
२०६५ सालमा गणतन्त्र घोषणा हुँदा दलहरूले दुई वर्षभित्र संविधान ल्याउने वाचा गरेका थिए । तर, राजनीतिक अस्थिरता र सत्ता भागबण्डा बीच संविधान लेखनको कामले गति पाएन । बरु कहिले संघीयताको मोडल, कहिले प्रदेशको नामांकन र सिमांकन लगायत मुद्दामा सडकमा असन्तुष्टि व्यक्त भइरह्यो ।
सबै पक्षले नेपाल बन्दलाई आफ्ना मागप्रति राजनीतिक दबाब बढाउने हतियार बनाएका थिए । त्यसको सबैभन्दा बढी प्रभाव स्कूलमा पढिरहेका विद्यार्थीमा परिरहेको थियो ।
त्यसबेला मूलधारका सञ्चारमाध्यमले समेत बन्द सम्बन्धी सूचना दिंदैनथे । सूचना नहुँदा कहिले सामान्य हल्लामै स्कूलहरू बन्द हुन्थे । कहिले स्कूल पुगेका विद्यार्थी फर्किनुपर्थ्यो ।
बालाजुको ज्ञान मन्दिर माविमा पढिरहेका बाग्लुङका भिक्टर पौडेलले सूचना प्रवाहमा एउटा कमी महसुस गरिरहेका थिए । ‘त्यसबेला म गिभमी गोलडटकम नामक वेबसाइटसँग पनि जोडिएको थिएँ, त्यसमा खेलकुदका समाचारहरू राख्थ्यौं’ उनी सम्झन्छन्, ‘२०६७ सालमा एसएलसी दिएपछि चाहिं मलाई बन्दको सूचना दिन एउटा प्लेटफर्म आवश्यक छ भन्ने लाग्यो ।’
सामाजिक सञ्जालको प्रयोग दैनिक बढ्दो क्रममा थियो, इन्टरनेटमा पहुँच फैलँदो थियो । त्यस्तोमा भिक्टरले सोचे, यस सम्बन्धी सूचना दिन फेसबुक पेज सबैभन्दा उपयुक्त हुन्छ । बन्दको सूचना दिने भएकाले नाम पनि जुराइहाले, ‘रुटिन अफ नेपाल बन्द ।’ जसलाई अहिले छोटकरीमा ‘आरओएनबी’ भनेर चिनिन्छ ।
त्यसबेला विवेकशील अभियान मार्फत उज्ज्वल थापाले बन्द विरुद्ध अभियान चलाइरहेका थिए, त्यसमा पनि भिक्टर सहभागी हुन्थे । ‘बन्दको सूचना मात्र होइन कि यसको विरोधमा समेत पोष्टहरू राख्थ्यौं’ उनी सम्झन्छन्, ‘कतिसम्म भने, बिहान रिस्क नलिऊँ भन्दै बाटोमा लाइभ गर्दै हिंड्थ्यौं, किनकि ३/४ बजेतिर विभिन्न घटना हुन्थे ।’
तर, दिउँसो ट्राफिक प्रहरीसँग समन्वय गरेर अहिले निश्चिन्त भएर गाडी चलाउन हुन्छ भनेर उनी सूचना राख्थे ।
‘उज्यालो भएपछि कसरी सकेसम्म बन्द विफल गराउने भन्ने किसिमका पोष्टहरू गर्थ्यौं, सकेसम्म धेरै गाडी कुदिरहेको देखाइदिन्थ्यौं’ उनी सम्झन्छन्, ‘खासमा हामीले बन्दको सूचना मात्र दिइरहेका थिएनौं, अप्रत्यक्ष रूपमा बन्द विरुद्ध अभियान नै चलाइरहेका थियौं ।’
त्यसबेला उनी बन्दको आधिकारिक सूचना लिन कहिले प्रहरीलाई फोन गर्थे । कहिले बन्दकर्ता दलका प्रवक्ताहरूको नम्बर लिएर सूचना लिन्थे ।
‘सानोतिनो समूहको बन्द छ भने त्यो पोष्ट गर्दैनथ्यौं, कतिपयमा यो बन्द सफल हुँदैन भनेर पहिल्यै लेखिदिएका पनि छौं’ उनले सुनाए, ‘सूचना संकलनका लागि चाहिं स्पोर्ट्स वेबसाइटमा काम गर्दा चिनजान भएका पत्रकार दाइहरूको संगतले पनि सहयोग गर्यो ।’
