
कमेडियन बन्छु भनी घर छाडेको एउटा केटो कहाँ–कहाँ बरालिंदै काठमाडौं आइपुग्छ । काठमाडौं रहँदा–बस्दा साथीसँग नाटक हेर्न पुग्छ । सानो हलभित्र भलाद्मी भएर नाटक हेरिरहँदा उसलाई लाग्छ, ‘खासमा मैले खोजेको ठाउँ यही पो हो !’
अब ऊ धुमधामसँग नाटक सिक्ने र देखाउने ठाउँ खोज्न थाल्छ । अनामनगरको निर्माणाधीन मण्डला थिएटरमा ठोक्किन्छ । अनि उसका पाइलाहरू त्यहीं रोकिन्छन् ।
जहाँ उसका पाइलाहरू रोकिन्छन्, त्यहींबाट शुरु हुन्छ कला–अभिनयको अन्त्यहीन यात्रा । र, त्यसले उसलाई ल्याइपुर्याउँछ सिनेमाको रंगीन दुनियाँमा । औसत कदका, ठिकठिकै मुहारका यिनी सिनेमाको हिरो हुन्छन् । यस्तो हिरो हुन्छन्, जसले ६ दशक लामो नेपाली सिनेमाको इतिहासमा हत्तपत्त अरूले तोड्न नसक्ने कीर्तिमान बनाउँछन् । यसरी शानदार पदार्पण हुन्छ, अभिनेता विजय बरालको ।
‘नारद खतिवडा जस्तै’ कमेडियन बन्ने रुमानी सपना पछ्याएर काठमाडौं पसेका विजयलाई यतिबेला सिनेमाले पछ्याइरहेका छन् । कसरी पछ्याइरहेका छन् भने, आउँदो एक वर्षसम्म कतै चलमलाउन नमिल्ने गरी छायांकन भ्याउनुपर्नेछ । डबिङमा पुग्नुपर्नेछ । प्रचारमा दौडनुपर्नेछ । किनभने आधा दर्जन हाराहारी सिनेमा उनैको काँधमा थमाइएको छ ।
सिनेमाका लागि उनलाई यतिविघ्न प्रस्ताव आएको छ, ती सबैलाई थपक्क स्वीकार्ने हो भने अर्को दुई वर्षसम्म अविश्राम अभिनय गर्नुपर्नेछ । ‘त्यही भएर मैले आउँदो एक वर्षको सिनेमा मात्र लिएको छु’ थापागाउँस्थित मण्डला थिएटरमा भेटिएका उनले सुनाए, ‘नभए त दुई वर्षसम्म नभ्याउने गरी प्रस्तावहरू आइरहेका छन् ।’
यतिविघ्न सिनेमाले पछ्याउनुको कारण के हो ? त्यसको पछाडि उनी अभिनीत सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ छ । पूर्णबहादुरको सारङ्गी पछाडि उनको अभिनय कौशल छ । समाजका कुनै पनि पात्रलाई आफूमा दुरुस्तै उतार्न र त्यसै मार्फत कथालाई डोर्याउन सक्ने खास क्षमता छ उनीसँग ।
सुकिलोमुकिलो, चिल्लोचाप्लो वा खाइलाग्दो ज्यानको नायक खोज्ने नेपाली सिनेमालाई अभिनयको गुरुत्वबलले तान्न थालेको छ । विजय बराल त्यसैको उदाहरण हुन् । सानो होस् वा ठूलो, आफूले पाएको भूमिकालाई इमान र पूर्णताका साथ निर्वाह गर्नु उनको खास आकर्षण हो ।
करिअरको पूर्वार्द्धमा उनले सानोतिनो भूमिका पाए । तर, त्यही भूमिकाको आलोकमा अब्बल अभिनय पेश गरे ।
सानो काम, ठूलो परिणाम
जतिबेला रामबाबु गुरुङ अनामनगरस्थित निर्माणाधीन मण्डला थिएटर अघिल्तिरको सानो कोठामा बसेर ‘कवड्डी’को स्क्रिप्ट लेखिरहेका हुन्थे, त्यसबेला विजय बराल, बुद्धि तामाङ, नाजिर हुसेनहरू गिट्टी, बालुवा र सिमेन्टको मसला बनाइरहेका हुन्थे । मण्डलाको भवन निर्माणमा उनीहरू आफैं मिस्त्री बनेर खटिएका थिए । रामबाबु भन्थे, ‘तिमीहरूलाई पनि कवड्डीमा रोल दिन्छौं ।’
विजयलाई लाग्दैनथ्यो, राम्रो भूमिका पाइएला । उनलाई के पनि लाग्दैनथ्यो भने, फिल्म यति धेरै हिट होला ।
नसोचेको भइदियो । ‘कवड्डी’मा उनलाई बिकेको भूमिका दिइयो । त्यही भूमिकाले हेटौंडाका विजयलाई नसोचेको ‘नेम र फेम’ दियो । त्यसअघि उनी सानोतिनो भूमिकामा अल्झिएका थिए ।
फिल्ममा आउनुअघि उनी नाटक गर्थे । मण्डला थिएटर बनेकै थिएन । दयाहाङ राई, राजन खतिवडा, राजन मुकारुङ, उपेन्द्र सुब्बाहरूको चियागफ गर्ने जक्सन थियो त्यो । त्यही जक्सन मण्डला नाटकघर बन्ने भयो । विजय बराल कोटेश्वरमा डेरा गरी बस्थे । पैदल हिंड्दै अनामनगर आउँथे । टुक्रुक्क बसेर दयाहाङ राईहरूको कुरा सुन्थे । सुनेर टाउको हल्लाउँथे । सही थाप्थे । हो–मा–हो, मिलाउँथे ।
मण्डला नाटकघर बनाउने कुरा चल्यो । उनलाई नाटक खेल्नु थियो । नाटकघरको जग उठाउँदादेखि नै खटिए । दयाहाङ राई स्वयं गिट्टी, बालुवा ओसार्थे । विजय बराल जस्ता जुनियर पुस्ता पनि होस्टेमा हैंसे गर्थे । ईंटा पखाल्ने, बोक्ने, बेल्चा चलाउने, भ्याएजति/सकेजति/जानेजति सबै काम गर्थे । गर्नै पर्थ्यो । किनभने उनलाई हिरो जो बन्नु थियो !
