+

संसारले चाखिरहेको मिथिला मेनु

पूरा सूची
Shares
डिसवासर हुँदै मास्टर सेफ बनेका जनकपुरका सन्तोष साहले देश तथा विदेशमा कमाएको ख्याति लोभलाग्दो छ । १० वर्ष बेलायत बसाइमा सन्तोषले ‘बीबीसी मास्टर सेफ’को उपाधि जिते । किताब लेखे ।
सन्तोष साह

होटलमा भाँडा माझेर आफू र परिवार धानिरहेका सन्तोषले जीवनमा यतिविधि सफलताको उचाइ हासिल गर्छु भन्ने शायदै कल्पना गरेका थिए । तर जीवनमा मिहिनेत र इमानदारीलाई सँगसँगै लिएर हिंड्न भने कहिल्यै भुलेनन् ।

भारतको एउटा तारे होटलमा ६ महिना भाँडा माझ्‌ने जागिरबाट जेनतेन गुजारा गरिरहेका उनको भाग्यले एक्कासि अर्कै मोड लियो ।

सपना के थिए ? जीवनमा के बन्छु भनेर सोचेका थिए ? र, जीवनचक्र घुम्दाघुम्दै कहाँबाट कहाँ पुगे ? विगत सम्झिंदा ‘मास्टर सेफ’ सन्तोष साह भावुक हुन्छन् ।

मास्टर सेफ सन्तोषका नाममा संघीय राजधानीका तीन ठाउँमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ सञ्चालनमा छन् । दिउँसैदेखि यी आउटलेटमा ग्राहकको भीड यति धेरै हुन्छ कि, कुनै समय त एक–एक घण्टासम्म मुख्य गेट बन्द गरेर बस्नुपर्छ । एक त नयाँ ‘कन्सेप्ट’ अर्कातर्फ ‘सेलिब्रेटी सेफ’ ।

आज सन्तोषका लागि नामै काफी छ । आगन्तुकले मेनुभन्दा अगाडि खोज्ने अनुहार र लिने नाम हो– सन्तोष ।

यो सफलता सन्तोषले त्यसै हात पारेका होइनन् । कम्तीमा दुई दशक गरेको अथक् मिहिनेत, कडा परिश्रम अनि सिक्न र जान्नै पर्छ भन्ने जिज्ञासु मनका कारण उनले यो सफलता हात पारेका हुन् ।

कहालीलाग्दो बाल्यकाल

अनलाइन, टेलिभिजन र पत्रपत्रिका, सामाजिक सञ्जालमा छाएको यो नाम बनाउन सन्तोषले गरेको संघर्षको कथा भने विल्कुलै फरक छ । अगाडि आज जुन सन्तोष उभिएको छ, त्यो सन्तोष बनाउन उनकी आमा र दाजुहरूले खेलेको भूमिका समेत महत्त्वपूर्ण छ ।

सिरहाको कर्जन्हा गाउँमा जन्मिएका सन्तोष ५ वर्षको हुँदा बुबाको निधन भयो । उनका दुई दाजु (देवनारायण र श्रीनारायण) छुट्टिएर आ–आफ्‌नो कामधन्दामा लागिसकेका थिए । दिदीको विवाह भयो । साहिंलो दाइ दिलीप भारतमा थिए । घरमा सन्तोष र आमा मात्र थिए । घरको आर्थिक अवस्था कमजोर थियो ।

‘मेरो बाल्यकाल गरिबीमा बित्यो । खेत थोरै थियो । उब्जनीले पुग्दैनथ्यो । खेत नभएको मान्छे, सामान्य घरमा हुर्किएँ’, उनी विगत सम्झिन्छन् ।

सन्तोषले ८/९ वर्षको उमेरमै पाउरोटी बेचेर घर र पढाइ खर्च जोहो गर्नुपर्थ्यो । फलस्वरूप उनको पढाइ राम्रो हुन सकेन । एसएलसीमा तीन विषयमा फेल भए । जसमा अंग्रेजी पनि थियो ।

मुलुकमा माओवादी द्वन्द्व थियो । एलएलसीमा समेत फेल भएपछि उनी नेपालमा अगाडि पढ्ने वा नपढ्ने दोधारमा थिए । त्यसपछि निर्णय लिए, ‘दिलीप दाइ भारतको अहमदावादमा हुनुहुन्छ, म पनि त्यतै जान्छु ।’

