
नेपालमा खो-खो खेलको खासै चर्चा हुँदैनथ्यो। कुनै ठूला प्रतियोगिता पनि भएका थिएनन्। जब गत विश्वकप खेल्न गुपचुप नयाँदिल्ली पुगेका नेपाली खो-खो खेलाडीहरू उपविजेता बनेर फर्किए, नसोचेको वाह्–वाही पाए।
विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई उपविजेता बनाएपछि खो-खो खेलको चर्चा नेपालमा पनि हुन थाल्यो। विश्वकपमा उपविजेता बन्दै प्राप्त गरेको यस ऐतिहासिक उपलब्धिले नेपाली खो-खोलाई संसारभरि चिनायो।
नेपाल कुनै पनि ‘टिम गेम’मा विश्वकप खेलेर उपविजेता बनेको यो पहिलो पटक थियो। त्यसैले यो नेपाली खेलकुद क्षेत्रकै लागि ऐतिहासिक क्षण बन्यो। नेपाली टोलीको सफलताले नेपालमा खो-खो पनि खेलिन्छ र खो-खो खेलाडी पनि छन् भन्ने सन्देश राम्रोसँग दियो।
त्यो सफलता दिलाउने टिमका कप्तान थिए- हेमराज पनेरु (पुरुष) र सरस्वती कडायत (महिला)। दुवै त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्।
हुनत यसअघि पनि नेपालले अन्तर्राष्ट्रिय खो-खो प्रतियोगिताहरू खेल्दै विभिन्न पदक जितेको र सफलता हात पारेको थियो। तर ती सफलता गुमनाम थिए। यस पटक भने विश्वकप नै खेलेर दुवै टोली उपविजेता बनेपछि सर्वाधिक चर्चा भयो।
अविस्मरणीय क्षण
खो-खो विश्वकप खेल्न जानुअघि नै नेपालले कम्तीमा कुनै एक पदक जित्ने लगभग पक्का थियो। किनभने नेपालभन्दा बलियो टिम भारत थियो भने बंगलादेश र नेपाल उस्तै थिए।
महिला र पुरुष दुवैतर्फ नेपालले सकेसम्म भारतलाई हराएर स्वर्ण जित्ने नभए रजत पदक जसरी पनि जित्ने लक्ष्य राखेको थियो। त्यसमा नेपाली टोली सफल भयो।
कप्तान हेमराज पनेरु त्यो क्षणलाई अविस्मरणीय मान्दै भन्छन्, ‘दर्शकदीर्घाबाट नेपाल-नेपाल भनेर आवाज गुञ्जिरहेको थियो, दर्शकको बलियो साथ र सफलताले विश्वकप यात्रा वर्णन गर्नै नसकिने किसिमको भयो।’
राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायत टोली समेत नेपालको फाइनल हेर्न दिल्ली पुगेका थिए। त्यसले पनि टिमलाई ऊर्जा मिलेको हेमराज बताउँछन्।
सरस्वती खो-खो चिनाउने अवसर पाउँदा आफूलाई भाग्यमानी ठान्छिन् । ‘विश्वकप खेल्न पाउँदा खुशीको सीमा थिएन । त्यसमाथि विश्वकपमा उपविजेता हुनु अझ ठूलो कुरा हो,’ सरस्वतीले अनलाइनखबरसँग भनिन्, ‘आफूलाई धेरै भाग्मानी ठानेको छु ।’
पूर्वाधारको अभाव र छोटो समयमको तयारीमा पनि विश्वकप जस्तो ठूलो प्रतियोगिता खेलेर उपविजेता बन्नु चानचुने कुरा थिएन । ‘हरेक कुरामा अपुग भएर, जम्मा १० दिनको प्रशिक्षण गरेर पनि हामीले रजत पदक ल्यायौँ,’ सरस्वती भन्छिन्, ‘यदी हामीले अझ राम्रो अभ्यास गरेर जान पाएको भए विजेता नै बन्ने अवसर पनि थियो ।’
तर, सरस्वतीसहितका खेलाडीहरूसँग खो-खो खेल्न खेल मैदान समेत थिएन । ‘त्यस्तो स्थितिमा सीमित अभ्यासका बाबजुत यो जीत हात परेको हो,’ उनी भन्छिन् ।
कबड्डी खेल्दाखेल्दै खो-खोतिर लागेका कप्तान
