+

ई–पासपोर्टमा कुँदिएको मैथिल चित्र

पूरा सूची
Shares
जब परम्परा र नवीनताको संगम हुन्छ, तब सिर्जनामा नयाँ आयाम थपिन्छ । सर्लाहीकी मनिसा शाहको मोडर्न मिथिला आर्ट यसैको प्रतिफल हो । यो, पर्खालदेखि पासपोर्टसम्म पोतिएको मनिसाको मिथिला कला यात्राको कथा हो ।
मनिसा शाह यादव

नेपाली राहदानीका पाना पल्टाउँदा देखिने जीवन्त चित्रकलाले महिला सशक्तीकरणको कथा भन्छ । परम्परागत मिथिला कलाको सुगन्धमा आधुनिकताको रङ घोलेर तयार पारिएको त्यो कलाकृति नेपालको राष्ट्रिय पहिचानको एक हिस्सा बनेको छ ।

त्यो कलाको पछाडि एक संघर्षशील र दृढ संकल्पित कलाकारको अथक् मिहिनेत र सिर्जनात्मक सोच लुकेको छ । ती कलाकार हुन्, सर्लाहीकी मनिसा शाह यादव ।

२८ वर्षकै उमेरमा उनले आफूलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ‘मोडर्न मिथिला आर्टिस्ट’ को रूपमा स्थापित गरेकी छन् । यो मधेशकी मनिसाको कलायात्राको कथा हो; जहाँ सपना, संघर्ष, पहिचान र सफलताका अनेक रङ पोतिएका छन् ।

बाल्यकाल र प्रेरणाको जग

मनिसाको जन्म सर्लाहीको हरिपुर्वा गाउँमा भयो । परिवारमा उनी ४ दिदी–बहिनी र एक भाइ गरी ५ सन्तानमध्ये दोस्रो हुन् । उनको परिवार गाउँमा प्रतिष्ठित थियो । बुवाको पेट्रोल पम्प थियो । उब्जनीले खान–लाउन पुगेको थियो । संयुक्त परिवार भएकाले बाल्यकाल गाउँले परिवेशमा हजुरआमाको काखमा बित्यो ।

उनी दुई कक्षामा पढ्दै गर्दा देशमा माओवादी द्वन्द्व चर्कियो । सुरक्षाको कारणले परिवार जनकपुर सर्‍यो, जहाँ उनीहरूको अर्को घर थियो ।

मनिसाको प्रारम्भिक शिक्षा जनकपुरको मोनास्टिक हाईयर सेकेन्डरी इंग्लिस बोर्डिङ स्कूलमा भयो । कलाप्रतिको लगाव उनमा बाल्यकालदेखि नै थियो । विद्यालयमा हुने चित्रकला प्रतियोगिताहरूमा सधैं पहिलो वा दोस्रो हुन्थिन् । शिक्षकहरूले उनको प्रतिभाको प्रशंसा गर्दै कला क्षेत्रमै लाग्न प्रोत्साहन गर्थे ।

रोचक कुरा त के छ भने, उनको परिवारमा कसैको पनि कलासँग प्रत्यक्ष सम्बन्ध थिएन । मनिसा भन्छिन्, ‘मेरो मम्मी, पापालाई चित्र कोर्ने पेन्सिल, ब्रस समात्नसम्म आउँदैन ।’ तर उनका पाँचै जना दाजुभाइ–दिदी–बहिनीमा कलाप्रति स्वाभाविक रुचि थियो । यो उनीहरूको जन्मजात प्रतिभा थियो, जुन भविष्यमा कुनै न कुनै रूपमा प्रस्फुटित हुनु थियो ।

मनिसा शाह यादवको यो कथा मधेशकी एउटी साधारण युवतीको असाधारण यात्राको कथा हो । यो एउटा यस्तो कलाकारको कथा हो, जसले परम्पराको जगमा उभिएर आधुनिकताको आकाश छुने साहस गरेको छ ।

