+

करातेमा अन्तर्राष्ट्रिय पदकको बहार

पूरा सूची
Shares
कराते खेलाडी एरिका गुरुङले नेपालभित्र पदक नजितेका प्रतियोगिता शायदै होलान्। थुप्रै पटक अन्तर्राष्ट्रिय पदक चुमेर विश्वलाई नेपाली कराते चिनाइरहेकी धादिङकी एरिकाले चीनको हान्झाउमा आयोजित १९औं एसियन गेम्स, एसिएन कराते च्याम्पियनसिप र कराते वान प्रिमियर लिगमा ऐतिहासिक पदक जितेर नेपाली करातेको शक्ति देखाएकी थिइन्।
एरिका गुरुङ

एरिका गुरुङले खेल्ने, अनि पदक नजित्ने ? पछिल्लो दुईवर्षे रेकर्ड हेर्ने हो भने यस्तो अनुमान लगभग गलत सावित हुन्छ। भाग लिएका प्रतियोगिताहरूमा उनी खालीहात छैनन्, कुनै न कुनै पदक जितेकै छिन्।

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछिको तीन वर्ष नेपालभित्र एरिका अपराजित छन्। उनले आफ्नो तौल समूह अन्तर्गतको किरातेमा विश्वका शीर्ष खेलाडीहरूसँग प्रतिस्पर्धा गरिसकेकी छन्।

उमेरले भर्खर दुई दशक पार गरेकी एरिका खेल क्षेत्रमा रोल मोडल नै बनिसकिन्। गुरुको निर्देशन, आफ्नो सोच र प्रदर्शनले सफलता मिलिरहेको उनको बुझाइ छ।

दुई वर्षअघिसम्म एरिका सुनिएको नाम होइन। तर नेपाली कराते मात्र नभएर नेपाली खेलकुद क्षेत्रमै अहिले उनी एकछत्र छिन्। एरिका अर्थात् नामै काफी छ।

एरिकाले जितेको पछिल्लो पदक कराते वान प्रिमियर लिगमा कांस्य पदक हो, जुन नेपाली कराते इतिहासमा सबैभन्दा ठूलो पदक हो। प्रिमियर लिगमा एरिकाको सहभागिता कुनै पनि नेपाली खेलाडीकै निम्ति पनि पहिलो हो। र, पहिलो सहभागितामै एरिकाले पदक जितिन्। ‘निश्चित रूपमा यो ठूलो उपलब्धि हो, तर यो सुरुआत मात्र हो। अझै धेरै सफलता हात पार्न बाँकी छ’, उनी भन्छिन्।

त्यसअघि उनले उज्वेकिस्तानमा २१औं एसियन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन्। गत वर्ष एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकाले यसपटक पनि उनीबाट ठूलो अपेक्षा थियो। यद्यपि एरिका यसपटक पदकसम्म पुग्न सकिनन्।

पछिल्लो दुई वर्षमा प्रतिस्पर्धा गरेका मध्ये इटलीमा गत वर्ष सम्पन्न वर्ल्ड च्याम्पियनसिप र यस वर्षको एसियन च्याम्पियनसिपमा मात्र उनी पदकविहीन बनिन्। यस बाहेक सबै सहभागितामा उनले पदक जितेकी छन्। जितेको पदकको सूची नै तयार हुन्छ।

२०८० असोजमा इन्डोनेसियामा भएको १०औं विश्व सितोरियो च्याम्पियनसिपमा उनले आधिकारिक पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेकी थिइन्। त्यसपछि १९औं एसियन गेम्स खेल्न चीनको हान्झाउ पुगेकी एरिकाले त्यहाँ ऐतिहासिक रजत पदक जितिन्।

एसियाडमा नेपाली कराते खेलाडीले जितेको त्यो अहिलेसम्मकै ठूलो पदक हो। २५ वर्षपछि एसियाडमा व्यक्तिगततर्फ नेपालको पहिलो रजत थियो। सन् १९९८ मा नेपालकी तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत जितेकी थिइन्।

एरिकाले २०८० चैतमा अमेरिकाको टेक्सासमा भएको यूएस ओपन कराते च्याम्पियनसिपमा दुई फरक विधामा प्रतिस्पर्धा गर्दै स्वर्ण र रजत पदक जितेकी थिइन्। २०८१ साउनमा भूटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितिन्। २०८१ साल असोजमा चीनको हान्झाउमै भएको २०औं एसियन कराते च्याम्पियनसिपमा पनि एरिकाले ऐतिहासिक रजत जितिन्।

