+

चेपाङ गाउँको सुनाम दूरदेशसम्म

पूरा सूची
Shares
चितवन जिमलिङका गरिब चेपाङका छोरा विश्वासले काठमाडौंको बूढानीलकण्ठ स्कूलमा पढ्ने अवसर त पाए तर स्कूलको अंग्रेजी फलामको चिउरा सरह भयो । उनी फेल भए, ठक्कर खाए । तर हिम्मत हारेनन् । अहिले चेपाङ बालबालिकाको शिक्षा र अवसरका लागि मरिमेटेर हिंडेका छन् ।
विश्वास चेपाङ

जीर्ण घर, चरम गरिबीले वर्षेनि निम्त्याउने भोकमरी, अशिक्षा अनि बिरामी पर्दा सिटामोलसम्म नपाउने दुरवस्था । चितवन राप्ती नगरपालिका–११ जिमलिङका ३३ वर्षीय विश्वास चेपाङको बाल्यकाल पनि आम चेपाङको भन्दा फरक थिएन ।

विश्वासको परिवारलाई भरपेट खाना खान हम्मेहम्मे थियो । ६ वर्षकै उमेरमा आमा गुमाएका विश्वासलाई ९ वर्षको नहुँदासम्म बुवाले ज्याला–मजदूरी गरेर हुर्काए । साँझ–बिहानको छाक जुटाउन बुवा काम गर्न बाहिर जान्थे । कहिलेकाहीं केही दिनसम्म घर फर्किंदैनथे ।

त्यतिबेला चेपाङ समुदायले पढ्न/लेख्न पाउनु ठूलो कुरा थियो । गाउँमा स्कूल नहुँदा कसैले चाहेर पनि पढ्न पाउँदैनथ्यो । विश्वासलाई बुवाले पढ्न त पठाएका थिए तर स्कूल पुग्न ३ घण्टा पैदल हिंड्नुपर्थ्यो ।

अभाव, गरिबी र अशिक्षामा हुर्किएको उही चेपाङको छोरो विश्वास आज समुदायकै बालबच्चाका लागि शिक्षाको ज्योति बनेर उदाएका छन् । चेपाङ समुदायका लागि आदर्श बनेका छन् । विश्वासले आफ्‌नै पहलमा चितवन सिमलटाँडीमा १४ जना चेपाङ बालबालिका पढाइरहेका छन् । समुदायको उत्थानका लागि उद्यमशीलतासँग जोडेका छन् । अनि, आयआर्जनका लागि कामहरू सिकाएका छन् ।

विकट भूगोल, पढाउनुपर्छ भन्ने चेतनाको कमी, कक्षा ५ भन्दा माथिको विद्यालय नजिक नहुनु जस्ता कारण यहाँका धेरैजसो बालबालिकाले आधारभूत तहको शिक्षा नै प्राप्त गर्न सक्दैनन् । त्यसमाथि चेपाङ समुदायबाट उच्च तहको शिक्षा हासिल गर्नु भनेको पत्थर फुटाएर पीपल उम्रिनु जस्तै हो ।

विश्वास चेपाङ ढुंगाको काप फोरेर उम्रिएका ती पीपल हुन्, जसले आफ्‌नो समुदाय मात्र होइन, देशले गर्व गर्न लायक काम गरेका छन् । चेपाङ समुदायबाट पीएचडी गर्ने गन्तव्यमा लागेका पहिलो व्यक्ति पनि हुन् विश्वास ।

विश्वास अहिले संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धि (२०२५–२०२७) अन्तर्गत वैज्ञानिक तथा प्राविधिक सहयोगका लागि अनौपचारिक सल्लाहकार समूहको सदस्य रहेर काम गरिरहेका छन् ।

आदिवासी शिक्षा तथा विकास कार्यक्रम अन्तर्गत काठमाडौं विश्वविद्यालयमा शिक्षण सहायक रहेका विश्वासले आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र काठमाडौंमा कार्यक्रम संयोजकका रूपमा काम गरिरहेका छन् ।

