+

किसान जगाउने भर्चुअल हाकिम

पूरा सूची
Shares
देशका ७५३ वटै पालिकामा कृषि अधिकृत छन् । चितवन खैरहनीका कृषि अधिकृत गौरव न्यौपाने भने अरूभन्दा फरक छन् । जब उनले किसानका समस्या र समाधानका सूत्र सामाजिक सञ्जालबाट बताउन थाले, अफिस भित्र र बाहिर किसानको धुइरो लाग्न थाल्यो ।
गौरव न्यौपाने

सरकारी कर्मचारीको जागिर सामान्यतः बिहान १० बजे शुरु भएर अपराह्न ५ बजे सकिन्छ । खैरहनी नगरपालिका, चितवनका कृषि शाखा अधिकृत गौरव न्यौपानेको हकमा भने यो नियम लागू हुँदैन ।

बिहान–बेलुका पनि उनलाई भ्याई–नभ्याई हुन्छ । कार्यालय बाहेकको समय किसानका समस्या समाधानलाई दिन्छन् । पालिकाभित्रका किसानले कृषि उत्पादनमा रोग–कीरा लागेको, बालीनाली नष्ट भएको भनेर गुनासो गर्छन्, बोलाउँछन् । गौरव कतिपय किसानलाई रोग–कीरा लागेको नमूना लिएर कार्यालयमा आउन भन्छन् त अवस्था हेरी कतिपय किसानका खेतबारीमै पुग्छन् ।

किसानलाई समस्या लिएर कार्यालय आउन अनि समस्या समाधान गर्न किसानका खेतबारीसम्म जाने वातावरण भने कृषि अधिकृत गौरव आफैंले बनाएका हुन् । उनी नगरपालिकाको कृषि शाखामा आउनुअघि किसानहरू खासै आफ्‌ना समस्या लिएर पालिका धाउँदैनथे । बालीमा आफूले जानेको परम्परागत उपचार गर्थे । त्यतिले नभए एग्रोभेटतिर जान्थे ।

खैरहनी नगरपालिका–९ घर भएका गौरव आफ्‌नै ठाउँमा केही गरौं भनेर दुई वर्षअघि करार सेवामा नगरपालिका छिरे । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा एग्री एक्सटेन्सन अध्ययन गर्दागर्दै उनी खैरहनी नगरपालिकाको कृषि अधिकृत भएर काम गर्न थाले । शाखा प्रमुख भएर काम गर्ने अवसर समेत पाएका गौरवलाई लाग्यो– कृषि सम्बन्धी ज्ञान लिएका, पढेलेखेका मानिसहरू एकातिर, किसान अर्कोतिर छन् । कृषि विज्ञले जानेको ज्ञान र सीपको प्रसार किसानसम्म सही ढंगले पुगेकै छैन ।

कृषि उत्पादनका दृष्टिकोणले पूर्वी चितवनलाई भण्डारका रूपमा लिइन्छ । यहाँ दूध, तरकारी, केरा तथा माछाको व्यावसायिक उत्पादन मनग्य हुन्छ । साथसाथै, किसानले अन्नबाली तथा तरकारीमा रोग–कीराको समस्या पनि भोग्दै आएका छन् ।

परम्परागत विधि अपनाउँदा र एग्रोभेटको सल्लाहमा जथाभावी विषादी प्रयोग गर्दा किसानको लागत बढ्छ । कतिपय किसानले त कुन रोग, कीरा लाग्यो भनेर पत्तो समेत पाउँदैनन् ।

किसानहरू रोग कीरा व्यवस्थापनको सही परामर्श नपाएर भौंतारिरहेको कृषि अधिकृत गौरवले देखे । कुन बाली कहिले लगाउने, कति लगाउने, कसरी लगाउने समेत किसानलाई ज्ञान नहुने अवस्था देखेपछि उनले प्रसारको अभाव खट्किएको महसुस गरे । ‘पेपर वर्क’ मात्रै मिलाउने तर प्रसारमा काम नहुने विषयले उनलाई बढी चिमोट्यो ।