त्यसबेला उनी खेलकुद पत्रकार मञ्चमा पनि गइरहन्थे । त्यहींबाट जोडिएका कतिपय पत्रकारहरूले समेत सूचना संकलनका लागि उनलाई सहयोग गरेको भिक्टर सम्झिन्छन् ।
लोडसेडिङको सूचना
यो त्यस्तो बेला थियो, जुन समयमा नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो ।
‘मैले सन् २००८ देखि नै सामाजिक सञ्जाल चलाइरहेको थिएँ, तर एसएलसी दिएपछि चाहिं पूर्ण रूपमै सोसल मिडिया मार्केटिङदेखि डिजिटल प्लेटफर्ममा काम गर्न थालें’ उनले सम्झिए, ‘त्यही बेला खोलेको आरओएनबीमा लोडसेडिङको सूचना पनि दिन थालें ।’
विस्तारै आरओएनबीले त्यस्ता सूचनाहरू अपडेट गर्न थाल्यो, जुन मूलधारका सञ्चारमाध्यमले समेट्दैनथे ।
जस्तै, विभिन्न राजमार्गमा भएको साना अवरोधका सूचनाहरू यात्रुलाई थाहा पाउन गाह्रो हुन्थ्यो । ‘हामीले हरेक सानातिना अवरोधका सूचनाहरू राख्न थाल्यौं, सडक खुलेको जानकारी पनि त्यहींबाट दिन थाल्यौं’ भिक्टरले सुनाए, ‘विस्तारै त्यस्ता सूचना हामीलाई नागरिक आफैंले फेसबुकमा पठाउन थाले ।’
फेसबुक पेजमा फलोअर्स आफैंले सूचना पठाउन मिल्ने भएपछि कतिपयले रगत चाहिएको सूचना समेत राखिदिन अनुरोध गर्न थाले । त्यसबेला उनले राखेका ‘हेल्प पोष्ट’हरूले धेरैलाई रक्तदाता समेत दिलायो ।
आरओएनबीले त्यसबेला मानिसहरूका महत्वपूर्ण सामान हराएका बेला समेत भेट्टाइदिन महत्वपूर्ण सहयोग गरेको थियो ।
‘विदेश जान लाग्नुभएका एक जना दाइ पासपोर्ट हराएपछि त्यस सम्बन्धी सूचना प्रकाशन गर्न कान्तिपुर जानुभएको रहेछ । पत्रिकामा भोलिपल्ट मात्र छापिन्थ्यो, उनलाई बिहान विदेश उड्नु थियो’ उनी एउटा घटना सम्झन्छन्, ‘त्यहींका एक जना पत्रकार दाइले मसँग सम्पर्क गराइदिनुभएको थियो, मैले पोष्ट गरिदिएको दुई घण्टामा त्यो राहदानी भेटियो ।’ विदेश जान लागेका ती व्यक्तिले भिक्टरलाई फोन गरेर रुँदै धन्यवाद दिए ।
‘मलाई एकदमै खुशी लाग्यो । पछि चौधरी थरका एक जना बच्चा हराएको बेला एउटा पोष्ट राखेका थियौं’ उनले थपे, ‘आरओएनबीको पोष्टबाट त्यो बच्चा बाँसबारीमा एक जना आफन्तकहाँ भएको थाहा भयो, पछि प्रहरीले उद्धार गरेर ल्यायो ।’
ललितपुरको एउटा स्कूलमा कक्षा ७ मा पढिरहेका बालक घरमा झगडा गरेर पोखरा गएका बेला समेत फेला पार्न आरओएनबीको पोष्ट एकदमै सहयोगी बन्यो । ‘हामीले गरेको पोष्ट होटल सञ्चालकले देख्नुभएछ र खबर गर्नुभयो’ उनले सुनाए, ‘त्यस्तो कुराले हामीलाई थप प्रेरित गर्थ्यो ।’
त्यसबेलासम्म आरओएनबी स्कूल र कक्षा १२ पढ्ने विद्यार्थीमाझ एकदमै लोकप्रिय बनिसकेको थियो । तर माथिल्लो उमेर समूहमा भने चिनिइसकेको थिएन ।
भूकम्पमा छिनछिनको अपडेट
