‘हाई स्पीड’ आरोही
भाग्य कसले लेख्छ ? विधाताले । धेरैको बुझाइ यस्तै छ । तर ३४ वर्ष पहिले ३,५०० मिटरको उचाइमा पर्ने उत्तरी गोरखाको छेकम्पार गाउँमा जन्मिएकी फुन्जो लामालाई अहिले मानिसको भाग्य आफ्नै कर्मले लेखिन्छ जस्तो लाग्छ ।
विकटताले घेरिएकोे चुम उपत्यकाको सुन्दर गाउँकी अद्भुत प्रतिभा फुन्जो दुई वर्षकी हुँदा आमाले छोडेर गइन् । नौ सन्तान जन्माएकी आमा बित्दा फुन्जोकी कान्छी बहिनी ११ महिनाकी थिइन् ।
‘हेर्ने कथा’ का चर्चित पात्र प्रकाश तामाङ जस्तै लमजुङबाट चुम उपत्यकामा काम गर्न गएका उनका बाजे त्यहीं बिहेबारी गरेर न्यौपाने बाहुनबाट लामा भए । प्रशस्त जग्गा–जमिन र चौंरीका धनी बनेसँगै छेकम्पारका चल्ताफिर्ता स्थानीय भए पनि उनको परिवार खेतीपाती र पशुपालनमै सीमित रह्यो ।
फुन्जोकी आमाको निधनपछि उनकी बहिनी (क्षमा) कान्छी आमा भएर घर आइन् । घरमा सोचे जस्तो व्यवहार भएन । फुन्जो बाजेको पछि लागेर लेकको चौंरी गोठमा गइन् ।
उनी ५,२०० मिटरको उचाइका खर्कमा चौंरी लिएर ओहोरदोहोर गर्थिन् । लेकमा चौंरी धपाउँथिन् । साँझ–बिहान चौंरीको दूध दुहेर बाजेलाई सघाइन् । घिउका भारी बोकेर तिब्बती बजारसम्म पुगिन् ।
‘एक घण्टाको पैदल दूरीमा स्कूल त थियो तर म गइनँ । दिउँसो स्कूलमा रमाएर भएन, रातको खुशी हुँदैनथ्यो’ फुन्जोले आफ्नो अवस्था सुनाइन्, ‘म चौंरी गोठमै गएँ । त्यहीं बाजेसँग आनन्द थियो ।’

उनी अघि जन्मिएका धेरै दिदीहरू ठेउला रोगका कारण बिते । बाँचेकाहरू केही लामा भइसकेका थिए भने दाइ छात्रवृत्तिमा काठमाडौं बसेर पढिरहेका थिए । नातिनीको जीवन गोठमै बित्ला भन्ने डरले हुर्किंदै गरेकी फुन्जोलाई बाजेले गाउँ छोड्न निकै कर गरे ।
‘तिम्रो लागि यो ठाउँ होइन, काठमाडौं जाऊ । ठूलो मान्छे बन्नुपर्छ’ दुईपटक चौंरीको घिउ र जंगली जनावरको छाला बेच्ने क्रममा काठमाडौं देखेका बाजेले नातिनीलाई उक्साइरहन्थे, ‘घरैघर छन्, राम्रो हुन्छ । जाऊ !’