यसअघि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)मा वातावरण तथा सामाजिक सुरक्षा विज्ञका रूपमा काम गरेका उनी काठमाडौं विश्वविद्यालयमा विकास अध्ययन विषयमा एमफिल गरिरहेका छन् । आगामी डिसेम्बरमा एमफिल सकेर पीएचडी गर्ने तयारीमा रहेका छन्, उनी ।

राप्तीको विकट मानिने चेपाङ बस्तीमा जन्मिएका विश्वासलाई आफ्‌नो गाउँघर निकै प्यारो लाग्छ । गाउँमा अहिले पनि भोगिरहेको अभावले भित्रभित्र गहिरो दुखाउँछ । उनी बेलाबखत गाउँघरमा आउँदा केही न केही नयाँ सोच र कार्यक्रम सहित जाने सोचाइ बनाइरहेका हुन्छन् ।

आफूले पढेको विद्यालयका साथीहरू, काम गरिरहेका विभिन्न संघ–संस्थाहरूसँग सहकार्य गरेर केही नयाँ गर्ने अठोट सहित उनी चेपाङ बस्तीहरू पुग्छन् । उनकै पहलमा चेपाङहरूको विशेष महत्वपूर्ण चिउरीको बिरुवा जन्मदिनमा रोप्ने अभियान गाउँघरमा चलाएका छन् । चेपाङहरूले छोरीको बिहेमा चिउरीको बोट दाइजो दिने चलन छ ।

विश्वासको पहलमा कान्दा, लोथर र सिनानतिर सोलार बत्ती वितरण गर्ने अभियान शुरु भएको छ, कतिपय आयआर्जनका कामहरू सिकाउने काम पनि उनले गरिरहेका छन् ।

चेपाङ बालबालिकाले पढ्न नपाएको नजिकबाट देखे/भोगेका छन् विश्वासले । त्यसैले त आफ्‌नै पहलमा चितवन सिमलटाँडीमा १४ जना चेपाङ बालबालिकालाई पढाइरहेका छन् । उनले पढाएका केही बालबालिकाले एसईई समेत दिइसकेका छन् ।

उनले चेपाङ समुदायको उत्थानका लागि उद्यमशीलतासँग जोड्ने काम गरिरहेका छन् । त्यसक्रममा विभिन्न संस्थाको सहयोगमा कामहरू अघि बढाएका छन् । चेपाङ समुदायको गरिबी घटाउन आर्थिक क्रियाकलाप र आत्मनिर्भरताको काम आवश्यक रहेको विश्वास बताउँछन् ।

सिस्नोको धूलो बनाउन महिला समुदायलाई परिचालन गर्नेदेखि बंगुर तथा सुँगुरपालन, सोलार मिल, किराना पसल सञ्चालन जस्ता विषयलाई उनले प्रवद्र्धन गरे । चरम गरिबीले गर्दा कतिपय कार्यक्रम चल्न सकेनन् । पछिल्लो समयमा दुर्गम ठाउँहरूमा समेत कच्ची सडकहरू पुगेकोले चेपाङ समुदायलाई आयआर्जनमा केही न केही भए पनि सहयोग पुगेको छ ।

बाटोले गर्दा गाउँघरमा उत्पादन हुने चिउरी बजारसम्म आउन थालेको छ । पहिले घाँस–दाउरा र मजदुरीमा सीमित समुदायका व्यक्तिले विभिन्न उद्यम सञ्चालन गरेर जीविकोपार्जन गर्न थालेका छन् । त्यसले केही वर्षअघिसम्म भीरपाखामा सीमित समुदाय फैलिन थालेको छ ।

बूढानीलकण्ठले देखाएको उज्यालो

विश्वासकै उमेरका दौंतरीहरू अझै पनि राप्तीको कोराकका डाँडातिर होलान् । कतिपयले कम उमेरमै घरजम गरी हजुरबा बनिसके । तर उनले आफूले पाएको अवसरलाई गुम्न दिएनन् ।

