+

सञ्जालका कृषि अभियन्ता

पूरा सूची
Shares
लमजुङ सुन्दरबजारका अनिल रेग्मीको कथा मिहिनेत, लगनशील र नवप्रवर्तनको उदाहरण हो । उनले कृषिलाई व्यावसायिक बनाउन र प्रविधिमार्फत किसानलाई सशक्त बनाउन स्मार्ट कृषि एप बनाएका छन्, जुन ५ लाख पटक डाउनलोड भइसकेको छ ।
अनिल रेग्मी

अनिल रेग्मी  बालखैदेखि बुबाले तरकारी खेती गरेको देख्दा औधी रमाउँथे । त्यसरी रमाउँदा रमाउँदै उनको मन विस्तारै कृषि कर्मतिर मोडियो ।

बुबा पेशाले शिक्षक थिए तर आफ्‌नै खेतबारीमा तरकारी खेती पनि गर्थे । उनी बुबासँगै बिहान–बेलुका तरकारी खेतीमा छिर्न र सघाउन थाले ।

बेलाबेला बुबासँगै तरकारी टिपेर बजार पुर्‍याउन थाले । त्यही बेला उनले ‘होम डेलिभरी’ को अवधारणा अनुभव गरिसकेका थिए । भलै, त्यो बेला होम डेलिभरी भनेको के हो भन्ने थाहा थिएन । तर त्यही अनुभवले उनलाई भविष्यको उद्यमी बन्ने आधार तयार पारिदियो ।

उनलाई सधैं लाग्थ्यो– आफूले जानेको काम गर्नुपर्छ । हो, बालखैदेखि जानेको त्यही कामलाई एउटा पक्का उद्यममा परिणत गरे । र, आज त्यसलाई प्रविधिका माध्यमबाट थप सबल बनाउन सफल भएका छन् ।

यो अनिल रेग्मीको प्रेरणादायी यात्रा र नेपाली कृषिमा ल्याएको परिवर्तनको कथा हो, जो लमजुङ सुन्दरबजार नगरपालिका–८ मा जन्मिएका थिए ।

आज उनको ‘स्मार्ट कृषि’ एप र सामाजिक सञ्जाल मार्फत लाखौं किसान र उपभोक्ता जोडिएर नेपाली कृषि उत्पादन प्रवर्द्धन गरिरहेका छन् ।

अनिलको परिवार शिक्षक पृष्ठभूमिको थियो । बुवाआमा दुवैले तरकारी खेतीलाई अतिरिक्त आयको स्रोत बनाएका थिए । लमजुङ भोटेओडारमा उनको बाल्यकाल बित्यो, जहाँ बिहान तरकारी टिपेर बजार पुर्‍याउने र त्यसपछि स्कूल जाने दैनिकी थियो ।

बुबाको तरकारी खेतीप्रतिको लगाव र मिहिनेतले उनमा कामप्रतिको जिम्मेवारीको भावना विकास भयो । ‘बाल्यकालमा बारीमा काम गर्नु, तरकारी बेच्न बजार जानुले मलाई व्यावहारिक ज्ञान दियो’, अनिल सम्झिन्छन् ।

यो अनुभवले उनमा कृषिप्रति गहिरो रुचि जाग्यो, जुन पछि उद्यमको भरपर्दो आधार बन्यो ।

अनिलले पनि सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गरे । फेसबुकमा स्मार्ट कृषि पेज बनाए । सोही पेजमा कृषि सम्बन्धी जानकारीहरू लेखेर पोस्ट गर्न थाले । त्यसकै माध्यमबाट मानिसहरू त्यसमा इन्गेज हुन थाले । जानकारी लिन थाले ।

इन्जिनियरिङमा रुचि

सानैदेखि इलेक्ट्रोनिक्समा पनि रुचि राख्ने अनिलले घरमा एफएम रेडियोको एन्टेना बनाएर विभिन्न च्यानल टिपाउने प्रयास गर्थे । घरमा भएको बिजुली बत्ती कसरी बल्ने रहेछ भन्ने कौतूहलताले खोलेर हेर्ने र फेरि जोड्ने गर्थे । यस्तै रुचिले उनलाई पछि इन्जिनियरिङ पढ्ने बाटो देखायो ।