सन् २०२४ अक्टोबरमा उनले इटलीमा वर्ल्ड क्याडेट, जुनियर तथा अन्डर-२१ कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाइन्। पहिलो पटक वर्ल्ड च्याम्पियनसिप खेलेकी एरिकाले पदक भने जित्न सकिनन्।

उनले २०२४ नोभेम्बरमा सिंगापुरमा भएको १६औं एसिया प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा स्वर्ण जितिन्। २०२५ फेब्रुअरीमा यूएईमा भएको कराते वान युथ लिगमा एरिकाले अर्को इतिहास रच्दै रजत पदक जितिन्। त्यसपछि अष्ट्रेलियामा भएको अष्ट्रेलियन ओपन करातेमा स्वर्ण जितिन्।

उज्वेकिस्तानमा एरियन च्याम्पियनसिप र मोरक्कोमा कराते वान प्रिमियर लिग खेलिन्। एसियन च्याम्पियनसिपमा यस पटक कुनै पदक जित्न नसके पनि मोरक्कोमा एरिकाले इतिहास रचिन्। विना प्रशिक्षक एक्लै कराते वान प्रिमियर लिग खेल्न गएकी एरिकाले आफूभन्दा माथिल्लो वरीयतामा रहेका खेलाडीलाई माथ दिंदै ऐतिहासिक कांस्य पदक जितिन्।

अघिल्लो महिना असारमा मात्र दुई अन्तर्राष्ट्रिय स्वर्ण जितिन्। थाइल्यान्ड ओपन करातेमा स्वर्ण जितेकी एरिकाले त्यसलगत्तै श्रीलंकामा भएको नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले २१ स्वर्ण जित्दा व्यक्तिगत र टिम कुमुतेमा गरी दुई स्वर्ण जितेकी थिइन्।

लगातार पदक जितिरहेको यो अवधि आफ्नाका लागि सिकाइको समय भएको एरिका बताउँछन्। ‘यो दुई वर्षमा मैले मुख्य सिकेको कुरा भनेको इट्स अलवेज मि भर्सेस मि’ उनी भन्छिन्, ‘आफू र अरूमा तुलना गर्ने होइन। किनभने अरूको जीवन-यात्रा छुट्टै छ। हरेक दिन आफूले आफूलाई चिन्नुपर्छ। जित्छुभन्दा पनि बेटर गर्नुपर्छ भन्ने हो।’

जित्नु मात्र उपलब्धि नभएर हार स्वीकार्न सक्नु पनि सिकाइकै चरण भएको उनी बताउँछिन्। ‘जित्छु भनेर मात्र जाने होइन। प्लेअरले म्याटमा जानुअघि हारलाई पनि स्वीकार गरेर जानुपर्छ। ‘फेइलरलाई स्वीकार गरेपछि मात्र सफलता के हो भन्ने थाहा हुन्छ। फेइलरले धेरै लेसन दिन्छ’, उनी भन्छिन्।

आमाले बनाएकी खेलाडी

एरिकाले स्कूलदेखि नै कराते खेल्न थालेकी हुन्। स्वास्थ्यका लागि भनेर उनलाई आमाले नै कराते खेल्न प्रोत्साहन गर्थिन्। आमा र परिवारको साथ, गुरुहरूको प्रशिक्षण अनि आफ्नै निरन्तरको मिहिनेत र लगनले सफलता मिलिरहेको उनी बताउँछिन्।

मनमैजुको शुभकामना बोर्डिङ स्कूलमा पढ्दा नै उनले विद्यालयका कराते प्रशिक्षक निरज महर्जनसँग कराते सिकिन्। ‘हाम्रो स्कूलमा कराते शुरु हुँदैथियो। शुरुमा खासै रुचि थिएन। स्वास्थ्यको लागि पनि राम्रो हुन्छ, पढ्दै खेल्दै गर्नू भनेर परिवारले भन्नुभयो। शारीरिक रूपमा पनि राम्रो हुने, अनुशासन पनि हुने भएकोले त्यसलाई निरन्तरता दिएँ’ एरिकाले भनिन्, ‘डोजोमा गएपछि करातेमा रुचि बढ्दै गयो। गेमहरू खेल्दै गएँ। भ्याली, जिल्ला, क्षेत्र हुँदै विभागीय टोली र राष्ट्रिय टिमसम्म पुगें।’