२०७२ सालमा गएको भूकम्पपछि भने आरओएनबीले उल्लेख्य रूपमा पाठक संख्या बढाउँदै लग्यो । पत्रिकाहरू भोलिपल्ट मात्र आउँथे, रेडियोको विवरणले मात्र सूचना पुग्थेन । इन्टरनेट समेत बन्द भएकाले कतिपय अनलाइन समेत अपडेट भइरहेका थिएनन् ।
‘त्यो १२ वैशाखमा पनि म कम्प्युटरमै थिएँ, जाँदाजाँदै पोष्ट हालेर निस्किएको थिएँ’ उनी सम्झन्छन्, ‘त्यसपछि निरन्तर अपडेट दिइरह्यौं ।’ ठाउँ–ठाउँ गएर भिक्टरले फेसबुक पेजमा सूचना पोष्ट गरिरहे । भूकम्प जाँदाजाँदै समेत पोष्ट हुन थालेपछि यो पेजले विस्तारै अरू उमेर समूहका युवाको पनि ध्यान तान्न थाल्यो ।
‘सबैतिर इन्टरनेटमा समस्या भएका बेला हामीले विदेशबाट समेत अपडेट गरायौं र छिनछिनको सूचना दिइरह्यौं’ उनले सुनाए, ‘फेरि हामीले रोमन अक्षरमै विवरण राख्ने हुँदा भाषा कोहीसँग च्याट गरे जस्तै हुन्थ्यो । त्यसले युवालाई बुझ्न पनि सजिलो हुन्थ्यो ।’
यो शैलीमा उनीहरूलाई पोष्ट गर्न समेत सजिलो हुन्थ्यो । पोष्ट गर्ने यही शैलीका कारण पनि जेन–जी पुस्ताका लागि यो प्लेटफर्म प्रिय बनेको छ । जस्तो, हरेकजसो पोष्टमा यसका पाठकहरू यसलाई कहिले ‘रुटु’ भन्दै सद्भाव देखाउँछन्, कहिले ‘रुटिने’ भन्दै रमाइलो गर्छन् ।
भूकम्पअघि करिब एक लाखको हाराहारीमा भएको रुटिन अफ नेपाल बन्द पेजका फलोअर्स त्यसपछि उल्लेख्य रूपमा बढेको भिक्टर सुनाउँछन् ।
‘मैले पहिले स्पोर्ट्स रिपोर्टिङ गर्दा चिनजान भएका दाइहरूले समेत धेरै सहयोग गर्नुभयो, सुरुआतमा उहाँहरूकै सहयोगले मैले थुप्रै तस्वीर पोष्ट गर्न पाएँ’ उनी भन्छन्, ‘त्यसबेलाको काम आरओएनबीको इतिहासमै महत्वपूर्ण साबित भएको थियो भन्ने लाग्छ, किनकि भूकम्पपछि विदेश बस्ने मानिसहरूले धेरै फलो गर्न थाले ।’
फेरि भिक्टर युवाको समूह एमआरआरसँग पनि जोडिएका थिए । त्यसबाट हुने उद्धारका कार्यहरू पनि पोष्ट गरिरहन्थे । भूकम्पपीडितको सहयोगका लागि क–कसले सहयोग संकलन गरिरहेका छन् भन्नेदेखि सहयोग नपुगेका ठाउँमा त्यहाँको समस्या देखाइदिने काम समेत उनले गरेका थिए ।
कोभिडको समयमा धेरै गलत सूचनाहरूले सामाजिक सञ्जाल भरिएका थिए । त्यसबेला उनले हरेक सूचनालाई दुई/तीन वटा स्रोतबाट भेरिफिकेसन गरेर आधिकारिक सूचना दिन थाले ।
‘शुरुमा सरकारले धेरै अपडेट दिइरहेको थिएन, तर एक जना विदेशीले अरू नै कुनै देशको भिडियो देखाएर टेकुमा मान्छे छट्पटाइरा’छ भनेर हालिदियो’ उनी सम्झन्छन्, ‘त्यसबेला आरओएनबीले त्यस्ता मिथ्या सूचना विरुद्ध आधिकारिक सन्देशहरू दियो ।’
कोभिडका कारण भिक्टरले गरिरहेको फ्रिलान्सिङको काम समेत बन्द भएको थियो । त्यसपछि उनी पूर्णकालीन रूपमा आरओएनबीमै लागेका थिए । तर, उनले सही सूचना प्रवाह गर्ने काम मात्र गरेनन्, अप्ठ्यारोमा परेकाहरूलाई सहयोग जुटाउन समेत भूमिका खेले ।
