
वीर अस्पतालको न्यूरोसर्जरी विभागको भित्तामा १८ वटा अनुहार फ्रेममा सजिइसकेका थिए। अनुभवी न्यूरोसर्जनहरू तर, सबै पुरुष। त्यही भित्तामा एउटा नयाँ फ्रेम थपिंदै थियो। १९औं अनुहार एकप्रकारले निरन्तरतामा क्रमभंग बन्यो। किनकि फ्रेममा अटाइन् न्यूरोसर्जन डा. नम्रता खड्का।
झलक्क हेर्दा जोकोहीलाई यो सामान्य लाग्छ तर, उनी आफ्नो तस्वीर भित्तामा सजिएसँगै शब्दविहीन बनिन्। मौनता बिस्तारै आँसुमा परिणत भयो। ती कमजोरी पग्लिएका थिएनन्, गर्वका गीत थिए। सँगसँगै उनको मनभित्र एउटा आँधी चल्यो– अतीत, संघर्ष र सपनाको। ‘भित्तामा आफ्नो फोटो देख्दा न्यूरोसर्जरी पास हुँदा भन्दा बढी गौरवान्वित महसुस गरें’, उनी भन्छिन्।
उनको फोटो राखिएको भित्तामा न्यूरोसर्जरीको इतिहास बोकेका नेपालका महान् न्यूरोसर्जनका अनुहार छन्, जसले हजारौं जीवनलाई पुनर्जन्म दिएका छन्। डा. उपेन्द्र देवकोटा, डा. गोपाल रमन शर्मा, डा. प्रकाश विष्ट, डा. राजीव झा लगायतले देशको शल्यचिकित्सा क्षेत्रमा नयाँ आयाम थपे। ती सर्जनको लाइनमा डा. नम्रताको उपस्थितिले नेपाली समाजसँगै चिकित्सा क्षेत्रमा पनि सामाजिक परिवर्तनको सन्देश दिन्छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डा. देवकोटाले २०४६ सालमा न्यूरो सर्जिकल इकाइ स्थापना गरेका थिए। यो वीरको पुरानो विभागमध्ये एक हो। तर ३६ वर्ष पछि मात्र पहिलो पटक महिला न्यूरोसर्जनको जिम्मेवारीमा आइन् डा. नम्रता। उनी वीर अस्पतालले उत्पादन गरेको पहिलो न्यूरो विशेषज्ञ पनि हुन्।
यो दोहोरो उपलब्धि उनको व्यक्तिगत सफलता मात्र नभएर नेपालको चिकित्सा इतिहासमा एउटा महत्वपूर्ण मोड थियो। ‘तस्वीर न्यूरो विभागको भित्तामा टाँगिंदा संघर्ष, ड्युटीका रातहरू, पढाइका थकाइ, आँसु र मिहिनेत सबै कुरा एकसाथ सम्झना आए’, डाक्टर खड्काले त्यसदिनको सम्झना गर्दै भनिन्।
न्यूरोसर्जरीमा महिला हात
डा. नम्रता चिकित्सा क्षेत्रको कुनै सामान्य काम गरिरहेकी छैनन्। वीर अस्पतालमा उनले जुन काम गरिरहेकी छिन्, त्यो विश्वमा नै दुर्लभ हुने गर्छ। उनले महिला टिमको नेतृत्व गर्दै न्यूरोसर्जरीको जटिल शल्यक्रिया गर्दै आएकी छिन्। नेपालमा भने महिला टिम मात्र भएर गर्ने यो सर्जरी नै सम्भवतः वीरमा मात्रै हुन्छ।
‘धेरै जस्तो नर्सहरू महिला नै हुन्छन्। कहिलेकाहीं एनेस्थेसियाको टिम पनि महिला पर्न जान्छ। त्यसपछि न्यूरोसर्जरी रेजिडेन्ट डाक्टर महिला नै पर्न जान्छन्। त्यो बेला एकदम अचम्मको संयोग बन्न जान्छ’, उनले भनिन्।