लमजुङको भक्ति नमूना माविबाट २०६३ सालमा एसएलसी पास गरेपछि अनिल काठमाडौं आए । १२ कक्षा पास भइसकेपछि एमबीबीएस पढ्ने सपना थियो । तर नाम निकाल्न नसकेर सपना अधुरै रहेपछि त्रिचन्द्र कलेजमा बीएस्सी भर्ना भए ।

तर यो विषयमा रुचि नलागेपछि यात्रा फेरि इन्जिनियरिङतर्फ मोडियो । इलेक्ट्रोनिक्स इन्जिनियरिङ पूरा गरेपछि उनको यात्रा नयाँ मोडमा पुग्यो ।

अनि जन्मियो ‘स्मार्ट कृषि’ एप

सन् २०१३/१४ तिर नेपालमा मोबाइल एपको क्रेज बढ्दै थियो । अनिलले यो अवसरलाई उपयोग गर्ने सोचे । पढाइ पूरा भएपछि जागिर खानतिर भन्दा आफैंले केही गर्नुपर्छ भनेर नयाँ–नयाँ आइडिया फुराउन थाले ।

सोही क्रममा उनले आफ्‌नो बाल्यकालदेखिको कृषिप्रतिको रुचि र इन्जिनियरिङको ज्ञान जोडेर नयाँ आइडिया ल्याए– किसानका लागि उपयोगी मोबाइल एप ।

‘नेपालमा कृषिसँग सम्बन्धित एप थिएन, विदेशमा पनि त्यति धेरै एप आइसकेको थिएन । मैले जानकारीका लागि अन्य धेरै एप डाउनलोड गरी कस्ता फिचर हुने रहेछन्, कसरी काम गर्दा रहेछन्, अध्ययन गरें’ अनिल सुनाउँछन्, ‘यो क्षेत्रमा केही गर्न सकिन्छ भन्ने लाग्यो । अनि यसमा काम गर्न थालें ।’

उनको यही सोच र अध्ययनले जन्मायो– ‘स्मार्ट कृषि’ एप । त्यही बेला निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले नेपालमा एप निर्माणको क्याम्प चलाइरहेको थियो । शुरुमा उनले एनसेलको एप प्रतियोगितामा भाग लिए र आफ्‌नो एपको आइडिया र फिचरबारे जानकारी गराए । तर उनको आइडिया ‘धेरै बृहत्तर’ भएको र ‘गुगल जस्तै काम गर्ने रहेछ’ भनेर अस्वीकृत भयो ।

अनिल केही निराश भए, तर हार मानेनन् । ‘एकपटक अस्वीकृत हुँदैमा के हुन्छ र यति धेरै काम त गरिसकिएको छ’ भन्ने लागेर उनले दुई साथीसँग मिलेर ५०–६० हजार रुपैयाँ लगानीमा एपको प्रोटोटाइप बनाए ।

३ जनवरी २०१५ मा स्मार्ट कृषि एप गुगल प्ले स्टोरमा लन्च भयो । त्यतिबेला स्मार्टफोनको पहुँच कम थियो, र किसानले एप चलाउने सम्भावना पनि न्यून देखिन्थ्यो ।

उनीसँग सहकार्य गरेका दुई जना साथी भने त्यसमा सम्भावना कम देखेर त्यो प्रोजेक्टबाट बाहिरिए । अनिललाई भने पैसा र समय दुवै खर्च भइसकेको छ, ब्याक हुनुहुँदैन भन्ने लाग्यो र निरन्तरता दिए ।
स्मार्टफोन प्रयोग गर्ने ट्रेन्ड विस्तारै शुरु हुँदैथियो । ‘किसानले एप चलाउँछन् र ? भनेर धेरैले प्रश्न गर्थे’, अनिल सम्झिन्छन् । तर उनलाई विश्वास थियो, प्रविधि विकाससँगै स्मार्टफोन गाउँ–गाउँ पुग्नेछ र यो एप किसानका लागि उपयोगी हुनेछ ।

‘सुरुआती दिनमा मैले यस्तो मोबाइल एप बनाएँ, यसका विशेषताका बारेमा मानिसलाई भन्थें, तर उनीहरूले यस्तो एप कसले चलाउँछ र एप चलाउने किसान को छ ? भनेर मलाई उल्टै प्रश्न गर्थे’ अनिल भन्छन्, ‘मैले पनि प्रविधि विकास जुन रूपले अघि बढिरहेको छ, त्यो हिसाबले भविष्यमा छिट्टै स्मार्टफोन सस्तोमा किन्न पाइनेछ र सबैले मेरो एप चलाउँछन् भन्ने विश्वास राख्थें ।’

