+
+
WC Series
पोखरा एभेन्जर्स 2025
131/5 (16.2)
VS
२२ बलमा ३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

तराई–मधेश जागरण अभियानले माओवादीप्रति जनताको भरोसा बढायो : प्रचण्ड

माओवादीको जागरण अभियान पुनः सुरु

नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाबाट सुरु भएको जागरण अभियान गैंडाकोटसम्म आइपुग्दा जनतामा माओवादी प्रति भरोसा बढेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १७:४९
जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत सोमबार गैंडाकोटमा नागरिकसँग संवाद गर्दै माओवादी अध्यक्ष प्रचण्ड । तस्वीर : प्रचण्डको सचिवालय ।

१ वैशाख, काठमाडौं । नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भरोसा माओवादीप्रति बढेको बताएका छन् ।

चितवन पुगेर स्थगित भएको जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान गैंडाकोटबाट पुनः अघि बढाउँदै प्रचण्डले अभियानको क्रममा जनतामा माओवादीप्रति विश्वास बढेको आफूले पाएको बताएका हुन् ।

‘झापादेखि यहाँसम्म्म आउँदा माओवादी केन्द्र नै राष्ट्रप्रति गम्भीर, जनताप्रति इमान्दार, परिवर्तनप्रति संवेदनशील र जनताको सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको निम्ति समर्पित पार्टी हो भन्ने कुरा जनताले नजिकबाट बुझेको महसुस भएको छ । यो नै हाम्रा लागि ठूलो शक्ति भएको छ,’ उनले भने, ‘परिवर्तनको बाहक पनि माओवादी नै हो, सुशासन, सामाजिक विभेदका विरुद्ध न्याय दिने पनि माओवादी नै हो र आर्थिक संकटबाट देशलाई मुक्ति दिने शक्ति पनि माओवादी नै हो भन्ने जनताले बुझेको हामीले पाएका छौं ।’

माओवादी नै परिवर्तनको बाहक भएको भन्दै उनले सुशासन, सामाजिक न्यायका निम्ति माओवादीले सधैं पहरेदारी गर्ने बताए ।

राष्ट्रिय राजनीतिमा संकट आउने खतरा देखेपछि केही दिन अभियान रोकेर माओवादी काठमाडौंमा केन्द्रित भएको बताएका प्रचण्डले १५ चैतको जनप्रदर्शन र जनसभाले त्यो खतरा चिरेको दावी गरे ।

गैंडाकोटमा सोमबार आयोजित सभामा माओवादी अध्यक्ष प्रचण्ड । तस्वीर : प्रचण्डको सचिवालय ।

‘राष्ट्रिय राजनीतिमा माओवादी केन्द्रको तर्फबाट हस्तक्षेप नगर्ने हो भने ठूलो राजनीतिक दुर्घटनाको खतरा देखेपछि हामीले चितवनको कार्यक्रम सकेर केही दिनका लागि अभियान रोक्यौं र काठमाडौं गयौं,’ प्रचण्डले भने, ‘काठमाडौंमा हामीले विशाल जनप्रदर्शन र जनसभा गर्‍यौं । त्यसले गणतन्त्रवादी कति अनुशासित र शालीन हुन्छन् भन्ने देखायो भने त्यही दिन जुधाएर राजावादीहरूले तीनकुनेमा गरेको कार्यक्रम एउटा आततायी आपराधिक घटनामा गएर टुंगियो । यसअर्थमा हामीले जे सोचेर केही दिन अभियान रोकेर काठमाडौं गएको उद्धेश्य पूरा भयो ।’

उनले तीनकुने घटनापछि राजावादीहरू लोकतन्त्र विरोधी र आततायी अपराधिक तत्वका रूपमा नांगिएको बताएका छन् ।

‘राजावादीहरू लोकतन्त्र विरोधी आततायी अपराधिक तत्वका रूपमा नांगिएका छन् भने गणतन्त्रवादीहरू लोकतन्त्रप्रति, जनताका समस्याप्रति सबभन्दा संवेदनशील र गम्भीर छन् र उनीहरूले नै यसका समस्या सम्बोधन गर्नेछन् भन्ने भरोसा बढाएको छ,’ प्रचण्डले भने ।

जागरण अभियान पुनः सुरु

पूर्व–पश्चिम हुलाकी लोकमार्गकेन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन १ वैशाखबाट पुनः अघि बढेको छ । अभियानको क्रममा माओवादीले सोमबार नवलपुरको गैंडाकोटमा जनसभा गर्‍यो । मंगलबार नवलपुरका जनतासँग अध्यक्ष प्रचण्डलगायतका नेताहरूले भेटघाट गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?