एक वर्ष अगाडि सर्जिकल भवनको पाँचौं तलामा २६ वर्षीया युवतीको ब्रेन ट्युमर अप्रेशनको तयारी भइरहेको थियो। बिरामीको टाउकाको बायाँ भागमा ट्युमर थियो । केही घण्टाको अनवरत प्रयासपछि अप्रेशन सकियो । बिरामीको होस खुल्यो । सीटी स्क्यान गरेर हेर्दा सबै ठीक देखियो । डा. राजीवले देखे कि यो टिममा त महिला मात्रै छन्।
त्यस दिन नम्रताको अगुवाइमा डा. पूजा चौरसिया, नर्स सिन्धु गौतम र महिला एनेस्थेसिस्ट चिकित्सकले करिब तीन घन्टासम्म अविच्छिन्न रूपमा काम गरेका थिए। ‘त्यस दिनदेखि महिला टिमले मात्रै अप्रेशन गरेको नोटिस गयो’ डा. नम्रता भन्छिन्, ‘तर महिलाकै विशेष टिम छैन, संयोगले हुने गरेको छ।’
यो विशेष संयोगमा ब्रेन ट्युमर, मेरुदण्ड ट्युमर, टाउको फुटेको, चोटपटक लागेको वा आकस्मिक रूपमा गर्नुपर्ने सर्जरी महिला टिमकै नेतृत्वमा भइरहेको हुन्छ।
सामान्यतः न्यूरो सर्जरीमा महिला सहभागिता न्यून हुने गर्छ। तर वीर अस्पतालमा यो मान्यता भत्काउँदै महिला टिम मात्र भएर महिनामा नै १०/१२ वटा सम्म शल्यक्रिया गभइरहेका हुन्छन्। अहिले त महिला टिम मात्रै हुँदा अपरेशन थिएटर कक्षमा उनीहरूको हाँसो फैलिन्छ, ‘यो हाम्रो कतिऔं शल्यक्रिया हो ?’
सामान्यतः अस्पतालमा गम्भीर अनुहारमा छिटो-छिटो हिंडिरहेका भेटिन्छन् चिकित्सकहरू। यो व्यस्त दिनचर्या र कामकाज हेर्दा धेरैलाई लाग्न सक्छ – चिकित्सक कठोर र संवेदनाहीन हुन्छन्। के यो सत्य हो त ? तर सर्जन डा. नम्रता भन्छिन्, ‘चिकित्सक पनि मान्छे हुन्। उनीहरूको पनि मुटु छ, संवेदना छ।’ अझ महिला स्वास्थ्यकर्मी संवेदनशीलता, समर्पण र संयमको प्रतिमूर्ति हुन्छन्।
यी उनका ओठबाट फगत फुस्किएका शब्दहरू होइनन् बरू हरेक दिन जीवन र मृत्युको सीमारेखामा उभिएर काम गर्दा भोगेको यथार्थ अनुभूति हुन्।
उनको पेशा यस्तो छ, जहाँ हरेक निर्णयको असर सिधा कसैको जीवनमाथि पर्छ। जहाँ सानो चुकले सास बन्द हुन सक्छ। जहाँ भावनाले होइन, विवेकले काम गर्नुपर्छ। ‘क्षतविक्षत टाउकोको उपचार गर्दा हाम्रा हात काँप्नुहुँदैन’ उनी भन्छिन्, ‘तर यसको अर्थ हाम्रो हृदय पत्थरको छ भन्ने होइन।’
उनको हातबाट क्षत–विच्छेद भएको टाउको खोलेर मस्तिष्कभित्रको चोट उपचार गरिन्छ, ट्युमर निकालिन्छ, हड्डी जोडिन्छ। ती काम गर्ने बेलामा उनी भावनामा बग्न सक्दिनन्। ‘हामी पनि मान्छे हौं’ उनी दोहोर्याउँछिन्, ‘तर कामको कारणले भावनात्मक हुन सक्दैनौं। डाक्टरकै हात काँप्यो भने बिरामीको जीवन कसले बचाउने ?’