किसान र प्राविधिक बीच गहिरो खाडल रहेको बुझेका गौरवले आफूले जानेको ज्ञानको प्रसार किसानहरूलाई गराउने अठोट लिए । अठोट त लिए तर ज्ञान र सीपको प्रसार कसरी गराउने भन्ने भयो ।

शुरुमा उनले ग्राफिक्सका आधारमा विभिन्न रोग कीराले दिनसक्ने दुःख र अपनाउनुपर्ने सावधानीका बारेमा कृषि शाखाको फेसबुक पेजका साथै प्रत्यक्ष गएरै पनि देखाउन र सिकाउन थाले । तर किसानले यसमा त्यति मेसो नपाएको गौरवले बुझे ।

सोही बेला पालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर आए, विष्णुप्रसाद सापकोटा । मोटिभेटरका रूपमा विभिन्न भिडियो सामग्रीहरू बनाउन रुचाउने विष्णुले गौरवले गरिरहेको काम र भिडियोबाट हुनसक्ने फाइदाका विषयमा बताए । उनलाई हौसला दिए, अगाडि बढ्न सुझाए ।

गौरव किसानलाई परेका वा पर्न सक्ने समस्या र समाधानको भिडियोहरू बनाउन थाले । र, छोटो र मिठो भिडियोहरू कृषि शाखाको पेजमा हाल्न थाले । यो काम किसानले मन पराए । भिडिओ हेरेर अफिस भित्र र बाहिर किसानको धुइरो लाग्न थाल्यो ।

गौरव भन्छन्, ‘म शुरुमा आउँदा कृषि शाखामा किसानहरू खासै आउँदैनथे । जब हामीले किसानलाई कनेक्ट गर्ने हिसाबले काम गर्न थाल्यौं, किसान आफ्‌ना समस्या लिएर कृषि शाखामा आउन थाले ।’ त्यसपछि गौरवले किसानका नयाँ–नयाँ समस्या समेटेर नयाँ–नयाँ भिडियो बनाउन थाले ।

कृषि शाखाको फेसबुक पेजको फलोअर्स २०० बाट बढेर अहिले २२ हजार बढी पुगेको छ । ‘कृषिका कुरा’ भन्ने युट्युब च्यानलमा पनि यस्ता सामग्रीहरू राख्ने गरिएको छ ।

कृषि शाखाले हालेका भिडियो शेयर हुने र लाखौं भ्यूज जाने गरेको गौरव बताउँछन् । ‘हामी किसानले बुझ्‌ने भाषामा, सरल र छोटो भिडियो बनाउँछौं । त्यसमा किसानका जल्दाबल्दा समस्या र त्यसको समाधान समेट्छौं’ गौरव भन्छन्, ‘हाम्रो भिडियोबाट पालिकामा मात्रै हैन, बाहिरका किसानले समेत लाभ लिएका छन् ।’

गौरवले कुन सिजनमा कुन खेतीबाली लगाउने, बीउ, रोग कीरा, ध्यान दिनुपर्ने अन्य विषय, भण्डारण तथा बजारीकरणसम्मका विषयलाई समेटेर भिडियोहरू बनाउने गरेका छन् । उनका अनुसार कृषि शाखामा पहिले वार्षिक ५० जना किसान पनि रोग कीरा व्यवस्थापनको परामर्शका लागि आउँदैनथे । अहिले वर्षमा २०० बढी किसान आफ्‌ना समस्या लिएर आउने गरेका छन् । किसानले ल्याउने नयाँ–नयाँ समस्याले भिडियोको कन्टेन्ट तयार गर्न समेत सहज भएको उनको अनुभव छ ।

