+

परोपकारी समूह ‘१०० ग्रुप’ पछाडिका अनुहार

पूरा सूची
Shares
कलेजबाट फर्किंदै गर्दा सडकमा भेटिएका घाइतेलाई अस्पताल पुर्‍याएपछि परोपकारतिर मोडिएका सिरहा, लहानका बब्लु गुप्ताले कोभिडकालमा निःशुल्क खाना अभियान चलाए, कपडा बैंक स्थापना गरे। अहिले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० जना विद्यार्थी पढाइरहेका उनी बिरामीका लागि रगत खोज्ने सारथि समेत हुन्।
बब्लु गुप्ता

९ वर्षअघि ललितपुरको कुमारीपाटीस्थित एड्भान्स कलेजका विद्यार्थी बोकेर अपराह्न एउटा बस निस्कियो । प्लस टु अध्ययनरत सबै विद्यार्थी आ–आफ्नै धुनमा थिए । कोही हल्लाखल्लामा मस्त त कोही गीतमा ।

ग्वार्को पुग्दानपुग्दै वातावरण नै खल्बलिने गरी बस घ्याच्च रोकियो । सबै विद्यार्थी शान्त भए । अगाडि सवारी दुर्घटना भएको रहेछ, एक जना व्यक्ति रगताम्ये अवस्थामा सडकमा लडिरहेका देखिए ।
त्यतिञ्जेलसम्म घाइतेको उद्धारमा कसैले ध्यान दिएका थिएनन् । शायद, सबै प्रहरीको पर्खाइमा थिए । बसमा सवार विद्यार्थी बब्लु गुप्तालाई त्यो निको लागेन ।

‘मसँगै साइन्स पढ्ने अरू साथीहरूलाई पनि सहयोग गर्न जाऔं भनें, त्यसपछि ट्याक्सी रोकेर बीएण्डबी अस्पताल पुर्‍यायौं’ उनी सम्झन्छन्, ‘सबै कलेज ड्रेसमा थियौं, कपडाभरि रगत लागेको अहिले पनि सम्झन्छु ।’

त्यसबेला बब्लु १८ वर्ष लाग्दैथिए । ट्याक्सीमा हालेर विद्यार्थीले घाइतेलाई उपचारका लागि लैजाँदै गरेको दृश्य त्यसबेला कसैले खिचेका थिए । त्यो दृश्य हेर्दा उनलाई अहिले पनि घाइते परिवारसँग भएको भेट झल्झली याद आउँछ ।

‘इमर्जेन्सीमा भर्ना गरेपछि बिरामीलाई औषधि चाहियो । साथी साजितसँग १५०० रुपैयाँ रहेछ’ उनले सुनाए, ‘परिवारका मान्छे नआउन्जेल हामीले नै औषधि किन्ने, भर्ना गर्ने लगायत काम गरेका थियौं ।’
बिरामीका परिवार आइपुगेपछि चिकित्सकले समेत ‘तपाईंहरूले बेलामा ल्याइदिनुभयो’ भन्दै धन्यवाद दिए ।

तर, कक्षा ११ मा पढ्ने विद्यार्थीको मनमा घाइतेलाई उद्धार गरेर अस्पतालसम्म लैजाने विचार चाहिं कसरी आयो ? यो थाहा पाउन बब्लुको पृष्ठभूमितिर फर्किनुपर्छ ।

सानैदेखि बब्लुमा सामाजिक भावना बीजारोपण भएको देखिन्छ । तर जिन्दगीको टर्निङ पोइन्ट वा भनौं परोपकारी कर्मको संस्थागत सुरुआत भने तिनै ग्वार्को दुर्घटनाका बिरामीलाई गरेको उद्धारबाटै भएको उनी बताउँछन् ।

सिरहाको लहान स्थायी घर भएका बब्लुलाई आफ्ना व्यवसायी बुबाले अध्ययनका लागि झन्डै दुई दशकअघि काठमाडौं पठाएका थिए । उनका अनुसार, त्यसबेला मधेशमा अलिअलि पैसा भएका परिवारले छोराछोरीलाई पढाउन काठमाडौं पठाउने गर्थे । बब्लुले पनि त्यो अवसर पाए ।

गाउँबाट आएर उनी लोकन्थलीस्थित सगरमाथा स्कूलमा कक्षा ३ मा भर्ना भए । प्रवेशिका परीक्षा पनि त्यहींबाट दिए । त्यो यस्तो समय थियो, जतिबेला उनको गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान्थे । कैयौं आकर्षक रोजगारीको प्रलोभनमा ठगिन्थे ।

