
अनिल रेग्मी बालखैदेखि बुबाले तरकारी खेती गरेको देख्दा औधी रमाउँथे । त्यसरी रमाउँदा रमाउँदै उनको मन विस्तारै कृषि कर्मतिर मोडियो ।
बुबा पेशाले शिक्षक थिए तर आफ्नै खेतबारीमा तरकारी खेती पनि गर्थे । उनी बुबासँगै बिहान–बेलुका तरकारी खेतीमा छिर्न र सघाउन थाले ।
बेलाबेला बुबासँगै तरकारी टिपेर बजार पुर्याउन थाले । त्यही बेला उनले ‘होम डेलिभरी’ को अवधारणा अनुभव गरिसकेका थिए । भलै, त्यो बेला होम डेलिभरी भनेको के हो भन्ने थाहा थिएन । तर त्यही अनुभवले उनलाई भविष्यको उद्यमी बन्ने आधार तयार पारिदियो ।
उनलाई सधैं लाग्थ्यो– आफूले जानेको काम गर्नुपर्छ । हो, बालखैदेखि जानेको त्यही कामलाई एउटा पक्का उद्यममा परिणत गरे । र, आज त्यसलाई प्रविधिका माध्यमबाट थप सबल बनाउन सफल भएका छन् ।
यो अनिल रेग्मीको प्रेरणादायी यात्रा र नेपाली कृषिमा ल्याएको परिवर्तनको कथा हो, जो लमजुङ सुन्दरबजार नगरपालिका–८ मा जन्मिएका थिए ।
आज उनको ‘स्मार्ट कृषि’ एप र सामाजिक सञ्जाल मार्फत लाखौं किसान र उपभोक्ता जोडिएर नेपाली कृषि उत्पादन प्रवर्द्धन गरिरहेका छन् ।
अनिलको परिवार शिक्षक पृष्ठभूमिको थियो । बुवाआमा दुवैले तरकारी खेतीलाई अतिरिक्त आयको स्रोत बनाएका थिए । लमजुङ भोटेओडारमा उनको बाल्यकाल बित्यो, जहाँ बिहान तरकारी टिपेर बजार पुर्याउने र त्यसपछि स्कूल जाने दैनिकी थियो ।
बुबाको तरकारी खेतीप्रतिको लगाव र मिहिनेतले उनमा कामप्रतिको जिम्मेवारीको भावना विकास भयो । ‘बाल्यकालमा बारीमा काम गर्नु, तरकारी बेच्न बजार जानुले मलाई व्यावहारिक ज्ञान दियो’, अनिल सम्झिन्छन् ।
यो अनुभवले उनमा कृषिप्रति गहिरो रुचि जाग्यो, जुन पछि उद्यमको भरपर्दो आधार बन्यो ।
इन्जिनियरिङमा रुचि
सानैदेखि इलेक्ट्रोनिक्समा पनि रुचि राख्ने अनिलले घरमा एफएम रेडियोको एन्टेना बनाएर विभिन्न च्यानल टिपाउने प्रयास गर्थे । घरमा भएको बिजुली बत्ती कसरी बल्ने रहेछ भन्ने कौतूहलताले खोलेर हेर्ने र फेरि जोड्ने गर्थे । यस्तै रुचिले उनलाई पछि इन्जिनियरिङ पढ्ने बाटो देखायो ।
लमजुङको भक्ति नमूना माविबाट २०६३ सालमा एसएलसी पास गरेपछि अनिल काठमाडौं आए । १२ कक्षा पास भइसकेपछि एमबीबीएस पढ्ने सपना थियो । तर नाम निकाल्न नसकेर सपना अधुरै रहेपछि त्रिचन्द्र कलेजमा बीएस्सी भर्ना भए ।
तर यो विषयमा रुचि नलागेपछि यात्रा फेरि इन्जिनियरिङतर्फ मोडियो । इलेक्ट्रोनिक्स इन्जिनियरिङ पूरा गरेपछि उनको यात्रा नयाँ मोडमा पुग्यो ।
अनि जन्मियो ‘स्मार्ट कृषि’ एप
सन् २०१३/१४ तिर नेपालमा मोबाइल एपको क्रेज बढ्दै थियो । अनिलले यो अवसरलाई उपयोग गर्ने सोचे । पढाइ पूरा भएपछि जागिर खानतिर भन्दा आफैंले केही गर्नुपर्छ भनेर नयाँ–नयाँ आइडिया फुराउन थाले ।
सोही क्रममा उनले आफ्नो बाल्यकालदेखिको कृषिप्रतिको रुचि र इन्जिनियरिङको ज्ञान जोडेर नयाँ आइडिया ल्याए– किसानका लागि उपयोगी मोबाइल एप ।
‘नेपालमा कृषिसँग सम्बन्धित एप थिएन, विदेशमा पनि त्यति धेरै एप आइसकेको थिएन । मैले जानकारीका लागि अन्य धेरै एप डाउनलोड गरी कस्ता फिचर हुने रहेछन्, कसरी काम गर्दा रहेछन्, अध्ययन गरें’ अनिल सुनाउँछन्, ‘यो क्षेत्रमा केही गर्न सकिन्छ भन्ने लाग्यो । अनि यसमा काम गर्न थालें ।’
उनको यही सोच र अध्ययनले जन्मायो– ‘स्मार्ट कृषि’ एप । त्यही बेला निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले नेपालमा एप निर्माणको क्याम्प चलाइरहेको थियो । शुरुमा उनले एनसेलको एप प्रतियोगितामा भाग लिए र आफ्नो एपको आइडिया र फिचरबारे जानकारी गराए । तर उनको आइडिया ‘धेरै बृहत्तर’ भएको र ‘गुगल जस्तै काम गर्ने रहेछ’ भनेर अस्वीकृत भयो ।
अनिल केही निराश भए, तर हार मानेनन् । ‘एकपटक अस्वीकृत हुँदैमा के हुन्छ र यति धेरै काम त गरिसकिएको छ’ भन्ने लागेर उनले दुई साथीसँग मिलेर ५०–६० हजार रुपैयाँ लगानीमा एपको प्रोटोटाइप बनाए ।
३ जनवरी २०१५ मा स्मार्ट कृषि एप गुगल प्ले स्टोरमा लन्च भयो । त्यतिबेला स्मार्टफोनको पहुँच कम थियो, र किसानले एप चलाउने सम्भावना पनि न्यून देखिन्थ्यो ।
उनीसँग सहकार्य गरेका दुई जना साथी भने त्यसमा सम्भावना कम देखेर त्यो प्रोजेक्टबाट बाहिरिए । अनिललाई भने पैसा र समय दुवै खर्च भइसकेको छ, ब्याक हुनुहुँदैन भन्ने लाग्यो र निरन्तरता दिए ।
स्मार्टफोन प्रयोग गर्ने ट्रेन्ड विस्तारै शुरु हुँदैथियो । ‘किसानले एप चलाउँछन् र ? भनेर धेरैले प्रश्न गर्थे’, अनिल सम्झिन्छन् । तर उनलाई विश्वास थियो, प्रविधि विकाससँगै स्मार्टफोन गाउँ–गाउँ पुग्नेछ र यो एप किसानका लागि उपयोगी हुनेछ ।
‘सुरुआती दिनमा मैले यस्तो मोबाइल एप बनाएँ, यसका विशेषताका बारेमा मानिसलाई भन्थें, तर उनीहरूले यस्तो एप कसले चलाउँछ र एप चलाउने किसान को छ ? भनेर मलाई उल्टै प्रश्न गर्थे’ अनिल भन्छन्, ‘मैले पनि प्रविधि विकास जुन रूपले अघि बढिरहेको छ, त्यो हिसाबले भविष्यमा छिट्टै स्मार्टफोन सस्तोमा किन्न पाइनेछ र सबैले मेरो एप चलाउँछन् भन्ने विश्वास राख्थें ।’
अनिलको यात्रा सजिलो पक्कै थिएन । एपलाई नै निरन्तरता दिन थालेपछि उनले त्यसमा १२–१५ लाख रुपैयाँ लगानी गरे । तर पनि अपेक्षित प्रयोगकर्ता आधार नबन्दा प्राथमिकता सामाजिक सञ्जालमा सारे ।
केही समयपछि नेपालमा पनि सामाजिक सञ्जालको क्रेज बढ्दै गयो । अनिलले पनि सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गरे । फेसबुकमा स्मार्ट कृषि पेज बनाए । सोही पेजमा कृषि सम्बन्धी जानकारीहरू लेखेर पोस्ट गर्न थाले । त्यसकै माध्यमबाट मानिसहरू त्यसमा इन्गेज हुन थाले । जानकारी लिन थाले । उक्त पेजले अहिलेसम्म आइपुग्दा ८ लाख ३७ हजारभन्दा बढी फलोअर कमाएको छ ।