उनलाई अहिलेको स्थानसम्म पुर्‍याउन धेरै सहयोगी हातहरूको भूमिका छ, त्यसमा पनि विशेषतः बूढानीलकण्ठ स्कूलको योगदान छ । विश्वास ६ वर्षको हुँदा आमा गुमाए, टुहुरो बने । गाउँकै स्कूलमा १ कक्षा पढे ।

घर राम्रो थिएन, वर्षेनि भोकमरीले अरूलाई जस्तै विश्वासको परिवारलाई पनि सताएको थियो । बुवा साँझ–बिहानको छाक जुटाउन ज्याला–मजदूरी गर्थे । कहिलेकाहीं केही दिनसम्म पनि घर आउँदैनथे ।

त्यतिबेला उनलाई अरूको सहारामा बाँच्नुपर्ने अवस्था थियो । ‘मलाई पढ्ने रहर थियो’ उनी सुनाउँछन्, ‘बुवाले बोकेर टाँडी चितवनको अन्त्योदय जनजाति आवासीय विद्यालय पुर्‍याउनुभयो ।’ अन्त्योदय स्कूलमा अहिले पनि चेपाङ समुदायका बालबालिकालाई आवासीय रूपमा राखेर पढाउने गरिन्छ ।

बुवाले काम गर्नुपर्ने शर्तमा विद्यालयले विश्वासलाई पढाउन थाल्यो । उनी ३ कक्षामा भर्ना भए । पढाइमा मिहिनेत गरे । एक दिन बूढानीलकण्ठ स्कूल काठमाडौंको अवेरनेस क्लबका सदस्यहरू चेपाङ बालबालिका पढेको स्कूल हेर्न आए । उनीहरूले बालबालिकाको अवस्था देखेपछि एक जना विद्यार्थीलाई बूढानीलकण्ठमा पढाइदिने निधो गरे । त्यसमा छानिए, विश्वास । आमाबाट पहिल्यै छुटेका विश्वास ९ वर्षको उमेरमा बुवाबाट टाढा भएर बूढानीलकण्ठ स्कूल पुगे ।

विश्वास अंग्रेजीमा निकै कमजोर थिए । उनलाई अलिअलि नेपाली र चेपाङ भाषा मात्र आउँथ्यो । तर बूढानीलकण्ठ स्कूलभित्र पसेपछि अंग्रेजी मात्रै बोल्नुपर्ने । उनी शुरुमा अक्क न वक्क परे । निकै सकस पर्‍यो उनलाई ।

अभ्यास गर्दै जाँदा टुटेफुटेको अंग्रेजी बोल्न थाले । ४ कक्षामा भर्ना भएका विश्वास अंग्रेजीमै फेल भए । फेल भएर पनि पढ्न मौका पाउने बूढानीलकण्ठ विद्यालयमा उनी मात्रै थिए । उनले थप मिहिनेत गर्दै गए । बिदामा समेत त्यति घर आउँदैनथे । काठमाडौंबाट चितवन आएर राजमार्गबाट ६ घण्टा हिंडेर गाउँ जानुपर्ने अवस्थाका उनी बरु विद्यालयमै बसेर मिहिनेत गर्न थाले । छोरो ९ वर्ष होस्टल बसेर पढ्दा विश्वासका बाबु एक पटक मात्रै भेट्न आए ।

२०४९ असारमा जन्मिएका विश्वासले २०६५ सालमा ७५.५० प्रतिशत अंक ल्याएर एसएलसी पास गरे । एसएलसी पासपछि उनले ए लेभल रोजे । २ वर्षको कोर्स थियो, नाम निकाले । पढ्न पाए । उनलाई बूढानीलकण्ठमै ए लेभल पढ्न बेलायतको ‘पेस्तालोजी ओभरसिज चिल्ड्रेन ट्रष्ट युके’ले सहयोग गर्‍यो । ए लेभल सकिएपछि ब्याचलर पढ्न ठूलै सकस भयो ।

घरबाट पैसा पठाउन सक्ने अवस्था थिएन । कि दाताले सहयोग गर्नुपर्थ्यो कि कुनै कलेजले निःशुल्क पढाइदिनुपर्थ्यो । कान्ति एन्ड कुञ्ज (केएनके) कलेज उनलाई पढाइदिन तयार भयो ।