शल्यक्रिया कक्षभित्र उनले आफूलाई कठोर बनाउँछिन्। अनुहारमा भाव नदेखिए पनि हृदयमा करुणा पलाइरहन्छ। त्यो करुणा उनमा बिरामीका परिवारसँग बोल्दा, मुस्कुराउँदा वा सर्जरी सफल भएपछि थोरै राहतको सास फेर्दा प्रकट हुन्छ।
प्रत्येक शल्यक्रियामा उनलाई थाहा हुन्छ– एक सानो भूलले जिन्दगीको धागो चुँडिन सक्छ। त्यसैले उनी अनुशासन, एकाग्रता र समर्पणको धागोमा आफूलाई बाँधिरहेकी हुन्छिन्।
चिलको आँखा, सिंहको मुटु र महिलाको कोमल हात
‘शल्य चिकित्सकमा हुनुपर्ने गुणहरू के हुन् ? नम्रता भन्छिन्, ‘चिलको जस्तो आँखा, सिंहको जस्तो मुटु र महिलाको जस्तो कोमल हात।’ उनका ती कोमल हातको स्पर्शले सयौं बिरामीको ज्यान जोगाएका छन्। संसारमा विभिन्न अध्ययनले पनि महिला सर्जनको राम्रो हात हुन्छ भनेर देखाएका छन्।
महिलाको सर्जिकल परिणाम पुरुषहरूको भन्दा अझ उत्कृष्ट हुने गरेको छ। सायद बढी लगाव, आत्मीयता, सद्भावना देखाउने प्रवृत्तिले हुनसक्छ। एक महिला सर्जनको विशेषता यही हो। डा. नम्रता भन्छिन्, ‘महिला र पुरुषले गरेको भनेर शल्यक्रियाको नतिजा खासै फरक छैन। तर, बिरामीमा भने महिलाले गर्ने काउन्सिलिङको कारणले नै अतिरिक्त रिजल्ट आउन सक्छ।’
अस्पतालको कोलाहलबीच अधिकांश बिरामी महिला स्वास्थ्यकर्मीको वरिपरि झुम्मिन्छन्। विना कुनै औपचारिकता ती सम्बन्धहरू परिवारका सदस्य जस्तै देखिन्छन्। बिरामी आफ्ना कुराहरू खुलेर भन्न थाल्छन्, जुन कुरा कतिपयले आफ्नै परिवारसँग पनि भनेका हुँदैनन्।
‘हामी बिरामीलाई दाइ–भाइ, आमा–बुबा, दिदी–बहिनी भनेर बोलाउँछौं’ उनी भन्छिन्, ‘त्यो सम्बोधनले उनीहरू नजिकिन्छन् र छिट्टै आफ्ना कुरा भन्छन्।’
स्वास्थ्य सेवा भनेको औषधि, इन्जेक्सन, रिपोर्ट आदि मात्र होइनन् विश्वास, संवेदना र सुनुवाइ पनि हो। उनी बिरामीका आँखामा हेर्छिन्। आवाजबाट पीडा बुझ्न प्रयास गर्छिन् र कुनै पनि औपचारिक बिन्दुबाट होइन, सहानुभूतिको बाटो हुँदै सम्बन्ध बनाउँछिन्।
शैक्षिक उत्कृष्टता र अदम्य लगन
भक्तपुरको दुवाकोटमा जन्मिएकी डा. नम्रतालाई पारिवारिक माहोलले नै डाक्टर बन्न प्रेरित गर्यो। उनले बुझ्ने बेलादेखि न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको नाम पत्रपत्रिकामा आउँथ्यो। देवकोटासँगै वरिष्ठ न्यूरोसर्जन डा. प्रकाश विष्ट (मामा) काम गर्थे।
मामाको कामबाट प्रभावित भएर मानसपटलमा बाल्यकालमै न्यूरोसर्जन बन्ने छाप बस्यो। घरमा डाक्टर बनेको सर्जन र सर्जन भनेकै न्यूरोसर्जन भन्ने खालको वातावरण थियो। त्यही हुर्काइले नम्रतालाई न्यूरोसर्जन बन्न प्रेरित गर्यो।
‘बाल्यकालमा खेल्दा गुडियाको अप्रेशन गरिदिन्थें’ उनले मुस्कुराउँदै सुनाइन्। बालसुलभ खेलले नै उनको भविष्यको दिशा निर्धारण गरेको थियो।
डा. नम्रताको शैक्षिक यात्रा उत्कृष्टताको एक नमूना हो। कोटेश्वरको नवज्योति इंग्लिश सेकेन्डरी स्कूलमा प्रारम्भिक शिक्षा पूरा गरेकी उनले भीएस निकेतनबाट प्लस टु उत्तीर्ण गरिन्। त्यसपछि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा नेशनल मेडिकल कलेज वीरगञ्जबाट सन् २०१० मा एमबीबीएस पूरा गरिन्।
पढाइमा उनी सानैदेखि एकदमै मिहिनेती थिइन्। यही कारणले उनलाई स्कूलदेखि पीएचडीसम्म छात्रवृत्तिमै पढ्ने अवसर मिल्यो।
एमबीबीएस पूरा गरेपछि उनले छात्रवृत्ति सम्झौता अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन्। त्यसपछि लोकसेवामा नाम निकालिन् र काभ्रेको मेथिनकोट अस्पतालमा दुई वर्ष काम गरिन् । त्यसपछि त्रिवि शिक्षण अस्पतालबाट जनरल सर्जरी गरिन् ।
