
बर्खायामको नदीमा हेलिनु, अझ त्रिशूलीमा– कतिलाई जोखिम लाग्न सक्छ, कतिलाई पागलपन । धमिलो र उच्च बहावको खतरासँग खेलेर पानी मुनि–मुनि बग्दै छामेर शव पहिचान गर्नु, निकाल्नु र किनारामा रुँदै बसेका आफन्तलाई हस्तान्तरण गर्नु– यो एक/दुई दिनको घटना होइन, एक महिनासम्म निरन्तर चलिरहेको तथ्य हो ।
जीवन हत्केलामा राखेर जलचर प्राणी झैं यसरी निरन्तर उद्धारमा खटिने व्यक्ति हुन्, सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) रमेश थापा (३८) । अर्थात्, गोताखोरीका कमान्डर सई रमेश ।
उनले आफ्नो गोताखोरी कामको १५ वर्षे अनुभवमा सबैभन्दा बढी जोखिम सिमलताल घटनामा मोले । गोताखोरी सिद्धान्त अनुसार जान नमिल्ने घागीमा उनी हेलिए । पानीमुनि गएर कुना–काप्चा चहारे । कतिपय अवस्थामा घागीबाट वालवाल फुत्किए र फेरि उस्तै शैलीमा हेलिए । मानौं उनी पानीमुनि गोही जस्तै हुन् ।
२८ असार २०८१ मा चितवनको सिमलतालमा दुई वटा यात्रु वाहक बस त्रिशूलीमा खस्दा एक महिनासम्म नदीमा हेलिएर खोज्ने गोताखोरका कमान्डर हुन् रमेश ।
२८ असार बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडक माथिबाट आएको लेदो सहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए ।
एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु थिए । जसमध्ये तीन यात्रु हाम फालेर बाँचे । बाँकी ६२ यात्रु बेपत्ता भए । यो सूचना पाउनासाथ सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट सई रमेशको कमान्डमा गोताखोरी टोली नदीमा हेलियो ।
रमेशको टोलीले साउन महिनाभर बस र यात्रुको खोजी गर्यो । घटनामा निधन भएका २७ जनाको शव निकाल्यो ।
गोताखोर कमान्डर रमेश बिहानै खाजा खाएर त्रिशूली नदीमा पुग्थे । उनको साथमा १९ जनाको गोताखोर टोली पालैपालो त्रिशूलीमा हेलिन्थ्यो । दिउँसोभर घामपानी नभनी बेपत्ताहरूको खोजीमा जुट्थ्यो । यसरी नदीमा पस्दा र निस्किंदा थापालाई पीडा हुन्छ । ‘यो काम ९९ प्रतिशत जोखिम हो, बाँकी १ प्रतिशतको आशामा हामी पानीमुनि जान्छौं’, गोताखोरी अनुभवबारे रमेश भन्छन् ।
सिमलताल घटनामा गोही घिस्रिए जसरी ढुंगा समाउँदै नदीभित्र पस्ने गरेको उनी बताउँछन् । नदीले बगाएर ल्याएका गेग्रान, ढुंगामुढाले हिर्काएर घाइते भएको अनुभव पनि उनीसँग छ ।
पानीमा जति गहिराइमा गयो, त्यति गाह्रो हुन्छ । नेपालको हकमा ३३ फिट गहिराइमा पुगेपछि ६ लिटरको फोक्सो छ भने आधा खुम्चिएर ३ लिटरमा आउँछ । यो पानीको प्रेसरको कारण हो ।
