+

क्रिकेटका क्रेजी इन्भेस्टर

पूरा सूची
Shares
विनोद कुँवर जसले ४० करोड खर्चेर रूपन्देहीमा भव्य क्रिकेट रंगशाला लोभलाग्दो गतिमा निर्माण गरिरहेका छन् । जबकि, कीर्तिपुरस्थित चलिरहेकै क्रिकेट रंगशालामा फ्‌लड लाइट जडान र पारापिट निर्माण गर्न नसकेर एकपछि अर्का प्रधानमन्त्री खप्की आइरहेका छन् ।
विनोद कुँवर

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भव्य क्रिकेट रंगशाला बन्दैछ । निजी क्षेत्रबाट बन्दै गरेको यो पहिलो रंगशालाले क्रिकेट खेलाडी र समर्थकको ध्यान त तानेकै छ, समाजको ठूलै पंक्तिले चासोका साथ हेरिरहेको छ ।

४० करोड लागतमा यो रंगशाला बनाउँदैछन्, विनोद कुँवरले । सरकारलाई नै धौ–धौ परिरहेको (प्रधानमन्त्री आफैं लाग्दा समेत कीर्तिपुर रंगशालामा फ्‌लड लाइट जडान र पाराफिट निर्माण कार्य कठिन बनिरहेको छ) बेला यस्तै काम गर्ने कुँवरलाई विस्तृतमा बुझ्‌न भने गुल्मीको मदाने गाउँपालिका पुग्नुपर्छ ।

०००

अरुभन्दा भिन्न बन्नुअघि विनोद कुँवर पनि अरुजस्तै थिए । अर्थात्, एउटा आम नेपाली युवाले अचेल सोचिरहेको जस्तै अष्ट्रेलिया अमेरिका वा युरोपतिर उड्ने सपना थियो उनीसँग । उनी अमेरिका र अष्ट्रेलिया जाने सपनामा पशुपतिनाथको पूजा गर्नेदेखि बाँदरलाई लड्डु खुवाउनेसम्म गर्थे ।

त्यो आजभन्दा १५ वर्षअघि अर्थात् सन् २०१० तिरको कुरा थियो । नेपालले विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि जितेको थियो । पारस खड्का र ज्ञानेन्द्र मल्लको पोस्टर बोकेर विनोद जुलुसमा निस्किएका थिए ।

सन् २०१३ मा नेपाल र हङकङबीचको खेल थियो । उक्त खेल हेर्न विनोद साथीहरूसँग काठमाडौं सिभिल मल गएका थिए । त्यहाँ ठूलो पर्दामा निःशुल्क खेल देखाइएको थियो । तर, रोमाञ्चक मोडमा खेल पुगिरहेका बेला टेलिभिजनका मालिकले लाइन बन्द गरिदिए । विनोद सहित क्रिकेटप्रेमीहरू निराश भए, खेल हेर्न समेत पाएनन् ।

विनोदलाई त्यसैबेला लाग्यो, ‘कुनै दिन आफैं रंगशाला बनाएर भीआईपी सिटमा बसेर क्रिकेट हेर्छु।’ विनोदले त्यसबेला लिएको संकल्प अहिले पूरा गर्दैछन् । अर्थात् अहिले तिलोत्तमा नगरपालिका–१७, दरखसवामा निर्माण भइरहेको क्रिकेट रंगशाला निर्माणको संकल्प त्यस बेलै धेरथोर छँदै थियो ।

गुल्मीको विकट क्षेत्र मदाने गाउँपालिका–४, म्यालपोखरीमा जन्मिएका विनोदले २०५९ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । उनले एसएलसी दिइरहेको समय माओवादी युद्धको लगभग उत्कर्षकाल थियो । गाउँ आज जस्तो थिएन ।

एसएलसी दिन तम्घास आउँदा पहिलो पटक टेलिभिजन र फिल्म हेर्न पाएका थिए, विनोदले । दोहोरी गीत र फिल्म हेरेर थुप्रै रात कटाएको उनको स्मरणमा अझै ताजा छ । पढाइमा पनि राम्रै थिए । ५२ प्रतिशत सहित सेकेन्ड डिभिजनमा विनोदले एसएलसी उत्तीर्ण गरे ।

थप अध्ययन तम्घासको महेन्द्र उच्च माविमा शुरू गरे । भलिबलका खेलाडी विनोद विज्ञान पढ्न थाले । अंग्रेजी माध्यममा पठन–पाठन हुने हुँदा विनोदलाई सजिलो भएन । ‘भाषाकै कारण अरू हाँस्दा हाँसें, चुप लाग्दा चुप लागे’, उनी ती दिन सम्झन्छन् ।

त्यतिबेला विनोदका बुवा भारतको पञ्जाबमा काम गर्थे । एकपटक त बुवासँगै पञ्जाब जान विनोद पनि कस्सिएका थिए । तर बस र रेल भाडा बापतको १६०० रुपैयाँ जोहो गर्न सकेनन् र तम्घासमै रोकिए ।