उनी बब्लु गुप्ता समेत भएका युवाहरूको सञ्जाल ‘हन्ड्रेड ग्रुप’का समेत एक महत्वपूर्ण सदस्य हुन् ।
‘त्यस मार्फत कोभिडका समयमा हामीले सिरहामा गएर मान्छेहरूलाई चामल बाँडेका थियौं, त्यो बेला म सहयोग अभियानमा जाँदा १० दिनजति त्यतै व्यस्त भएको थिएँ’ उनी भन्छन्, ‘मेरो टिमले त्यसबेला काम गर्थ्यो, पछि बाढीपहिरो र भूकम्पमा समेत आरओएनबीले मानिसहरूलाई सहयोग गर्यो ।’
सामाजिक क्षेत्रमा आरओएनबीले गर्दै आएको कामले समेत यसलाई अझ ठूलो दायरामा फैलाउन मद्दत गर्यो ।
‘हाम्रो पेजमा समाचार भनेको २० प्रतिशत मात्र हुन्छ, अरू सकारात्मक सन्देश फैलाउने किसिमका पोष्टहरू गर्छौं, विभिन्न ठाउँलाई चिनाउने काम गर्छौं’ भिक्टर भन्छन्, ‘यसले देखाउँछ कि आरओएनबी सूचना दिने मञ्च मात्र होइन, यो समाजमा सकारात्मक सन्देश फैलाउने माध्यम समेत हो ।’
त्यस्तो सूचना जुन परम्परागत माध्यममा अटाउँदैनन् । त्यस्तो सकारात्मक कार्यको जानकारी जुन अरूले समेट्दैनन्, ती आरओएनबीका कन्टेन्ट हुन् । यिनै विषयका कारण आरओएनबीले अरू सञ्चारमाध्यमभन्दा फरक पहिचान पाएको छ ।
अनि, नोटिस भयो राजनीतिज्ञ माझ
२०७९ सालको चुनावमा आरओएनबीमाथि एउटा गम्भीर आरोप लाग्यो । काठमाडौंका युवा मेयर बालेन शाहलाई खुलेर समर्थन गरेको भन्दै विपक्षीहरूले आलोचना गरे ।
कांग्रेस नेतृ समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले त काठमाडौंका मेयर बालेन शाहले रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेको भन्दै सार्वजनिक मञ्चबाटै आरोप लगाइन् । तर, भिक्टर आरजुले भने जस्तो बालेनलाई सहयोग हुने गरी परिचालित भएको स्वीकार गर्दैनन् ।
‘सबैलाई उत्तिकै स्पेस मिलोस् भनेर हामी बिहान केशव स्थापित, दिउँसो सिर्जना सिंह र बेलुकी बालेन शाहको क्याम्पियन सम्बन्धी अपडेट पोष्ट हाल्थ्यौं’ उनी भन्छन्, ‘तर सामाजिक सञ्जालमा बालेनको धेरै रिच जान्थ्यो, अरूको त्यो तुलनामा कम हुन्थ्यो । त्यसैले धेरैलाई त्यस्तो परेको हुनसक्छ ।’
चुनावी अभियानका क्रममा आफूहरू सबै पक्षसँग सम्पर्कमै बसेर काम गरेको भन्दै उनी भन्छन्, ‘केशव स्थापितज्यूलाई त मैले नै भेटेको थिएँ ।’
परराष्ट्रमन्त्री भएपछि आरजु राणाले उनलाई भेट्न समेत बोलाएकी थिइन् । सिंहदरबारमा आरजुलाई भेट्न भएका बेला भिक्टरले त्यो कुरा उप्काउँदै धन्यवाद दिएका थिए । जब आरजुले रुटिन अफ नेपाल बन्दलाई जोडेर अभिव्यक्ति दिइन्, त्यसले आरओएनबीलाई राजनीतिक वृत्तमा पनि चिनाउन मद्दत पुग्यो ।