अर्को, पानी भित्रको सबै काम देखेर भन्दा पनि छोएर गर्नुपर्ने हुन्छन् । स्वाभाविक रूपमा यो काम अप्ठ्यारो हुन्छ नै । अझ सिमलतालको घटनामा त पानी पुरै लेदो, धमिलो भएकाले उद्धार तथा खोजीमा निकै समस्या भएको उनी सुनाउँछन् ।
यस्तो जोखिम मोलेर खोजी तथा उद्धारमा जुटेको विषय उनी सकेसम्म परिवारलाई सुनाउँदैनन् । ‘हामी गोताखोरलाई भन्दा धेरै तनाव आफन्त, परिवारलाई हुँदोरहेछ । सकेसम्म यस्ता कुरा परिवारमा भन्दिनँ’, उनी भन्छन् ।
१५ वर्षे गोताखोरीमा रमेशले धेरै उतारचढाव भोगे । तीतामीठा अनुभव बटुले । तर सिमलतालको जस्तो नमीठो अनुभव उनीसँग शायदै छ । अन्य घटनामा जीवितै उद्धार गर्न नसके पनि आफन्तलाई शवसम्म बुझाएको रमेशको अनुभव थियो । तर त्रिशूलीमा हराएका सबै जनाको शव एक महिनासम्म खोज्दा पनि भेटिएन । ‘कसैलाई जीवितै उद्धार गर्दा संसार जिते जस्तो लाग्छ’ उनले भने, ‘शवसमेत परिवारलाई बुझाउन नसक्दा एकदमै दुःख लाग्छ । सिमलताल घटनामा यस्तै भयो ।’
रमेशका अनुसार नेपालको भौगोलिक बनावटका कारण उद्धार निकै चुनौतीपूर्ण मानिन्छ । विश्वकै सबैभन्दा होचो ठाउँदेखि सबैभन्दा अग्लो ठाउँ समेत यहीं छ । यस्ता फरक विशेषता भएका ठाउँमा अनुभव विना खोज तथा उद्धार गर्नु मूर्खतापूर्ण समेत हुने उनी सुनाउँछन् ।
‘नेपालमा खोज उद्धार चुनौतीपूर्ण छ । भौगोलिक हिसाबले पनि उबडखाबड छ । भेरियसन छ । सोलुको गोक्यो तालमा उद्धार गर्न सक्नेले त्रिशूलीमा नसक्ने सम्भावना पनि हुन्छ । यसका आफ्नै विशेषता र चुनौती छन्’, उनी भन्छन् ।
हिमाल, पहाडभन्दा मधेशमा उद्धार गर्दा केही सहज हुने उनको बुझाइ छ । नेपालका नदीहरूमा खोज तथा उद्धार गर्दा गोताखोरी सिद्धान्तभन्दा बढी जोखिम लिएर खोज्नुपर्ने अवस्थाबारे रमेश सचेत छन् । ‘कति करेन्ट बहाव भएको पानीमा खोज्न सकिन्छ । कति तलसम्म जाने भन्ने गोताखोरी सिद्धान्त हुन्छ । तर त्यो सिद्धान्तभन्दा पनि बढी रिस्क लिएर खोज्नुपर्ने अवस्था छ’, उनी भन्छन् ।
नेपालको गोताखोरी कति जोखिमपूर्ण छ भन्नेबारे सशस्त्र आईजीपी राजु अर्यालले निकै मार्मिक ढंगले सुनाएका थिए । २७ जेठ २०७९ मा २० जना प्रशिक्षार्थीलाई दीक्षित गर्ने कार्यक्रममा अर्यालले भनेका थिए, ‘गोताखोरी बिरामीलाई भेन्टिलेटरमा पठाए जस्तै हो । बिरामी भेन्टिलेटरमा पठाउँदा अक्सिजन लगाएर पठाउँछौं, फर्केर आउला/नआउला भन्ने द्विविधा कायमै हुन्छ । गोताखोर पनि अक्सिजन लगाएर पानीमा डुब्छन् । गहिराइमा पुग्छन्, फर्केलान् कि नफर्केलान् भन्ने हुन्छ ।’
०००
सिमलताल त रमेशले पछिल्लो पटक उद्धार गरेको घटना भयो । तर अहिले पनि उनी उद्धार र तालिम दिनमै व्यस्त छन् । १९ असारमा अनलाइनखबरले सम्पर्क गर्दा रमेश झापामा विपद् उद्धारबारे तालिम दिंदै थिए ।
सरकारको नीति अनुसार पाइलट प्रोजेक्टको रूपमा उनले ३० जेठदेखि १९ असारसम्म विपद् तालिम दिए । यो तालिमका उनी प्रशिक्षक हुन् । केचनकवल गाउँपालिका–७ मा खटिएर उनले स्थानीयलाई विपद् उद्धार तालिम दिएका थिए । प्रत्येक वडामा विपद् उद्धार स्वयंसेवक गठन गर्ने योजना अनुसार रमेशले उद्धार मात्रै गरेका छैनन्, उनी जस्तै जनशक्ति समेत उत्पादन गर्नमा खटिएका छन् । यसरी उनले अहिलेसम्म संगठन भित्र/बाहिर गरेर करिब ५ हजारलाई प्रशिक्षण दिएका छन् ।
बाढी तथा विपद्मा फसेका मान्छेलाई कसरी उद्धार गर्ने, घाइते भएमा सुरुमा के गर्ने लगायत विषयहरू रमेशले केचनकवलमा सिकाएका छन् । ‘उद्धारका क्रममा सानो गल्ती गर्दा उद्धारकर्ता आफ्नै र फसेका व्यक्तिको समेत ज्यान जान सक्छ । हामीको भएको सीप शेयर गरेमा सर्वसाधारणले कसैको ज्यान बचाउन सक्छन्’, सर्वसाधारणलाई आफूले दिएको तालीमबारे उनले सुनाए ।
गोताखोरी तालिम सकिनासाथ उनले एक विदेशी नागरिकको जीवितै उद्धार गरेका थिए । २ माघ २०६८ मा चितवनमा आयोजित पारामोटर प्रतियोगिताका क्रममा नारायणी नदीमा खसेका न्यूजिल्याण्डका नागरिक विनु बचेजको सकुशल उद्धार गरेका थिए ।
यो प्रतियोगितामा २० देशका पारामोटर ग्लाइडहरू सहभागी थिए । तीमध्ये विनु भने नारायणी नदीमा खसे । स्ट्याण्डबाई बसेको रमेशकै टोलीले विनुलाई सकुशल उद्धार गरेको थियो । तालिम सकेर खटिएको पहिलो वर्षमै जीवितै उद्धार गर्न सफल भएपछि ठूलो खुशी प्राप्त भएको उनी सुनाउँछन् ।
यो १५ वर्षको दौरानमा विनु जस्तै कतिलाई जीवितै उद्धार गरियो, कति जनाको शव निकालियो यकिन रेकर्ड उनको दिमागमा छैन । सालाखाला २०० हाराहारी शव निकालेको हुनसक्ने उनको आकलन छ । साना–ठूला गरी करिब ३०० घटनामा उद्धारमा खटिएको हिसाब उनले गरेका छन् ।
२८ असार २०६९ मा चितवनकै फिस्लिङमा यात्रुवाहक बस दुर्घटना हुँदा २० यात्रुको उद्धारकर्ता पनि उनै रमेश थिए । यो घटनाको चार/पाँच दिनमै उनी कृष्णभीरमा खटिएर अर्को दुर्घटनाको उद्धार गरे । १ साउन २०६९ मा कृष्णभीरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जनाको जीवितै उद्धार गरिनुका साथै रमेशको टोलीले १६ शव निकालेको थियो ।
उनी गोताखोरी र विपद् उद्धारका साथै अग्नि नियन्त्रणमा पनि पारङ्गत छन् । २८ फागुन २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा पनि खटिएका थिए ।

त्यतिबेला उनी बसन्तपुरस्थित जुद्ध वारुण यन्त्रमा थिए । सशस्त्र प्रहरीको अग्नि नियन्त्रकको एउटा टुकडी यहाँ पनि बस्दै आएको छ । विमान दुर्घटना भएको ७ मिनेटमै बसन्तपुरबाट विमानस्थल पुगेर उद्धारमा खटिएको उनी सुनाउँछन् ।
‘अग्नि नियन्त्रक भएकाले फर्स्ट रेस्पोन्डरको रूपमा मुख्य जिम्मेवारी थियो । दुर्घटना भएको ७ मिनेटमै मेरो टोली विमानस्थल पुगेर आगो निभाउन शुरू गरेको थियो’, रमेशले त्यो बेलाको स्मरण गरे ।
एक वर्ष जुद्ध वारुणयन्त्रमा बसेका उनले त्यहाँ रहँदा काठमाडौं उपत्यकामा भएका आगलागीका घटनामा फर्स्ट रेस्पोन्डर भएर काम गरे । अरू ज्यान जोगाउन आगो लागेको घरबाट भाग्दै बाहिर निस्कन्थे भने रमेशको टोली उच्च जोखिम मोल्दै आगोभित्र पस्थ्यो ।
आगलागीदेखि बाढी–पहिरो, नदी, तालतलैयामा उद्धार गर्दै निखारिएका रमेश सयौं घटनामा कमान्डर बनिसकेका छन् । १६ वैशाख २०७६ मा रामेछापको लिखु गाउँपालिका–६ स्थित लिखु खोलामा बेपत्ता युवकको शव खोजेर उनैले आफन्तलाई जिम्मा लगाएका थिए ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित बोजिनी ड्याममा हराएका २३ वर्षीय योगेन्द्र लिम्बूको शव फेला पारेर बुझाउने पनि उनै रमेश थिए । २३ साउन २०७९ मा दोलखाको बिगु गाउँपालिका–१ स्थित तामाकोशी जलविद्युत् आयोजनाको ड्यामका हराएका रविन कार्कीको शव खोजेर रमेशले जिम्मा लगाएका थिए ।
लुम्बिनीबाट काठमाडौं छुटेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस २३ फागुन २०८० मा धादिङको गजुरी आइपुगेपछि दुर्घटना भयो । गजुरी गाउँपालिका–५ घाटबेसीबाट त्रिशूली नदीमा बस खसेको थियो ।
यात्रुवाहक बस दुर्घटना भएको सूचना पाएलगत्तै ठूलो हताहती हुनसक्ने भन्दै तत्कालै कुरिनटारबाट रमेशको टोली उद्धारमा खटियो । सो क्रममा ४० यात्रुको जीवितै उद्धार गर्न सक्दाको सफलता अहिले पनि उनको अनुहारमा खुशी बनेर छचल्किन्छ ।
‘सूचना पाउने बित्तिकै हाम्रो टोली मूभ भयो । चाँडै घटनास्थल पुग्न सकेकाले त्यतिबेला ४० यात्रुलाई जीवितै उद्धार गर्न सक्यौैं । एकदमै खुशीको क्षण थियो’ खुशी र दुःखको क्षण एकसाथ सुनाउँदै उनी भन्छन्, ‘तर अर्कोतर्फ यही दुर्घटनामा ७ जनाले ज्यान गुमाउनुपर्यो । उहाँहरूको भने शव निकाल्यौैं ।’
सशस्त्र प्रहरीको विपद् तालिम शिक्षालय कुरिनटारमा लामो समय बसेकाले उनको उद्धार पनि सडक दुर्घटना र त्रिशूली नदीसँग सम्बन्धित हुने नै भयो । यही क्रममा १७ चैत २०८० मा बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सडकबाट त्रिशूली नदीमा खस्यो । काठमाडौंबाट गोरखा जाँदै गरेको उक्त ट्याक्सीमा ५ जना सवार थिए । यो घटनामा पनि उनै रमेश अग्रपंक्तिमा खटिए । त्रिशूलीमा हेलिए र ५ यात्रुको शव निकालेर परिवारलाई जिम्मा लगाए ।
०००
१५ वर्षदेखि गोताखोरीमा सक्रिय रमेश सशस्त्र प्रहरीमा आउनुअघि नै पौडीबाज थिए । सानैदेखि खोला तथा पोखरीमा तैरिन रमाउँथे । खोला देख्यो कि पौडी खेलिहाल्ने उनको विगत थियो । २४ माघ २०४४ मा सिन्धुपाल्चोकमा जन्मे/हुर्केका उनले सशस्त्र प्रहरीमा आउनुभन्दा पहिला नै भोटेकोशी, सुनकोशी, तामाकोशी, इन्द्रावती, मेलम्चीसम्म डुबुल्की मारिसकेका थिए । त्यही हुर्काइले उनलाई गोताखोर बनायो ।
व्यक्तिको उद्धार गर्न पाउँदा मन आनन्द हुने भएकाले गोताखोरीमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ । उनले डेड बडी म्यानेजमेन्ट, फायर फाइटर, रक क्लाइम्बिङ, एड्भान्स एमएफआर (मेडिकल फर्स्ट रेस्पोन्डर), सीएसएसआर (कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु) जस्ता कोर्सहरू पनि पूरा गरेका छन् ।
विपद् उद्धारमा खटिन थालेको ३ वर्षपछि उनले बंगलादेश गएर पनि तालिम गरे र त्यहीं डिप वाटर ड्राइभिङको तालिम समेत लिए ।
यो तालिमपछि गोताखोरीमा रमेश झनै निपुण भएका छन् । पहिला अरूको कमान्डमा काम गर्ने उनी अहिले भने आफैं कमान्ड गर्छन् । सामान्य सुरक्षा निकायले नसकेका उद्धारमा जोखिम मोलेर उद्धार गर्नु उनको दैनिकी भएको छ ।
०००
सिन्धुपाल्चोकबाट प्लस टु पास गरेका उनी स्नातक तह अध्ययनका लागि भनेर काठमाडौं आएका थिए । फौजमा भर्ती हुन्छु भन्ने त्यो बेलासम्म लागेको थिएन । तर केही जागिर खानुपर्छ भन्ने दिमागमा गडेको भने थियो ।
‘बुवा किसान हुनुहुन्थ्यो । किसानी जीवन चलेकै थियो । बुवाले प्लस टुसम्म पढाएकाले अब आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोचेको थिएँ । यही क्रममा फौजमा जोडिन पुगें’ उनी विगत सम्झन्छन् । यो थियो, पुस २०६३ को कुरा ।
खासमा उनी सशस्त्र प्रहरीमा भर्ना हुनुको एउटा कारण आफ्ना ठूलोबुवालाई मान्छन् । बुवा पेशाले किसान भए पनि ठूलो बुवा आर्मी थिए । जसका कारण फौजी जीवनबारे धेरथोर जानकार थिए ।
स्नातक अध्ययन गर्न भनेर आएका रमेशले पुस २०६३ मा असईको फारम भरे । लोकसेवा पास गरेर उनले ११ असार २०६४ मा नियुक्तिपत्र बुझे । त्यसयता निरन्तर विपद् उद्धार र गोताखोरीमा सक्रिय छन् ।
रमेशका एक छोरा र एक छोरी छन् । श्रीमती यशोदा र बाआमा उनको जोखिमपूर्ण कामबाट बेलाबेला तर्सिन्छन् । नेपालभर जहाँ विपत् भए पनि उनीहरूको मनमा चिसो पस्छ । किनकि, त्यो जोखिमपूर्ण ठाउँमा उद्धारका लागि आफ्नै छोरा रमेश पो खटिएका छन् कि ?
त्यसैले बेलाबेलामा उनीहरू रमेशलाई गोताखोरी छाड्न सुझाउँछन् । तर रमेश भने आफ्नो पेशामा अडिग र अटल छन् । श्रीमती, छोराछोरी, बाआमा सबैको माया मनमा बोकेर उनी निरन्तर नदीमा हेलिन्छन् । जोखिमसँग पौंठेजोरी खेल्दै उद्धारमा खटिन्छन् ।