कक्षा–११ को नतिजा आउँदा केमेस्ट्री र फिजिक्समा विनोद फेल भए । उनीसँग कठोर अध्ययनको विकल्प थिएन । चार घण्टा बढी नसुतेर पढे । अर्को वर्ष कक्षा–११ मा फेल भएका विषय सहित कक्षा–१२ पनि कटाए, ५९ प्रतिशत अंक ल्याएर । यो प्रतिशतले डाक्टर पढ्न पाएनन् ।

अनि बने इन्जिनियर

विनोद इन्जिनियरिङ पढ्न बुटवल झरे । इन्जिनियरिङ बढ्न वार्षिक तीन लाख र भर्ना हुन सुरुमै ८५ हजार रुपैयाँ चाहिने भयो । घरबाट त्यति ठूलो रकम पठाउन सक्ने अवस्था थिएन ।

खर्चको जोहो गर्न उनी गाउँ फर्के । गाउँकै स्कूलमा पढाउन थाले । कक्षा–८ सम्म स्कूल र थप ट्युसन पढाएर एक वर्षलाई पुग्ने रकम पोको पारेर उनी बुटवल झरे । तिलोत्तमा भलबारीको लुम्बिनी इन्जिनियरिङमा भर्ना भए । इन्जिनियरिङको कक्षा भए पनि शिक्षकहरूले ‘दिमाग र सोच ठूलो बनाउनुपर्छ’ भनेको कुराले विनोदलाई तान्यो ।

कलेजको प्रयोगात्मक अभ्यासमा साथीहरूसँग मिलेर हेलिकप्टर पनि बनाए । लोकराज घिमिरे र द्रोण घिमिरेसँग मिलेर एक वर्षकोे मिहिनेतमा हेलिकप्टर तयार भयो । तर साढे दुई लाख खर्चेर बनेको हेलिकोप्टर उड्न सकेन ।

‘हेलिकोप्टर उड्न सक्थ्यो, तर थप खर्च गर्न पैसा र समय पनि भएन, अनि सपना अधुरै रह्यो’ विनोद भन्छन्, ‘कलेज पढ्दा उड्न सक्ने हेलिकोप्टर बनाउन नसकेको सपना पूरा गर्न इन्जिनियरिङ कलेज र डाक्टर बन्न नसकेकाले आज अस्पताल खोल्ने योजना बनाउँदैछु ।’

अमेरिका जाने अधुरो रहर

सन् २०११ मा इन्जिनियरिङ पूरा गरेपछि विनोद काठमाडौं गए । उद्देश्य काठमाडौंमै अडिने थिएन । उनी स्टुडेन्ट भिसामा अमेरिका जान चाहन्थे ।

त्यसका लागि जीआरई र टोफेल उत्तीर्ण गर्नुपर्थ्यो । तर पाँच पटकसम्म पनि सफल हुन सकेनन् । अमेरिका उड्न नसकेपछि अष्ट्रेलिया जान आईईएलटीएसको तयारी गरे । यसमा पनि सात पटकसम्म फेल भए ।

फेरि अमेरिकाकै लागि प्रोसेस गरे । हेलिकप्टर बनाएको, जीआरई गरेको, इन्जिनियरिङ गरेको डकुमेन्ट पेश गरे । तर दूतावासमा लिइएको अन्तर्वार्तामा अंग्रेजी कमजोर भएर फेल भए । त्यसपछि फेरि अष्ट्रेलियाको लागि प्रोसेस गर्दा सफल भए ।

अष्ट्रेलियामा १२ वर्ष बसेपछि विनोद नेपालमा पहिले अस्पताल बनाउन चाहन्थे, त्यसपछि मात्र क्रिकेट स्टेडियम र आईटी कलेज खोल्ने मनसायमा थिए । ५४ कट्ठा जग्गा खरिद गरिरहँदा पनि अस्पताल नै खोल्ने भनेका थिए । तर क्रिकेट स्टेडियमको अभाव बुझेका उनले मनसाय बदले ।

अष्ट्रेलियामा पनि उस्तै दुःख

सन् २०१४ मार्चमा स्टुडेन्ट भिसामा अष्ट्रेलिया पुगेका विनोदले त्यहाँ पनि तीन महिनासम्म दुःख पाए । चिनजानका कोही थिएनन् । एक महिनापछि फेरि अमेरिकाको लागि भिसा अप्लाई गरे । पाएनन् र माया मारे ।

जागिर पाउन विनोदले एजेन्टलाई कमिसन खुवाए । र, दुई हप्ताका लागि हाउस किपिङको जागिर पाए । त्यसपछि वेयर हाउस र कार शोरुममा पनि काम गर्न थाले । दैनिक १८ घण्टासम्म काम गरे । ६५ दिनसम्म बस्ने व्यवस्था भएन । कैयौं रात ट्रेन (रेल)मा सुते ।