‘सामाजिक सञ्जालमा किसानसँग प्रत्यक्ष जोडिन सजिलो भयो’ उनले भने, ‘नेपालमा स्मार्टफोनको पहुँच बढ्दै गए पनि किसानस्तरमा प्रविधिको प्रयोग अझै सीमित छ । यस्तो अवस्थामा मैले सामाजिक सञ्जाललाई प्रभावकारी माध्यम बनाएँ ।’
अनिलले फेसबुक पेजमार्फत नै सबैलाई एपबारे जानकारी दिन थाले । त्यसप्रति मानिसहरूको चासो पनि बढ्दै गयो । जानकारी लिन चाहने किसानले एप डाउनलोड पनि गर्दै गए ।
स्मार्ट कृषि एप ५ लाख पटक डाउनलोड
आज स्मार्ट कृषि एप ५ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । यो एपले किसानलाई बाली र पशुपालन सम्बन्धी जानकारी, बजार भाउ, कृषि समस्या समाधान र उत्पादन बिक्री गर्ने प्लेटफर्म प्रदान गर्छ ।
कृषक सञ्जाल, कृषि पुस्तकालय र बजार जानकारी जस्ता फिचरले यो एपलाई निकै उपयोगी बनाएको छ । ‘यो एप सूचनाको खजाना हो, किसानले आफ्नो उत्पादन यही एपमार्फत बेच्न पनि सक्छन्’, अनिल भन्छन् ।
इन्स्टाग्राममा ५७ हजार र टिकटकमा १ लाख २३ हजार फलोअर छन् । यी प्लेटफर्म मार्फत उनले नेपाली कृषि उत्पादन प्रवद्र्धन गरेका छन् । सोही प्लेटफर्ममार्फत जुम्लाका किसानले उत्पादन गरेका स्याउ, सिन्धुली र रामेछापको जुनार, दोलखाको किवी, सप्तरीको आँप र झापाको बयर जस्ता उत्पादनलाई उनले सामाजिक सञ्जालको भिडियो हेरेर बजार पुर्याई बिक्री पनि गराइदिएका छन् ।
तालिम र बिजनेस मोडेल
सुरुआतका दिनमा अनिलले स्मार्ट कृषि एपमार्फत तालिम पनि सञ्चालन गरे । सन् २०१८–१९ मा कोभिडले महामारीको रूप लिएपछि मानिसहरूको रुचि कृषिप्रति बढ्यो ।
उनले तालिम सम्बन्धी विज्ञापन पनि सामाजिक सञ्जालबाटै गर्न थालेपछि त्यसको पनि माग हुन थाल्यो । विज्ञको टोली नै लिएर अनिलले बाख्रा, कुखुरा, बंगुर, तरकारी र फलफूल खेती सम्बन्धी तालिम दिए ।
उनका अनुसार दुई दिनको तालिममा २५०० र तीन दिनकोमा ३ हजार रुपैयाँ शुल्क लिने गरिन्थ्यो । १३० देखि १४० फिजिकल र ७६ अनलाइन तालिममार्फत ६५०० देखि ६६०० युवालाई प्रशिक्षण दिएको उनी बताउँछन् ।
‘कुनै बेला त महिनामा ७–८ वटासम्म पनि तालिमका लागि अफर आउँथ्यो’ उनी सुनाउँछन्, ‘त्यो बेला कृषिमा मानिसहरूको एकदमै रुचि थियो । उनीहरू कृषिका बारेमा धेरै कुरा जान्न, बुझ्न र पालना गर्न चाहन्थे ।’
यी तालिमले किसानलाई व्यावसायिक खेतीको ज्ञान र आत्मविश्वास दियो । शुरुमा उनले फेसबुक पेजमा किसानको उत्पादनको विज्ञापन गरेर पैसा लिन थाले । फेसबुकमा विज्ञापन गरिदिन भन्दै पनि धेरै किसान जोडिन आए । पछि काम गर्दै जाँदा विज्ञापनबाट हुने आम्दानी दिगो होइन भन्ने लागेपछि उनले त्यसलाई रोके ।