फुन्जोलाई भने चौंरीको ठूलो बथान लिएर सबैभन्दा अग्लो खर्क पुग्न मन पर्थ्यो । जति नै कर गरे पनि उनलाई हात कामेर चौंरी दुहुन नसक्ने बाजेको माया लाग्यो । अरू गोठालालाई गुहार्नुको सट्टा फुन्जो आफैं अघि सर्थिन् । चौंरीले पनि उनी बाहेक अरूलाई दूध नदिने भएका थिए । उनलाई कलिलो उमेरमा ४२ वटासम्म चौंरी दुहेको अहिले नै हो कि जस्तो लाग्छ ।
फुन्जो ११ वर्षमा दौडिइरहँदा बाजेले गोठ छोडाउन अलि धेरै नै कर गरे । सन्दर्भ थियो, उनका काकाहरू भारतको बोधगया तीर्थ जाँदै थिए । त्यही मेसोमा फुन्जो पनि काठमाडौंको कपन गुम्बामा आनी बनेर बसेकी दिदीलाई भेटेर आए हुन्थ्यो भन्ने बाजेको चाहना थियो ।
नातिनीलाई चौंरी गोठ छोडाउन उनले घिउ बेचेर जम्मा भएको चार सय रुपैयाँ पनि दिए । फुन्जो घरबाट निस्केर तल्लो गाउँको चौंरी खर्कसम्म पुगिन् तर अबेरसम्म पर्खंदा पनि गाउँले काकाहरू नआएपछि गोठमै फर्किइन् ।
‘१३ वर्षको भइसक्यो । अब त विद्यालय जान पनि पाउँदैन होला’ दुई वर्षपछि बाजेले अलि धेरै नै कर गरेर शहर जान जोड गर्दै भने, ‘अब अरू केही नसोच, कपन गुम्बामा आनी बनेर बस ।’
स्वेच्छा भन्दा पनि बाजेको करकापले चौंरीको संगत छोडेर तीर्थ जान काठमाडौं हिंडेकी उनले आरुघाटमा बास बस्दा पनि सपनीमा चौंरी गोठ नै देखिन् । त्यही आरुघाटमा पहिलो पटक बस देखिन् । छिमेकी काकाले काटेको टिकट लिएर बसमा यात्रा गर्दा ‘रूख पनि हिंडे जस्तो’ लागेर चकित भइन् ।
काठमाडौं पुगेपछि पुल्चोकमा इन्जिनियरिङ पढिरहेका दाइकोमा नगएर गाउँकै काकीको घरमा बसिन् । त्यहींबाट फुर्सदमा स्वयम्भू डाँडोमा पुगेर शहरमा कति घर रहेछन् भनेर गन्ने प्रयास गरिन् । सम्भव भएन । स्वयम्भू वरपर घुमेर दिन बिताइन् ।
आनी बन्ने सोचले दिदी खोज्दै कपन गुम्बामा पुगेकी उनी केही दिन त्यहीं बसिन् । निष्फिक्री जीवन बाँचेकी फुन्जोलाई गुम्बाको जीवनशैली त्यति रमाइलो लागेन । कम्पाउन्डले घेरिएको गुम्बाबाट चाहेको बेला बाहिर निस्कन बन्देज थियो ।
अर्को, एक फन्को शहर घुमेपछि उनलाई लाग्यो, ‘यहाँ आनी बन्ने बाहेक अरू विकल्प पनि रहेछन् ।’ गुम्बा छोड्ने कुरामा दिदी सहमत थिइनन् । तर, दाइको सहयोगमा आनी बन्ने योजना त्यागेर उनी दाइसँगै बसिन् ।
विद्यालयमा पाइलो नटेकेकी उनलाई १४ वर्षको उमेरसम्म पनि नेपाली भाषा आउँदैनथ्यो । उमेरका कारण विद्यालय जान सकिनन् । उनका दाइले विश्वभाषामा नेपाली सिक्न भर्ना गरिदिए । पढाइ त यस्तै हो साथीहरूसँगको संगतबाट जसोतसो नेपाली सिकिन् । बाँकी डेरामै बसेर नेपाली पढिन्, सिकिन् ।