‘बेलुकीपख आउने ट्रेन चढेर चाउचाउ खाँदै कैयौं रात बिताएँ’, विनोद सम्झन्छन्, ‘ट्वाइलेट र एसी हुने भएकाले ट्रेनमा सुत्न पाउँदा पनि ठूलै राहत हुन्थ्यो ।’ तीनथरी काम गरेपछि विनोदले अष्ट्रेलिया पुग्न गरेको १५ लाख ऋण र त्यसको ३६ प्रतिशत ब्याज तिर्न सके । अनि तीनवटै जागिर छाडेर उनी करिअर बनाउन लागे ।

तर, बीचमा भिसाको म्याद सकिएको पत्तै पाएनन् । ओभर स्टे बसे । फेरि स्टुडेन्ट भिसा प्रक्रियामा गएर ७ लाख खर्चेर भिसा रिन्यू गरे । आफूले पढेको आईटी विषयसँग सम्बन्धित जागिरका लागि ४–५ ठाउँमा अप्लाई गरे, तर पाएनन् । जागिर नपाउँदा यूएई जाने सोच समेत पलाएको उनी बताउँछन् ।

तर, पछि शेष घलेको एमआईटी कलेजमा जागिर पाए । त्यहाँ एक वर्ष काम गरेपछि नेपालीलाई पनि काम दिनुपर्छ भनेर तालिम, होम ट्युसन शुरू गरे । सिड्नीमा एक्स्ट्राटेक एजुकेसन एन्ड भिसा सर्भिसेज कम्पनी शुरू गरे । आफ्‌नै कम्पनी स्थापनापछि उनले पछि फर्केर हेर्नुपरेको छैन । कोरोना महामारीमा अरूका व्यवसाय बन्द हुँदा पनि उनको कम्पनी चलिरह्यो । कोरोनाकालमै ९०० जनाले काम पाएको विनोद बताउँछन् ।

उनको आईटी ट्रेनिङ इन्स्टिच्युटमा १५ जना बढी कर्मचारी छन्‌ । क्यानबेरा, ब्रिसवेन, मेलवर्नमा फ्रेन्चाइज छन् । काठमाडौंको सुविधानगरमा नेपाल शाखा छ । अर्थात् अहिले विनोद कुँवर एक सफलताको सिंढीतिर चढिरहेका छन् ।

सफलताकै कारण विनोद–सुदीक्षा दम्पती क्रिकेट रंगशाला निर्माण जस्तो महत्वाकांक्षी परियोजना अगाडि बढाइरहेका छन् । ‘अध्ययनकै सिलसिलामा भएका तीन वटा घटनाले मलाई क्रिकेट रंगशालादेखि अस्पताल र आईटी कलेजको सपनातर्फ डोर्‍याइरहेको छ’ उनी भन्छन्, ‘असफलतालाई सफलतामा बदल्ने संकल्प गरेको भएर नै म यो अवस्थामा उभिएको छु । मेरो सफलताका श्रेय मैले खाएको हण्डर र ठक्कर हुन् ।’

यसको अर्थ विनोद कुँवरको योजना तिलोत्तमा क्रिकेट रंगशाला निर्माणमा मात्र सीमित छैन । उनी आईटी कलेज र अस्पताल पनि सञ्चालन गर्ने योजनामा छन् ।

१२ वर्षपछि …

अष्ट्रेलियामा १२ वर्ष बसेपछि विनोद नेपालमा पहिले अस्पताल बनाउन चाहन्थे, त्यसपछि मात्र क्रिकेट स्टेडियम र आईटी कलेज खोल्ने मनसायमा थिए ।

५४ कट्ठा जग्गा खरिद गरिरहँदा पनि अस्पताल नै खोल्ने भनेका थिए । तर क्रिकेट स्टेडियमको अभाव बुझेका उनले मनसाय बदले । अस्पतालको सट्टा रंगशाला बनाउन ५ बिघा पुर्‍याई काम अगाडि बढाए ।

२५ हजार दर्शक क्षमताको निर्माणाधीन क्रिकेट रंगशालाको कम्पाउन्डमा चार तलाको भवन बनिरहेको छ । १०० जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने योजना एक्स्ट्राटेकले लिएको छ । एकेडेमी भवन र रंगशालाको निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एक्स्ट्राटेक मैदानमा फ्लड लाइट जडान भइसकेको छ । चार वर्षमा पूरा गर्ने भनिएको रंगशाला एक वर्षअघि नै पूरा हुने अनुमान गरिएको छ । एक्स्ट्राटेकले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई ब्रान्ड एम्बासडर बनाएको छ ।

एक्स्ट्राटेक ओभल

‘दुःखले देश छाडेको हुँ, १२ वर्षमा आफ्‌नै देश फर्किने संकल्प लिएको थिएँ’ विनोद भन्छन्, ‘नेपालमा स्टेडियम बनाएर स्पोर्टस् बिजनेस गर्न सकिन्छ भन्ने कसैले सोचेको, मैले त्यो सम्भावनाको ढोका खोलिदिएँ ।’

उनको विश्वास छ, क्रिकेटको उर्बरभूमि रूपन्देहीको एक्स्ट्राटेक ओभल रंगशालामा निकट भविष्यमै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू हुनेछन् । त्यसले रूपन्देही र नेपालकै पहिचान उँचो बनाउनेछ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।