विज्ञान र कलाको दोसाँध

परिवारको सपना र समाजको चलन अनुसार, मनिसाले जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) बाट विज्ञान विषयमा प्लस टु उत्तीर्ण गरिन् । परिवारको चाहना उनलाई मेडिकल क्षेत्रमा पठाउने थियो । उनको निडर र दृढ स्वभाव देखेर बाबु–आमाले छोरीलाई डाक्टर बनाउने सपना देखेका थिए । त्यही सपना पूरा गर्न मनिसा काठमाडौं आइन् ।

ललितपुरको डेरामा बसेर उनले मेडिकल शिक्षाका लागि विभिन्न प्रवेश परीक्षा दिइन् । भारतीय दूतावासदेखि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म खुल्ने हरेक प्रवेश परीक्षाका लागि फारम भरिन् । तर हरेक पटक उनको नाम ‘वेटिङ लिस्ट’ (प्रतीक्षा सूची)मा मात्र पर्‍यो । फरेस्ट्री पढ्ने प्रयास पनि सफल हुन सकेन ।

एकातिर सपना पूरा नहुँदाको निराशा थियो भने अर्कोतिर परिवारको आर्थिक अवस्थाको यथार्थ । पाँच सन्तानलाई पढाउनुपर्ने जिम्मेवारीले गर्दा परिवारले रकम खर्चेर पढाउने जोखिम लिनसक्ने अवस्था थिएन । उनी सम्झिन्छिन्, ‘सबै सन्तानलाई बराबरी शिक्षाको अवसर दिनुपर्ने दबाब ममी–पापालाई थियो । त्यसैले छात्रवृत्तिमा नाम निकाल्न सक्छ्यौ भने पढ, नत्र तिमीलाई मात्र लाखौं रकम खर्चेर पढाउन सक्दिनँ भन्नुहुन्थ्यो ।’

यही अनिश्चयका बीच एउटा नयाँ ढोका खुल्यो । जनकपुरस्थित घर अगाडि मनिसाका बुवाका साथी आर्टिस्ट क्षेत्रमा कहलिएका दम्पती उमाशंकर शाह र सीमा शर्मा शाह बस्थे । उनीहरूले नै मनिसाको कलाप्रतिको रुचिलाई बुझेर चित्रकला पढाउन सुझाए ।

त्यतिबेलासम्म धेरैलाई जस्तै मनिसालाई पनि चित्र बनाउने पनि पढाइ हुन्छ भन्ने थाहा थिएन । यो जानकारी उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ साबित भयो । जहाँतहीं प्रवेश परीक्षाको फारम भर्ने क्रममा उनले ललितकला क्याम्पसमा पनि भर्नाका लागि प्रवेश परीक्षाको फारम भरिन् । नाम निस्कियो ।

काठमाडौंको क्यानभास र संघर्ष

आफ्‌नो सपनाको नयाँ रङ खोज्दै मनिसा ललितकला क्याम्पसमा बी.एफ.ए. (ब्याचलर्स अफ फाइन आर्ट)मा भर्ना भइन् । र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर हाताभित्र रहेको ललितकला क्याम्पस पढ्न थालिन् ।

आफ्‌नो ब्याचमा तराई (मधेश)की एक्ली विद्यार्थी थिइन् मनिसा । शहरिया परिवेशमा घुलमिल हुन उनलाई केही चुनौती पनि आए । कहिलेकाहीं ‘मधेशी’ भनेर हेप्ने प्रवृत्तिसँग पनि जुध्नुपर्‍यो । तर उनको दृढता र कलाप्रतिको समर्पणले यी सबै बाधालाई फिक्का बनाइदियो ।

उनीभित्र केही फरक गर्ने हुटहुटी थियो । मिथिला समुदायकी भएकाले आफ्‌नो कलाको जग त्यही संस्कृतिलाई बनाउने निश्चय गरिन् । तर उनी अरूले जस्तै परम्परागत बाटोमा हिंड्न चाहन्नथिन् । त्यसैले मिथिला आर्टमै पनि फरक गर्ने लक्ष्य बनाइन् ।