‘त्यतिबेला हाम्रो गाउँका धेरै मानिस यता हुँदैनथे । अप्ठ्यारोमा परेर बुबासँग सम्पर्क गर्ने जतिको खबर मलाई आउँथ्यो’ उनी सम्झन्छन्, ‘त्यसपछि यहाँ भएका साथीहरू सहित कुरा गर्न जान्थ्यौं ।’
त्यसबेला ठगीमा परेकाहरू म्यानपावर कम्पनीसँग समेत निर्धक्क भएर कुरा राख्न सक्दैनथे । कतिपय अवस्थामा बलियो गरी कुरा राख्ने वित्तिकै रकम फिर्ता दिन्थे ।

पछि गाउँमा बिरामी भएर मानिसहरू काठमाडौं आउँदा पर्ने समस्यामा समेत उनी सहयोगी बन्न थाले । कतिले रगत पाइरहेका हुँदैनथे, कतिलाई अरू सामान्य कुरामा अप्ठ्यारो परिरहेको हुन्थ्यो । तिनका अप्ठ्यारा फुकाउन लागिपर्थे ।

यसरी सानैदेखि बब्लुमा सामाजिक भावना बीजारोपण भएको देखिन्छ । तर जिन्दगीको टर्निङ पोइन्ट वा भनौं परोपकारी कर्मको संस्थागत सुरुआत भने तिनै ग्वार्को दुर्घटनाका बिरामीलाई गरेको उद्धारबाटै भएको उनी बताउँछन् ।

यो घटनापछि उनको सहयोगी भावना झन् बलियो हुँदैगयो । र, विस्तारै सामाजिक काममा संगठित रूपले लाग्दै गए ।

रगत खोज्ने सारथि

कलेज पढ्दै यस्तो परिस्थिति बन्यो कि, गाउँतिर गएका बेला स्थानीयहरू बब्लुलाई भेट्न आउन थाले । गाउँमा काठमाडौंमा पढिरहेका केटा कम हुन्थे, त्यसैले उसले बुझ्छ भनेर गाउँलेहरू उनीसँग परामर्श लिन समेत आउँथे ।

‘कतिपयले हाम्रा छोराछोरीलाई पनि काठमाडौंमा पढ्न पठाउनुपर्‍यो भन्थे, कतिलाई म लिएरै पनि आउँथें’ उनी सम्झन्छन्, ‘कोहीको म्यानपावर सम्बन्धी समस्या हुन्थ्यो, कतिपय समस्या गएर कुरा गर्दा मिल्थ्यो । कतिमा प्रहरी पनि गुहार्नुपर्थ्यो ।’

पछि गाउँबाट काठमाडौं आएका बिरामीहरूलाई रगत खोज्न कठिनाइ हुन थाल्यो । राजधानीमा रगत संकलन केन्द्रहरू त थिए तर कहिले तिनको एकमुष्ट नम्बर नपाइने, कहिले केन्द्रमै रगत अभाव हुने । फेरि अहिले जस्तो सामाजिक सञ्जाल पनि व्यापक भइसकेको थिएन ।

‘गाउँका अधिकांश बिरामी त्रिवि शिक्षण अस्पताल र वीरमा भर्ना हुन्थे, रगत चाहिंदा सधैं समस्या हुन्थ्यो’ उनी सम्झन्छन्, ‘त्यसपछि दुवै कामलाई सहयोग होस् भन्ने उद्देश्यले ‘१०० ग्रुप’ नामक सामाजिक समूह शुरु गर्ने निधो गरें ।’

शुरुमा यसको उद्देश्य वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र रगत अभाव भएकाहरूलाई सहयोग गर्नु थियो । अधिकांश सदस्य मधेशतिरकै थिए । विस्तारै बब्लु नेतृत्वको समूहलाई मानिसहरूले यति विश्वास गरे कि, अन्य काममा पनि हात हाल्नुपर्ने परिस्थिति सिर्जना भयो ।

जस्तै, कल्याणपुर–८, सिरहामा जिउँदै शरीरमा आगो लगाइएका कञ्चन मण्डलको घटनामा पनि उनीहरू छोटो सूचनाको भरमा सहयोग गर्न जुटे ।

करिब ८० प्रतिशत जलिसकेको अवस्थामा कञ्चनलाई भेटेपछि शुरुमा उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । अस्पतालले पछि काठमाडौं रेफर गरिदिएको थियो ।

साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसम्म ल्याएर उनको उपचार गराउन बब्लुको समूहले महत्वपूर्ण प्रयास गर्‍यो । ‘किरणचन्द्र पुन भन्ने हाम्रो ग्रुपको साथी थियो । ऊ रातारात एम्बुलेन्स मिलाएर धरानसम्म लिन गएको थियो’ बब्लु सम्झन्छन्, ‘त्यसपछि उपचार खर्च जुटाउन समेत हामीले पहल गरेका थियौं ।’

त्यो एकदमै छोटो समयमा परिचालित भएर खटिएको काम भएको भन्दै उनी स्मरण गर्छन् । ‘गाउँकै घटना थियो, आर्थिक स्थिति पनि राम्रो थिएन’ उनले भने, ‘त्यसपछि सहयोग जुटाउन सबै साथीभाइलाई परिचालन गरेका थियौं ।’

यद्यपि, उपचारका क्रममा १३ वैशाख २०७६ मा कञ्चनको मृत्यु भयो । पछि मधेशका अरू थुप्रै यस्ता घटनामा सहयोगी बनेर १०० ग्रुप प्रस्तुत भयो । काठमाडौंमा पनि जो–कोहीलाई रगत चाहिंदा यो समूहले सहयोग गर्‍यो ।

हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी बिरामी भएका बेला समेत यो समूहले रगत खोजीमा सहयोग गरेको थियो ।

कोभिडमा सहारा

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको मारमा राजधानीमा मजदूरी गरिरहेकादेखि विद्यार्थीसम्म परे । नेपालले लकडाउन घोषणा गर्‍यो ।

मजदूरहरू जागिरबाट निकालिए, पसल बन्द भए । सबै घरभित्रै सीमित रहे । त्यस्तो अवस्थामा हन्ड्रेड ग्रुप भने घरभित्र बसिरहन सकेन । ‘हुनेजति आनन्दले घरमा बसिरहेका थिए, नहुनेले एक छाक खान पनि पाएका थिएनन्’ बब्लु सम्झन्छन्, ‘बाहिर मानिसहरू भोकै देखेपछि हामीले उनीहरूलाई खाना खुवाउने अभियान थालेका थियौं ।’

शुरुमा उनीहरूले शंखमूलमा रहेको चार आना खाली जग्गाबाट यो अभियान थालेका थिए । ‘मदनकृष्ण अंकलले हाम्रो काम देखेर दिएको जग्गामा खाना खुवाइरहँदा त्यो पर्याप्त लागेन, अझै धेरै मानिसहरू भोकै थिए’ उनी भन्छन्, ‘त्यसपछि रत्नपार्कमै खाना खुवाउने अभियान चलाएका थियौं ।’

कोभिडअघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाए । अहिले पनि अनामनगर क्षेत्रमा पुरानो कपडा राख्ने र चाहिनेले लैजान सक्ने व्यवस्था छ ।

तर, खुलामञ्चमा खाना खुवाउने अभियानमा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले प्रतिवाद गर्दा विवाद भयो । त्यसबेला महानगरले धेरै मानिस जम्मा हुँदा कोभिड फैलिन सक्ने तर्क अघि सारेको थियो ।

अभियानमा लाग्नेहरूका अनुसार, अभियानका नाममा मानिसलाई सामूहिक खाना खुवाउँदा बेइज्जत भएको त्यतिबेला कर्मचारीहरूले बताएका थिए । पछि यो विषयले राजनीतिक रूप लिएको थियो । विपक्षी दल कांग्रेसले उनीहरूलाई समर्थन गर्‍यो, विवेकशील लगायत त्यसमा थपिए ।

‘तनावका बीच हामीले त्यसबेला १५०० बढीलाई खाना खुवायौं । हाम्रो काम देखेर सहयोगी मनहरू पनि आफैं जोडिंदै जानुभयो’ बब्लु भन्छन्, ‘उपचारका लागि समेत उपकरण अभाव भइरहेका बेला हामीले बानेश्वरको रत्नराज्य स्कूलमा आइसोलेसन सेन्टर बनाएका थियौं ।’

चिकित्सक समेत राखेर खोलिएको आइसोलेसन सेन्टरलाई विभिन्न व्यवसायीले अक्सिजन सिलिन्डर सहयोग गरेका थिए । पछि विभिन्न जिल्लामा उनको समूहले अक्सिजन कन्सन्ट्रेटर समेत हस्तान्तरण गर्‍यो ।

कपडा र किताब बैंक

कोभिडअघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाए । अहिले पनि अनामनगर क्षेत्रमा पुरानो कपडा राख्ने र चाहिनेले लैजान सक्ने व्यवस्था छ ।

‘विदेशतिर पुराना सामान राख्ने कन्टेनर हुँदोरहेछ, सडकमा । त्यो देखेपछि यहाँ पनि अप्ठ्यारोमा परेकालाई सहयोग गर्न सकिन्छ कि भन्ने कन्सेप्ट आएको थियो’ बब्लु भन्छन्, ‘नेपालमा पनि कपडाको स्टल शुरु गर्दा त्यसले व्यापक चर्चा पाएको थियो । अहिले अन्यत्र पनि पुरानो कपडा संकलन गर्ने ठाउँ राखेका छौं ।’

यो वर्ष काठमाडौं महानगरको योजनामा समेत ‘कपडा बैंक’ परेको उनी बताउँछन् । ‘अनामनगरपछि जावलाखेल, कलंकी लगायत स्थान हुँदै सैनामैनासम्म कपडा बैंक पुग्यो’ उनी भन्छन्, ‘त्यसरी संकलन भएका कपडा विशेषगरी ज्याला मजदूरी गरिरहेका मानिसले त्यहीं आएर लैजान्थे ।’

त्यहीबेला उनलाई अर्को कन्सेप्ट पनि आयो– ‘किताब बैंक’ । किताबमा कर बढेको थियो, कतिपय विद्यार्थीलाई नयाँ किन्न अप्ठ्यारो पर्ने स्थिति थियो । सँगैमा अर्को एउटा वर्ग थियो, जसले पढेका किताबहरू त्यत्तिकै अलपत्र थिए । ‘त्यस्तोमा पुरानो किताब सदुपयोग होस् भन्ने हिसाबले किताब बैंकको अवधारणा पनि ल्याएका थियौं’ उनी भन्छन्, ‘यसमा स्कूल, कलेजदेखि लोकसेवाका किताब समेत संकलन भए ।’

तर, किताब बैंक चाहिं छुट्टै संरचना नभएकाले निरन्तरता दिन गाह्रो भयो । वर्षात्को समयमा किताब भिज्ने समस्या देखियो । ‘त्यसैले किताब बैंक केही समयपछि बन्द भयो, यद्यपि; विस्तारै फेरि सुरुआत गर्ने लक्ष्य छ’, उनी भन्छन् ।

काठमाडौंको सम्पदा संरक्षणमा पनि उनले धेरथोर काम गरेका छन् । यादवलाल कायस्थ सहितको समूहसँग मिलेर उनले लकडाउनको बेला हिटी संरक्षणमा काम गरे । भक्तपुरमा फल्चाको मर्मतसम्भारदेखि पोखरीको सरसफाइमा समेत यो समूहले काम गरेको छ ।

नयाँ अभियान–प्रोजेक्ट शिक्षा

अहिले बब्लुको समूह अर्को नयाँ अभियानमा जोडिएको छ, ‘प्रोजेक्ट शिक्षा’ । यस मार्फत हन्ड्रेड ग्रुपले गरिब तथा विपन्न वर्गका विद्यार्थी छानेर काठमाडौंमा पढाउँदैछ ।

‘पहिले मैले काठमाडौंमा पढ्न आउनेलाई जसरी सहयोग गरेको थिएँ, त्यसको विस्तारित रूप पनि भन्न मिल्छ यसलाई’ बब्लु भन्छन्, ‘यो अभियानमा ४ हजार बढी आवेदन प्राप्त भयो । तीमध्ये ११० जनालाई छानेर यहीं खान, बस्न सुविधा सहित पढाइरहेका छौं ।’

अहिले १०० ग्रुपको भवन समेत बनेको छ, गुह्येश्वरीमा । ‘विभिन्न सहयोगी दाताहरूले दान दिनु भएर यो संरचना बन्यो, त्यसमै अहिले विद्यार्थीले बसेर पढ्न पाएका छन्’ उनी भन्छन्, ‘अहिले हाम्रो कामले यति सकारात्मक चर्चा पायो कि कसैलाई सहयोग गर्नुपर्‍यो भने एउटा पोस्ट गरिसक्दा धेरै सहयोगी जम्मा भइहाल्छन् ।’

उनी आफैंले चाहिं जीविकोपार्जनका लागि एउटा होस्टल र चियापसल चलाइरहेका छन् । ‘हाम्रो समूहमा डाक्टर, इञ्जिनियर जस्ता विभिन्न पेशामा जोडिएका साथीभाइ हुनुहुन्छ’ उनी भन्छन्, ‘सहयोग गरिरहँदा त्यसलाई नै पेशा बनाउनुहुन्न भनेर आफ्नो जीवन चलाउन चाहिं सबैले अरू नै काम गरिरहेका छौं ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।