अनि, मोडियो जीवन

भारत गएपछि सन्तोषलाई पाँचतारे होटलमा भाँडा माझ्‌ने (डिस वासिङ) काम मिल्यो । त्यसबेला नेपालबाट जानेको काम सुरक्षागार्ड वा भाँडा माझ्‌ने नै रहेको उनी सम्झिन्छन् । सीप नभए पनि गर्न सकिने, खान र बस्ने सुविधा सहित तलब पनि आउने भएपछि सन्तोषले त्यो कामलाई सहर्ष स्वीकारे ।

५/६ महिनाजति भाँडा माझ्‌ने काम गरेका उनले त्यसपछि तन्दुर कुकको काम सिके र गर्न थाले । ‘त्यसपछि मलाई खाना र यसको परिकारमा प्यासन आयो, अब यसबाटै पैसा कमाउनुपर्छ भन्ने लाग्न थाल्यो’, उनी भन्छन् ।

त्यसबेलासम्म उनले होटलमा ठूल्ठूला सेफको रवाफ देखिसकेका थिए । उनलाई पनि ‘म पनि यस्तै बन्नुपर्छ’ भन्ने लाग्यो । ‘यो पेशा पनि यति इज्जतिलो रहेछ भन्ने मैले त्यसपछि मात्र थाहा पाएको हुँु’, उनले भने ।

होटल भनेको ‘चनामुरी चटपटे खाने थलो हो’ भन्ने नै थियो मनमा । गाउँमा होटल भनेको ‘चियापसल हो’ भन्ने नै थियो । काठमाडौं पनि नआई सिधै भारत गएका उनले होटलमा यस्तो सुविधा पनि हुँदोरहेछ भन्ने कल्पनासम्म गरेका थिएनन् ।

करिअरको उच्चतम स्थानमा पुगेका बेला विदेश मोह त्यागे अनि स्वदेश फर्किएर ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ सञ्चालन गर्दै सांस्कृतिक खानाको प्रवर्द्धनमा लागेका छन् ।

काम गर्दागर्दै उनले होटल यस्तो हुने रहेछ भन्ने मात्र देखेनन्, अब आफैं सेफ बन्छु भन्ने सपना बुन्न थाले । यो पेशामा तलब कति रहेछ भनेर जिज्ञासा राख्न थाले । जतिबेला उनले ९०० भारु तलब बुझ्‌थे, सेफहरूको तलब त १५/२० हजारसम्म हुने पत्ता लगाए । ‘आजको दिनमा त्यो पैसा १५ लाख बराबर हो’, उनी भन्छन् ।

त्यसपछि सन्तोषले यसका लागि पढाइ–सिकाइ पनि आवश्यक रहेछ भन्ने थाहा पाए । ‘मैले कम्प्युटर कोर्स गरें, अंग्रेजी भाषा कक्षामा भर्ना भएँ । डिप्लोमा गरें, सबै सर्ट कोर्सहरू पूरा गरें’ उनी भन्छन्, ‘मात्रै मेरो सेफ बन्ने सपना पूरा गर्नका लागि ।’

सन्तोष बिदाको दिन पनि ‘ओभरटाइम’ काम गर्थे र पैसा बचाउँथे । भारतमा कमाएको पैसा उनले पढ्न र सिक्नमै बढी लगाए ।
‘पढाइकै सिलसिलामा साउथ इन्डियासम्म पुगें’ उनी भन्छन्, ‘चकलेटका कोर्सहरू मैले यस्तै गरी सिकेको हुँ ।’

एसएलसी दिएपछिको करिब ७ वर्ष उनले काम र सिकाइ सँगसँगै अगाडि बढाए । घरबाट निस्केको ७ वर्षसम्मको कडा मिहिनेतपछि भने उनी भारतकै एउटा पाँचतारे होटलको ‘एक्जिक्युटिभ सेफ’ बन्न सफल भए ।

केही वर्ष भारतमै काम गरेपछि उनलाई बेलायत (यूके) बाट अफर आयो । सन् २०१० ताका यूके पुगे । त्यसपछि भने उनले पछाडि फर्केर हेर्नु परेन । एक दशकभन्दा बढी अवधि उनले लन्डनमा बिताए ।

पछिल्ला तीन सालयता भने उनी जन्मभूमि (नेपाल) फर्किएका छन् । ‘अब यतै रमाउँछु’, उनी भन्छन् । यूकेमा नाम चलेका रेस्टुरेन्ट र होटलमा काम गर्ने मौका पाए । त्यही बेला ‘बीबीसी मास्टर सेफ’ मा सहभागी भए । मास्टर सेफकै कारण यति धेरै ख्याति प्राप्त भएको उनको भनाइ छ ।
मास्टर सेफ उपाधि जितेपछि सन्तोष नेपाल फर्किए । आफ्‌नो करिअरको सबैभन्दा उच्चतम स्थानमा पुगेका बेला स्वदेश फर्कनुलाई उनी सबैभन्दा आनन्ददायक क्षण मान्छन् ।

‘नेपाल आएपछि म नेपाली खाना सिक्छु, सम्झन्छु भनेर नजिक बस्न कोशिश गरें’ उनी भन्छन्, ‘त्यसकै दौरान मैले एउटा किताब लेखें । ऐला भन्ने किताब छ । विश्वभरि यो लोकप्रिय बन्यो ।’
पेन्गुइनले यो प्रकाशन गरेको हो । नेपाली खानालाई विश्वभरिका भान्सामा पुर्‍याउने धोको राखेर किताब लेखेको उनी बताउँछन् । किताबको नेपालमा भने धेरै प्रचार गरेनन् । किनकि, नेपालमा किताब पढेर खाना बनाउने चलन पनि छैन ।

‘मेरो नाममा यो पुस्तक त किन्लान्, तर थन्क्याएर राख्नुमा खासै अर्थ थिएन । किनकि, यो ऐतिहासिक किताब त थिएन । यो त फुड रेसिपीको किताब हो । यसलाई दराजमा थन्क्याउन नभई पढ्ने मान्छेको जीवनमा काम लागोस् भनेर लेखिएको हो’ उनी भन्छन्, ‘जर्मन, स्विट्जरल्यान्ड, भारतमा पनि यो किताब राम्रो बिकेको छ । यही बीच टेलिभिजन शोमा समेत सहभागिता जनाएँ । अझै पनि टीभी शो ल्याउने तयारीमा छु ।’

व्यापारिक यात्रा

नेपाल फर्किएपछि सन्तोष फुड रिसर्चमा हिंड्न थाले । नेपालका गाउँ–गाउँ पुगेर यसबारे अध्ययन थाले । उनी त जागिरे मानसिकता भएको मान्छे । सानैदेखि जागिर खाइरहेका थिए । तर, नेपालमा थप जागिर खाने विचार भने गरेनन् ।

अब व्यापारमा केही गरौं भन्ने उनलाई लाग्यो । पछिल्लो समय उनका साहिंला दाइ दिलीप काठमाडौंमा थिए । दाइसँग सल्लाह गरे । सोही अनुसार उनको मनमा आयो, ‘नेपालमा हुँदा तराईको खाना प्रमोट गरौं ।’

तराईमा जन्मेको, पहिचान पनि तराईले दियो, सोही कारण तराईसँग लगाव हुनु स्वाभाविक थियो । तराईको खानाको लगावका कारण सुरुआत तराईको खानाबाट गर्ने र थप्दै जाने योजना अनुसार उनले व्यापारमा हात हाल्ने योजना बनाएको दाइलाई सुनाए ।

त्यही बीच सन्तोषले काठमाडौंमा थकाली खानाको खुबै चल्ती देखे । तर, उनलाई लाग्यो, ‘मैले थकाली किचन गर्न सुहाउँदैन । एक त सेलिब्रेटी सेफ, त्यसमा क्रिएटिभिटी केही पनि नदेखिने भयो । दोस्रो, ‘म थकाली पनि होइन, घर मुस्ताङ पनि होइन । शेरचन सहितको थर पनि मेरो होइन, कतैबाट पनि सुहाएन ।’

अहिले २०० जनालाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिएका सन्तोष यसमै सन्तुष्ट छन् । सबै शाखामा सेफ सबै समुदायका छन् । साथमा उनले सामाजिक काम पनि गरिरहेका छन् ।

त्यसो भए गर्ने के त ? भनेपछि आफ्‌नै आइडियामा ‘मिथिला थाली’ शुरु गर्ने योजनामा पुगेको उनले सुनाए । शुरुमा मिथिला थालीलाई समुदायसँग जोड्ने हिसाबले जनकपुरमा सुरुआत गरियो ।

दुई वर्षअघि जनकपुरमा मिथिला थाली खुल्यो । जसरी अहिले काठमाडौंमा उनले खोलेका आउटलेटमा भरिभराउ मान्छे छन्, त्यस्तै अवस्था जनकपुरमा भयो । जहाँको खाना हो, त्यही ठाउँबाट व्यापार थाल्ने योजना अनुसार जनकपुरमा मिथिला थाली सुरुआत भएको उनी बताउँछन् ।

‘जुन ठाउँमा आलुको चोखा धेरै बन्छ, त्यही शहरमा म आलुको चोखा बेच्न थालेको हुँ’ उनी भन्छन्, ‘त्यो चुनौतीपूर्ण थियो । किनकि, यो खानाबारे सबैलाई थाहा थियो । साथमा अलिकति आलोचना पनि भयो । यदि मैले त्यहाँ पुगेर पिज्जा, पास्ता बेचेको भए आलोचना पनि हुने थिएन । मिथिला क्षेत्रमै मिथिला खाना बेच्न थालेपछि आलोचना हुनु पनि स्वाभाविक थियो ।’

तर, उद्देश्य सांस्कृतिक खाना प्रवर्द्धन गर्नु थियो । ‘त्यसकारण शुरुमा सिकौं, परीक्षण गरौं, त्यसपछि बाहिर लैजाऔंला भन्ने थियो । दुई सालपछि जनकपुरमा ‘बेस्ट सेटिङ’ भएको छ’ सन्तोष हौसिन्छन्, ‘हाइजिनदेखि सरसफाइ, खानाको स्वाद एकदम राम्रो भएको छ । जनशक्ति पनि तयार भयो । यसबीचमा सामाजिक काम पनि जोड्न थाल्यौं ।’

जनकपुरको व्यापार ‘सेट’ भएपछि काठमाडौं

जनकपुरको परीक्षण सफल भएपछि सन्तोष काठमाडौं आए । काठमाडौंका गैह्रीधारा र गौशाला अनि ललितपुरको झम्सिखेलमा भेजिटेरियन मिथिला थाली खोले । भर्खरै गैह्रीधारामा जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका छन् ।

‘मलाई बियर र माछा एकदमै मन पर्छ, तोरीको तेलमा तारेको माछा, सबै जनाले मन पराइदिनुभएको छ । सबैले तारिफ गरिरहनुभएको छ’, उनी भन्छन् ।

काठमाडौंपछि उनी पोखरामा व्यापार विस्तार योजनामा छन् । त्यहाँ माछा मन पराउने मानिस रहेको र पर्यटकले समेत सोही चाहने आफूले बुझेको उनी बताउँछन् । त्यसपछि विराटनगर जाने उनको योजना छ ।

सन्तोषले कतारको दोहामा पनि मिथिला थाली खोल्ने तयारी गरेका थिए । अहिले रोके । दोहामा ठाउँ पनि हेरिसकेका थिए । तर, अहिले नेपालमै खुलेका आउटलेटमा उत्कृष्ट सेवा नपुर्‍याएसम्म आफू विदेश नजाने सोच बनाए ।

‘ग्राहकको माग अनुसार खाना थाली र जिब्रोसम्म अझै पुर्‍याउन सकिएको छैन । विदेशका योजना केही समय होल्ड छन्‌’, उनी भन्छन् ।

जागिर राम्रो कि व्यापार ?

सेफहरू बिजनेस म्यानका रूपमा सफल भएका उदाहरण निकै कम छन् । सेफहरूको आफ्‌नै स्टाइल र प्याटर्न हुन्छ । माइन्ड सेट हुन्छ ।

‘हरेक सेफले एक पटक आफ्‌नो रेस्टुरेन्ट खोलेको हुन्छ, घाटामा गएको हुन्छ र पुनः जागिरमा गएको हुन्छ । त्यो प्याटर्नबाट बाहिर निस्कन निकै गाह्रो हुने रहेछ’, उनी थप्छन् ।

खाना बाहेक केही सोच्न नपर्ने पेशा हो सेफको । बिजनेस भएपछि कानून जान्नुपर्‍यो । सम्झौता बुझ्‌नुपर्‍यो । सेवा, ग्राहक सन्तुष्टि, घरभाडा, गाडी पार्किङ, करदेखि सबै पक्षमा जानकार हुनुपर्‍यो । एउटा मोडेलमा काम गरिरहेको मान्छेलाई यो झमेला बेहोर्दै बिजनेसमा जान एकदम गाह्रो हुने अनुभव भने उनले गरिसकेका छन् ।

‘एउटा कुरामा पो क्रिएटिभ हो, खाना बनाउन, मेनु बनाउन र इनोभेसनमा क्रिएटिभ हो । बिजनेसमा त हरेक कुरामा क्रिएटिभ हुनुपर्‍यो । त्यसो हुँदा डाइभर्ट भयो । यसले क्रिएटिभनेस नै घटाउने रहेछ’, उनी भन्छन् ।

युवा किन देख्दैनन् नेपालमा सम्भावना ?

आज नेपालका लागि युवा पलायन चुनौतीपूर्ण रहेको उनी मान्छन् । सबै जना विदेश जान खोज्ने अवस्था छ । यसमा कतै न कतै सरकारको कमजोरी रहेको उनको बुझाइ छ ।

‘हामीले दिने शिक्षाले काम गर्न प्रेरित गर्दैन, पाठ्यक्रममा व्यावहारिक ज्ञान दिइँदैन, कृषिमा त्यस्तो पाठ्यक्रम छैन, जसले फसल लगाएर, मुलुक भित्रै बेचेर समृद्ध बन्न सिकाओस्‌’ उनी भन्छन्, ‘त्यही भएर युवालाई रोक्न नसकिएको हो ।’

सन्तोषको हकमा पनि नेपालमा भन्दा विदेशमै कमाइ राम्रो थियो । ‘आजको दिनमा पनि म लन्डन गइरहेको छु । इभेन्ट गरिरहेको छु । तर अब नेपालमै अवसर देख्छु’, उनी भन्छन् ।

‘मैले मिथिला थाली र जनकपुर फिस हाउस खोल्दा दैनिक १०० किलो माछाको अवसर सिर्जना गर्न सफल भएको छु । यसले त किसानलाई अवसर दियो, काम गर्ने युवालाई रोजगारीको अवसर दियो । मरमसलाको व्यापार बढ्छ । सरकारले कर पाउँछ’, उनी थप्छन् ।

जनकपुरको माछालाई काठमाडौंमा स्थापित गराउन नयाँ कन्सेप्ट भित्र्याउना साथ यति लोकप्रिय बनिरहेको भनेपछि अवसर आफूले नै सिर्जना गर्नुपर्ने सन्तोष बताउँछन् । राज्यले त्यसमा वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ ।

व्यापारसँगै समाजसेवा

अहिले २०० जनालाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिएका सन्तोष यसमै सन्तुष्ट छन् । सबै शाखामा सेफ सबै समुदायका छन् । साथमा उनले सामाजिक काम पनि गरिरहेका छन् । गत वर्ष सुन्न र बोल्न नसक्ने ३१ भाइबहिनीलाई उनले वेटर र हाउसकिपिङ तालिम दिए । उनीहरू सबैलाई काम खोजेर लगाइदिएका थिए । अहिले उनीहरू हिल्टन, शेर्पा लगायत होटलमा काम गरिरहेको सन्तोषले बताए । तालिम निःशुल्क दिइएको हो ।

‘यस वर्ष त्यही कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकासँगको सहकार्यमा ७५ जनालाई तालिम दियौं । उनीहरूमध्ये कतिपयले मेरै रेस्टुरेन्टमा काम गरिरहेका छन् । कतिपय विदेश समेत पुगिसकेका छन्‌’, उनी खुशीसाथ सुनाउँछन् ।

सन्तोषले जनकपुरमा एकल आमाहरूलाई प्राथमिकतामा राखेर उनीहरू लक्षित अभियान चलाइरहेका छन् । उनीहरूलाई कामको अवसर दिने, सम्भव भए रेस्टुरेन्टमै काम दिने, नभए घरमा मिथिलाको अचार बनाउने, मसला पिस्ने काम घरमै बसेर पनि गर्न सक्ने गरी व्यवस्था मिलाएका छन् ।

बच्चाहरूलाई छात्रवृत्ति दिने काम पनि गर्छन् । यसरी एकल आमा र बोल्न, सुन्न नसक्ने युवा लक्षित गरेर अभियान चलाइरहन आवश्यक रकम उनले विभिन्न शहरमा कार्यक्रमका सिलसिलामा जाँदा आएको पैसा च्यारिटीमा खर्च गर्छन् ।

अबको योजना सेफमाथि लगानी गर्ने छ । स्थानीयलाई नै सेफ बनाउने, ‘हाम्रो नाम, तपाईंको खाना’ भन्ने अभियान चलाउने योजना उनको छ । भन्छन्, ‘बाँकी जिन्दगी खानामा रमाउने हो ।’

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।