मनिसाको कलायात्राको सबैभन्दा अद्वितीय र दूरगामी उपलब्धि भने नेपाली ई–पासपोर्टमा उनको कलाकृति समावेश हुनु हो । यो अवसर उनलाई ललितपुरको सानेपास्थित ‘मिथिला हाउस’ मार्फत जुरेको थियो ।

‘जनकपुरका घर–घरमा मिथिला कलाकार छन्, तर सबैको काम उस्तै देखिन्थ्यो । उही एक साइडको मात्र अनुहार, चुच्चो नाक, पानपाते ओठ, माछाको जस्तो आँखा आदि’ मनिसा भन्छिन्, ‘यो एनाटोमीले परम्परागत मिथिला आर्टलाई चिनाउँछ । म त्यसमा आधुनिकता थपेर फरक फ्‌लेभर दिन चाहन्थें । जहाँ हस्ताक्षर विना पनि मानिसले यो मनिसाको कला हो भनेर चिन्न सकुन् ।’

यही सोचबाट ‘मोडर्न मिथिला आर्ट’को अवधारणा जन्मियो । उनले ललितकलामा सिकेका आधारभूत सिद्धान्त, कलर थ्यौरी, पर्स्पेक्टिभ, कम्पोजिसनलाई मिथिलाको परम्परागत शैलीसँग मिसाउन शुरू गरिन् ।

उनको कलामा मिथिलाको चिनारी त हुन्थ्यो, तर त्यसको प्रस्तुति आधुनिक हुन्थ्यो । परम्परागत कलामा जस्तो हरेक कुनालाई प्याटर्नले भर्नुपर्छ भन्ने मान्यतालाई उनले तोडिन् । ‘कलामा विषयवस्तु स्पष्ट छ भने खाली ठाउँले पनि अर्थ राख्छ’, उनी भन्छिन् ।

सफलताको पहिलो रङ

यो यात्रा आर्थिक रूपमा पनि संघर्षपूर्ण थियो । तर मनिसाले स्नातक दोस्रो वर्षदेखि नै आफ्‌नो खुट्टामा उभिने संकल्प गरिन् । यसले उनलाई आत्मनिर्भरको खुट्किलो मात्र चढाएन आफ्‌नो कलाप्रति अझ बढी विश्वास पनि जगायो । उनले आफ्‌नो पेन्टिङ बेचेर आएको पैसाले नै कलेजको शुल्क, क्यानभास, रङ र अन्य सामग्रीको खर्च जुटाउन थालिन् । उनी भन्छिन्, ‘मैले ब्याचलर सेकेन्ड इयरदेखि पढाइ खर्च घरबाट कहिल्यै मागिनँ ।’

स्नातक दोस्रो वर्षमा अध्ययनरत साथीहरूसँग मिलेर मनिसाले नेपाल आर्ट काउन्सिल बबरमहलमा ‘हाम्रो पहिलो पाइला’ नामक सामूहिक प्रदर्शनी आयोजना गरिन् ।

उनले सामाजिक सञ्जाल मार्फत तत्कालीन मन्त्री एवं मधेशबाट प्रतिनिधित्व गर्ने एमाले नेता रघुवीर महासेठलाई प्रदर्शनी अवलोकनका लागि निम्तो पठाइन् । उनले ‘५ मिनेटको लागि भए पनि आउँछु’ भने र आफ्‌नो वचन पूरा गरे ।

प्रदर्शनीमा रघुवीरको आँखा मनिसाको एउटा पेन्टिङमा पर्‍यो, जसमा मधेशी महिला सशक्तीकरणका मुद्दा चित्रण गरिएको थियो । २० हजार मूल्य तोकिएको त्यो पेन्टिङ मन्त्री महासेठले मन पराएर किन्ने इच्छा देखाए । प्रदर्शनी सकिएपछि उनले सिंहदरबारस्थित आफ्‌नो मन्त्रालयमा पेन्टिङ ल्याइदिन भने ।