अनिलको यात्रा सजिलो पक्कै थिएन । एपलाई नै निरन्तरता दिन थालेपछि उनले त्यसमा १२–१५ लाख रुपैयाँ लगानी गरे । तर पनि अपेक्षित प्रयोगकर्ता आधार नबन्दा प्राथमिकता सामाजिक सञ्जालमा सारे ।

केही समयपछि नेपालमा पनि सामाजिक सञ्जालको क्रेज बढ्दै गयो । अनिलले पनि सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गरे । फेसबुकमा स्मार्ट कृषि पेज बनाए । सोही पेजमा कृषि सम्बन्धी जानकारीहरू लेखेर पोस्ट गर्न थाले । त्यसकै माध्यमबाट मानिसहरू त्यसमा इन्गेज हुन थाले । जानकारी लिन थाले । उक्त पेजले अहिलेसम्म आइपुग्दा ८ लाख ३७ हजारभन्दा बढी फलोअर कमाएको छ ।

‘सामाजिक सञ्जालमा किसानसँग प्रत्यक्ष जोडिन सजिलो भयो’ उनले भने, ‘नेपालमा स्मार्टफोनको पहुँच बढ्दै गए पनि किसानस्तरमा प्रविधिको प्रयोग अझै सीमित छ । यस्तो अवस्थामा मैले सामाजिक सञ्जाललाई प्रभावकारी माध्यम बनाएँ ।’

अनिलले फेसबुक पेजमार्फत नै सबैलाई एपबारे जानकारी दिन थाले । त्यसप्रति मानिसहरूको चासो पनि बढ्दै गयो । जानकारी लिन चाहने किसानले एप डाउनलोड पनि गर्दै गए ।

स्मार्ट कृषि एप ५ लाख पटक डाउनलोड

आज स्मार्ट कृषि एप ५ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । यो एपले किसानलाई बाली र पशुपालन सम्बन्धी जानकारी, बजार भाउ, कृषि समस्या समाधान र उत्पादन बिक्री गर्ने प्लेटफर्म प्रदान गर्छ ।

कृषक सञ्जाल, कृषि पुस्तकालय र बजार जानकारी जस्ता फिचरले यो एपलाई निकै उपयोगी बनाएको छ । ‘यो एप सूचनाको खजाना हो, किसानले आफ्नो उत्पादन यही एपमार्फत बेच्न पनि सक्छन्‌’, अनिल भन्छन् ।

इन्स्टाग्राममा ५७ हजार र टिकटकमा १ लाख २३ हजार फलोअर छन् । यी प्लेटफर्म मार्फत उनले नेपाली कृषि उत्पादन प्रवद्र्धन गरेका छन् । सोही प्लेटफर्ममार्फत जुम्लाका किसानले उत्पादन गरेका स्याउ, सिन्धुली र रामेछापको जुनार, दोलखाको किवी, सप्तरीको आँप र झापाको बयर जस्ता उत्पादनलाई उनले सामाजिक सञ्जालको भिडियो हेरेर बजार पुर्‍याई बिक्री पनि गराइदिएका छन् ।

तालिम र बिजनेस मोडेल

सुरुआतका दिनमा अनिलले स्मार्ट कृषि एपमार्फत तालिम पनि सञ्चालन गरे । सन् २०१८–१९ मा कोभिडले महामारीको रूप लिएपछि मानिसहरूको रुचि कृषिप्रति बढ्यो ।

उनले तालिम सम्बन्धी विज्ञापन पनि सामाजिक सञ्जालबाटै गर्न थालेपछि त्यसको पनि माग हुन थाल्यो । विज्ञको टोली नै लिएर अनिलले बाख्रा, कुखुरा, बंगुर, तरकारी र फलफूल खेती सम्बन्धी तालिम दिए ।

उनका अनुसार दुई दिनको तालिममा २५०० र तीन दिनकोमा ३ हजार रुपैयाँ शुल्क लिने गरिन्थ्यो । १३० देखि १४० फिजिकल र ७६ अनलाइन तालिममार्फत ६५०० देखि ६६०० युवालाई प्रशिक्षण दिएको उनी बताउँछन् ।