क्यारिकेचर गर्न काठमाडौं
त्यसबेला उनकै गाउँका नारद खतिवडा नामी थिए । रेडियो, टिभी, पत्रिकातिर छाइरहने । विजयलाई लाग्थ्यो, ‘मलाई पनि त्यस्तै बन्नुछ, जस्तो नारद खतिवडा छन् ।’
उनी विद्यालयमा क्यारिकेचर गर्थे । साथीहरू हाँस्थे । अनि उक्साउँथे, ‘दुरुस्तै नक्कल गर्न सकिस् !’ उनी मख्ख पर्थे । उनलाई यसरी नै क्यारिकेचर गरेर चर्चित हुने रहर पलाइसकेको थियो ।
‘तर, यसका लागि गाउँमा बसेर हुँदैन’ उनी ठान्थे, ‘काठमाडौं जानुपर्छ ।’ उनी काठमाडौं आए, गाउँले दौंतरीहरूसँगै । मीनभवन कमर्स क्याम्पसमा भर्ना भए । हजुरबुवा भन्ने गर्थे, ‘पढेर बुवाले जस्तै जागिर खानु । हामीलाई पाल्नु ।’
विजयको बुवा बैंकका जागिरे । त्यही जागिरको आडमा पूरा परिवार चलेको थियो । चाडपर्व टार्नेदेखि बालबच्चाको लालनपालन गर्ने, रासनपानी जुटाउने, लत्ताकपडा खरिद गर्ने सबै त्यही जागिर थियो । हजुरबुवा चाहन्थे, ‘छोरोले भन्दा राम्रो पदमा नातिले जागिर खाइदिए हुन्थ्यो ।’ बाबु–बाजेकै इच्छालाई शिरोधार्य गर्दै विजयले व्यवस्थापन विषय रोजे ।
तर, उनको मनले भने बेग्लै कुरा रोज्यो । राजनीति ! अल्लारे वयका ! तराईवासी ! अलिअलि उट्याङपट्याङ नगरी कसरी दिन कटाउने ?
उनी राजनीतिमा लागे । क्याम्पसको गुटबन्दीमा मिसिए । होहल्ला गर्दै हिंडे । नाराबाजी गरे । सिद्धान्तको ठेली घोकेका थिएनन् । राजनीति बुझेका थिएनन् । हजुरबुवा आफूलाई कांग्रेस भन्थे । बुवा एमाले । उनलाई हजुरबुवाकै पार्टी ठीक लाग्यो । उनी नेविसंघका कार्यकर्ता भए । तर, उनलाई कार्यकर्ता हुनुथिएन, कमेडियन हुनुथियो ।
कमेडियन बन्ने दौड
एकपटक उनले दमन रूपाखेतीलाई फोन गरे । दमनको हास्यशृंखला खूब चलेको थियो, टेलिभिजनमा । दमनले भने, ‘टेलिशृंखलामा खेल्ने भए आऊ न त !’
