+

यूरोपको लिगदेखि सिनेमाको कथासम्म

पूरा सूची
Shares
उमेर समूह र घरेलु फुटबलमा राम्रो प्रदर्शन गरेपछि राष्ट्रिय टीममा प्रवेश पाएकी एन्जिलाले पछाडि फर्कनु परेको छैन। अहिले घरेलु खेल एपीएफबाट खेल्दै आएकी छन्। देशको जर्सी लगाएर राष्ट्रिय टीममा खेल्न थालेको पनि एक दशक बितेको छ।
एञ्‍जिला तुम्बापो सुब्बा

नेपाली महिला फुटबल टीमकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बा- एक त्यस्ती पात्र हुन्, जसको जीवन संघर्ष काल्पनिक चलचित्रको कथा जस्तै उतारचढावले भरिएको छ। कतिले त उनको बायोपिक चलचित्र ‘एन्जिला’ हेरेरै धेरै कुरा बुझिसकेका छन्। जुन बायोपिकमा एन्जिला आफैंले अभिनय गरेकी छिन् र आफ्नो संघर्ष उजागर गरेकी छिन्। भलै, पछिल्ला एक वर्ष उनको जीवनमा नसोचेको ट्वीस्ट आइरहेको छ।

केहीअघि उज्वेकिस्तानमा सम्पन्न महिला एशियन कप च्याम्पियनसिपमा त एन्जिला बेन्चमा बसेर टीमको जितका निम्ति प्रार्थना गर्ने भूमिकामा थिइन्। राष्ट्रिय टीमकी कप्तान अनि पोष्ट सम्हाल्ने १ नम्बरकी गोलकिपर एन्जिलाका निम्ति यो दृश्य अपेक्षित थिएन।

कीर्तिमानी उपलब्धिको सपना सजाएर उज्वेकिस्तान पुग्दासम्म उनी कप्तान नै थिइन्। उमेरले २८ वर्ष पुगेकी एन्जिलाका लागि आफ्नै कप्तानीमा एशिया खेल्ने सम्भवतः यो अन्तिम अवसर थियो। तर घटनाक्रम सामान्य रेखामा बगेन।

उनी कप्तानबाट हटिन्, वैकल्पिक गोलकिपर अञ्जना रानामगरले पोष्ट सम्हालिन्। मैदानमा उनी बाहेकका खेलाडी उत्रिए। आयोजक उज्वेकिस्तानसँग हारेकाले एशिया कपमा नेपाल छनोट हुन सकेन। चार वर्षपछि हुने अर्को एशिया कपमा एन्जिला र नेपाली टीमको अवस्था के हुन्छ ? पर्खनुको विकल्प छैन। तर टीम नेपाल र एन्जिलाले ठूलो अवसर गुमाइसकेका छन्।

अझ यूरोपको व्यावसायिक लिगमा पुगिसकेकी एन्जिला आफ्नो व्यावसायिक गतिलाई थप बढाउन पनि नेपाललाई एशिया कपसम्म पुर्‍याउन चाहन्थिन्। जुन संकल्प पूरा हुन सकेन। तर, एन्जिलाको विगत हेर्ने हो भने अहिले आइलागेको संकट उनको जीवनको नियमित नियति जस्तै देखिन्छ।

त्यो संघर्ष

पूर्वी नेपालको पाँचथरमा जन्मिएकी एन्जिला सानै उमेरदेखि फुटबल रुचाउँथिन्। तर उनीसँग बल थिएन, जुत्ता थिएन, जुत्ता किन्ने पैसा थिएन। पारिवारिक समस्या अर्कातिर थपियो। बुबाले घर छोडे। आमाले दोस्रो बिहे गरिन्।

एन्जिला नयाँ घर तिनघरे सरिन्। दाजु-बहिनी र अर्की आमापट्टिका दाइ-दिदी एन्जिलाले साथी पाइन्। अर्की आमातिरका दाइ-दिदी फुटबल खेल्न एन्जिलालाई पनि साथमै लैजान्थे।

राष्ट्रिय टीममा प्रवेश पाएपछि एन्जिलाले पछाडि फर्कनु परेन। अहिले घरेलु खेल एपीएफबाट खेल्दै आएकी छन्। देशको जर्सी लगाएर राष्ट्रिय टीममा खेल्न थालेको पनि एक दशक बितेको छ।

छोरी मान्छेले बल खेल्यो भनेर गाउँलेहरू कुरा काट्थे। एन्जिलाकी आमालाई कुरा लगाउँथे। ‘मेरी ममीको साथ र सहयोगले नै यहाँ छु। उहाँले कसैको कुरा नसुनी मलाई खेल्न प्रेरित गर्नुभयो। मेरो सबै सफलताको पृष्ठभूमि मेरी ममी हो’, एन्जिलाले नछुटाई भन्ने गरेकी छन्।