एरिकाले अहिले जुन किसिमको सफलता र उपलब्धि हात पारिरहेकी छिन्, त्यसमा उनको मिहिनेत त छँदैछ, परिवारको साथ पनि उत्तिकै छ।

शुरुमा खेल्दा स्ट्रेचिङ गर्न कठिन हुन्थ्यो। गाह्रो पनि थियो। उनका कति साथीहरू रुन्थे। एरिकालाई पनि सक्दिनँ कि जस्तो लाग्थ्यो। तर विस्तारै बानी पर्दै गयो। ‘त्यसपछि मेरो हबी प्यासनमा क्रिएट भयो। कराते नै खेल्छु भन्ने लाग्न थाल्यो’, एरिका भन्छिन्।

उनले बागमती प्रदेशबाट खेलिन्। फर्स्ट एपीएफ ओपन करातेमा राम्रो प्रदर्शन गरेपछि एपीएफबाटै खेल्ने अफर आयो, जहाँ उत्कृष्ट प्रदर्शन गर्दै विभागीय टोलीका खेलाडीलाई हराएकी थिइन्। त्यसपछि एपीएफबाट आठौं राष्ट्रिय खेलकुद खेलिन्।

एपीएफमै रहँदा नेपाल पुलिस क्लबबाट अझ राम्रो प्रस्ताव आएपछि उनी पुलिस क्लबमा आबद्ध भइन्। ‘पुलिसमा खेल्ने मात्र नभई खेलाडीहरूलाई सम्झौता नै गर्ने भनेपछि राम्रो लाग्यो।’ निरोज, मन्डे, राजेश र योगेन्द्र गुरुहरूले पनि सहयोग गर्नुभयो’, एरिकाले भनिन्।

पुलिसबाट उनले २०७९ सालमा गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितिन्। त्यही स्वर्ण उनको करिअर अगाडि बढाउन निर्णायक बन्यो।

खेल र पढाइ सँगसँगै

धादिङकी एरिकाले खेल र पढाइलाई सँगैसँगै अगाडि बढाएकी छिन्। सानैदेखि परिवारसँग काठमाडौं बसेकी उनी खेलसँगै अध्ययनलाई पनि बढाइरहेकी छिन्।

उनले स्कूलपछि साउथ वेस्टर्न स्टेट क्लेजबाट प्लस टु सकिन्। हाल उनी एनआर कलेजमा स्नातक तेस्रो वर्षमा पत्रकारिता पढ्दैछिन्। एरिका खेल्न मात्र होइन, पढ्न पनि उत्तिकै अब्बल छिन्।

तर आजकल नियमित जस्तो खेल र प्रशिक्षण हुने हुँदा सहजताका लागि पत्रकारिता रोजेको एरिका बताउँछिन्।

परिवारको साथ

एरिकाले अहिले जुन किसिमको सफलता र उपलब्धि हात पारिरहेकी छिन्, त्यसमा उनको मिहिनेत त छँदैछ, परिवारको साथ पनि उत्तिकै छ।

‘परिवारले एकदमै महत्वपूर्ण रोल खेल्नुभा’छ। यहाँहरूको सपोर्ट नभएको भए यहाँसम्म आइपुग्ने थिइनँ’, एरिकाले भनिन्।

अबको योजना

दुई वर्षमा जति सफलता हात पारे पनि उनले अझै केही जित्न बाँकी रहेको बताउँदै आएकी छन्। ‘भविष्यको योजनाभन्दा हाम्रो टिमकै भन्ने हो भने वरीयता नम्बर वानमा पुग्ने हो। प्रिमियर लिगमा कसरी जाने होला भन्ने सोच हुन्थ्यो, गयौं, सहभागी भयौं, नतिजा पनि आयो। अब भविष्यको उद्देश्य भनेको प्रिमियर लिगमा स्वर्ण पदक ल्याउने होला शायद’, एरिका भन्छिन्।

अब नियमित रूपमा प्रिमियर लिगहरू खेल्ने, आउने वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने लक्ष्य एरिकाको छ। ‘म कसैको फेभरेट प्लेअर बन्न चाहन्छु ताकि त्यो खेलाडीले मबाट केही सिकोस्’, एरिकाले आफ्नो इच्छा सुनाइन्।

लेखक
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।