थोरबहुत नेपाली बोल्न सक्ने भएपछि उनी अंग्रेजी सिक्न लगातार ७ वर्ष ब्रिटिश काउन्सिल धाइन् । सन् २०१३ तिर एउटा सम्मेलनमा अमेरिका जान लागेका दाइले फुन्जोको मनसाय बुझेपछि उतै लिएर जाने सोच बनाए । भिसाको प्रबन्ध गरेर बहिनीलाई अमेरिका लगेर पढ्ने वातावरण बनाइदिए ।
अमेरिका छोडेर नेपालमा रेस्क्यूअर
बाल्यकालमा गरिबी बेहोरेकी फुन्जोलाई कमाउन मन लाग्यो र अध्ययन छाडेर काम गर्न थालिन् । सधंैभरि भारी उचाल्ने प्रकृतिको काम गर्न दिक्दारी लागेपछि फुन्जो नेपाल फर्किइन् ।
तर यहाँ केही काम थिएन । गाउँमा नेपाली बुझ्ने उनका दाइ मात्र भएकाले त्यहाँ दुःख–बिमार भएर कसैको उद्धार गर्नुपर्ने भए उनैलाई सम्पर्क गर्थे । अरू काममा व्यस्त भएकाले दाइको काम फुन्जोको काँधमा आइपुग्यो ।

एअरपोर्ट आवतजावत गर्दा फिलिपिन्सबाट पाइलट कोर्स गरेर आएका सुवेक श्रेष्ठले सिम्रिक एअरमा जागिरका लागि सम्पर्क गराइदिए । सुवेक उनै हुन् जसले भूकम्पपीडित खोज तथा उद्धारमा जाँदा सिन्धुपाल्चोक हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् ।
केही समयपछि सुवेकले नै फुन्जोलाई सिम्रिक हेलिकोप्टरले ‘लङ–लाइन रेस्क्यू’ तालिम दिने तयारी गरेकाले सहभागी हुन आग्रह गरे । ‘तालिम गर, म हेलिकोप्टर चलाउँछु, तिमी डोरीमा झुण्डिने’, उनले रेस्क्युको काममा लाग्न प्रेरित गराउँदै भनेका थिए ।
सुवेकले त भने तर तालिम दिने सिम्रिकले के गर्ने हो ? ‘यहाँ तालिमको अवसर पाइनँ भने म विदेश गएर भए पनि सिक्ने हो’, उनले सिम्रिकमा गएर सिद्धार्थ गुरुङलाई घुर्क्याइन् ।
गुरुङले आरुघाटमा बिजुलीको सामान ढुवानी गरिरहेकाले फुन्जोलाई त्यहीं पठाइदिए । त्यहाँ उनले हेलिकोप्टरमा समान कसरी लोड, अनलोड गर्ने भन्नेबारे सिकिन् ।
दुई महिना आरुघाटमा बसेर काम गर्दा उनले हेलिकोप्टरमा डोरी बाँधेर कसरी झुण्डिने, समान लोड, अनलोड कसरी गर्ने र आपतकालीन उद्धार लगायतका व्यावहारिक ज्ञान सिकिसकेकी थिइन् ।
‘अरू दाइहरू राति रक्सी खाएर अबेरसम्म सुत्थे । गर्नुपर्ने सबै काम म गर्दिन्थें’ उनले सुरुआती चरणका दुःख स्मरण गरिन्, ‘अमेरिकी सिस्टमको छाप मेरो दिमागमा परिसकेको थियो, जति सिकें प्रोफेसनल भएर सिकें ।’
काम गर्दागर्दै उनले नेपालकै पहिलो महिला हेलिकोप्टर लङ–लाइन उद्धारकर्मीको पहिचान पनि बनाइन् ।
आरुघाटको आधारभूत तालिम सकिएको चार महिनापछि अन्नपूर्ण हिमालमा हेलि–स्की भयो, उनी त्यहीं गएर स्कीका सामान सफा गरेर बसिन् ।
कामदारका रूपमा सिकेको सीपबाटै सन् २०१५ र २०१८ को स्की च्याम्पियनसिपको अल्पाइन च्याम्पियिन पनि फुन्जोले आफ्नो नाममा लेखाउन सकिन् ।