गौरवले भिडियो बनाउन आफ्‌नै लगानीमा ड्रोन, भिडियो खिच्ने मोबाइल किनेका छन् । ‘मैले आफ्‌नै लगानीमा आवश्यक पर्ने उपकरण किनेको छु’ गौरव भन्छन्, ‘केही गरौं भन्ने हुटहुटीले गरेका काम हुन् यी ।’ भिडियो काट्ने, मिक्सिङ गर्ने काम उनी आफैंले जानेका छन् ।

गौरवलाई किसानका समस्या र तिनको समाधानको भिडियो बनाउन कार्यालयले दबाब दिंदैन । स्वेच्छाले प्रसारको काम गरेको बताउने गौरवले त्यसवापत अतिरिक्त एक रुपैयाँ पनि लिंदैनन् ।

सामाजिक सञ्जालबाट दिने सूचना मात्र होइन, किसानका खेतबारीमै पुगेर उनले दिने परामर्शले हजारौं किसान लाभान्वित भएका छन् ।

उनको शाखामा अहिले ६ जना कृषि प्राविधिक छन् । गौरव आउनुअघि शाखामा ‘माइक्रोस्कोप’ भए पनि त्यत्तिकै थन्क्याएर राखिएको थियो । उनले साथीहरूसँग मिलेर माइक्रोस्कोपबाट परीक्षण थालेका छन् । अन्य पालिकामा नभएको माटो परीक्षण ल्याब खैरहनीमा मात्रै छ । भरतपुर लगायत क्षेत्रबाट माटो परीक्षणका लागि नमूनाहरू खैरहनीमा आउने गरेको छ ।

खैरहनीकै डेजी माविबाट एसएलसी गरेका गौरवले ट्रिनिटी कलेजबाट आईएस्सी गरेपछि त्रिविको लमजुङ आंगिक क्याम्पसबाट बीएस्सी एजी गरे । बुवा अडिटर भएकोले ल्यापटप लगायतका सामग्रीहरू चलाउन सानैबाट सिकेका गौरव आफैं खोजेर केही न केही नयाँ गरिरहौं भन्ने भावनाका छन् । भिडियो, वेबसाइट, ग्राफिक्स डिजाइन जस्ता काम उनी आफैं गर्छन् ।

गौरव भन्छन्, ‘मैले भिडियो हाल्ने मोनिटाइजेसनका लागि हैन, किसानका लागि हो । कतिपय प्राविधिकलाई पनि यसबाट ज्ञान हुन्छ, यसरी पो गर्न सकिने रहेछ भन्ने हुन्छ । ज्ञानको प्रसार गराउनु र किसान तथा प्राविधिक बीचकोे खाडल पुर्नुपर्नेछ ।’

अनुदान मात्रै हैन, राम्रोसँग किसानलाई ज्ञानको प्रसार गरिदिए पनि लागत घट्ने, उत्साह र जाँगर थपिने गौरव बताउँछन् ।

गौरवको अनुभवमा वर्षौंदेखि १०औं बिघामा खेती गरिरहेका किसानलाई पनि डडुवामा कुन विषादी हाल्ने जानकारी छैन । गौरव भन्छन्, ‘एग्रोभेटले झोलाका झोला विषादी बोकाइदिंदा किसानको लागत बढ्छ । त्यसैले लागत घटाउन किसानलाई सही सूचना आवश्यक हुन्छ ।’ हिजोआज खैरहनीका किसान कृषि शाखाले सुझाएको विषादी मात्रै एग्रोभेटबाट लिने गर्छन् ।

भिडियोहरू हेरेका कतिपय किसानले शाखामै आएर ‘निकै फाइदा भयो’ भन्ने सुनाउँदा निकै खुशी मिल्ने उनले बताए । किसान र प्राविधिकलाई नजिक बनाउन भिडियोले सहजता थपेको छ । जनप्रतिनिधि पनि आफ्‌नो किसान लक्षित कामबाट खुशी भएको गौरव सुनाउँछन् ।