मनिसा पेन्टिङ बोकेर पहिलो पटक सिंहदरबार छिरिन् । मन्त्रीको कार्यकक्षमा पुगिन् । तत्कालीन मन्त्री महासेठले बन्द खामभित्र पैसा दिएर पठाए । हतार–हतार घर फर्किएर खाम खोलिन् । त्यहाँ २५ हजार रुपैयाँ थियो । अर्थात् उनले तोकेको मूल्य भन्दा ५ हजार बढी ।

‘यो मेरो व्यावसायिक जीवनको पहिलो र सबैभन्दा महत्वपूर्ण कमाइ थियो । तोकिएको मूल्यभन्दा ५ हजार बढी दिएर मन्त्रीज्यूले मलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि ठूलो हौसला दिनुभयो’ मनिसा भन्छिन्, ‘अनि मेरो काम पनि राम्रो छ कि भन्ने आत्मविश्वास जाग्यो ।’

उनले त्यो रकमलाई पनि कलामै लगानी गरिन् । नयाँ क्यानभास र रङहरू किनिन् ।

सैनिक मुख्यालय, विश्व बैंकदेखि काठमाडौंका पर्खालसम्म पहिचान

मनिसाको कलाको चर्चा विस्तारै फैलिन थाल्यो । जनकपुर महोत्सवमा राखिएको कलाबारे काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकामा छापिएपछि उनलाई एउटा अनपेक्षित फोन आयो ।

त्यो फोन नेपाली सेनाको मुख्यालय, भद्रकालीबाट थियो । फोन गर्ने व्यक्तिले उनलाई नवनिर्मित जंगी अड्डाको भवनको भित्तामा विशाल म्युराल (भित्ते चित्र) बनाउने प्रस्ताव गरे ।

यो उनको जीवनको पहिलो म्युराल प्रोजेक्ट थियो, त्यो पनि अत्यन्तै प्रतिष्ठित स्थानमा । करिब २०–२५ फिट अग्लो भित्तामा उनले आफ्‌नो टिमसँग मिलेर एक महिना लगाएर कलाकृति तयार पारिन् । माथि मिथिला शैलीमा दुर्गादेवीको चित्र र तल जानकी मन्दिरको भव्य दृश्य ।

‘शुरूमा भित्तामा पेन्सिलले चित्र कोर्ने अनि त्यसमा रङ भर्ने काम निकै चुनौतीपूर्ण थियो । तर त्यसले दिएको सन्तुष्टि र पहिचान अझ ठूलो थियो’ मनिसा भन्छिन्, ‘यो कामबाट करिब साढे ३ देखि ४ लाख रुपैयाँ कमाएँ, जुन एक विद्यार्थी कलाकारका लागि ठूलो उपलब्धि थियो ।’

उनले एकदिन आफ्‌नी हजुरआमालाई त्यो कलाकृति देखाउन जंगी अड्डा लगिन् । सामान्य मानिसलाई प्रवेश निषेध गरिएको ठाउँमा नातिनीको कला देख्दा हजुरआमाले मैथिलीमा भनिन्, ‘यस्तो ठाउँमा जोकोही सजिलै छिर्न पाउँदैन तर तिमीले यहाँ आएर यस्तो भव्य चित्र बनाउन पायौ । तिमी साँच्चै महान् छौ !’ हजुरआमाको त्यो अभिव्यक्ति मनिसाका लागि कुनै पनि पुरस्कारभन्दा ठूलो थियो ।

सन् २०२० मा उनले अर्को ठूलो सफलता हासिल गरिन् । विश्व बैंक समूहको नेपालस्थित कार्यालयले महिला कलाकारका लागि आयोजना गरेको म्युराल पेन्टिङ प्रतियोगितामा उनी सहभागी भइन् ।