स्कीका लागि स्विट्जरल्याण्डबाट प्रशिक्षक ब्रुनो आएका थिए । ‘यहाँ रेस्क्यु धेरै हुँदैन । तालिम देऊ, २४ घण्टा रात–दिन काम गर्न म स्विट्जरल्याण्ड जान्छु’, फुन्जोले प्रस्ताव राखिन् । प्रशिक्षक ब्रुनो खुशी भएर प्रस्ताव स्वीकारे ।
फुन्जो, एक जना अर्को केटा र दुई जना क्याप्टेनले स्विट्जरल्याण्डका हेलिप्याडमा बसेर लङलाइन रेस्क्यू सम्बन्धी तालिम गरे, त्यसले उनलाई निकै आत्मविश्वास दियो ।
काठमाडौं फर्किएपछि उनलाई लाग्थ्यो, ‘मैले जति कसैले पनि जानेको छैन ।’ तर के गर्नु, काम भने केही थिएन । तैपनि जसोतसो यहीं टिकेर नेपाललाई नै कर्मथलो बनाइरहिन् ।
हिमाल आरोहणको यात्रा
कामको सिलसिलामा उनको टीममा रहेका केटाहरूले हिमाल चढ्न प्रोत्साहित गरे । फुन्जोलाई लागेको थियो हिमाल चढेपछि त यसै पैसा कमाइन्छ । उनका सहकर्मीले नै भने, ‘अहिले पैसा लगानी गरे भविष्यमा आरोहणमा आउने विदेशीबाट कमाउन सकिन्छ ।’
उनी आरोहण सम्बन्धी तालिम नै नगरेर सन् २०१५ मा सगरमाथा आधारशिविर पुगिन् ।
विनाशकारी भूकम्पपछि आधारशिविरमा आएको हिमपहिरोमा मुश्किलले ज्यान जोगाइन् । उनले जीवन नै सकियो भन्ने सोचेकी थिइन् । रेस्क्युको क्रममा अरू जे भए पनि दुर्घटनामा हुँदा टाउको छोप्नु भन्ने सिकाएको सम्झेर आधारशिविरमा भएको ब्लू ब्यारेलले टाउको छोपेर ज्यान जोगाइन् ।
भूकम्पले दिएको सास्ती सम्झँदै उनले भनिन्, ‘जन्मेपछि एकपटक त मर्ने नै हो भन्ने लागेको थियो । हिमपहिरोले छोप्दा तीन वर्षकी छोरीको धेरै सम्झना आयो ।’
भूकम्प लगत्तै उनी काठमाडौं फर्किइन् । सिकेको सीप हेलिकोप्टरमा सामान लोड, अनलोड र लङ–लाइन रेस्क्यु थियो, त्यही कामका लागि धादिङको सल्यानटार पुगिन्, जहाँ ४५ दिनसम्म भूकम्प पीडितका लागि हेलिकोप्टरबाट हुने राहत वितरणको काममा खटिइन् ।

हिमाल आरोहणको चाहना मरेको थिएन । भूकम्पपछि सन् २०१६ मा देनाली आरोहणका लागि चार हजार डलर लिएर अमेरिका हिंडिन् । उनीहरूको टोली रेन्जर क्याम्पमा अड्कियो जहाँ रेन्जरको एउटा प्रश्नले उनलाई सोच्न बाध्य बनायो ।
‘अमेरिकी महिला यति धेरै रकम खर्च गरेर नेपालका हिमाल चढ्छन् तिमीहरू आफ्नै देशमा भएका हिमाल पनि किन नचढेको ?’ उनले सोधेका थिए ।
कुराकानीको क्रममा परिचित बनेका ती रेन्जरले फुन्जोलाई ८,००० मिटर भन्दा अग्ला कुनै पनि हिमाल चढ्ने भए त्यसको आधा रकम आफैंले बेहोरिदिने वाचा पनि गरे ।
नेपाल फर्किएर सन् २०१६ को सेप्टेम्बरमा चोयु हिमाल आरोहणमा जाने निधो गरिन् फुन्जोले र ती रेन्जरलाई सोही अनुसारको इमेल लेखिन् । उनले आरोहणको आधा रकम बेहोरिदिए ।
