+
+

यसकारण बनायौं चालीस मुनिका चालीस- २०८२ को सूची

भनिन्छ- अनुभव होइन, सपनामा विश्वास गर्ने नै युवा हुन् । त्यसैले त उनीहरू परिवर्तनका संवाहक हुन्छन् ।

भिक्टर ह्युगोले भनेका छन्- ४० वर्ष युवाहरूको बुढेसकाल हो भने ५० बुढाहरूको यौवन ।

तर, अनलाइनखबर ४० मुनिका ४० केवल अंकको हिसाबकिताब होइन, यो त युवाका सपना, संघर्ष र सम्भावनाको दस्तावेजीकरण हो । यो सपना देख्ने साहस, संघर्ष पार गर्ने जुझारूपन र समाजमा परिवर्तन ल्याउने दृढ तन्नेरीहरूको जीवनकथाको अभिलेखीकरण हो ।

यो त्यस्तो प्रयास हो, जसले नदेखिएका, नसुनिएका, तर चुपचाप परिवर्तनको नेतृत्व गरिरहेका युवाहरूको सफलताका कथाहरूलाई दस्तावेजीकरण गर्छ ।

राजनीति, साहित्य, उद्यम, खेल, सेवा … जहाँ पनि छन् यस्ता अनुहारहरू र उनीहरू बाँकीका लागि साँच्चै प्रेरणा हुन् ।

यति सफलता न उनीहरूले सजिलै रचेका हुन् न यो कुनै संयोगले जुराएको हो । यसका लागि उनीहरू संघर्षका अँध्यारा सुरुङमा आशाको टर्च लाइट बालेर विश्वासको डोरी समाएर संघर्षपूर्ण यात्रा तय गरेका छन् ।

हरेक राज्यको आधारभूत काम आफ्ना युवालाई शिक्षा र सिप दिनु हो । तर, विगत ५ वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका ३१ लाख ४८ हजार ६७८ नेपाली युवाको तथ्याङ्क केलाउँदा निकै सुखद नतिजा फेला पर्दैन । तीमध्ये केवल १ हजार ८५५ मात्र उच्च दक्ष जनशक्ति छन् ।

रेमिट्यान्सबाट चलिरहेको राज्यले आफ्ना नागरिकलाई सामान्य सिप दिएर श्रम बजार पठाउन सकेको छैन ।

हाम्रोमा युवाको सामाजिक, राजनीतिक र आर्थिक भूमिका बलियो बनाउन निकै मेहनत गर्नुपर्ने देखिन्छ । सफलताका लागि युवाले चढ्नुपर्ने यी र यस्ता प्रतिकूलताका निकै अग्ला पहाडका शृङ्खलाहरू छन् । तर पनि अलि गहिरिएर खोज्ने हो भने हजारौं युवाहरूले स्वदेश-विदेशमा सफलताका कीर्तिमानहरू बनाएका छन्, आशा र विश्वासको सञ्चार गरिरहेका छन् ।

व्यवसाय क्षेत्रका परिवर्तनकर्ताहरू, सफल अभ्यासको नेतृत्वकर्ता, कुनै पनि क्षेत्रको दूरदर्शी नेतृत्व, चुपचाप प्रगति गरिरहेकाहरू, रूपान्तरणकारी योजनामा कार्यरत, हाम्रो देशको भविष्यलाई आकार दिन मद्दत गरिरहेका प्रेरणादायी युवाहरू यो छनोटमा परेका छन् ।

कोही स्टार्टअपबाट क्रान्ति ल्याइरहेका छन्, कोही कलमले आवाजविहीनहरूको पक्षमा बोलिरहेका छन्। कोही गाउँको धुलोबाट उठेर ग्लोबल नेटवर्कमा चम्किएका छन्, कोही कला, संगीत र भाषाको माध्यमबाट नयाँ दृष्टिकोण निर्माण गरिरहेका छन्।

उनीहरूको सफलतामात्र देखाउने होइन, हामी उनीहरूका प्रयासहरूले समाजमा छाडिरहेको गहिरो प्रभाव र दिएको शक्तिशाली सन्देशहरू पनि उजागर गर्ने प्रयत्न गरिरहेका छौं ।

जोस र होसको सन्तुलन बनाएर सपना, संघर्ष र सफलतालाई एकसाथ दौडाइरहेका यिनै तरुण/तन्नेरीहरूलाई हामीले विधागत पहिचानको प्रयत्न गरेको हो- अनलाइनखबरले ।

यी ४० अनुहारहरू केवल नाम होइनन् — यी आशा हुन्, ऊर्जा हुन्, अनि सम्भावनाका साझा प्रतिनिधि पनि।

हामीले जुन अभ्यास गर्‍यौं, यस्तो अभ्यास अन्यत्र पनि छ । त्यही असल अभ्यासलाई हामीले हाम्रो मौलिकतामा अगाडि बढाएका छौं ।

यो काम हामी हरेक वर्ष गर्नेछौं । पक्कै पनि तपाईंका सुझाव, प्रतिक्रिया र सल्लाह हामीलाई अझ सजग र जिम्मेवार बनाउनेछ ।

आउनुहोस्- अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देशका परिवर्तनकर्ता युवाहरूलाई स्याबासी दिऔं, प्रेरणा लिऔं र, आफूभित्रको युवा चेतना पनि फेरि उजागर गरौं ।