वीरमा एक वर्ष न्यूरोसर्जरी काम गर्ने मौका पाएपछि उनले एमसीएच (सुपर स्पेसलिस्ट) का लागि छनोट भइन्। त्यसपछि वीरमै न्यूरोसर्जरी अध्ययन शुरू भयो। सन् २०२५ मा एमसीएच उत्तीर्ण गरेपछि डा. नम्रताले नेपाली चिकित्सा क्षेत्रमा नयाँ इतिहास रचिन्। उनी न्याम्सबाट न्यूरोसर्जरी उत्तीर्ण गर्ने पहिलो महिला मात्र नभएर सरकारी सेवाको पहिलो महिला न्यूरोसर्जन समेत बनिन्।
‘त्यो निकै खुशीको क्षण थियो’ उनी भन्छिन्, ‘किनकि बुवाआमाको पनि छोरी न्यूरोसर्जन नै बनोस् भन्ने इच्छा थियो।’ डा. नम्रता आफूलाई ‘महिला सर्जन’ भन्न रुचाउँदिनन्। उनको मान्यता छ- कुनै पनि पेशामा लिंग हुँदैन।
‘आजसम्म पुरुषले जसरी काम गरिरहेका हुन्छन्, त्यही बराबर हामीले काम गरिरहेका हुन्छौं। महिला र पुरुष भनेर छुट्याउनुपर्ने के छ र ! हामी एक सर्जन हो’ उनले दृढताका साथ भनिन्। तर उनी स्वीकार गर्छिन् कि महिलाले पुरुषभन्दा दोब्बर ‘इफोर्ट’ लगाएर काम गरिरहेका हुन्छन्।
‘पुरुषै पुरुषको बीचमा आफ्नो एउटा परिचय बनाएर महिला न्यूरोसर्जनभन्दा पनि एउटा राम्रो न्यूरोसर्जन भएर स्थापित हुनुपर्छ भन्ने दौडमा छु।’
के सिस्टरले अप्रेशन गर्न सक्छिन् ?
उनी उपचार मात्रै गर्दिनन्, बिरामीहरूको मर्म पनि बुझ्छिन्। विपन्न, असहाय, बेवारिसे बिरामीको साथीहरूसँग पैसा उठाएरै भए पनि निःशुल्क उपचारमा तल्लीन हुन्छिन्। बेवारिसे अवस्थामा पुगेका बिरामीको औषधि लगायत कुराहरू जोहो गरिरहेकी हुन्छिन्। ‘बिरामीलाई आँखै अगाडि मर्न दिन सकिंदैन। जसरी भए पनि औषधिको जोहोमा जुटिरहेका हुन्छौं’, उनी भन्छिन्।
न्यूरो सर्जरीमा आउने अधिकांश बिरामी टाउकोमा रगत जमेर बेहोश अवस्थामा आइपुगेका हुन्छन्। कोही हात–खुट्टा नचल्ने अवस्थामा हुन्छन्, कोही छारेरोगबाट ग्रसित हुन्छन्। तर जीवन–मरणको दोसाँधमा रहेका बिरामीको जब शल्यक्रियापछि होश फर्कन्छ, खुशीले सगरमाथा चढ्छ।
न्यूरोसर्जरी– मस्तिष्क र मेरुदण्डको शल्यक्रिया। यो चिकित्सा विज्ञानको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण क्षेत्र मानिन्छ। नेपालका करिब ११५ जना न्यूरोसर्जनमध्ये महिला निकै न्यून छ। पुरुषको यो दबदबाबीच स्थान बनाउन महिलालाई कम चुनौती छैन। संरचनात्मक विभेदका अनेकौं पर्खाल नाघिरहँदा समाजको शंकास्पद दृष्टिकोणसँग पनि लडिरहनुपर्छ नै।
महिला सर्जनलाई आम मानिसले विश्वास नगर्दा मन दुखेको अनुभव छ डा. नम्रतासँग। ‘रातभर अप्रेशन गरेर बिहान बिरामीको आफन्तलाई स्वास्थ्य अवस्थाको बारेमा बुझाउने कोसिस गरिन्छ। तर पछि त्यही कुरा जुनियर पुरुष सहकर्मीलाई सोध्नुहुन्छ’ डा. नम्रताले अनुभव साट्दै भनिन्, ‘उहाँहरूले महिलाले अप्रेशन गर्यो भनेर सोच्नुभएकै हुँदैन। त्यतिबेला मन चसक्क दुख्छ।’
बिरामीहरूले प्रश्न गर्छन्, ‘के सिस्टरले अप्रेशन गर्न सक्छिन् ?’ उनीहरू ‘सिस्टर’ ले गरेको मेरो अप्रेशन सफल होला र भनेर सन्देह व्यक्त गर्छन्। यस्तोमा महिला सर्जनले आफ्नो पहिचान, योग्यता र अनुभवको बारेमा बारम्बार प्रमाणित गर्नुपर्छ। कसरी ? डा. नम्रतासँग स्पष्ट रणनीति छ। हरेक अप्रेशनपछि उनी सकेसम्म बिरामी र उनीहरूका आफन्तहरूलाई भेटेर आफ्नो परिचय दिन्छिन्। आफूलाई चिनाउने काम गर्छिन्। यो उनको दैनिक संघर्षको अंश बनेको छ।
शल्यक्रियापछि बिरामीका आफन्तलाई सम्बोधन गर्दै भन्छिन्, ‘म डाक्टर नै हुँ नि, तपाईंको टाउकोको अप्रेशनै गर्ने डाक्टर!’