देशभरिका कलाकारमध्येबाट उनी ‘टप फाइभ’मा पर्न सफल भइन् । अनि पुरस्कार स्वरूप एक लाख नगद र विश्व बैंकको दरबारमार्गस्थित कार्यालयको भित्तामा पनि आफ्‌नो कलाकृति बनाउने अवसर पाइन् ।

उनको काम यति धेरै मन पराइयो कि, विश्व बैंक अन्तर्गतका अन्य निकाय, (जस्तै आईएफसी)ले पनि आफ्‌नो कार्यालयका लागि पर्यटन, जलविद्युत्, महिला सशक्तीकरण आदि थिममा म्युराल बनाउन लगायो । यसरी उनको कलाले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय संस्थाहरूको पर्खालमा पनि स्थान पायो । अनि उनले अमेरिकी कलाकारसँग मिलेर काठमाडौंका पर्खालमा पेन्टिङ गरिन् ।

मनिसा अमेरिकामा बसोबास गर्ने नेपालीहरूलाई समेत मिथिला चित्र बनाउने तालिम दिन पुगिन् । यसरी मनिसाले नामसँगै दाम पनि कमाउन थालिन् ।

पेन्टिङको चर्चा राहदानी विभागसम्म

मनिसाको कलायात्राको सबैभन्दा अद्वितीय र दूरगामी उपलब्धि भने नेपाली ई–पासपोर्टमा उनको कलाकृति समावेश हुनु हो । यो अवसर उनलाई ललितपुरको सानेपास्थित ‘मिथिला हाउस’ मार्फत जुरेको थियो । मिथिला हाउसले उनलाई ‘महिला सशक्तीकरण’ विषयमा एउटा पेन्टिङ बनाउन अनुरोध गरेको थियो ।

उनले बनाएको पेन्टिङको चर्चा राहदानी विभागसम्म पुग्यो । अनि विभागका कर्मचारीले मिथिला हाउस मार्फत मनिसाको चित्र मागे । उनले चित्र प्रयोग अनुमति सम्बन्धी आवश्यक कानूनी कागजातमा हस्ताक्षर गरिन् र चित्र उपलब्ध गराइन् ।

तर, पासपोर्टमा छापिएको कुरा भने उनले संयोगवश मात्र थाहा पाइन् । पारिवारिक शोकको घडीमा आफन्तको आपतकालीन पासपोर्ट बनाउने क्रममा उनका श्रीमान् अजित यादवले पासपोर्टको १६औं पृष्ठमा रहेको चित्र देखेर मनिसालाई सोधे, ‘यो त तिम्रो आर्ट हैन र ?’

त्यतिबेला मात्र मनिसाले आफ्‌नो कलाले राष्ट्रिय पहिचानको दस्तावेजमा स्थान पाएको थाहा पाइन् । ‘त्यतिबेला मलाई गर्व महसुस भयो’ मनिसा भन्छिन्, ‘आज विदेश यात्रा गर्ने हरेक नेपालीले आफ्‌नो पहिचानसँगै मेरो कला पनि बोकेर हिंडेको हुन्छ ।’

कला पछाडिको शक्तिः परिवार र सहयात्रा

कलायात्राको संघर्ष र सफलताको बीचमा, आफ्‌नो व्यक्तिगत जीवनमा पनि मनिसाले एउटा महत्वपूर्ण र साहसिक पाइला चालिन् । उनले जिल्लाकै अजित यादवसँग अन्तरजातीय विवाह गर्ने निर्णय गरिन् । अभिभावकले धुमधामसँग विवाह गरिदिए । मेडिकल क्षेत्रमा कार्यरत अजित मनिसाको कला र सपनाका सबैभन्दा ठूला समर्थक थिए ।

