
विराटनगरमा जन्मे–हुर्केर कक्षा १२ सम्मको अध्ययन उतै गरेका उनी अहिले भारतको सबैभन्दा ठूलो ‘पियर टु पियर’ (पीटुपी) लेन्डिङ प्लेटफार्म ‘लेनदेन क्लब’ का संस्थापक हुन् । पीटुपी लेन्डिङ यस्तो डिजिटल प्लाटफर्म हो, जसले ऋण लिने र दिनेलाई बैंक वा वित्तीय संस्थाको संलग्नता विना नै सिधै आपसमा जोडिदिन्छ ।
यो प्रणालीमा आबद्ध ऋणदाताले आफूसँग भएको पैसा अर्को व्यक्तिलाई सिधै ऋण दिन सक्छन्, ऋण लिनेले पनि सजिलै पाउन सक्छन् ।
‘लेनदेन क्लब’ भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ बाट अनुमति प्राप्त यस्तै पीटुपी लेन्डिङ प्लाटफर्म हो, जसले स्थापनाको १० वर्षमा १ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबरको कर्जा आफ्नो माध्यमबाट प्रदान गरिसकेको छ । यो प्लाटफर्ममा हालसम्म ३ करोड ऋणी आबद्ध छन् भने ३० लाख ऋणदाता पुगिसकेका छन् ।
यो विराटनगरका उनै दिपेश कार्कीको सफलताको कथा हो जसले भारतमा आफ्नो भिन्नै पहिचान बनाएका छन् ।
विराटनगरमा प्लस टु सकेपछि दिपेश इन्जिनियरिङ पढ्न काठमाडौं आए । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङमा नाम पनि निस्कियो । तर, उनी पढ्न चाहन्थे– इलेक्ट्रोनिक्स इन्जिनियरिङ ।
आफूले पढ्न चाहेको विषयमा त्यहाँ नाम ननिस्किएपछि उनले विदेश पढ्न जान छात्रवृत्ति खोज्दै विभिन्न दूतावास धाए । त्यस क्रममा भारतीय दूतावासले भारतमा पढ्न छात्रवृत्ति दिन्छ भन्ने थाहा पाए र आवेदन दिए ।
नभन्दै उनले भारतको प्रतिष्ठित नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) कुरुक्षेत्रमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाए । यो सन् २००७ को कुरा हो ।
त्यहाँबाट इन्जिनियरिङको पढाइ सकेपछि तत्कालै उनले एक साथीसँग मिलेर स्टार्टअप शुरु गरे । उनले इन्जिनियरिङ पढ्दा नै एक विशेष इन्जिनियरिङ पाइप सम्बन्धी सफ्टवेयर बनाएका थिए, जसलाई उनले २०१३ मा स्टार्टअपका रूपमा शुरु गरे, सहसंस्थापक बनेर ।
उनले थालेको ‘पाइप आईएसओ’ ले इन्जिनियरिङ पाइपको थ्रीडी डिजाइन तयार पार्छ, जुन ईपीसी सम्बन्धी काममा प्रयोग हुन्छ । यो प्रडक्ट अहिले पनि चलिरहेको छ, तर कार्की भने २०१५ मा नै त्यसबाट अलग भए ।
अनि, खोले ‘लेनदेन क्लब’
त्यसपछि दिपेशलाई नेपालमै गएर उद्यम गर्नुपर्छ भन्ने सोच आयो र फर्किए । सन् २०१५ मा नेपालमाथि भारतले नाकाबन्दी लगाइरहेको थियो । त्यसबेला उनले नेपालमा राइड सेयरिङको व्यवसाय शुरु गर्न भनेर केही तयारी गरे ।
‘त्यसबेला नेपालमा राइड सेयरिङ सुरुआत भइसकेको थिएन, यो काम शुरु गर्नुपर्यो भनेर मैले कम्पनी पनि दर्ता गरें, विभिन्न सरकारी निकाय धाएँ । तर, नेपालमा स्टार्टअपका लागि मैले खोजेको वातावरण पाइएला जस्तो लागेन’, उनी भन्छन् ।
त्यसपछि उनी फेरि भारतमै फर्किए । भारत फर्केपछि अर्का साथी भविन पटेलसँग मिलेर उनले नयाँ स्टार्टअप शुरु गरे– लेनदेन क्लब । लेनदेन क्लबले भारतको लेनदेनको संस्कृतिमा आमूल परिवर्तन ल्याउँदैछ ।
हरेक गाउँ–समाज, नाता–इष्टमित्र, साथीभाइमा एकापसमा लेनदेन भइरहेको हुन्छ । खासगरी ग्रामीण क्षेत्रमा चर्को ब्याजदरमा मिटरब्याजीहरूले गरिब जनतालाई शोषण गरिरहेका छन् । त्यस्तो पैसा नतिर्नेको जमिन हडप्ने तथा किर्ते कागज गरेर पनि सम्पत्ति कब्जा गर्ने गरेका अभ्यास पनि देखिन्छन् । कतिपय सन्दर्भमा आपसी लेनदेनका घटनामा लिनेले पैसा फिर्ता नगर्दा पनि मानिसहरू अन्यायमा परिरहेका छन् ।
सानो–सानो पैसा आवश्यक पर्नेले बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि पाउँदैनन् । सानो–सानो पैसा बचत हुनेले त्यत्तिकै पैसा राख्दा प्रतिफल पनि पाएका हुँदैनन् । यो भारतको मात्रै होइन, समग्र दक्षिण एशियाली मुलुकमै रहेको समस्या हो ।
यस्ता विविध समस्या समाधान गर्ने हेतु पटेल र दिपेशले २०१५ मा लेनदेन क्लब भन्ने डिजिटल प्लेटफार्म शुरु गरे ।
दिपेशको लेनदेन क्लबले कसरी गर्छ काम ?
यो प्लेटफार्मले पैसा आवश्यक हुने र पैसा सापटी दिनसक्ने दुवै पक्षलाई एकैठाउँमा जोडिदियो । अर्थात्, पैसा दिन सक्ने ऋणदाता यहाँ जोडिन्छ र आफूले सक्ने जति ऋण दिन पाउँछ । त्यस्तै ऋणी पनि यो प्लाटफर्ममा जोडिन्छ र आफूलाई आवश्यक परेको पैसा निश्चित अवधि र ब्याजदरमा लिन सक्छ ।
प्लेटफार्ममा १० हजार ऋणी जोडिए भने १०० जना ऋणदाता पनि जोडिन्छन् । तर, ती सबैलाई यो प्लाटफर्मले स्वीकृत गर्दैन । ५–६ जनाले मात्रै अनुमति पाउँछन् ।
लेनदेन क्लबले आफ्नो प्लाटफर्ममा जोडिने ऋणदाता तथा ऋणी दुवैको क्रेडिट हिस्ट्री हेर्छ, मानिसको खर्चको मूल्यांकन गर्छ र योग्यता पुगेका ऋणदाता तथा ऋणीलाई मात्रै आफ्नो प्रणालीमा आबद्ध गराउँछ ।
कसैले ऋण माग्यो भने उसको ‘क्रेडिट अन्डरराइटिङ’ तय गरेपछि लेनदेन क्लबले ऋणदातालाई ऋण दिन अफर गर्छ । कति ऋण, कति अवधिमा कति ब्याजदरमा दिने भन्ने लेनदेन क्लबले तय गर्छ । त्यो खासगरी जोखिमका आधारमा तय हुन्छ । बढी जोखिम भएका ऋणीलाई बढी ब्याजदर लाग्छ, कम जोखिम भएकालाई कम ।
कस्ता मानिसले कतिसम्मको ऋण लिने भन्ने पनि सिस्टमले नै तय गरिदिएको छ । तलब खाने कर्मचारीले एक पटकमा २५ हजारसम्मको ऋण पाउँछन्, तलब नखानेले १२ हजारसम्म मात्रै पाउँछन् । तर, साना व्यापारीले ६० देखि ७० हजारसम्म ऋण पाउँछन् । जोखिमका आधारमा १३ देखि ४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ ।
‘यस्तो ल्यान्डिङमा कति ब्याज तिर्नुपर्छ भन्ने आरबीआईले तोकेको छैन, तर ऋणको आकार सानो हुने तथा जोखिम बढी हुने हुँदा यस्तो ऋणमा ब्याजदर ठिकै हो’, दिपेश भन्छन् ।
भारतमा अनौपचारिक मिटरब्याजीले मासिक १० प्रतिशत अर्थात् वार्षिक १२० प्रतिशतसम्म ब्याज लिने गरेको उनीहरूको अनुसन्धानले देखाएको छ ।
खासगरी दैनिक आवश्यकता पूर्तिका लागि छोटो अवधिका लागि मानिसले यो प्लेटफार्मबाट ऋण लिने गर्छन् । त्यसो हुँदा यो ब्याजदर धेरै नभएको उनको भनाइ छ ।
लेनदेन क्लबले चाहिं यस मार्फत गएको कर्जाको ब्याज लिने होइन । उसले ऋणदातासँग केही निश्चित शुल्क लिन्छ भने ऋणीको ऋण योग्यता मूल्यांकनको पनि निश्चित शुल्क लिने गर्छ ।
लेनदेन क्लब जस्ता पीटुपी प्लाटफर्म मार्फत कारोबार गर्ने ऋणदाता तथा ऋणी दुवैलाई फाइदा छ । खासगरी ऋणीको क्रेडिट फाइल हुन्छ, उनीहरूको क्रेडिट स्कोर पनि आउँछ, जुन भविष्यमा बैंकबाट ऋण लिन निकै उपयोगी हुन्छ ।
भारतमा १८ हजारदेखि २० हजार ‘पोस्ट इन्डेक्स नम्बर’ (पिनकोड) छन् । ती सबै क्षेत्रमा आफूहरू पुग्न सक्ने दिपेश बताउँछन् । ‘सामान्य मोबाइल एप चलाउन सक्नेले लेनदेन क्लबमा जोडिएर पैसा लिन वा ऋण दिन सक्छ’, उनी भन्छन् । अर्थात्, त्यस्ता मानिस मिटरब्याजीको शोषणमा नपर्ने उनको भनाइ छ ।
अहिले लेनदेन क्लबबाट लिने सापटीको आकार सानो भएको हो । लेनदेन क्लब मार्फत गएको पहिलो कर्जाको आकार २ लाख भारु बराबर थियो । तर, त्यो पहिलो कर्जा प्रवाह गर्दा दिपेश र उनका साथीले सानो संघर्ष गर्नुपरेन । एक जना ऋणदाताले २० हजार योगदान गर्दा पनि २ लाख जुटाउन १० जनालाई एकैठाउँ ल्याउनुपर्थ्यो ।
अर्को समस्या पनि थियो । ऋणीले ऋणको मासिक किस्ताबन्दी भुक्तानी गर्नुपर्थ्यो तर कारोबार अहिले जस्तो डिजिटल थिएन । एक वर्षको किस्ता तिर्नका लागि शुरुमै १२ वटा चेक लिनुपर्थ्यो । २० जना ऋणदाता भएको अवस्थामा २४० वटा चेक लिनुपर्थ्यो ।
‘सन् २०१५ र २०१६ का दुई वर्ष धेरैजसो समय अध्ययनमै बित्यो । त्यसो हुँदा पहिलो ऋण उपलब्ध गराउन नै हामीले करिब दुई महिना मिहिनेत गर्नुपर्यो’, दिपेश भन्छन् ।
त्यसपछि उनीहरूले के अनुभव गरे भने मानिसले स–सानो रकमको ऋण यस्तो प्लाटफर्मबाट लिन चाहन्छन्, ऋण आकार सानो बनायो भने कम्पनीलाई व्यवस्थापन गर्न पनि सजिलो हुनेभयो ।
‘मलाई तत्कालै २५ हजार रुपैयाँ चाहिएको छ भने अहिले लेनदेन क्लबमा आवेदन दिन सक्छु, आवेदन दिएको एकदेखि डेढ घण्टामा मेरो खातामा नै पैसा जम्मा हुन्छ’ उनी भन्छन्, ‘यति छिटो ऋणी र ऋणदातालाई जोड्न हामीले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेका छौं’, दिपेश थप्छन् ।
भारतको फिन्टेक उद्योगमा ‘क्रान्ति’
लेनदेन क्लबले भारतको वित्तीय पहुँच तथा फिन्टेक उद्योगमा एक हिसाबको ‘क्रान्ति’ नै ल्याइदिएको छ । भारतमा आफैं पूँजी लगानी गरी रिटेल लेन्डिङको काम गर्ने त अन्य कम्पनी पनि छन् । ‘तर, पियर–टु–पियर लेन्डिङमा भने लेनदेन क्लब मात्रै यस्तो कम्पनी हो, जोसँग भारतको ९५ प्रतिशत बजार हिस्सा छ’, दिपेश गर्वसाथ सुनाउँछन् ।
यसअघि अन्य कम्पनीले पनि यो काम गरिरहेका थिए । तर, आरबीआईले गत वर्ष २०२४ मा पीटुपी प्लेटफार्महरूका लागि कडा नियम बनाएपछि तीमध्ये धेरैजसोको सञ्चालन बन्द भएको छ । यस्तो अवस्थामा लेनदेन क्लबले भारतको पीटुपी लेन्डिङ बजारको अधिकांश हिस्सा ओगटेको उनी बताउँछन् ।
आरबीआईले २०१७ मा ‘पियर–टु–पियर लेन्डिङ प्लेटफार्म निर्देशिका’ ल्याएर यस्ता कम्पनीमाथि नियमन थालेको थियो । त्यसपछि मात्रै २०१८ मा आएर पीटुपी लेन्डिङ प्लेटफार्महरूले लाइसेन्स पाएका थिए । लेनदेन क्लबले पनि त्यहीबेला यो सेवा दिने गरी लाइसेन्स पाएको थियो ।
२०२३ मा आरबीआईले त्यो निर्देशिका पालना गरे/नगरेको भनेर अनुसन्धान गरेको थियो । त्यस क्रममा सबैजसो यस्ता प्लाटफर्मले त्यो निर्देशिका पालना नगरेको पाइएपछि आरबीआईले ठूलो मात्रामा जरिवाना पनि तिरायो ।
‘हामीले पनि जरिवाना तिर्नुपर्यो । आरबीआईको निर्देशिकाको कार्यान्वयन हामीले आफ्नो बुझाइका आधारमा गर्दै आएका थियौं, तर त्यसमा केही कमजोरी आरबीआईको अनुसन्धानले देखाएपछि जरिवाना लगाइयो’ दिपेश भन्छन्, ‘आरबीआईको पछिल्लो कारबाही यो क्षेत्रलाई सही दिशामा लैजानका लागि महत्त्वपूर्ण छ ।’
भारतमा यो क्षेत्रमा काम गरिरहेको प्रमुख लेन्डिङ प्लाटफर्म लेनदेन क्लब मात्रै हो । ‘त्यो निर्देशिका आइसकेपछि धेरै प्लेटफार्मले आफ्नो व्यवसाय बन्द गरे, केहीले व्यवसायको आकार व्यापक मात्रामा घटाएका छन् । त्यसो हुँदा त्यो नीतिगत परिवर्तनपछि हामीले करिब ९५ प्रतिशत बजार हिस्सा कायम गरेका छौं’, उनले भने ।
लेनदेन क्लबका सहसंस्थापक तथा चिफ टेक्नोलोजी अफिसरका रूपमा दिपेशले यो कम्पनीको तीव्र वृद्धिमा महत्त्वपूर्ण योगदान गरेका छन् । पछिल्लो समय एआईलाई कम्पनीले गर्ने काम र दिने सेवाका लागि प्रयोग गरेका छन् ।
हालै मात्र १०औं वार्षिकोत्सव मनाएको कम्पनीले चार वर्षअघि २०२१ मा पहिलो चरणको लगानी संकलन गरेको थियो । त्यसबेला कम्पनीको मूल्यांकन ४ अर्ब २० करोड भारु गरिएको थियो । तर, यसबीचमा कम्पनीले वार्षिक दुईदेखि तीन गुणाका दरले व्यवसाय विस्तार गरिरहेको उनको भनाइ छ ।
अहिले लेनदेन क्लब मार्फत मासिक २ अर्ब ५० करोडका दरले कर्जा प्रवाह भइरहेको उनको भनाइ छ । वार्षिक ३५ अर्ब ४० करोडको कर्जा प्रवाह आफ्नो प्लाटफर्मबाट मात्रै हुने उनको दाबी छ ।
‘हाम्रो प्लेटफार्म मार्फत १६ हजार करोड भारु (२ खर्ब ५६ अर्ब नेपाली रुपैयाँ) लगानी भइसकेको छ, अर्थात् करिब २ अर्ब अमेरिकी डलर बराबर ऋण प्रवाह हामीले गरेका छौं’ दिपेश भन्छन्, ‘यस्तो अवस्थामा हाम्रो कम्पनीको मूल्यांकन ५० देखि ६० करोड अमेरिकी डलर (अर्थात् करिब ७० अर्बदेखि ८० अर्ब नेपाली रुपैयाँ बराबर) हुन सक्छ ।’
कम्पनीलाई नयाँ लगानी आवश्यक नै नपरेकाले कम्पनीको मूल्यांकन नगराएको उनी बताउँछन् । ‘हामी चार वर्षदेखि नाफामा छौं, नयाँ राउन्डको लगानी आवश्यक परेको छैन’, उनले भने ।
कम्पनीले ३०० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको उनले बताए । अप्रत्यक्ष ४ हजार जनाले रोजगारी पाएको उनको भनाइ छ । ‘तीन करोड मानिसले हाम्रो माध्यमबाट ऋण लिएका छन् । उनीहरूको परिवारको आकार हेर्दा ८ करोड जना लाभान्वित भएका छन्, यति धेरै मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न सकेकोमा हामी गौरवान्वित छौं’, उनी भन्छन् ।
लेनदेन क्लबलाई अवार्डको ओइरो
यसबीच दिपेशको लेनदेन क्लबले बीडब्लू (बिजनेस वर्ल्ड) फेस्टिभल अफ फिन्टेक अवार्डस्–२०२५ मा ‘बेस्ट फिन्टेक प्रडक्ट अफ द इयर’ पुरस्कार जितेको छ । त्यस्तै ईटी (इकोनोमिक टाइम्स) एचआर वर्ल्ड २०२५ मा ‘इम्प्लोई एक्सपेरियन्स अवार्ड’, ईटी फिननेक्स्ट अवार्डस् २०२५ मै ‘बेस्ट पियर–टु–पियर लेन्डिङ प्लेटफार्म’, २०२२–२३ देखि २५–२६ सम्म लगातार चार वर्ष ‘ग्रेट प्लेस टु वर्क’ अवार्ड लगायत करिब दुई दर्जन पुरस्कार तथा सम्मान पाइसकेको छ ।
कम्पनीका सहसंस्थापक दिपेशले ‘ईटी एज टप ५० टेक लिडर्स इन एनबीएफसी २०२५’ लगायत विभिन्न पुरस्कार पाएका छन् भने बीडब्लू डिस्रप्टर्स प्रेस्टिजियस फोर्टी अन्डर फोर्टी २०२३ को लिस्टमा पनि उनी समावेश थिए ।
भारतको फिन्टेक उद्योगमा दिपेशको महत्त्वपूर्ण योगदान
वास्तवमा लेनदेन क्लबलाई भारतको पीटुपी लेन्डिङ क्षेत्रमा एउटा सुरुआती प्लेटफार्मबाट भारतको वित्तीय प्रविधि (फिन्टेक) उद्योगको एक प्रमुख नाममा रूपान्तरण गर्न दिपेशको महत्त्वपूर्ण योगदान छ ।
‘भारत सरकारले वित्तीय समावेशीकरणलाई प्राथमिकता दिएको छ । हामी जुन वर्गलाई सेवा दिइरहेका छौं, त्यो बैंकले गर्न सक्दैन, त्यसो हुँदा वित्तीय समावेशीकरणमा समेत हाम्रो निकै महत्त्वपूर्ण योगदान छ’, उनी भन्छन् ।
नेपाल र भारतको सामाजिक तथा आर्थिक परिवेश समान भएकाले पीटुपी लेन्डिङ प्लेटफर्महरूको नेपालमा पनि ठूलो सम्भावना भएको उनी बताउँछन् ।
यसले मानिसलाई वित्तीय पहुँच दिलाउने मात्र नभई मिटरब्याजीको शोषणबाट पनि मुक्त गराउने उनी बताउँछन् । तर, तत्कालै नेपालमा आफैं यो व्यवसाय विस्तार गर्ने योजना भने उनको छैन ।
तत्कालै नेपाल आउँदा ‘इमोसनल फुल’ (भावनामा बगेर गलत निर्णय गर्ने मानिस) बनिने हो कि भन्ने डर उनलाई छ । ‘नेपालमै आएर कुनै काम गर्ने भन्ने विचार गर्दा इमोसनल फुल बनिन्छ कि व्यावहारिक रूपमा पनि गर्न सकिन्छ भन्ने सबैले सोच्न आवश्यक छ’, उनी भन्छन् ।
तर, उनी नेपालका खासगरी आईटी क्षेत्रमा काम गरिरहेका युवालाई भने मेन्टरिङ गरिरहेका छन् । नेपालको राजनीतिक र व्यावसायिक वातावरण अनुमान गर्न सकिने खालको भयो भने चाहिं यहाँ अवसर खोज्ने उनी बताउँछन् ।
भारतमा नेपालीका लागि ठूलो अवसर रहेको उनी बताउँछन् । ‘पहिला पहिला भारतीय मूभीहरूमा पनि नेपालीलाई मःम बेच्ने पसले वा सेक्युरिटी गार्ड लगायत भूमिकामा देखाइन्थ्यो, त्यसले नेपालीप्रति यस हिसाबको जातिवादी सोच थियो । तर, अहिलेका युवामा त्यो पनि छैन, अवसर ठूलो छ’, दिपेश थप्छन् ।