संयोगले गोलकिपर

खेल्दै जाँदा एन्जिला गाउँ, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्न सफल भइन्। सिंगो देशको सपना र प्रतिष्ठाको कप्तानी सम्हाल्न पुगिन्।

एन्जिला गोलकिपर बन्नुमा भने रोजाइ नभएर संयोगले काम गरेको रहेछ। पान्दाममा त एन्जिला स्ट्राइकरकै रूपमा छनोट भएकी थिइन्। तर टीमकी गोलकिपर खेल्न आइनन्। यसपछि एन्जिलालाई गोलपोष्टमा उभ्याइयो।

पहिलो पटक गोलकिपर खेल्दा राम्रै भएछ। खेल देख्नेहरूले राम्रो किपर भनेर चर्चा गरे। ‘गोलपोष्टमा बसेपछि मलाई बल रोक्ने भन्ने मात्र थाहा थियो। तर खेल राम्रै भएछ, सबैले धन्यवाद दिनुभयो’, एन्जिला भन्छिन्।

२०६८ सालमा धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वाञ्चलकी नियमित गोलकिपर सुष्मा राई अनुपस्थित भइन्। १३ वर्षकी फुच्ची एन्जिलाले अब गोल पोष्ट सम्हाल्नुपर्ने भयो। उनले धेरैलाई चकित पार्ने प्रदर्शन गरिन्। अनि एन्जिला बनिन्- सबैकी मनपसन्द गोलकिपर।

छैटौं खेलकुदकै प्रदर्शनका कारण विभागीय टोली एपीएफले एन्जिलालाई अफर गर्‍यो। उनी अनुबन्धित भइन्।

१४ वर्षकै उमेरमा व्यावसायिक फुटबल खेल्न एन्जिला काठमाडौं आइन्। एपीएफसम्म उनलाई पुर्‍याउने काम प्रेम श्रेष्ठले गरे। श्रेष्ठलाई एन्जिला ‘गडफादर’ नै मान्छिन्। एपीएफको प्रशिक्षण पाएर उनले धेरै कुरा सिकिन्।

राष्ट्रिय टिममा इन्ट्री

एपीएफबाट खेल्न थालेकी एन्जिलाले त्यसपछि नेपाल यू-१४, बाट खेल्ने अवसर पाइन्। सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यू-१४, क्षेत्रीय प्रतियोगितामा नेपालको कप्तान नै बनिन्।

उनकै कप्तानीमा नेपाली युवा टोलीले कीर्तिमानी उपाधि जित्यो। त्यसअघि नेपाली महिला फुटबलमा कुनै पनि टोलीले आधिकारिक उपाधि जितेको थिएन। यो सिरिजमा एन्जिलाले उत्कृष्ट खेल्दा नेपालले कुनै गोल खाएन, २० गोल गर्‍यो।

उमेर समूह र घरेलु फुटबलमा राम्रो प्रदर्शन गरेपछि एन्जिलाले त्यसै वर्ष (सन् २०१४ मै) पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा राष्ट्रिय टीममा प्रवेश पाइन्।

तर राष्ट्रिय टीममा अनुभवी गोलकिपरहरू रहेकोले एन्जिलाले डेब्युका निम्ति भने दुई वर्ष पर्खनुपर्‍यो। सन् २०१६ मा श्रीलंका विरुद्ध उनले डेब्यु गरिन्। ‘सन् २०१४ मा राष्ट्रिय टीममा पर्दा सानै थिएँ। २०१६ मा श्रीलंका विरुद्ध डेब्यु गरें अनि २०१७ मा सेटमा खेल्ने अवसर पाएँ’ उनले सम्झिइन्, ‘त्यो बेला दुई वर्ष कडा मिहिनेत गरें।’

राष्ट्रिय टीममा प्रवेश पाएपछि एन्जिलाले पछाडि फर्कनु परेन। अहिले घरेलु खेल एपीएफबाट खेल्दै आएकी छन्। देशको जर्सी लगाएर राष्ट्रिय टीममा खेल्न थालेको पनि एक दशक बितेको छ।

यो अवधिमा एन्जिलाले पाकिस्तानमा मासा युनाइटेड, भारतमा सेथु एफसी र ग्रीस निस एट्रोमिटौको गोलपोष्ट सम्हालिसकेकी छन्। मासा युनाइटेड र सेथुको त कप्तान नै थिइन्।

एन्जिलाले राष्ट्रिय टीममा डेब्यु गरेको तीन वर्षपछि नै पहिलो पटक नेपालको आर्म्यान्ड समेत लगाउन पाइन्। भारतमा भएको हिरो गोल्डकपमा नेपालले पहिलो पटक भारतलाई हराउँदा एन्जिला नै कप्तान थिइन्।

सन् २०२२ देखि एन्जिला राष्ट्रिय टीमको नियमित कप्तान बनिन्। उनी नेपाली महिला फुटबलको चार दशकको इतिहासमा दशौं कप्तान हुन्।