‘कुनै बेला त महिनामा ७–८ वटासम्म पनि तालिमका लागि अफर आउँथ्यो’ उनी सुनाउँछन्, ‘त्यो बेला कृषिमा मानिसहरूको एकदमै रुचि थियो । उनीहरू कृषिका बारेमा धेरै कुरा जान्न, बुझ्‌न र पालना गर्न चाहन्थे ।’

यी तालिमले किसानलाई व्यावसायिक खेतीको ज्ञान र आत्मविश्वास दियो । शुरुमा उनले फेसबुक पेजमा किसानको उत्पादनको विज्ञापन गरेर पैसा लिन थाले । फेसबुकमा विज्ञापन गरिदिन भन्दै पनि धेरै किसान जोडिन आए । पछि काम गर्दै जाँदा विज्ञापनबाट हुने आम्दानी दिगो होइन भन्ने लागेपछि उनले त्यसलाई रोके ।

कोभिडपछि फेरि बंगुरमा स्वाइन फिभर र गाईभैंसीमा लम्पी स्किन रोगले किसान पलायन भएपछि तालिमको माग घट्यो । त्यसपछि उनले उत्पादन बजारीकरणमा ध्यान केन्द्रित गरे ।

स्मार्ट कृषि फ्रेस आउटलेट : किसानकै मूल्य

अनिल अहिले एउटा टिम नै बनाएर स्मार्ट कृषि फ्रेस आउटलेट मार्फत फलफूल र तरकारी बिक्री गर्दै आएका छन् । पुरानो बानेश्वर भीमसेनगोला मन्दिर नजिकै रहेको यो आउटलेटले विषादीरहित स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छ ।

‘हामीलाई किसान आफूले उत्पादन गरेको खाद्यवस्तु बेच्न पनि सक्नुहुन्छ र बजार व्यवस्थाका लागि भन्न पनि सक्नुहुन्छ’ अनिल भन्छन्, ‘हामीले उहाँहरूका सामान उहाँहरूले भनेकै मूल्य दिएर किन्ने र बिक्री गर्ने वातावरण समेत मिलाइदिएर सहयोग गर्छौं ।’

आगामी योजनामा उनले स्मार्ट कृषि फ्रेसलाई छुट्टै कम्पनी बनाएर विस्तार गर्ने सोचेका छन् । काठमाडौं बाँसबारी र ललितपुर सातदोबाटो क्षेत्रमा नयाँ आउटलेट खोल्ने र डेलिभरीलाई प्रभावकारी बनाउने लक्ष्य उनको छ ।

‘हामी नेपाली उत्पादनलाई मात्र प्रवद्र्धन गर्छौं, विदेशी सामान बेच्दैनौं’, उनी दृढ सुनिन्छन् ।

उनको यो अभियानले स्थानीय किसानलाई बजारसँग जोड्न र उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

अनिलको यो नेपाली उत्पादन प्रवद्र्धन अभियानले आफ्‌ना उत्पादन बिक्री नभएर समस्यामा परेका किसानको पनि उद्धार गर्‍यो । उनले फेसबुक पेजबाट चलाइरहेको अभियानले स्थानीय व्यापारीलाई समेत फाइदा पुग्यो । किसानको ३३–३४ टन स्याउ र १२–१५ टन किवी बिक्री गर्न पनि फेसबुक पेजकै विज्ञापनबाट सफल भयो ।

अनिलको कथा मिहिनेत, लगनशील र नवप्रवर्तनको उदाहरण हो । उनले कृषिलाई व्यावसायिक बनाउन र प्रविधिमार्फत किसानलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् । ‘कृषिमा अवसर छ, तर बजार बुझेर काम गर्नुपर्छ’, उनी सुझाव दिन्छन् ।

उनी किसानलाई प्रविधि प्रयोग गर्न र एकअर्कासँग समन्वय गरेर अगाडि बढ्न प्रेरित गर्छन् । नेपाली उत्पादनलाई विश्वासिलो ब्रान्ड बनाउने उनको सपनाले लाखौं किसान र उपभोक्ता जोडिरहेको छ । अनिलले स्मार्ट कृषि एप र सामाजिक सञ्जालमार्फत नेपाली कृषिको पहिचान नयाँ उचाइमा पुर्‍याएका छन् ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।