श्रीमान्, सासू–ससुरा र माइती पक्ष मनिसाको हिम्मत र प्रेरणाका स्रोत हुन् । उनी भन्छिन्, ‘अजितसँगै सासू–ससुरा, बुवा–आमा, दिदी–बहिनी र भाइको साथ नपाएको भए म यो स्थानसम्म पुग्ने थिइनँ होला ।’

पारिवारिक साथ र समर्थनले उनलाई कलामा निर्धक्क भएर लाग्न थप ऊर्जा प्रदान गरेको छ । व्यावसायिक यात्रालाई अझ मजबुत र अर्थपूर्ण बनाएको छ ।

कला, दर्शन र भविष्यको सपना

मनिसाका लागि कला केवल रङ र क्यानभासको खेल होइन, यो पहिचान निर्माणको शक्तिशाली माध्यम हो । उनका अनुसार व्यावसायिक कलामा उत्कृष्ट र टिकाउ सामग्रीको प्रयोग आवश्यक छ, चाहे त्यो महँगै किन नहोस् । ‘मान्छे मरे पनि क्यानभासको काम बाँचिराख्छ’, उनी भन्छिन् ।

अहिलेसम्म सामूहिक प्रदर्शनी र तालिम दिंदै आएकी मनिसाले अब आफ्‌नो एकल प्रदर्शनी गर्ने योजना बनाइरहेकी छन् । स्नातकोत्तरको थेसिस सकेपछि नेपालकै प्रतिष्ठित नेपाल कला परिषद्मा एकल प्रदर्शनी गर्ने उनको धोको छ । त्यसका लागि बल्खुस्थित डेरामा विभिन्न आकार प्रकारमा मिथिला कला चित्रहरू बनाएर राखेकी छन् ।

व्यक्तिगत सफलताभन्दा माथि उठेर समुदायको उत्थान र संस्कृति संरक्षणसँग पनि जोडिने लक्ष्य छ उनको । मधेशका गाउँ–गाउँमा मिथिला चित्रकला तालिम केन्द्र खोल्नु उनको एउटा ठूलो सपना हो ।

‘नयाँ पुस्ताले यो कलालाई सजिलै सिक्न सकुन्‌’ मनिसा सपना सुनाउँछन्, ‘अनि राजर्षि जनक विश्वविद्यालयमा एक औपचारिक विषयको रूपमा मिथिला चित्रकला पढाइ भएको हेर्ने चाहना छ, ताकि मधेशका विद्यार्थी चित्रकला पढ्न काठमाडौं आउन नपरोस् !’

यो महान् लक्ष्य प्राप्तिका लागि राज्यबाट सकारात्मक सहयोग पाए आफूले पनि सक्दो योगदान गर्ने उनको अठोट छ ।

अन्त्यमा, २८ वर्षीया मनिसा शाह यादवको यो कथा मधेशकी एउटी साधारण युवतीको असाधारण यात्राको कथा हो । यो एउटा यस्तो कलाकारको कथा हो, जसले परम्पराको जगमा उभिएर आधुनिकताको आकाश छुने साहस गरेको छ ।

विज्ञानको बाटोमा हिंड्न खोज्दाखोज्दै कलाको राजमार्गमा आइपुगेकी मनिसाले आफ्‌नो मिहिनेत, सिर्जनशीलता र दृढताले मिथिला कलालाई एउटा नयाँ र विशिष्ट पहिचान दिएकी छिन् ।

सैनिक मुख्यालयको अग्लो पर्खालदेखि विश्व बैंकको कार्यालय हुँदै हरेक नेपालीको राहदानीसम्म फैलिएको उनको कलाले प्रमाणित गर्छ– जब सपनामा सत्यता र काममा इमानदारी हुन्छ, तब सफलताको रङ अवश्य फुल्छ । मनिसाको यात्रा कला क्षेत्रमा आउन चाहने हजारौं युवाका लागि प्रेरणाको स्रोत बनेको छ ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।