एन्जिलाको कप्तानीमा नेपालले दुई पटक साफ महिला च्याम्पियनसिप, वाफ महिला च्याम्पियनसिप र नेपालमै भएको इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको फाइनल खेल्यो। विडम्बना ! कुनैमा पनि उपाधि जित्न सकेन।

ग्रीसको अनुभव

एन्जिलाले यूरोपियन व्यावसायिक लिग खेलेर पनि इतिहास बनाइन्। ग्रीसको निस एट्रोमिटौबाट सिजन २०२४-२०२५ का लागि खेल्न २०८१ साल भदौमा अनुबन्धित भइन्। यो अनुबन्धसँगै यूरोपमा खेल्ने पहिलो नेपाली गोलकिपर र दोस्रो नेपाली खेलाडी बनिन्। जबकि गोलकिपरलाई विदेशी लिगमा गएर स्थान बनाउन कठिन हुन्छ। तर उनले त्यो चुनौती पार गर्दै पहिलो रोजाइमै खेल्ने अवसर पाइन्।

‘उता खेल्न च्यालेन्जिङ नै थियो। गोलकिपरहरू ग्रासरुटदेखि नै हुन्छन्। उनीहरूसँग शुरुमा च्यालेन्जिङ भयो’ एन्जिलाको अनुभव थियो, ‘यहाँबाट गएपछि खेलाउनैपर्छ भन्ने भयो। पहिलो खेलदेखि राम्रो भएकोले पनि विश्वास गरेर खेलाउनुभयो। राम्रो भयो।’

ग्रीसको क्लबमा एन्जिलासँगै रोमानिया र सर्बियाका विदेशी खेलाडीहरू पनि थिए। उनीहरूसँग खेलेर एन्जिलाले अनुभव बढाइन्।

बायोपिक चलचित्र र अभिनय

एन्जिला सुपरस्टार बनिन्, उनकै जीवनीमा आधारित चलचित्र बन्यो- एन्जिला। नेपाली खेलाडीको यो पहिलो बायोपिक हो, तसर्थ अर्को कीर्तिमान बनाइन् एन्जिलाले। आफ्नो भूमिकामा आफैं अभिनय गरेको ‘एन्जिला’ राम्रै चल्यो पनि। धेरै अभिभावकले प्रेरणाका निम्ति आफ्ना बालबच्चालाई यो चलचित्र देखाए।

‘मेरो लागि एकदमै प्लस प्वाइन्ट हो। मेरो लागि विगेष्ट अचिभमेन्ट हो’ उनले भनेकी थिइन्, ‘मैले सोचेकी पनि थिइनँ, मेरो लाइफमा पनि मूभी बन्छ भनेर!’

यो बायोपिक सरकारकै निम्ति पनि सन्दर्भ सामग्री बनेको विश्वास उनी स्वयंले लिएकी थिइन्। ‘सरकारलाई पनि थाहा भयो होला खेलाडी यो स्थानमा पुग्न कति मिहिनेत गर्नुपर्छ भनेर। फिल्म हेरेपछि सरकारले खेलाडीलाई कुन रूपले अघि बढाउने भनेर पक्कै केही गर्नुपर्छ जस्तो लाग्छ’, चलचित्र चलिरहँदा एन्जिलाको प्रतिक्रिया थियो।

गोलकिपर एन्जिला लि निङको ब्रान्ड एम्बासडर बन्दा उनकै नाममा जर्सी समेत उत्पादन गरेको थियो। एन्जिला आफैं जर्सी नम्बर १६ लगाएर खेल्ने भएकोले चाइनिज क्लोथिङ कम्पनी लि निङले एन्जिलाको नाममा ‘एटिएस १६’ नाममा जर्सी बनाएको थियो र त्यसको बिक्रीबाट आएको मुनाफा एन्जिलाकै लागि छुट्याइएको थियो।

लक्ष्य : गोलकिपिङ प्रशिक्षक र एकेडेमी

एन्जिलालाई खट्किएको एउटै कुरा भने देशका लागि कुनै उपाधि जित्न नसक्नु हो। तर, आफूले जित्न बाँकी उपाधि जिताउनकै निम्ति उनी आफूले सकेको योगदान गर्ने योजनामै छिन्। त्यो भनेको नयाँ पुस्ता तयार पार्ने।

‘फुटबलबाहेक केही जानेको छैन। सानैदेखि यसैमा लागियो, करिअर नै यही हो। अर्को विकल्प सोच्नै सक्दिनँ’, एन्जिलाले भनेकी थिइन्। अर्थात् खेल करिअर सकिएपछि उनी प्रशिक्षक बन्न अनि एकेडेमी खोल्न चाहन्छिन्।

‘हामी दु:ख गरेर यो ठाउँमा आइपुगेका छौं। त्यही कारण अबको पुस्तालाई त्यो दु:ख नहोस् भनेर एकेडेमी खोल्ने विचार छ’, एन्जिला भन्छिन्।

लेखक
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।