छात्रवृत्तिमा पढ्न त पाए तर बस्ने ठाउँ भएन । होस्टल, बाल सुधार गृह र सीप सिकाउने ठाउँमा गएर बिहान–बेलुका काम गरेर केही आयआर्जन गर्न थाले । त्यो आवासीय तालिम दिने ठाउँ भएकाले उनी पनि त्यहीं बसे ।

उनले महिनामा ३/४ हजार कमाउँथे । जसले खर्च टार्न केही सहज हुन्थ्यो । त्यसैगरी उनले सोसल वर्कमा स्नातक पढे । उनलाई चेपाङको क्षेत्रमा काम गर्ने केही संस्थाहरूले सहयोग गरे । मितेरी फाउन्डेशन लगायत केही संस्थाले स्नातक तहसम्म सहयोग गरे ।

विश्वाससँगै पढेका धेरैजसो साथी विदेश गए । तर उनलाई विदेश गएर उतै बस्ने छुट थिएन । समुदाय र परिवारप्रतिका असीमित जिम्मेवारी थिए । विदेश जाने रहर पनि जागेन । ब्याचलर सकिएपछि मास्टर्स पढ्न फेरि समस्या भयो ।

पढाइको अवसर नभएकै कारण आफ्‌नो समुदाय कस्तो अवस्थामा छ भन्ने गहिरोसँग बुझेका विश्वासले पढाइ नछाड्ने निधो गरे । विदेशमा रहेका बूढानीलकण्ठका अग्रज दाइहरूलाई म्यासेज पठाए । केहीले सहयोग गरे, केहीले वास्ता गरेनन् । उनले एक अग्रज शुभचिन्तक दाइबाट बेलायतको युनिभर्सिटी अफ लिंकनको बारेमा थाहा पाए ।

चेपाङ बालबालिकालाई शिक्षा नदिएसम्म उनीहरूको भविष्य उज्ज्वल नहुनेमा विश्वास विश्वस्त छन् । त्यो सवालमा अरूलाई भन्दा बढी जिम्मेवारी आफूलाई भएको उनी स्वीकार्छन् ।

त्यहाँ अनलाइन फर्म भरे । आवश्यक डकुमेन्ट अनलाइनबाटै पठाए । शुरुमा छात्रवृत्तिमा छनोट हुन नसकेका विश्वासले पछि छात्रवृत्ति पाए । उनमा खुशीको सीमा रहेन । आईएलटीएस गरेर बेलायत पुगे । बेलायत, डेनमार्क, पोल्याण्ड, पोर्चुगल र फ्रान्स घुमेर पढ्न पाए । हरेक सेमेष्टरमा एक/एक देश घुम्दै पढ्ने अवसर उनलाई आयो । मास्टर्स सकेर नेपाल फर्किएका उनी अहिले एमफिल गरिरहेका छन् ।

समुदाय वृत्ति विकासको जिम्मेवारी

चितवन, धादिङ र मकवानपुर चेपाङ समुदायको बसोबास भएका जिल्ला हुन् । २०७८ सालको जनगणना अनुसार चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६४ रहेको छ । तीमध्ये ४२ हजार ७०० पुरुष र ४१ हजार ६०० महिला छन् ।

२०६८ को जनगणनामा चेपाङको जनसंख्या ६८ हजार ४०० थियो । नेपाल आदिवासी जनजाति आयोगको पछिल्लो आँकडा अनुसार ४८.४८ प्रतिशत चेपाङ मात्रै सामान्य साक्षर छन् ।

अधिकांश चेपाङ अहिले पनि गरिबी, कठिनाइ र अभावसँग जुधेर बसिरहेका छन् । विकट भूगोल र गरिबी चेपाङ समुदायको उन्नतिका लागि बाधक बनेको देखिन्छ ।

चेपाङ बालबालिकालाई शिक्षा नदिएसम्म उनीहरूको भविष्य उज्ज्वल नहुनेमा विश्वास विश्वस्त छन् । त्यो सवालमा अरूलाई भन्दा बढी जिम्मेवारी आफूलाई भएको उनी स्वीकार्छन् ।