सेभेन समिटका मिङ्मा शेर्पाले गाइड विना जाने भए केही शुल्क मिनाह गरिदिने घोषणा गरे । सबैको साथले उत्साहित फुन्जोले अक्सिजन विना नै चोयु आरोहण गरेर सबैलाई चकित बनाइन् ।
त्यसो त फुन्जोले चोयु हिमालको आरोहण अक्सिजन विनै गरेकी छन् र रोचक त के छ भने उनले अक्सिजन विना आरोहण गरेको रेकर्ड बनाउन होइन, पैसा नभएर हो । तर अभावले पनि कहिलेकाहीं रेकर्ड बनाउन सघाउनेरहेछ । सबैले बधाई दिए । उनलाई भने खास केही लागेन ।
चोयु आरोहण पछि हिमाल आरोहणको नशा शुरू भयो । उनी नियमित वाल क्लाइम्बिङमा जाने क्रममा एक जना अष्ट्रेलियन केटीलाई भेटिन् जसलाई आरोहणमा रहर थियो तर, आत्मविश्वास थिएन । वाल क्लाइम्बिङमा आधा बाटोमा गएर रोकिन्थिन् । फुन्जोले उनलाई सधैं अन्तिमसम्म पुग्न प्रेरित गरिन् ।
शायद, उनलाई फुन्जो मन पर्यो ! ती अष्ट्रेलियन आरोहीले फुन्जोसँग आमादब्लाम हिमाल सँगै चढ्न प्रस्ताव गरिन् । फुन्जोले आमादब्लाम मात्र होइन, मेरी पिक, लोबुचे र मनास्लु हिमाल पनि चढाइदिइन् ।
आरोहण सफलताको खुशीमा फुञ्जोलाई उनले अष्ट्रेलिया लगिन् र त्यहीं तालिमको अवसर दिलाइन् । त्यहाँ पनि धेरैले सोधे, ‘सगरमाथा चढेकी छौ ?’
धेरै नसोचीकन फुन्जो अष्ट्रेलियन आरोही सामान्दा मेखमानलाई लिएर सन् २०१८ मा सगरमाथा आरोहणका लागि निस्किइन् । एक राउन्ड रोटेसनपछि उनले सगरमाथाको दोस्रो शिविरसम्म सजिलै यात्रा गरिन् । धेरैले भन्थे, सगरमाथा आरोहण कठिन हुन्छ तर उनलाई त्यस्तो लागेन ।
उनको मनमा आधारशिविरबाट कहीं नरोकिएर समिटमा कति समयमा पुग्न सकिएला भन्ने कौतूहल जाग्यो । उनको अन्तरात्मामा २० घण्टामा त जसरी नि सकिन्छ होला भन्ने लागेको थियो ।
त्यही आत्मविश्वासका साथ फुन्जोले आफूले लिएको अष्ट्रेलियन आरोहीलाई अरू गाइडसँग पाँच दिन अघि पठाएर शिखरमा दुई जना सँगै पुग्ने योजना बनाएर बसिन् ।
योजना अनुसार बाटोमा सँगै गएका गाइड आइसफलमा लडे । उनलाई रेस्क्यु गर्न एक घण्टा लाग्यो । दोस्रो क्याम्पमा खाना खाए, लुगा लगाए ।
उनी अघि लागेर क्याम्प थ्रीको भित्तामा पुगेर पाँच घण्टा पर्खिइन्, तर गाइड आएनन् । धेरैले नपर्खन भने तर उनको मनले मानेन । बरु, त्यहाँ भएका शेर्पालाई तल पठाएर गाइडलाई तेस्रो शिविरमा पुर्याइन् । पछि थाहा भयो, गाइडले लगाएको अक्सिजन मास्कको रेगुलेटर बिग्रिएको रहेछ । खासमा गाइड, फुन्जोको गतिमा हिंड्न सकेका थिएनन् ।
त्यहींबाट क्याम्प टु फर्किए, भोलिपल्ट फर्कने शर्तमा ।