स्मृतिमा पहिलो शल्यक्रिया
पहिलो न्यूरोसर्जरी केस आज पनि नम्रताको मानसपटलमा ताजा छ। एमसीएचको पहिलो वर्षको अन्त्यतिर पढ्दै गर्दा उनले वीरमा पहिलो पटक टाउकोको शल्यक्रिया गरेकी थिइन्। ती बिरामी तीन दिनदेखि बेवारिसे अवस्थामा आकस्मिक कक्षमा थिए। चोटपटकका कारण टाउकोमा रगत जमेको थियो। होशमा थिएनन्। कहाँको बिरामी भन्ने पनि थाहा थिएन। ‘अप्रेशन सफल होला/नहोला, मनमा डर थियो’, डा. नम्रताले त्यस दिनलाई सम्झिइन्।
तर अप्रेशन सफल भयो। बिरामी बिस्तारै होशमा आए। केही दिनमा पत्ता लाग्यो, बिरामी दार्जीलिङका रहेछन्। उनले घर छोडेको पाँच वर्ष भइसकेको रहेछ। परिवारसँग सम्पर्क थिएन।
‘मेरो लागि त्यो केस विशेष थियो। बिरामीलाई बचाएर परिवारसँग मिलन गराउन पाउँदा एकदमै विशेष लाग्यो’ उनी भन्छिन्, ‘त्यस घटनाले पारिवारिक मिलन समेत गराएको थियो।’
प्राकृतिक चुनौती, असाधारण जिम्मेवारी
महिनावारी प्राकृतिक प्रक्रिया हो। तर, जब यो चुनौती चिकित्सा पेशामा आउँछ, त्यहाँ कुनै सहुलियत हुँदैन। घण्टौंसम्म चलिरहेको जटिल शल्यक्रियामा पनि औषधि खाएर टिक्नुपर्छ।
कहिलेकाहीं १२ देखि १४ घण्टासम्म लाग्ने यस्ता अपरेशनमा बीचमा छोड्ने विकल्प हुँदैन। महिनावारीको समयमा पेट, ढाड दुख्ने लगायत समस्या हुन्छन्।
तर कामको अगाडि त्यसलाई प्राथमिकता दिन सकिंदैन। आफूलाई बिर्सिएर बिरामीको जीवनरक्षामा लाग्नुपर्छ। अपरेशन थिएटरमा कुनै पनि ढिलाइ या गल्ती घातक हुन सक्छ। एउटा मान्छेको ज्यान मात्र होइन, सिंगो परिवारको विश्वास बचाउनुपर्ने दायित्व हुन्छ।
निरन्तर १२ देखि १४ घण्टा अपरेशन थिएटरमा बस्नुपर्दा भोक–प्यास मार्न सक्नुपर्छ। घरपरिवार, साथीभाइ, आराम सबै त्याग गर्न सक्नुपर्छ। यति गरेर पनि कहिलेकाहीं ब्रेक नलिएर काम गर्नुपर्ने बाध्यता हुन्छ।
आफूलाई जत्रोसुकै दुःखको पहाडले थिचे पनि उनी बिरामीकै जीवनरक्षाका लागि लडिरहिन्छन्। गाह्रो–साह्रो भए पनि कहिल्यै पनि बिरामीलाई दिनुपर्ने सेवामा कमी हुन दिन्नन्।
‘शारीरिक स्वास्थ्यको कुरा गर्दा ‘कमजोर’ ठानिने डर रहन्छ। विशेषगरी पुरुषप्रधान चिकित्सा क्षेत्रमा यो डर झनै बढी हुन्छ’ उनी भन्छिन्, ‘परिणामस्वरूप धेरै महिला चिकित्सकले आफ्ना समस्यालाई भित्रै राखेर मौन सहनुपर्ने बाध्यता छ।’