स्कूलमा पढ्दा हेमराज फुटबल, भलिबल, कबड्डी लगायत सबैखाले खेलमा रुचि राख्थे। रनिङ शिल्डहरूमा भाग लिन्थे। तर, एक दशकअघि उनको यात्रा कबड्डीबाट खो-खोतर्फ अघि बढ्यो। त्यही खेलका कारण उनी नेपाली खेलकुदमा ऐतिहासिक उपलब्धि दिलाउन कप्तान बनेका छन्।
‘मेरो दाइ पनि खेलकुदमै हुनुहुन्थ्यो। उहाँकै कारणले म खेलकुदमा लागें’ उनी भन्छन्, ‘शुरुमा कबड्डीको राष्ट्रिय प्रतियोगिता खेलें। त्यसपछि खो-खो खेल्न थालें।’
२०६९ सालमा भएको कबड्डीको राष्ट्रिय प्रतियोगिता हेमराजले खेलेका थिए। आफ्नै प्रदेश सुदूरपश्चिमबाट खेल्दा उनले कांस्य पदक जितेका थिए। सुदूरपश्चिमबाट उनले दुई पटक राष्ट्रिय कबड्डी प्रतियोगिता खेले।
हेमराजको शारीरिक बनावटले गर्दा उनीसँग धेरै खेल खेल्न सक्ने खुबी थियो। कबड्डी, खो-खो जस्ता खेल खेल्न राम्रो स्टामिना चाहिन्छ। त्यही स्टामिनाका कारण धनगढीमा कबड्डीको प्रशिक्षण गरिरहेका बेला मोतिराज पनेरुले हेमराजलाई खो-खो खेल्न सुझाएका थिए।
‘कलेज पढ्दा मोतिराज गुरुले हेमराज तिम्रो शरीर फुर्तिलो छ, तिमी खो-खोमा प्रयास गर भनेर भन्नुभयो’, त्यही सुझावले आफ्नो करिअर खो-खोतिर मोडिएको उनी बताउँछन्।
२०७०-७१ सालतिर हेमराजले खो-खो खेल्न थाले। त्यसबेला उनी सुदूरपश्चिमकै प्रतिनिधित्व गरेर खेल्थे।
२०७२ सालमा भएको १२औं दक्षिण एशियाली खो-खो प्रतियोगिता खेलेपछि हेमराजको करिअरले अर्को फड्को मार्यो।
उनीसँगै खेल्ने नेपाली सेनाका खेलाडीहरूले हेमराजको उत्कृष्ट प्रदर्शन देखेर आर्मी क्लबमा आउन सल्लाह दिए। उनी २०७३ सालमा त्रिभुवन आर्मी क्लबमा आबद्ध भए।
अनि, विभागीय टिमबाट उनको खो-खो यात्रा अघि बढ्यो। त्यसपछि उनले नियमित अभ्यास गर्नुका साथै आर्थिक आर्जन समेत गर्न थाले।
हेमराजले छोटो समयमै खो-खो खेलमा गति लिए। उनले आर्मीमा आबद्ध हुनुअघि नै २०७२ सालमा भारतमा भएको दक्षिण एशियाली खो-खो प्रतियोगिता खेलिसकेका थिए। मोतिराज पनेरु गुरुकै सल्लाहमा उनी काठमाडौं आएर खो-खो खेलको प्रशिक्षणमा सहभागी भएका थिए।
प्रशिक्षण सिध्याएर उनी धनगढी फर्किएका थिए। पछि प्रशिक्षक लक्ष्मीनारायण वैद्यले उनी राष्ट्रिय टोलीमा छनोट भएको खबर सुनाएपछि हेमराज लगायत उनको परिवार झन् खुशी भयो।
प्रशिक्षण गर्ने स्थानदेखि विभिन्न चुनौतीका बाबजुद पनि हेमराज सहित टोलीले भारतमा कांस्य पदक जितेको थियो।
त्यसपछि उनले २०७३ सालमा विराटनगरमा भएको सातौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट खेल्दै स्वर्ण पदक जिते। त्यसयता उनले खेलेका हरेक राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा केही न केही पदक जित्दै आएका छन्।
उनले अहिलेसम्म पाँच वटा राष्ट्रिय प्रतियोगिता र सात वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका छन्। तीमध्ये कुनै पनि खेलमा उनी पदकविहीन हुनुपरेको छैन।