अलि टाढा थियो, सुटिङ हुने ठाउँ । हस्याङफस्याङ गर्दै पुगे । दिनभर सुटिङ भयो । अन्नपानी पेटमा परेकै थिएन । खल्तीमा पैसा पनि त थिएन । भोक–तिर्खा सहेर आफ्नो पालो कुरिरहे ।
उनको पालो आयो । त्यसबेलासम्म न उनलाई डायलग दिइएको थियो न त चरित्र बताइएको थियो । विजयलाई लागेथ्यो, ‘काठमाडौं गएपछि बवाल एक्टिङ गरिनेछ । रातारात हिट भइनेछ ।’
तर, क्यामेराको अगाडि उनको हातखुट्टा त्यसै–त्यसै गल्यो । उनलाई थकाइ लागे जस्तै भयो । यद्यपि संवाद बोल्नुपरेन । अभिनय गर्नुपरेन । सरासर हिंड्न लगाए । त्यसै गरे ।
विजयले गाउँघरमा फोन गरिसकेका थिए, ‘फलानो शृंखलामा म पनि खेल्दैछु । फलानो बार हेर्नु है !’ हल्ला सर्वत्र फैलिसकेको थियो ।
टेलिभिजनमा उक्त टेलिशृंखला प्रसारण भयो । विजय बराल चिनिने गरी कतै देखिएनन् । उनलाई खोज्दाखोज्दै शृंखलाको त्यो भाग नै सकियो । विजय खिस्रिक्क परे ।
सुनिल पोखरेलको संगत
विजयमा अतिआत्मविश्वास थियो । उनलाई लाग्थ्यो, ‘तराईमा हुर्किएको केटो, बोल्न धक लाग्दैन । त्यसै स्टार बनिहाल्छु ।’ तर, काठमाडौंमा सानो डेरामा खुम्चिएर कलाकार बन्ने चक्करमा दौडधूप गरिरहँदा उनको त्यो दम्भ आफैं पखालियो । उनलाई लाग्यो, ‘कलाकार बन्न सानोतिनो प्रयासले पुग्दैन । हल्काफुल्का अभिनयले पनि पुग्दैन ।’
अभिनय सिक्नकै लागि उनी नाटक हेर्न जान थाले, पुरानो बानेश्वरको गुरुकुलमा । सुनिल पोखरेलको नाम त उनले कण्ठै गरेका थिए । अलि टाढा बसेर सुनिल पोखरेललाई नियाल्थे । छेउमा जाने साहस थिएन । सुनिल पोखरेल उनको आइडल थिए ।
नाटक हेर्न जान्थे । गइरहन्थे । टिकट लिने पैसा हुँदैनथ्यो । चिनजानका एक दाइ थिए । उनैले बोलाउँथे र फ्रिमा हलभित्र पठाइदिन्थे । ‘लाज–लाज पनि लाग्थ्यो’ विजय सम्झन्छन्, ‘तर पैसा नभएपछि लाज पचाउनै पर्यो ।’
संयोग भनौं, भारतको नेशनल स्कूल अफ ड्रामाबाट प्रशिक्षणका लागि आवेदन खुल्यो । विजयलाई रंगकर्मको रंग चढिसकेको थियो । उनले अडिसन दिए, क्यारिकेचर गरेर । पछि थाहा भयो, उनी छनोटमा परेछन् ।
नाटकको प्रशिक्षण लिए । त्यो उनले अनुमान गरेको र बुझेको भन्दा भिन्न थियो । सिक्दै र बुझ्दै गए ।
उनी रंगकर्मीको संगतमा पुगे । दयाहाङ राई, राजन खतिवडाहरू नाटक गर्थे । विजय दयाहाङ र राजनहरूकै पछि लागे । मण्डला बन्ने कुरा भयो । मण्डला थिएटर बनेपछि नाटक खेल्न पाइने । उनी मख्ख थिए । जे–जे अह्राउँछन्, निःशर्त पालना गर्थे । किनभने उनलाई रंगकर्मी बन्नु थियो ।
मण्डलामा नाटक शुरु भयो । धीत मरुञ्जेल नाटक खेल्न पाए । त्यसबेला विजयले अनुभूत गरे, कुनै दिन राजन खतिवडाहरूले भनेको कुरा । राजन खतिवडाले भनेको थियो, ‘अहिले इँटा, बालुवाको काम गर, पछि तिमीहरूकै करिअरमा काम लाग्छ ।’ हो रहेछ । आफ्नै पसिना चुहिएको, आफ्नै हातहरूले ठड्याएको पर्खालहरूमा एक किसिमको सामीप्यता र निकटता हुँदोरहेछ । प्रेम–भाव हुँदोरहेछ । त्यही कारण त्यो मञ्च बिरानो नलाग्ने रहेछ । आफ्नै घर, आफ्नै कोठामा बसे जस्तै, खेले जस्तै लाग्दो रहेछ ।
‘त्यसले हामीलाई अभिनय गर्नमा धेरै सहज भयो; जसको पर्खाल, भुईं, खम्बा हामी आँखा चिम्लेर पनि पहिल्याउन सक्थ्यौं’ विजय भन्छन्, ‘अनि बल्ल थाहा भयो दाइहरूले किन त्यसो भनेका रहेछन् भन्ने ।’
यसरी अभिनय कलाको उर्वर धरातलमा हुर्किएका विजय यतिबेला सिनेमाको यात्रामा छन् । सिनेमा उनको रहर भन्दा बढी साधना हो ।