स्थानीय सरकारले गर्नुपर्ने प्रसारको काम केन्द्र तथा प्रदेश सरकारले पनि गरिरहेको तर किसानको खेतबारीसम्म पुग्न भने नसकेको उनको गुनासो छ ।

‘कृषिमा आवश्यकताका आधारमा तलबाटै कार्यक्रमहरू ल्याउनुपर्ने हो । तर कार्यालय प्रमुख वा जनप्रतिनिधिलाई जे मन लाग्छ, त्यही कार्यक्रम मात्रै लैजाने गरिएको अवस्था छ । किसानका खास सवालहरूको आधारमा कार्यक्रम आउन नसकेको मेरो अनुभव छ’, कृषि अधिकृत गौरव भन्छन् ।

खैरहनीको जस्तै देशभरका कृषि शाखाले काम गर्न सके किसानले लाभ लिन लिनसक्ने सुझाव दिन्छन् गौरव । उनको पालिकाले २४ थरी जैविक विषादी र जैविक सामग्री एग्रोभेट मोडलमा वितरण गर्ने गरेको छ । त्यसमा २५ प्रतिशत पालिका र ७५ प्रतिशत किसानले रकम तिर्छन् ।

किसानलाई सही सूचना र ज्ञान दिंदा रासायनिक विषादीको जथाभावी प्रयोग समेत घटेको प्रत्यक्ष अनुभव गरेका गौरव भन्छन्, ‘पहिले पहिले २० पटक विषादी स्प्रे गर्ने किसान अहिले ३ पटक मात्रै गरे पुग्ने ठाउँमा पुगेका छन् । जथाभावी विषादी बेच्ने एग्रोभेटवाला पनि सचेत भएका छन् । पैसाका लागि जथाभावी विषादी बेच्न हुँदैन भन्ने अवस्थामा एग्रोभेट पुगेका छन् ।’

गौरवलाई लमजुङमा कृषि स्नातक पढाएका उपप्राध्यापक सूर्य भट्ट कृषि अध्ययन वा अध्यापन गर्नेहरू प्रसारको कुरा उठाएर किसानको खेतबारीसम्म पुग्न नसकेको बताउँछन् । आईटीमा राम्रो दख्खल राख्ने विद्यार्थी गौरवले सबैलाई प्रेरणा मिल्ने गरी आफूमा भएको ज्ञान, सीप र क्षमता किसानसमक्ष पुर्‍याएकोमा उनले खुशी व्यक्त गरे । ‘जागिर मात्रै खाने सोच राख्नेले कहिल्यै नवीन काम गर्न सक्दैन । गौरवले सानै उमेरमा ‘गौरव’ गर्ने काम गरेका छन्‌’ उपप्राध्यापक भट्टले भने ।

खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा गौरवको कामबाट पालिका नै गौरवान्वित भएको बताउँछन् । किसानका समस्या भिडियो मार्फत उजागर गर्दा खैरहनी मात्र नभई बाहिरका किसानले समेत लाभ लिएको सापकोटाले बताए । ‘गौरव मेरा लागि हात–पाखुरा सबै हुन्‌’, उनले गौरवको प्रशंसा गरे ।

अतिरिक्त कामको सेवा–सुविधा नपाए पनि गौरवले अविच्छिन्न रूपमा काम गरिरहेको सापकोटाले बताए । स्थानीय भएर शाखामा काम गर्दा विभिन्न चुनौतीको सामना गर्नुपरेको उनले स्मरण गरे । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘माटोलाई मल भनेर बेच्ने, जथाभावी विषादी बेच्नेमाथि कडा हुँदा धम्कीसमेत आए ।’

सबै अप्ठ्याराको सामना गर्दै गौरवले केही नयाँ गरौं भन्ने भावनाका साथ काम गरिरहेको उनले बताए । ‘गौरवको क्षमता भरपुर उपयोग गर्न खैरहनी नगरपालिकाले अझै सकेको छैन’, सापकोटाले भने ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।