कोभिडपछि फेरि बंगुरमा स्वाइन फिभर र गाईभैंसीमा लम्पी स्किन रोगले किसान पलायन भएपछि तालिमको माग घट्यो । त्यसपछि उनले उत्पादन बजारीकरणमा ध्यान केन्द्रित गरे ।
स्मार्ट कृषि फ्रेस आउटलेट : किसानकै मूल्य
अनिल अहिले एउटा टिम नै बनाएर स्मार्ट कृषि फ्रेस आउटलेट मार्फत फलफूल र तरकारी बिक्री गर्दै आएका छन् । पुरानो बानेश्वर भीमसेनगोला मन्दिर नजिकै रहेको यो आउटलेटले विषादीरहित स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छ ।
‘हामीलाई किसान आफूले उत्पादन गरेको खाद्यवस्तु बेच्न पनि सक्नुहुन्छ र बजार व्यवस्थाका लागि भन्न पनि सक्नुहुन्छ’ अनिल भन्छन्, ‘हामीले उहाँहरूका सामान उहाँहरूले भनेकै मूल्य दिएर किन्ने र बिक्री गर्ने वातावरण समेत मिलाइदिएर सहयोग गर्छौं ।’
आगामी योजनामा उनले स्मार्ट कृषि फ्रेसलाई छुट्टै कम्पनी बनाएर विस्तार गर्ने सोचेका छन् । काठमाडौं बाँसबारी र ललितपुर सातदोबाटो क्षेत्रमा नयाँ आउटलेट खोल्ने र डेलिभरीलाई प्रभावकारी बनाउने लक्ष्य उनको छ ।
‘हामी नेपाली उत्पादनलाई मात्र प्रवद्र्धन गर्छौं, विदेशी सामान बेच्दैनौं’, उनी दृढ सुनिन्छन् ।
उनको यो अभियानले स्थानीय किसानलाई बजारसँग जोड्न र उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
अनिलको यो नेपाली उत्पादन प्रवद्र्धन अभियानले आफ्ना उत्पादन बिक्री नभएर समस्यामा परेका किसानको पनि उद्धार गर्यो । उनले फेसबुक पेजबाट चलाइरहेको अभियानले स्थानीय व्यापारीलाई समेत फाइदा पुग्यो । किसानको ३३–३४ टन स्याउ र १२–१५ टन किवी बिक्री गर्न पनि फेसबुक पेजकै विज्ञापनबाट सफल भयो ।
अनिलको कथा मिहिनेत, लगनशील र नवप्रवर्तनको उदाहरण हो । उनले कृषिलाई व्यावसायिक बनाउन र प्रविधिमार्फत किसानलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् । ‘कृषिमा अवसर छ, तर बजार बुझेर काम गर्नुपर्छ’, उनी सुझाव दिन्छन् ।
उनी किसानलाई प्रविधि प्रयोग गर्न र एकअर्कासँग समन्वय गरेर अगाडि बढ्न प्रेरित गर्छन् । नेपाली उत्पादनलाई विश्वासिलो ब्रान्ड बनाउने उनको सपनाले लाखौं किसान र उपभोक्ता जोडिरहेको छ । अनिलले स्मार्ट कृषि एप र सामाजिक सञ्जालमार्फत नेपाली कृषिको पहिचान नयाँ उचाइमा पुर्याएका छन् ।
ट्रेन्डिङ

रमेश थापागोताखोर

रहबर अन्सारीप्रदेश सभा सदस्य

डा. अखण्ड उपाध्यायचिकित्सक

गौरव न्यौपानेकृषि अधिकृत

डा. नम्रता खड्कान्यूरोसर्जन

रञ्जित भट्ट, पुनित जाजोदिया, अश्विन श्रेष्ठआईटी उद्यमी

गणपतिलाल श्रेष्ठ, सञ्जय अधिकारीसांस्कृतिक अभियन्ता

भिक्टर पौडेलसोसियल कम्युनिकेटर

सञ्जन गौतमपब्जी स्ट्रीमर

कुम: सागरगायक