चेपाङ बालबालिकाले पढ्न नपाएको नजिकबाट देखे/भोगेका छन् विश्वासले । त्यसैले त आफ्‌नै पहलमा चितवन सिमलटाँडीमा १४ जना चेपाङ बालबालिकालाई पढाइरहेका छन् । उनले पढाएका केही बालबालिकाले एसईई समेत दिइसकेका छन् ।

कापी–कलम किन्नेदेखि खुट्टामा लगाउने चप्पलसम्म हुँदैन, अधिकांश चेपाङ बालबालिकाको । विद्यालय जाँदाजाँदै भोक लाग्ने, बेलुका फर्किंदा रात पर्ने अवस्थामा साना बालबालिकाको विद्यालय यात्रा सहज भएको छैन ।

घरमा धेरै बच्चा हुुने कतिपय परिवारमा बाबुआमा काममा जाने अनि ठूला छोराछोरीले साना भाइबहिनी हेर्नुपर्ने बाध्यता छ, जसका कारण उनीहरूले पढ्न पाएका हुँदैनन् । पढे पनि ५ कक्षामा पुगेपछि पढाइ छाड्ने गरेको बग्रेल्ती उदाहरण भेटिन्छन् ।

विद्यालय टाढा भएको र घरायसी कामका कारणले पढाइ छाड्न थालेपछि आवासीय रूपमा राखेर पढाउन धादिङ, चितवनको शक्तिखोरमा होस्टलहरू खोलिएका छन् ।

‘होटल, यातायात सेन्टरहरूमा चेपाङ बालबालिका बालश्रमिकका रूपमा समेत काम गरिरहेका छन्‌’ विश्वास भन्छन्, ‘बजारमा बसेर पढ्न सक्ने अवस्था हुँदैन, विद्यालय जान नपाएपछि बालविवाह गरिदिने अनि स्वास्थ्य सम्बन्धी समस्या चेपाङहरूले भोगिरहेका छन् ।’

विश्वासलाई स्थानीय जनप्रतिनिधीहरूले चेपाङ समुदायमा चामल वा कम्बलहरू बाँडेको त्यति निको लाग्दैन । चेपाङ बालबालिकालाई उचित शिक्षा, आयआर्जन, सीपमूलक तालिम तथा समान सहभागिता मार्फत माथि उठाउनुपर्ने उनको सोच छ ।

चेपाङबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद गोविन्दराम चेपाङ विश्वासलाई चेपाङ समुदायको गर्व भन्न रुचाउँछन् । विश्वासका बावु अहिले पनि गाउँमा मकै गोडेर नै बसिरहेका हुन्छन् ।

विश्वासले आर्जित गरेको उपलब्धिप्रति खुशी हुँदै उनी भन्छन्, ‘विश्वास जुन धरातलबाट, जुन समुदायबाट उठेर यहाँसम्म आउनुभएको छ, अब उहाँले आफू जन्मिएको समुदायलाई कहिल्यै बिर्सन हुँदैन ।’

अवसर पाएमा चेपाङ बालबालिकाले पनि समाजमा योगदान दिनसक्छन् भन्ने पुष्टि विश्वासले गरेको सभासद गोविन्दराम बताउँछन् । धादिङमा घरेलु श्रमिकको रूपमा काम गरेर पढेकी सविना चेपाङले एसईईमा फोर जीपीए ल्याएको भन्दै गोविन्दरामले उनको उच्च शिक्षाका लागि आफूहरू लागिरहेको बताए ।

‘चेपाङहरूको दिमाग नभएको हैन, अवसर नपाएको हो, परिस्थिति र गरिबीले साथ नदिएको हो’ गोविन्दराम भन्छन्, ‘मौका र अवसर दियो भने सक्छन् भन्ने उदाहरण विश्वास र सविना हुन्, उनीहरू हाम्रो समुदायका बालबालिकाका लागि आदर्श हुन् ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।