‘त्यसैले मैले उहाँको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएर धन्यवाद दिएको थिएँ, तर उहाँले त्यस्तो भन्न खोजेको थिइनँ भन्नुभयो’ भिक्टरले सुनाए, ‘आरओएनबीलाई नियमित फलो गर्ने पाठकलाई हामी कतैतिर पनि छैनौं भन्ने थाहा भइहाल्छ ।’
उनका अनुसार, नाकाबन्दीका बेला आरओएनबीमा आईएमविथ केपीओली ह्यासट्याग चलाइएको थियो । पछि अरू सकारात्मक अभियानलाई समेत सहयोग पुग्ने गरी पोष्टहरू राखिएका थिए ।
यद्यपि, बालेन शाहको विषयमा चाहिं आलोचना यति धेरै बढ्यो कि एकपटक भिक्टरले पेज नै अनपब्लिस गरिदिएका थिए । ‘अब अट्याक गर्नुपर्दैन… स्वार्थले खोलेको थिएन, त्यही भएर बाल छैन… बाँकी कुरा पछि गरौंला’ भन्ने सन्देश दिंदै पेज बन्द भएको सूचना दिइएको थियो ।
यो निर्णयको एकदमै चर्चा भयो, धेरैले सामाजिक सञ्जाल मार्फत नै पेज फिर्ता ल्याउन दबाब दिए । १७ दिनपछि ‘ख्यालख्यालैमा शुरु भएको आरओएनबी सबैको साझा रुटिन बनिसकेछ’ भन्ने सूचना समेत दिएर पेजलाई फिर्ता ल्याइएको थियो ।
त्यसमा आफूहरूले सधैं एकअर्काप्रति सम्मान भाव जाग्ने, हौसला र ऊर्जा थप्ने नवीनतम प्रयासका खबर र कामहरूलाई प्रोत्साहन गरेको भनिएको छ ।
‘सामाजिक कामहरूलाई अगाडि बढाउन समाजलाई जोडिराख्न र सद्भाव कायम राख्न ल्याकतले भ्याएसम्म कोशिश गरिरह्यौं’ आफूहरूले कुनै गल्ती जानाजान नगरेको भन्दै सूचनामा भनिएको छ– ‘नयाँ किसिमले समाजमा थप सकारात्मकता थप्न, केही गर्छु भन्नेहरूको मनोबल बलियो बनाउन सहयोग गर्न गैर–राजनीतिक, सामाजिक जानकारीका खबर लिएर आउँछौं ।’
त्यही पोष्टमा आरओएनबीलाई गैरनाफामूलक पब्लिक कम्पनीमा लैजाने सम्भावनाको खोजी गर्ने घोषणा गरिएको छ । अहिले आरओएनबीमा तथ्य जाँचका लागि पत्रकारहरूको एउटा टिम छ, सूचना संकलन र पोष्ट गर्नका लागि नयाँ पुस्ताका युवाहरू छन् ।
‘परम्परागत पत्रकारिता गर्दै आएकालाई तथ्य जाँचमा जोड दिएका छौं भने अरूलाई नयाँ पुस्ताको शैलीसँग जोड्ने गरी कन्टेन्ट प्रकाशन गर्ने काममा लगाएका छौं’, भिक्टर भन्छन् ।
ई-स्पोर्ट्सको पैरवी
आरओएनबी बाहेक भिक्टर ई-स्पोर्ट्सलाई अघि बढाउन समेत सक्रिय छन् ।
यो फेसबुक पेज शुरु गर्नुअघिदेखि नै गेमिङमा समेत जोडिएका उनी अहिले नेपालको चर्चित डीआरएस गेमिङका समेत सह–संस्थापक हुन् ।
दुई वर्षअघि यो समूह पब्जीको फाइनलमा समेत पुगेको थियो । ‘नेपालको उदाउँदो भविष्य ई–स्पोर्ट्स हो, यो खेलको रिपोर्टिङ गर्न धेरै पत्रकार समेत चीन लगायत देशमा गएका छन्’ उनी भन्छन्, ‘उहाँहरूले पनि के महसुस गर्नुभएको छ भने अरू प्रतियोगिताभन्दा ई–स्पोर्ट्समा दर्शकको धेरै भीड हुन्छ ।’
महँगो टिकट हुँदा समेत हाउसफुल हुने गरेको भन्दै उनी अहिले ई–स्पोर्ट्समा एकदमै क्रेज रहेको बताउँछन् ।