हेमराजले २०७४ सालमा राखेप खो-खो च्याम्पियनसिप, २०७६ सालमा भएको आठौं बृहत् राष्ट्रिय खेलकुद र २०७८ सालमा भएको छैटौं पुरुष खो-खो प्रतियोगितामा पनि स्वर्ण जितेका छन्। २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा भने रजत जितेका थिए।
अन्तर्राष्ट्रियस्तरमा उनले २०७२ सालमा भारतमा भएको दक्षिण एशियाली खो-खोमा कांस्य जिते। सन् २०१६ मा भारतमै भएको तेस्रो एशियन खो-खो च्याम्पियनसिपमा पनि नेपाललाई कांस्य पदक दिलाए।
२०१६ मै भारतमै नेपाल र भारतबीच खो-खोको टेस्ट म्याच भएको थियो। सन् २०१९ मा नेपालमै भएको १३औं सागमा खो-खोमा नेपालले कांस्य जितेको थियो।
सन् २०२३ भारतमा भएको चौथो एसियन खो-खो प्रतियोगितामा नेपालले ऐतिहासिक रजत पदक जितेको थियो। सन् २०२४ मा नेपालमै भारतसँग खो-खो टेस्ट म्याच भएको थियो। जसमा नेपाल भारतसँग पराजित भएको थियो।
हेमराज नेपाली सेनासँग जोडिएका कारण निरन्तर खेल जीवनमा रहेको बताउँछन्। ‘नेपाली सेनामा नगएको भए यसमा टिकिरहन गाह्रो हुन्थ्यो होला। नेपाली सेनाले मलाई यस्तो प्लेटफर्म दिएको छ, जसले गर्दा सहज रूपमा ट्रेनिङ गर्न सकिन्छ’ उनले भने, ‘नेपाली सेनाको साथले यो यात्रा सम्भव भएको छ।’
हेमराज खो-खोमा अलराउण्डर पोजिसनमा खेल्छन्। अट्याक र डिफेन्स दुवैमा उनी जम्छन्। अनि, कुन अवस्थामा सबैभन्दा बढी आनन्द आउँछ भन्ने प्रश्नमा उनी भन्छन्, ‘जुन समयमा म डिफेन्स गरिरहेको हुन्छु र अट्याकरले मलाई अट्याक गर्दा उसको अट्याकिङ पोजिसनमा डज हानेर छल्न सकिन्छ, त्यतिखेर साह्रै आनन्द महसुस हुन्छ।’
सरस्वती कडायत : एथ्लेटिक्सबाट खो-खोमा
३० वर्षीया सरस्वतीले स्कूल पढ्दाबाटै विभिन्न खेल खेलेकी थिइन्। शुरुमा उनी विशेषगरी एथ्लेटिक्स र भलिबल खेल्थिन्। पछि मात्रै खो-खोमा लागेकी हुन्।
‘स्कूलमा हुँदा दौड, भलिबल, एथ्लेटिक्स खेलेकी थिएँ। राष्ट्रपति रनिङ शिल्ड लगायत जिल्लास्तरीयमा जितेर पोखरा गएर पनि खेलेकी थिएँ’ उनले खेल यात्राको सुरुआती अवस्थाबारे सुनाइन्।
अछामको विद्या मन्दिर माविबाट उनले रनिङ शिल्ड खेलेकी थिइन्। एथ्लेटिक्समा १००, २०० मिटर र लङजम्पमा सहभागी हुन्थिन्।
स्कूल सकेपछि जब नेपाली सेनामा भर्ना भइन्, त्यसपछि उनको खेल करिअर नै मोडियो। एथ्लेटिक्स खेल्ने सरस्वती खो-खो खेलाडी बनिन्। ‘सानैदेखि आर्मीमा जागिर खाने मेरो रहर थियो, त्यो पूरा पनि भयो’ उनी भन्छिन्, ‘खेलकुदको प्यासन पनि अघि बढाउन पाएँ।’
२०७२ सालमा नेपाली सेनामा भर्ना भएकी सरस्वती एक वर्ष तालिम लिएपछि त्रिभुवन आर्मी क्लबमा खेल्न थालिन्।
‘२०७४ सालको दशैंमा नेपाली सेना खेलकुद केन्द्रबाट चिठी आयो, मलाई खो-खो सम्बन्धी थाहा थिएन’ उनी भन्छिन्, ‘गणहरूमा एथ्लेटिक्स लगायत खेल खेलेकी थिएँ, तर मैले खो-खोमा राम्रो गर्न सक्छु भनेर चिठी काट्नुभएको रहेछ।’ त्यसपछि दशैं-तिहार बीचमा उनलाई क्लबले बोलायो। अनि मैले खो–खो सिक्न र खेल्न थालें।
सरस्वतीले आर्मी टिमबाट २०७४ सालमा भएको राखेप च्याम्पियनसिप खेलिन्। आर्मीबाटै आठौं र नवौं राष्ट्रिय खेलकुद खेलिन्। नवौंमा उनकै कप्तानीमा आर्मीले स्वर्ण जित्यो।
२०७५/७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि उनले भारतमा भएको एसियन खो-खो च्याम्पियनसिप खेलिन्। नेपालमै भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) पनि खेलिन्।
उनले तीन वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा तीन वटैमा पदक जितेकी छन्। एसियन खो-खो च्याम्पियनसिप र विश्वकपमा उनले कप्तानी नै गरिन्। ‘एसियन च्याम्पियनसिप र वर्ल्डकपमा कप्तान भएर पदक जित्दा निकै खुशी लाग्छ।’
विश्वकपपछि आफ्नो जिल्ला अछाममा पनि खो-खो खेल्ने बारेमा चर्चा हुन थालेको सरस्वतीले बताइन्। ‘कर्णाली र सुदूरपश्चिम खो-खोमा अघि छ। विस्तारै यो खेलले पनि महत्व पाउँदै गएको महसुस गरेकी छु’ उनी भन्छिन्, ‘अछाममा चाहिं खो-खो खेल्ने म मात्रै हुँ।’
मेरो जिल्लामा पनि स्कूलमा खो-खो सिकाउनुपर्यो भन्नुभा’छ। मैले मात्र गरेर हुँदैन, सबैले मिलेर गरे राम्रो हुन्छ भनेकी छु।
खो-खोले पाएको महत्व
दुवै टोलीले खो-खो विश्वकपमा उपलब्धि हात पारेपछि नेपालमा पुरूष खो-खो फ्रेन्चाइज लिग समेत भयो। विश्वकपपछि खो-खोको माहोल फरक बनेको हेमराजको बुझाइ छ।
‘विश्वकप खेलेर आएपछि बर्दियामा खो-खो लिग भयो, पहिले भन्दा माहोल फरक छ’ उनी खुशी सुनिन्छिन्, ‘नयाँ भाइहरू पनि आएका छन्। महिलाको पनि लिग हुन्छ भन्ने छ, सबै जना जागरुक भएर खो-खोलाई विकास गर्नुपर्छ।’
विश्वकपमा रजत जितेर आएपछि खो-खोमा धेरैको रुचि बढेको महसुस भएको हेमराज बताउँछन्।
‘अहिले विभिन्न ठाउँबाट खो-खोमा रुचि देखाउनेहरू छन्, अरू प्रदेशका भाइबहिनीहरू पनि आर्मीमा कहिले फारम खुल्छ भन्दै सोध्छन्’ उनी भन्छन्, ‘उनीहरूको रुचि आर्मीबाट खेल्नेमा छ, नयाँ खेलाडीहरूको उत्साह देखेर खुशी लाग्छ।’
महिला टोलीकी कप्तान सरस्वतीको अनुभव पनि उस्तै छ। ‘विश्वकपमा उपविजेता बनेपछि ठाउँ–ठाउँमा प्रचारप्रसार भयो। खो-खो खेल्नुपर्छ भनेर सबैको दिमाखमा छाप पर्यो। तर अब राम्रो खेल्छन् भन्ने लाग्छ।’
खो-खो खेलमा नेपालले अझ धेरै उपलब्धि हात पार्न सक्ने सम्भावना छ। तर, त्यसका लागि प्रदेश र संघीय सरकारले यो खेललाई प्राथमिकता दिनुपर्ने हेमराज बताउँछन्।
‘खो-खो खेललाई अझ योभन्दा माथिसम्म लैजानका लागि राष्ट्रपति रनिङ शिल्डमा राख्नैपर्छ, खो-खो संघले हरेक वर्ष राष्ट्रिय प्रतियोगितालाई निरन्तरता दिनुपर्छ’ उनी भन्छन्, ‘प्रथम विश्वकपमा नेपालले ल्याएको उपलब्धिलाई नेपाल सरकारले समेत सम्मान गर्दै खेलाडीले पाउने पुरस्कार रकम चाँडो वितरण गर्नुपर्छ।’
त्यसले खेलाडीहरू निरन्तर अभ्यासमा लाग्न प्रेरित गर्ने दुवै कप्तानको मत छ। सरकारले खो-खोमा लगानी बढाएमा यो पनि देशको अर्को सौम्यशक्ति बन्ने जानकारहरू बताउँछन्।