं । शहीद, बेपत्ता परिवारसँग भेट्यौं, उनीहरूका कुरा सुन्यौं । उत्पीडित, मजदुर, किसानका कुरा सुन्यौं । व्यवसायी र शिक्षकका कुरा पनि सुन्यौं । त्यसको कुल योगफल चाहिँ निकै ठूलो उत्साह जनतामा हाम्रो अभियानप्रति छ । अब केही हुन्छ कि भन्ने आशा-भरोसा जागेको छ ।
जनयुद्धबाट शान्ति प्रक्रिया हुँदै सत्तामा आएपछि लामो समय पालैपालो सरकारमा रहनुभयो । तर देश अस्थिरतामै रुमलियो भनेर तपाईंप्रति असन्तुष्टि पनि त व्यक्त गरे होलान् ?
एउटा कुरा त पक्कै हो, पार्टीको केन्द्रीय बैठकमा नै गम्भीर ढंगले विगतमा हाम्रा पनि केही कमी-कमजोरी भए भनेर आत्मसमीक्षा गरियो । यो कुरा जनतालाई पनि भन्यौं । पहिल्यै आउनुर्थ्यो जनतासँग, ढिलो भएको पक्कै हो । तर जनतालाई बिर्सिएको भने होइन । आत्मलोचनासहित प्रस्तुत हुँदा जनता कन्भिन्स देखिनुहुन्छ । जनतामा पुग्दा सकारात्मक वातावरण बनेको हामीलाई महसुस हुन्छ ।
तपाईंहरु गणतन्त्रको पक्षपोषण गर्दै, बुझाउँदै अभियानमा हुनुहुन्छ । यही बेला राजतन्त्र पक्षधरको आवाज पनि चर्कै सुनिइराखेको छ । तपाईंले कसरी हेर्नुभएको छ ?
यो प्रश्न ठिक समय र ठाउँमा सोध्नुभयो । हाम्रो अभियान बडो जोडतोडले चलेको थियो । हामीले २/४ दिन रोक्नुपर्ने कारण देखा पर्यो । हामी तराई–मधेश भनेर हुलाकी मार्ग केन्द्रित अभियानमा भएका बेला काठमाडौंमा राजावादी भन्नेहरूको बितण्डा देखा पर्न थाले । यसका विरुद्ध जनतासहित प्रतिवाद त गर्नुपर्छ भनेर अभियान नै रोकेर काठमाडौंमा चैत १५ गते विरोध सभा गर्यौँ । त्यो यथास्थितिवादका विरुद्ध पनि थियो र प्रतिगमनका विरुद्ध पनि थियो ।
यथास्थितिवाद भनेको अहिलेको एमाले नेतृत्वको सरकारप्रति हाम्रो खबरदारी हो भने प्रतिगमन त प्रतिगमन भइहाल्यो । १५ गते हाम्रो कार्यक्रम र राजावादीको कार्यक्रम पूरै देश, दुनियाँले तुलना गर्ने अवसर प्राप्त गर्यो । गणतन्त्रवारुको समाजवादी मोर्चा कस्तो रह्यो र राजावादीको तीनकुने कस्तो रह्यो ? छ्यांग जनताले देख्ने अवस्था भयो । हामीले ठिक समयमा ठिक निर्णय लियौं र राष्ट्रलाई दुर्घटनातिर लैजाने जुन सपना देखेका थिए, त्यसलाई सही समयमा जवाफ दियौं ।
यहाँ शहीद, बेपत्ता र पूर्वजनमुक्ति सेनासँग कुरा गर्दा धेरै खुसी देखिएनन् । माओवादी संघर्ष र यो व्यवस्था ल्याउन लडेका नेतृत्व छिन्नभिन्न भयो भन्ने चिन्ता धेरै देखियो, तपाईंको जवाफ के हो ?
मैले पनि नेतृत्व एक ठाउँमा आउनुपर्छ, अब एकपटक फेरि मिलेर लड्नुपर्छ भन्ने चासो र चिन्ता अभियानका क्रममा पनि पाएको छु । पहिलो कुरा त हामीले समाजवादी मोर्चा बनाएका छौं र अस्तिको कार्यक्रम पनि मोर्चाबाटै गरियो । त्यो चाहिँ वामपन्थीहरूलाई, कम्युनिस्टहरूलाई एकत्रित गर्ने उद्धेश्य थियो । दोस्रो कुरा, अहिले पूर्वमाओवादी घटकहरूसँग पनि कुरा चलिराखेकै छ, पार्टी एकताका बारेमा । तत्कालका लागि मोर्चाका रूपमा काम गर्दै गएर अनि पार्टी एकताको आधार तयार पार्ने भन्नेमा सबैको सहमति छ । यस कारण उहाँहरूको चिन्ता र चासो चाहिँ हो, त्यसमा हामी गम्भीर छौं र वातावरण बन्दै पनि गएको छ ।
अन्त्यमा, पूर्वराजा ज्ञानेन्द्रको फागुन ७ र नयाँ वर्ष २०८२ को शुभकामनाले राजावादीहरू हौसिएका छन् । तपाईंले पूर्वराजाको के योजना देख्नुभएको छ ?
ज्ञानेन्द्रले प्रजातन्त्रको, लोकतन्त्रको उपदेश दिनुभन्दा लाजमर्दो, हास्यास्पद, पाखण्ड अरु केही हुनै सक्दैन । एउटा तानाशाह, एउटा निरंकुशले अहिले बडो प्रजातन्त्रको उपदेश दिएको रूपमा जनताले बुझेको छ । सबैलाई थाहा छ, ज्ञानेन्द्रको जे योजना भए पनि केही लाग्दैन ।
प्रतिक्रिया 4