चिकित्सा क्षेत्रमा महिलाहरूले सामना गर्नुपर्ने चुनौती केवल शारीरिकमा मात्र सीमित हुन्नन्, कार्यक्षेत्रमा अनेकौं जोड-कोणबाट लैंगिक भेदभाव भोग्नुपर्छ। स्टाफलाई काम गराउन वा व्यवस्थापकीय टिमसँग कुनै कुरा राख्दा महिलाले अतिरिक्त प्रयास गर्नुपर्छ।
डा. नम्रताको अनुभवमा पुरुष सहकर्मीले भनेको कुरा तुरुन्तै मानिन्छ। तर महिलाले भनेको कुरालाई केही न केही समय लगाइहाल्छन्। यस्ता भेदभाव प्रायः महिला चिकित्सकले अनुभव गर्छन्।
नेपाली समाजमा महिलाहरूमाथि पारिवारिक जिम्मेवारीको अतिरिक्त बोझ हुन्छ। घरको काम, बच्चाहरूको हेरचाह र परिवारका अन्य सदस्यहरूको स्याहारसुसार।
एक सर्जन बनिसक्दा विवाह गर्ने उमेर पुगिसकेको हुन्छ। विवाहसँगै महिलाको घरपरिवार, छोरा–छोरीको जिम्मेवारी पनि थपिन्छ। तर यी व्यावहारिक चुनौती चिर्दै महिलाले ‘अब्बल’ रहेको प्रमाणित गरेका छन्। उनीहरूले पुरुषले मात्र राम्रो गर्न सक्छन् भन्ने धारणालाई तोड्दै नेतृत्व तहमा पुगेर उदाहरण प्रस्तुत गरिरहेका छन्।
गरिबको विश्वास, डाक्टरको समर्पण
वीर अस्पताल गरिब र विपन्न वर्गकाहरूको लागि अन्तिम भरोसाको केन्द्र हो। सरकारी अस्पतालमा देशभरिका गरिब बिरामीहरूलाई सेवा गर्न पाउँदा उनी गर्व महसुस गर्छिन्। ‘वीरमा पनि उपचार भएन भने अन्यत्र कहीं हुँदैन, वीर गरिबको आस्थाको केन्द्र हो’, उनी जोड्छिन्।
कतिपय बिरामीले पैसाको अभावमा अप्रेशन नगर्ने भन्दै फर्किन खोज्छन्। यस्तो अवस्थामा डा. नम्रता र उनका सहकर्मी निःशुल्क उपचारका लागि पैसाको जोहो गर्न तल्लीन हुन्छन्। बिरामीको जसरी पनि उपचार गरेर मात्रै फर्काउने कोसिस हुन्छ।
‘बिरामीलाई भरोसा दिनुपर्छ। वीरमा नै उपचार नहुँदा अन्यत्र कतै उपचार हुँदैन भन्ने मोटिभले काम गर्छौं’, उनी भन्छिन्।
उनी वीर अस्पताल अर्थात् कर्मथलोलाई मन्दिरको रूपमा लिन्छिन्। ‘पशुपति जाँदा पनि मलाई मनमा त्यति आनन्द आउँदैन होला जति वीर अस्पताल छिर्दा आउँछ’, उनी भन्छिन्। उनको लक्ष्य छ– आफ्ना पूर्ववर्ती महान् न्यूरोसर्जनहरू जस्तै एक सक्षम न्यूरोसर्जन बनेर आफूलाई स्थापना गर्ने।
‘उहाँहरूको जस्तो एउटा सक्षम न्यूरोसर्जन बनेर आफूलाई स्थापित गर्न पाएँ भने अझ त्यो मेरो लागि विशेष उपलब्धि हुन्थ्यो जस्तो लाग्छ’, नम्रताले कुराको बिट मार्दै भनिन्।
फोटो : शंकर गिरी