बिहानै आउने अपेक्षा गरेका गाइड साँझ चार बजे मात्र आइपुगे । आधा घण्टापछि तेस्रो शिविरबाट शिखरमा पुगेर साउथ कोलमा पर्खिरहेको सामान्दालाई भेटिन् । शिखरबाट सिधै दोस्रो शिविरमा आएर आराम गरेको निद्रा यति लागेको थियो कि कानले सुने पनि उनको आँखा खुल्दै खुलेनन् ।
बाटोमा भोग्नु परेको अनपेक्षित लफडाले २० घण्टामा सगरमाथा आरोहण गर्छु भन्ने महत्वाकांक्षा पूरा नभएपछि फुन्जो जर्मनी गएर फर्किइन् । त्यही बेलामा मिङ्मा डेभिड शेर्पाले उनको आरोहणको विवरण मागे । फुन्जोलाई शिखरमा पुगेको समय बाहेक केही सम्झना थिएन । मिङमाले डेभिडले पर्यटन विभागबाटै सबै विवरण लिए ।
विवरण किन पनि लिइएको थियो भने एक जना विदेशी महिलाले ५० घण्टामा सगरमाथा आरोहण गरेको विवरण पेश गरेर गिनिज वर्ल्ड रेकर्ड दाबी गरिरहेकी थिइन् ।
उनको दाबी चित्त नबुझेर मिङ्मा डेभिड पर्यटन विभागसम्म पुगेका थिए । विभागले फुन्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गरेको पुष्टि गरिदियो ।
त्यही सूचनाका आधारमा उनको सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रूपमा विश्व कीर्तिमान कायम भयो ।
फुन्जो आफैंलाई भने कीर्तिमान बारे थाहा थिएन । बरु, उनमा ३९ घण्टाको रेकर्डलाई आधा घटाउन सक्ने दृढता थियो ।
सोही दृढता परीक्षणका लागि उनी सन् २०२४ मा सगरमाथा आधारशिविर फर्किइन् । त्यही वर्ष खुम्बु आइसफलको बाटो १ घण्टा ४० मिनेट लामो भएको थियो ।
चुनौतीका बावजुद एक महिना त्यहीं बसेर हिमाली वातावरणमा अनुकूलित भइन् । आरोहण अवधि घटाउन तीन पटकसम्म तेस्रो शिविर र आधारशिविर ओहोरदोहोर गरिरहिन् ।
२२ तारिखको बेलुका ४ः५२ मा आधारशिविरबाट हिंडेकी उनी बाल्कोनीमा ४० मिनेट जाममा फसेर पनि बिहान ६ः२३ मा सगरमाथाको टुप्पोमा पुगिन् । फेरि त्यहाँबाट हिंडेर साँझ आधारशिविरमा पुगिन् ।
१४ घण्टा ३१ मिनेटमा सगरमाथाको शिखरमा पुगेर सबैभन्दा छिटो सर्वोच्च शिखर आरोहण गरेको महिलातर्फ विश्व कीर्तिमान बनाइन् ।
त्यहीबाट काठमाडौंमा रहेकी छोरीलाई फोन गरेर भनिन्, ‘ओ केटी मैले बिलो १५ हावरमा सगरमाथा आरोहण गरें है !’
छोरीको जवाफ थियो, ‘थाहा छ, संसारको मिडियामा बजिरहेको छ । अब तिम्रो रेकर्ड कसैले तोड्न सक्दैन, मैले नै ब्रेक गर्ने हो !’
फुन्जोलाई भने आफ्नो कीर्तिमान फेरि पनि तोड्न सक्छु भन्ने लागेको छ । ‘टीम भए हामीले गर्न सक्ने रहेछौं । त्यतिबेला ४० मिनेट बाल्कोनीमा अड्किएँ । योभन्दा छोटो समयमा पनि गर्न सकिन्छ’, उनले भनिन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी