स्याब्बास गोताखोर !
बर्खायामको नदीमा हेलिनु, अझ त्रिशूलीमा– कतिलाई जोखिम लाग्न सक्छ, कतिलाई पागलपन । धमिलो र उच्च बहावको खतरासँग खेलेर पानी मुनि–मुनि बग्दै छामेर शव पहिचान गर्नु, निकाल्नु र किनारामा रुँदै बसेका आफन्तलाई हस्तान्तरण गर्नु– यो एक/दुई दिनको घटना होइन, एक महिनासम्म निरन्तर चलिरहेको तथ्य हो ।
जीवन हत्केलामा राखेर जलचर प्राणी झैं यसरी निरन्तर उद्धारमा खटिने व्यक्ति हुन्, सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) रमेश थापा (३८) । अर्थात्, गोताखोरीका कमान्डर सई रमेश ।
उनले आफ्नो गोताखोरी कामको १५ वर्षे अनुभवमा सबैभन्दा बढी जोखिम सिमलताल घटनामा मोले । गोताखोरी सिद्धान्त अनुसार जान नमिल्ने घागीमा उनी हेलिए । पानीमुनि गएर कुना–काप्चा चहारे । कतिपय अवस्थामा घागीबाट वालवाल फुत्किए र फेरि उस्तै शैलीमा हेलिए । मानौं उनी पानीमुनि गोही जस्तै हुन् ।
२८ असार २०८१ मा चितवनको सिमलतालमा दुई वटा यात्रु वाहक बस त्रिशूलीमा खस्दा एक महिनासम्म नदीमा हेलिएर खोज्ने गोताखोरका कमान्डर हुन् रमेश ।

२८ असार बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडक माथिबाट आएको लेदो सहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए ।
एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु थिए । जसमध्ये तीन यात्रु हाम फालेर बाँचे । बाँकी ६२ यात्रु बेपत्ता भए । यो सूचना पाउनासाथ सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट सई रमेशको कमान्डमा गोताखोरी टोली नदीमा हेलियो ।
रमेशको टोलीले साउन महिनाभर बस र यात्रुको खोजी गर्यो । घटनामा निधन भएका २७ जनाको शव निकाल्यो ।
गोताखोर कमान्डर रमेश बिहानै खाजा खाएर त्रिशूली नदीमा पुग्थे । उनको साथमा १९ जनाको गोताखोर टोली पालैपालो त्रिशूलीमा हेलिन्थ्यो । दिउँसोभर घामपानी नभनी बेपत्ताहरूको खोजीमा जुट्थ्यो । यसरी नदीमा पस्दा र निस्किंदा थापालाई पीडा हुन्छ । ‘यो काम ९९ प्रतिशत जोखिम हो, बाँकी १ प्रतिशतको आशामा हामी पानीमुनि जान्छौं’, गोताखोरी अनुभवबारे रमेश भन्छन् ।
सिमलताल घटनामा गोही घिस्रिए जसरी ढुंगा समाउँदै नदीभित्र पस्ने गरेको उनी बताउँछन् । नदीले बगाएर ल्याएका गेग्रान, ढुंगामुढाले हिर्काएर घाइते भएको अनुभव पनि उनीसँग छ ।
पानीमा जति गहिराइमा गयो, त्यति गाह्रो हुन्छ । नेपालको हकमा ३३ फिट गहिराइमा पुगेपछि ६ लिटरको फोक्सो छ भने आधा खुम्चिएर ३ लिटरमा आउँछ । यो पानीको प्रेसरको कारण हो ।
अर्को, पानी भित्रको सबै काम देखेर भन्दा पनि छोएर गर्नुपर्ने हुन्छन् । स्वाभाविक रूपमा यो काम अप्ठ्यारो हुन्छ नै । अझ सिमलतालको घटनामा त पानी पुरै लेदो, धमिलो भएकाले उद्धार तथा खोजीमा निकै समस्या भएको उनी सुनाउँछन् ।
यस्तो जोखिम मोलेर खोजी तथा उद्धारमा जुटेको विषय उनी सकेसम्म परिवारलाई सुनाउँदैनन् । ‘हामी गोताखोरलाई भन्दा धेरै तनाव आफन्त, परिवारलाई हुँदोरहेछ । सकेसम्म यस्ता कुरा परिवारमा भन्दिनँ’, उनी भन्छन् ।
१५ वर्षे गोताखोरीमा रमेशले धेरै उतारचढाव भोगे । तीतामीठा अनुभव बटुले । तर सिमलतालको जस्तो नमीठो अनुभव उनीसँग शायदै छ । अन्य घटनामा जीवितै उद्धार गर्न नसके पनि आफन्तलाई शवसम्म बुझाएको रमेशको अनुभव थियो । तर त्रिशूलीमा हराएका सबै जनाको शव एक महिनासम्म खोज्दा पनि भेटिएन । ‘कसैलाई जीवितै उद्धार गर्दा संसार जिते जस्तो लाग्छ’ उनले भने, ‘शवसमेत परिवारलाई बुझाउन नसक्दा एकदमै दुःख लाग्छ । सिमलताल घटनामा यस्तै भयो ।’

रमेशका अनुसार नेपालको भौगोलिक बनावटका कारण उद्धार निकै चुनौतीपूर्ण मानिन्छ । विश्वकै सबैभन्दा होचो ठाउँदेखि सबैभन्दा अग्लो ठाउँ समेत यहीं छ । यस्ता फरक विशेषता भएका ठाउँमा अनुभव विना खोज तथा उद्धार गर्नु मूर्खतापूर्ण समेत हुने उनी सुनाउँछन् ।
‘नेपालमा खोज उद्धार चुनौतीपूर्ण छ । भौगोलिक हिसाबले पनि उबडखाबड छ । भेरियसन छ । सोलुको गोक्यो तालमा उद्धार गर्न सक्नेले त्रिशूलीमा नसक्ने सम्भावना पनि हुन्छ । यसका आफ्नै विशेषता र चुनौती छन्’, उनी भन्छन् ।
हिमाल, पहाडभन्दा मधेशमा उद्धार गर्दा केही सहज हुने उनको बुझाइ छ । नेपालका नदीहरूमा खोज तथा उद्धार गर्दा गोताखोरी सिद्धान्तभन्दा बढी जोखिम लिएर खोज्नुपर्ने अवस्थाबारे रमेश सचेत छन् । ‘कति करेन्ट बहाव भएको पानीमा खोज्न सकिन्छ । कति तलसम्म जाने भन्ने गोताखोरी सिद्धान्त हुन्छ । तर त्यो सिद्धान्तभन्दा पनि बढी रिस्क लिएर खोज्नुपर्ने अवस्था छ’, उनी भन्छन् ।
नेपालको गोताखोरी कति जोखिमपूर्ण छ भन्नेबारे सशस्त्र आईजीपी राजु अर्यालले निकै मार्मिक ढंगले सुनाएका थिए । २७ जेठ २०७९ मा २० जना प्रशिक्षार्थीलाई दीक्षित गर्ने कार्यक्रममा अर्यालले भनेका थिए, ‘गोताखोरी बिरामीलाई भेन्टिलेटरमा पठाए जस्तै हो । बिरामी भेन्टिलेटरमा पठाउँदा अक्सिजन लगाएर पठाउँछौं, फर्केर आउला/नआउला भन्ने द्विविधा कायमै हुन्छ । गोताखोर पनि अक्सिजन लगाएर पानीमा डुब्छन् । गहिराइमा पुग्छन्, फर्केलान् कि नफर्केलान् भन्ने हुन्छ ।’
०००
सिमलताल त रमेशले पछिल्लो पटक उद्धार गरेको घटना भयो । तर अहिले पनि उनी उद्धार र तालिम दिनमै व्यस्त छन् । १९ असारमा अनलाइनखबरले सम्पर्क गर्दा रमेश झापामा विपद् उद्धारबारे तालिम दिंदै थिए ।
सरकारको नीति अनुसार पाइलट प्रोजेक्टको रूपमा उनले ३० जेठदेखि १९ असारसम्म विपद् तालिम दिए । यो तालिमका उनी प्रशिक्षक हुन् । केचनकवल गाउँपालिका–७ मा खटिएर उनले स्थानीयलाई विपद् उद्धार तालिम दिएका थिए । प्रत्येक वडामा विपद् उद्धार स्वयंसेवक गठन गर्ने योजना अनुसार रमेशले उद्धार मात्रै गरेका छैनन्, उनी जस्तै जनशक्ति समेत उत्पादन गर्नमा खटिएका छन् । यसरी उनले अहिलेसम्म संगठन भित्र/बाहिर गरेर करिब ५ हजारलाई प्रशिक्षण दिएका छन् ।
बाढी तथा विपद्मा फसेका मान्छेलाई कसरी उद्धार गर्ने, घाइते भएमा सुरुमा के गर्ने लगायत विषयहरू रमेशले केचनकवलमा सिकाएका छन् । ‘उद्धारका क्रममा सानो गल्ती गर्दा उद्धारकर्ता आफ्नै र फसेका व्यक्तिको समेत ज्यान जान सक्छ । हामीको भएको सीप शेयर गरेमा सर्वसाधारणले कसैको ज्यान बचाउन सक्छन्’, सर्वसाधारणलाई आफूले दिएको तालीमबारे उनले सुनाए ।
गोताखोरी तालिम सकिनासाथ उनले एक विदेशी नागरिकको जीवितै उद्धार गरेका थिए । २ माघ २०६८ मा चितवनमा आयोजित पारामोटर प्रतियोगिताका क्रममा नारायणी नदीमा खसेका न्यूजिल्याण्डका नागरिक विनु बचेजको सकुशल उद्धार गरेका थिए ।
यो प्रतियोगितामा २० देशका पारामोटर ग्लाइडहरू सहभागी थिए । तीमध्ये विनु भने नारायणी नदीमा खसे । स्ट्याण्डबाई बसेको रमेशकै टोलीले विनुलाई सकुशल उद्धार गरेको थियो । तालिम सकेर खटिएको पहिलो वर्षमै जीवितै उद्धार गर्न सफल भएपछि ठूलो खुशी प्राप्त भएको उनी सुनाउँछन् ।
यो १५ वर्षको दौरानमा विनु जस्तै कतिलाई जीवितै उद्धार गरियो, कति जनाको शव निकालियो यकिन रेकर्ड उनको दिमागमा छैन । सालाखाला २०० हाराहारी शव निकालेको हुनसक्ने उनको आकलन छ । साना–ठूला गरी करिब ३०० घटनामा उद्धारमा खटिएको हिसाब उनले गरेका छन् ।
२८ असार २०६९ मा चितवनकै फिस्लिङमा यात्रुवाहक बस दुर्घटना हुँदा २० यात्रुको उद्धारकर्ता पनि उनै रमेश थिए । यो घटनाको चार/पाँच दिनमै उनी कृष्णभीरमा खटिएर अर्को दुर्घटनाको उद्धार गरे । १ साउन २०६९ मा कृष्णभीरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जनाको जीवितै उद्धार गरिनुका साथै रमेशको टोलीले १६ शव निकालेको थियो ।
उनी गोताखोरी र विपद् उद्धारका साथै अग्नि नियन्त्रणमा पनि पारङ्गत छन् । २८ फागुन २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा पनि खटिएका थिए ।

त्यतिबेला उनी बसन्तपुरस्थित जुद्ध वारुण यन्त्रमा थिए । सशस्त्र प्रहरीको अग्नि नियन्त्रकको एउटा टुकडी यहाँ पनि बस्दै आएको छ । विमान दुर्घटना भएको ७ मिनेटमै बसन्तपुरबाट विमानस्थल पुगेर उद्धारमा खटिएको उनी सुनाउँछन् ।
‘अग्नि नियन्त्रक भएकाले फर्स्ट रेस्पोन्डरको रूपमा मुख्य जिम्मेवारी थियो । दुर्घटना भएको ७ मिनेटमै मेरो टोली विमानस्थल पुगेर आगो निभाउन शुरू गरेको थियो’, रमेशले त्यो बेलाको स्मरण गरे ।
एक वर्ष जुद्ध वारुणयन्त्रमा बसेका उनले त्यहाँ रहँदा काठमाडौं उपत्यकामा भएका आगलागीका घटनामा फर्स्ट रेस्पोन्डर भएर काम गरे । अरू ज्यान जोगाउन आगो लागेको घरबाट भाग्दै बाहिर निस्कन्थे भने रमेशको टोली उच्च जोखिम मोल्दै आगोभित्र पस्थ्यो ।
आगलागीदेखि बाढी–पहिरो, नदी, तालतलैयामा उद्धार गर्दै निखारिएका रमेश सयौं घटनामा कमान्डर बनिसकेका छन् । १६ वैशाख २०७६ मा रामेछापको लिखु गाउँपालिका–६ स्थित लिखु खोलामा बेपत्ता युवकको शव खोजेर उनैले आफन्तलाई जिम्मा लगाएका थिए ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित बोजिनी ड्याममा हराएका २३ वर्षीय योगेन्द्र लिम्बूको शव फेला पारेर बुझाउने पनि उनै रमेश थिए । २३ साउन २०७९ मा दोलखाको बिगु गाउँपालिका–१ स्थित तामाकोशी जलविद्युत् आयोजनाको ड्यामका हराएका रविन कार्कीको शव खोजेर रमेशले जिम्मा लगाएका थिए ।
लुम्बिनीबाट काठमाडौं छुटेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस २३ फागुन २०८० मा धादिङको गजुरी आइपुगेपछि दुर्घटना भयो । गजुरी गाउँपालिका–५ घाटबेसीबाट त्रिशूली नदीमा बस खसेको थियो ।
यात्रुवाहक बस दुर्घटना भएको सूचना पाएलगत्तै ठूलो हताहती हुनसक्ने भन्दै तत्कालै कुरिनटारबाट रमेशको टोली उद्धारमा खटियो । सो क्रममा ४० यात्रुको जीवितै उद्धार गर्न सक्दाको सफलता अहिले पनि उनको अनुहारमा खुशी बनेर छचल्किन्छ ।

‘सूचना पाउने बित्तिकै हाम्रो टोली मूभ भयो । चाँडै घटनास्थल पुग्न सकेकाले त्यतिबेला ४० यात्रुलाई जीवितै उद्धार गर्न सक्यौैं । एकदमै खुशीको क्षण थियो’ खुशी र दुःखको क्षण एकसाथ सुनाउँदै उनी भन्छन्, ‘तर अर्कोतर्फ यही दुर्घटनामा ७ जनाले ज्यान गुमाउनुपर्यो । उहाँहरूको भने शव निकाल्यौैं ।’
सशस्त्र प्रहरीको विपद् तालिम शिक्षालय कुरिनटारमा लामो समय बसेकाले उनको उद्धार पनि सडक दुर्घटना र त्रिशूली नदीसँग सम्बन्धित हुने नै भयो । यही क्रममा १७ चैत २०८० मा बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सडकबाट त्रिशूली नदीमा खस्यो । काठमाडौंबाट गोरखा जाँदै गरेको उक्त ट्याक्सीमा ५ जना सवार थिए । यो घटनामा पनि उनै रमेश अग्रपंक्तिमा खटिए । त्रिशूलीमा हेलिए र ५ यात्रुको शव निकालेर परिवारलाई जिम्मा लगाए ।
०००
१५ वर्षदेखि गोताखोरीमा सक्रिय रमेश सशस्त्र प्रहरीमा आउनुअघि नै पौडीबाज थिए । सानैदेखि खोला तथा पोखरीमा तैरिन रमाउँथे । खोला देख्यो कि पौडी खेलिहाल्ने उनको विगत थियो । २४ माघ २०४४ मा सिन्धुपाल्चोकमा जन्मे/हुर्केका उनले सशस्त्र प्रहरीमा आउनुभन्दा पहिला नै भोटेकोशी, सुनकोशी, तामाकोशी, इन्द्रावती, मेलम्चीसम्म डुबुल्की मारिसकेका थिए । त्यही हुर्काइले उनलाई गोताखोर बनायो ।
व्यक्तिको उद्धार गर्न पाउँदा मन आनन्द हुने भएकाले गोताखोरीमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ । उनले डेड बडी म्यानेजमेन्ट, फायर फाइटर, रक क्लाइम्बिङ, एड्भान्स एमएफआर (मेडिकल फर्स्ट रेस्पोन्डर), सीएसएसआर (कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु) जस्ता कोर्सहरू पनि पूरा गरेका छन् ।
विपद् उद्धारमा खटिन थालेको ३ वर्षपछि उनले बंगलादेश गएर पनि तालिम गरे र त्यहीं डिप वाटर ड्राइभिङको तालिम समेत लिए ।

यो तालिमपछि गोताखोरीमा रमेश झनै निपुण भएका छन् । पहिला अरूको कमान्डमा काम गर्ने उनी अहिले भने आफैं कमान्ड गर्छन् । सामान्य सुरक्षा निकायले नसकेका उद्धारमा जोखिम मोलेर उद्धार गर्नु उनको दैनिकी भएको छ ।
०००
सिन्धुपाल्चोकबाट प्लस टु पास गरेका उनी स्नातक तह अध्ययनका लागि भनेर काठमाडौं आएका थिए । फौजमा भर्ती हुन्छु भन्ने त्यो बेलासम्म लागेको थिएन । तर केही जागिर खानुपर्छ भन्ने दिमागमा गडेको भने थियो ।
‘बुवा किसान हुनुहुन्थ्यो । किसानी जीवन चलेकै थियो । बुवाले प्लस टुसम्म पढाएकाले अब आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोचेको थिएँ । यही क्रममा फौजमा जोडिन पुगें’ उनी विगत सम्झन्छन् । यो थियो, पुस २०६३ को कुरा ।
खासमा उनी सशस्त्र प्रहरीमा भर्ना हुनुको एउटा कारण आफ्ना ठूलोबुवालाई मान्छन् । बुवा पेशाले किसान भए पनि ठूलो बुवा आर्मी थिए । जसका कारण फौजी जीवनबारे धेरथोर जानकार थिए ।
स्नातक अध्ययन गर्न भनेर आएका रमेशले पुस २०६३ मा असईको फारम भरे । लोकसेवा पास गरेर उनले ११ असार २०६४ मा नियुक्तिपत्र बुझे । त्यसयता निरन्तर विपद् उद्धार र गोताखोरीमा सक्रिय छन् ।
रमेशका एक छोरा र एक छोरी छन् । श्रीमती यशोदा र बाआमा उनको जोखिमपूर्ण कामबाट बेलाबेला तर्सिन्छन् । नेपालभर जहाँ विपत् भए पनि उनीहरूको मनमा चिसो पस्छ । किनकि, त्यो जोखिमपूर्ण ठाउँमा उद्धारका लागि आफ्नै छोरा रमेश पो खटिएका छन् कि ?
त्यसैले बेलाबेलामा उनीहरू रमेशलाई गोताखोरी छाड्न सुझाउँछन् । तर रमेश भने आफ्नो पेशामा अडिग र अटल छन् । श्रीमती, छोराछोरी, बाआमा सबैको माया मनमा बोकेर उनी निरन्तर नदीमा हेलिन्छन् । जोखिमसँग पौंठेजोरी खेल्दै उद्धारमा खटिन्छन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी