
सरिता लामिछानेको बाल्यकालीन सम्झनामा डाक्टरले टर्च बालेर आँखामा औषधि हालिरहेको दृश्य घुमिरहन्छ ।
६ वर्षको उमेरमा गोरखाको दुर्गम बारपाक सुलिकोट–८ की उनी १० घन्टा पैदल हिंडेर स्कूल गएकी थिइन् । सानैमा भोगेको यो दुःख उनले भुल्ने कुरै भएन । तर त्योभन्दा पनि भुल्न नसक्ने कुरा अर्को छ । उनी दृष्टिदोष देखिएकै कारण शिक्षकको ध्यान कम पाउँथिन् । आँखाले देख्न नसकेको अन्याय र उपेक्षालाई कानले थाहा पाउँथिन् ।
पूर्वजन्मको श्राप पाएकी, भाग्यले ठगेकी– सरिताले ब्रेललिपिमा अभ्यस्त हुने वातावरण नपाउँदासम्म यस्ता उपेक्षा, अपमान र हेलाहरूलाई यसैगरी कानको क्षमताले थाहा पाउँदै गइन् । जन्मजात अपांगतालाई प्रारब्धको खेल मान्ने समाजमा सरिताका अभिभावकले लडेको संघर्ष आफ्नै किसिमको थियो । उनीहरूले छोरीलाई विभिन्न अस्पतालमा उपचार गराए, तर निको भएन ।
सरिताले विकल्प भेट्टाइन्, अमर ज्योति जनता माविमा । घरमा आमा अनि दिदीसँग सिक्न थालेको ब्रेललिपिलाई टाढाको स्कूलमा पढेको शिक्षाले अझै विस्तार गरिदियो । त्यही ब्रेललिपिले उनको जीवनमा परिवर्तन ल्याइदियो । आफ्नो स्कूलबाट यही लिपिमा लेखेरै सन् २००५ को एसएलसी उनले प्रथम श्रेणीमा पास गरिन् । उक्त स्कूलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्ने उनी विद्यालयकै पहिलो दृष्टिविहीन छात्रा हुन् ।
हो, त्यही सफलतापछि शुरु भयो सरिताको उडान । उच्च शिक्षाको लागि काठमाडौं आएकी उनले नेपाल नेत्रहीन संघ र नेपाल अपाङ्ग महिला संघको छाक्रावासमा बसी अध्ययन गरिन् ।
छात्रावास बसाइको त्रममा लामिछानेले ललितपुर नेत्रहीन संघ र नेपाल अपाङ्ग महिला संघमा रहेर अपाङ्गता भएका व्यक्तिहरूको सवालमा कार्य गर्न सुरुआत गरिन् । त्यही सिलसिलामा ‘चेन्ज फ्युजन नेपाल’ द्वारा आयोजित ‘माइ स्टोरी इभेन्ट’मा सहभागी भई सोही संस्था मार्फत नेपालमा पहिलो पटक दृष्टिविहीन महिलाहरूको लागि आत्मरक्षा तालिम र दृष्टिविहीन महिलाहरूको रोजगारीको स्थिति नामक सर्वेक्षण गरिन् ।
त्यहाँ आत्मविश्वासको अभाव, अवसरको कमी, नीतिगत कमजोरी र सामाजिक पूर्वाग्रह जस्ता समस्याहरूबारे थाहा पाइन् । उनले सोचिन्, ‘सामाजिक परिवर्तनका लागि नेतृत्व आफैंबाट शुरु गर्नुपर्छ ।’
आफूले पाएको नेपाल सरकारको जागिर समेत छोडेर उनी भारतको ‘कान्थारी’ संस्था गएर सात महिनाको नेतृत्व विकास तालिम लिएर नेपाल फर्किइन् ।
खुल्यो प्रयत्न नेपाल
सन् २०१५ मा सरिताले दृष्टि सम्बन्धी अपाङ्गता भएका महिलाहरूका लागि गुणस्तरीय र सम्मानित जीवन सुनिश्चित गर्न आफ्नै नेतृत्वमा ‘प्रयत्न नेपाल’ नामक संस्थाको स्थापना गरिन् ।
उनी भन्छिन्, ‘प्रयत्न नेपाल यस्तो संस्था हो, जसले दृष्टिविहीन महिलाहरूलाई आफ्नो जीवन आफ्नै हातले चलाउन सक्ने बनाउने ध्येय राख्छ ।’
प्रयत्न नेपालले खासगरी फरक दृष्टिगत अपाङ्गता भएका महिलाहरूको मानवअधिकार, समानता, गैर भेदभाव र व्यक्तिगत स्वतन्त्रताको रक्षाकवचका रूपमा मात्रै नभई अन्य थुप्रै महिलाका मुद्दाहरूमा काम गर्दै आएको उनको भनाइ छ ।
दृष्टिविहीन महिलाहरूलाई सशक्तिकरण गरी समाजमा उत्पादनशील दक्ष जनशक्ति बनाई सम्मानित जीवनयापन गर्न सक्ने बनाउने उद्देश्यले काम गर्दै आएको उनी बताउँछिन् । ‘प्रयत्न नेपालले दृष्टिविहीन महिलाहरूलाई आर्थिक, सामाजिक र नीतिनिर्माण तहमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने र आफ्नो पहिचान कायम गर्न सक्ने बनाउन सिकाउँछ’, उनी भन्छिन् ।
डिजिटल पहुँचका लागि लडाइँ
अहिले सूचनाप्रविधि मानिसको अभिन्न अङ्ग नै बनिरहँदा दृष्टिगत अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा ल्याउन प्रयत्न नेपालले काम गरिरहेको छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर सबलाङ्ग व्यक्तिहरूलाई कन्टेन्ट निर्माणका लागि भनेर एकदिने भए पनि अभिमुखीकरण तालिम प्रयत्न नेपालले दिंदै आएको सरिता बताउँछिन् ।
उनी भन्छिन्, ‘हामीले अपाङ्गता भएका व्यक्तिहरूका लागि कसरी डिजिटल कन्टेन्ट निर्माण गर्ने भनेर सबलाङ्ग व्यक्तिहरू जो प्रविधिमा पोख्त छन्; उहाँहरूलाई पहुँचयुक्त डिजिटल सामग्री कसरी निर्माण गर्ने भनेर एकदिने अभिमुखीकरण तालिम दिएका छौं । अहिले पोखरामा एक ब्याच र काठमाडौंमा ६ गरी सातौं ब्याचलाई तालिम दिइसकेका छौं पहुँचयुक्तताको सवालमा ।’
साथै स्वयं दृष्टिगत अपाङ्गता भएका व्यक्तिहरूलाई डिजिटल प्लेटफर्म कसरी चलाउने भनेर तालिम लिइरहेको उनको भनाइ छ । ‘हामीले अहिले स्वयं अपांगता झएका व्यक्तिहरूलाई मोबाइलमा स्त्रिन (जेस्चर) कसरी चलाउने, औंला कसरी सार्ने (घिसार्ने) देखि राइड शेयरिङ एपहरू कसरी प्रयोग गर्ने, डिजिटल वालेटहरू कसरी प्रयोग गर्ने, मोबाइल बैंकिङ कसरी प्रयोग गर्नेसम्म तालिम दिइरहेका छौं’, उनी सगर्व सुनाउँछिन् ।
पहुँचयुक्त कन्टेन्ट निर्माण नगरिदिंदा भने दृष्टिगत अपाङ्गता भएका व्यक्तिहरू सूचनाको हकबाट वञ्चित भइरहेको उनको गुनासो छ । उनी भन्छिन्, ‘हामीले यी सबै कुराहरू सिकाइरहँदा डिजिटल प्लेटफर्म बनाउँदा पहुँचयुक्तताको कन्टेन्ट छुटाइदिंदा हामी दृष्टिगत अपाङ्गता भएका व्यक्तिहरूका सामु भने चुनौतीको पहाड खस्छ ।’
उनका अनुसार प्रविधिको प्रयोग र पहुँच अगावै डिजिटल प्लेटफर्महरू बनाउने बेलामा केही डिजिटल प्लेटफर्महरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर सोचिदिंदा भने अपाङ्गतामैत्री भएका छन्, यसका उदाहरण हुन् राइड शेयरिङ एपहरू । तर, सरकारी तथा सार्वजनिक निकायहरूले पहुँचयुक्तताको कन्टेन्टमा नसोचिदिंदा यसका लागि हामीले पटक–पटक लडाइँ लडिरहनु परेको उनको गुनासो छ ।
‘राइड शेयरिङ एपहरू जति पनि डिजिटल प्लेटफर्महरू पठाओ, टुटल, इन्ड्राइभहरू रहेका छन् यसले अपाङ्गता भएका व्यक्तिहरू मोबिलिटीमा सपोर्ट गरेको छ । कोरोना पछिको भर्चुअल प्लेटफर्मले त अपाङ्गता भएका व्यक्तिहरूलाई झन् सहजता थपेको छ’ उनी सुनाउँछिन्, ‘तथापि, नेपाल सरकारले बनाएका डिजिटल कन्टेन्टहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि झन् कठिन साबित भएको छ ।’
खासगरी सरकारी डिजिटल प्लेटफर्महरू होस् या अन्य कुनै सार्वजनिक निकायका डिजिटल मोबिलिटीहरू हुन्; ती प्लेटफर्महरू बनाउने बेलामा होस् वा बनाउँदा पनि सुरुआतका क्षणहरूबाट अपाङ्गता भएका व्यक्तिहरूसँग एक पटक पनि परामर्श नगर्नाले यो समस्या आइरहेको सरिता सुनाउँछिन् ।
‘नेपालका जति पनि सरकारी तथा सार्वजनिक निकायहरू छन् उनीहरूले कुनै पनि सूचना निकाल्दा पीडीएफ फर्म्याटमा राखिदिन्छन् । जुन दृष्टि सम्बन्धी अपाङ्गता झएका व्यक्तिहरूले स्त्रिन रिडरबाट थाहा पाउन सक्दैनन् । यसले उहाँहरूको सूचना पाउनुपर्ने हकको हनन् भइरहेको हुन्छ ।’
‘परामर्श त्यतिबेला गरिन्छ, जतिबेला त्यो प्लेटफर्म बनिसकेर जब समस्या आउँछ अनि मात्र एउटा प्रयोगकर्ताको हिसाब मात्रै सोधिने गर्दा दृष्टिगत अपाङ्गता भएका व्यक्तिहरू मारमा परेका छन्’ उनी प्रश्न गर्छिन्, ‘टिकटिके बाहेकका एन्ड्रोइड र आईओएस भर्सनमा बनेका स्मार्टफोनहरू युनिभर्सल मापदण्डमा बन्न हुने, तर नेपाल सरकार र यहाँका सार्वजनिक निकायले त्यो फलो किन नगर्ने ? हामीमाथि यो चरम विभेद किन ?’
सफ्टवेयर किन्न समेत झमेला
दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई सुलभताको पहुँचमा पनि समस्या रहेको सरिताको भनाइ छ । ‘कुनै सफ्टवेयर किन्नुपर्दा नै नेपालबाट डलर कार्डमा किन्न सक्ने स्थिति छैन । किनकि यो सरकारको नीति नै नेपालबाट बाहिर पैसा पठाउन नदिने रहेको छ । हामीले दृष्टि सम्बन्धी महिलालाई क्यास रिडर दिने योजना बनायौं । तर राष्ट्र बैंकको नीति बाधक भइदिनाले हामीले किनेर दिन सकेनौं ।’
अझ नेपाली भाषामा बनाइने डकुमेन्टहरू प्रीति फन्टमा बनाउने प्रचलन छँदैछ । यो फन्टले दृष्टिगत अपाङ्गता भएका व्यक्तिहरूका लागि सबैभन्दा ठूलो बाधक हुने सरिताको गुनासो छ । उनी भन्छिन्, ‘अहिले नेपाली भाषामा वेबसाइटहरू बनाउँदा डकुमेन्ट प्रीति फन्टमा राखेर, युनिकोट फन्टहरू राख्दा पनि पीडीएफ फर्म्याटमा राखिएको हुन्छ, जसले हामी जस्ता अपाङ्गता झएका व्यक्तिहरूले स्त्रिन रिडरको सहायताले पढ्न सक्दैनौं । सूचना वा जानकारी लिन सक्दैनौं ।’
‘हाम्रा लागि तस्वीर आफैं बोल्दैन’
भनिन्छ, शब्दहरू लेख्नै पर्दैन, तस्वीर आफैं बोल्छ । तर दृष्टिविहीनका लागि भने यो उखानले कुनै अर्थ नदिने सरिताको भनाइ छ । उनी भन्छिन्, ‘अहिले उही उखान चरितार्थ गर्दै सरकारी निकाय, सार्वजनिक सञ्चारमाध्यम र त्रिभुवन विश्वविद्यालय, बैंक तथा वित्तीय संस्था, सार्वजनिक बाटोघाटो, बिजुलीको पोल, अस्पताल लगायत हरेक ठाउँमा तस्वीर टाँगिएको हुन्छ । तर, त्यहाँ सांकेतिक भाषा वा ब्रेललिपिको भाषा प्रयोगमा हुँदैन ।’
सरकारी निकायले कुनै सूचना वेबसाइटमा निकाल्दा फोटो वा पीडीएफ फर्म्याटमा राखिदिने, मेनस्ट्रिम सञ्चारमाध्यमहरू (रेडियो बाहेक) ले समाचार लेख्दा तस्वीर हाल्ने तर क्याप्सन नलेखिदिने, बैंक तथा वित्तीय संस्था पनि सूचना वा रोजगारको लागि निकालेको सूचना फोटो बनाएर वेबसाइटमा राखिदिने वा भित्तामा टाँसिदिने गर्नाले आफूहरू थप तस्वीर आफैं बोल्छको सिकार दिनप्रतिदिन भइरहेको सरिताको बुझाइ छ ।
‘न त इलेक्ट्रोनिक इन्जिनियरिङको पाठ्यक्रममा अपाङ्गता र पहुँचयुक्तता छ, न विद्यालयको पाठ्यक्रममा’ उनी लख काट्दै भन्छिन्, ‘कहीं न कहीं नियत सही भए पनि नियति चाहिं खराब बन्दिएको हो कि !’ अब आईसीटी क्षेत्रमा डिजिटल पहुँचयुक्तताको बहस र अध्ययनको विषय बनाइनुपर्नेमा उनको जोड छ ।
त्रिभुवन विश्वविद्यालय र शिक्षक सेवा आयोगको हालत पनि उही
शिक्षाको सबैभन्दा ठूलो र बढी विद्यार्थी भएको ठाउँ हो त्रिभुवन विश्वविद्यालय । त्रिविमा अहिले कम्प्युटर र अत्याधुनिक प्रविधिहरू जडान गरिएका छन् । तर उक्त प्रविधिसँग जति नै परिचित भए तापनि त्यसको माध्यमबाट आत्मनिर्भरताका साथ परीक्षामा सामेल हुने कुरा अपाङ्गता भएका व्यक्तिहरूलाई ‘आकाशको फल आँखा तरी मर’ भएको सरिताको गुनासो छ । डिजिटल रूपान्तरण भन्दै अनलाइन प्रणालीबाट परीक्षा आवेदन फारम भर्ने परिपाटी भए तापनि त्यो प्रणाली समेत पहुँचयुक्त नरहेको उनी बताउँछिन् ।
प्रयत्न नेपालले गरेको पहुँचयुक्तताको लेखा परीक्षण प्रतिवेदन अनुसार त्रिविको वेबसाइटमा अवरोधहरूको ज्वलन्त नमूना भेटिन्छ । ‘त्रिविको वेबसाइटमा सामग्रीको दोहोरिने ब्लकलाई बाइपास गर्ने संयन्त्र नहुँदा कम्प्युटर सञ्चालन गर्दा किबोर्डमा निर्भर रहनुपर्ने व्यक्तिहरूले मुख्य सामग्री (विषय) मा पुग्न प्रत्येक पटक दोहोर्याएर सबै सामग्री पार गर्नुपर्छ’ उनी भन्छिन्, ‘विश्वविद्यालयको वेबसाइटमा प्रयोग भएका चित्रहरूको वैकल्पिक अक्षर ‘एएलटी टीईएक्सटी’ र ‘क्याप्सन’ नराखिदिंदा दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरू सत्य र तथ्य सूचना लिनबाट वञ्चित भइरहेका छन् ।’
शीर्षकहरूलाई तार्किक पदानुक्रममा नराखिदिंदा दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरूले शीर्षक र उप–शीर्षकहरूको तार्किक संरचनाहरू बुझ्न कठिनाइहरूको सामना गर्नुपरिरहेको उनको बुझाइ छ । ‘थप पढ्नुहोस् र यहाँ क्लिक गर्नुहोस् जस्ता अस्पष्ट कुरा उल्लेख गरी लिङ्कहरू राखिदिंदा स्क्रिन रिडर प्रयोगकर्ताहरूलाई ती लिङ्क बुझ्न र अन्तरक्रिया गर्न समस्याहरूको सामना गर्नुपरेको छ’, उनी आक्रोश पोख्छिन् ।
त्रिविको मात्रै होइन लोक सेवा अनि शिक्षक सेवा आयोगका वेबसाइटमा प्रायःजसो सामग्रीहरू नेपाली भाषाको प्रीति फन्टमा कि युनिकोडमा भए तापनि पीडीएफ ढाँचामा राखेको पाइन्छ जसले अध्ययन प्रक्रियामा अवरोध हुने गरेको उनको ठम्याइ छ । ती सरकारी निकायका वेबसाइटमा प्रयोग भएका तत्वहरूको नाम सहज तरिकाले बुझिने र स्पष्ट नहुँदा प्रभावकारी नदेखिएको उनी बताउँछिन् ।
उनी सुझाव दिन्छिन्, ‘अब त्रिभुवन विश्वविद्यालयद्वारा कर्मचारीका लागि प्रदान गरिने सेवा प्रवेश तथा सेवाकालीन तालिमहरूमा पहुँचयुक्त डिजिटल सामग्री निर्माणको विषय समावेश गर्नुपर्छ ।’
यति मात्रै नभई दृष्टिविहीन, बहिरा, सुस्तश्रवण, श्रवणदृष्टिविहीन जस्ता अपाङ्गता भएका व्यक्तिलाई उपयुक्त भाषा, तरिका, लिपि, पाठ्यक्रम, पाठ्यपुस्तक, अपाङ्गतामैत्री शैक्षिक सामग्रीको व्यवस्था लगायतका पहुँचयुक्त सूचनाप्रविधिको माध्यमबाट शिक्षा प्रदान गरिनुपर्नेमा सरिताको जोड छ ।

यसका साथै अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ को अक्षरशः कार्यान्वयन तथा पालना गर्दै हरेक तह र क्षेत्रका सरकारी, गैरसरकारी, निजी शैक्षिक तथा सार्वजनिक संरचना अपाङ्गतामैत्री बनाइनुपर्ने उनको माग छ ।
‘विश्वविद्यालयको वेबसाइटको पहुँचयुक्तताको परीक्षणबाट आएका निष्कर्षहरूलाई अंगीकार गरी पहुँचयुक्त बनाई लोगो तथा सबै तस्वीरमा वैकल्पिक अक्षर ‘अल्टरनेटिभ टेक्स्ट/एएलटीटेक्स्ट’ र क्याप्सनिङको प्रयोग गरिनुपर्छ’ उनी माग गर्छिन्, ‘विश्वविद्यालयबाट प्रकाशन गरिने सबै डिजिटल सामग्रीहरू नेपाली युनिकोड फन्ट प्रयोग गरी डक, टीएक्सटी वा एचटीएमएल ढाँचामा राखियोस् !’
साथै विश्वविद्यालयद्वारा निर्माण गरिने सबै अडियो र भिडियो सामग्रीहरूमा क्याप्सनका साथै साङ्केतिक भाषा र ट्रान्सक्रिप्ट गराउनुपर्नेमा उनको सुझाव छ ।
अब शैक्षिक संस्थाले वेब कन्टेन्ट एक्सेसिबलिटी गाइडलाइन राख्नुपर्ने र डिजिटल पहुँचयुक्तता के हो र त्यसका सिद्धान्त के हुन् अनि कसरी डिजिटल पहुँचयुक्तता सामग्री निर्माण गर्न सकिन्छ भन्ने शीर्षक र विषयवस्तु पाठ्यक्रममा राख्नुपर्नेमा उनी सुझाउँछिन् । यस्तै पाठ्यक्रममै नभए पनि गेस्ट लेक्चरको रूपमा भए पनि वार्षिक रूपमा दुई/तीन पटक हरेक कलेज वा शैक्षिक संस्थाले हेरिदिनुपर्नेमा उनको माग छ ।
यस्तै शिक्षक सेवा आयोग र लोक सेवा आयोगमा पनि सूचना निकाल्दा फोटो नभई युनिकोडमा सूचनाहरू सम्प्रेषण गर्न उनको माग छ । भन्छिन्, ‘कम्तीमा शिक्षक सेवा र लोक सेवाले फोटोमा नराखी युनिकोडमा सूचना वा विज्ञापन राखिदिए हामी जस्ता दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उक्त सूचना पढ्न अरूको सहारा लिन पर्दैन । मोबाइल र कम्प्युटरको स्क्रिन रिडरले युनिकोड आफैं पढिदिन्छ ।’
यस्ता अनेकौं उपेक्षालाई फरक क्षमताले, अनि उपचारको माध्यमबाट आफू निको भएपछि अरूका लागि गरेको योगदानकै कारण सरिता अचेल दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि आफैंमा एउटा प्रेरणाको पुञ्ज बन्न सकेकी छन् ।