
बिहानको झिसमिसे उज्यालोसँगै ठीक ६ बजे बिनटोलका बालबालिका शिवनाथ राउत कहारको दैलोमा पुग्छन्— ट्युसन पढ्न । बिहान ८ बजेसम्म उनका घरमा करिब ३० जना बालबालिकाको ट्युसन कक्षा चल्छ । यी बालबालिकालाई सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बबरगञ्ज बिनटोलका शिक्षक शिवनाथले ट्युसन पढाउँछन् ।
उनको ट्युसनमा प्रायः दलित र विपन्न परिवारका बालबालिका हुन्छन् । यहाँ पढ्न आउने विद्यार्थी र उनीहरूका अभिभावकले कहिल्यै शुल्क तिर्नु पर्दैन, किनकि यो शिवनाथले समाजसेवाको रूपमा सञ्चालन गरेको निःशुल्क ट्युसन हो । बिनटोलमा झण्डै अढाइ वर्षदेखि यो ट्युसन चलिरहेको छ ।
‘बिहान ६ बजेदेखि ८ बजेसम्म घरमै ट्युसन पढाउँछु । पढ्नेहरू बिनटोलका अत्यन्त विपन्न दलित परिवारका बालबालिका छन् । ट्युसन पढाउँदा अभिभावकले पनि बालबालिकालाई स्कूल पठाउँछन् । भविष्य उज्वल हुन्छ’, शिवनाथले सुनाए ।
शिवनाथ खुट्टाको अपांगता भएका व्यक्ति हुन् । तिघ्रादेखि तलसम्मको खुट्टाले काम नगर्दा उनी लट्ठीको सहारामा मात्र हिंडडुल गर्न सक्छन् । शारीरिक रूपमा अपांगता भए पनि उनको आत्मबल मजबुत छ ।
कुनै पनि गरिब, विपन्न र दलित समुदायका बालबालिका शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने सोचका साथ शिवनाथले नौ वर्षदेखि अनवरत निःशुल्क ट्युसन पढाउँदै आएका छन् ।
अहिले उनको घरमा चलिरहेको ट्युसन तेस्रो स्थान हो । यसअघि घरभन्दा अलि पर बिर्ता बजार नजिक मुसहर बस्तीमा उनको निःशुल्क ट्युसन तीन वर्ष चल्यो । जहाँ ४० जना मुसहर समुदायका बालबालिकालाई पढाए । उनीहरूलाई विद्यालय पठाउने वातावरण बनाए शिवनाथले । शिवनाथले त्यस अघि चाँदनीचोक मुसहर बस्तीका ५० जना बालबालिकालाई झण्डै ४ वर्ष निःशुल्क ट्युसन पढाएका थिए ।
बिर्ता मुसहर बस्तीका फनिलाल सदाका अनुसार शिवनाथले ट्युसन पढाउन आउनुअघि धेरै बालबालिका पढ्न विद्यालय जाँदैनथे । ‘पहिले त्यति बच्चा स्कूल जान्थेनन् । खेलेर समय बिताउँथे । शिवनाथले ट्युसन पढाउन थालेपछि बच्चाहरू स्कूल जान थाले’ फनिलाल सदाले भने ‘उनले ट्युसन पढाउन थालेपछि कतिपय बच्चा स्कूल जान छाडेका थिए । पछि फेरि स्कूल जान थाले ।’
ट्युसनको क्रममा गाउँका केही व्यक्तिहरूले भाँड्ने प्रयास पनि गरे । उनी संयमित भए । विपन्न दलित समुदायका बालबालिकालाई जसरी पनि जोडबल गरेर पढाउनुपर्छ भन्ने शिवनाथको अभियान हो ।
त्यस कारण पढ्न र विद्यालय जान नचाहने बालबालिका तथा पढाइप्रति चासो नराख्ने अभिभावकलाई शिवनाथले फकाएर त्यसतर्फ डोर्याउन खोज्छन् । शिक्षाले कालान्तरमा हुने फाइदा तथा महत्वको बारेमा भनेर अभिभावकलाई प्रभावित गर्ने प्रयास गर्दै पढाइको वातावरण बनाउने शिल्प उनीसँग छ ।
‘दलित समुदाय यतिकै शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा पिछडिएका छन् । बालबालिका पढेनन् भने पुस्तौं पछाडि धकेलिन्छन् । शिक्षा विना कसैको जीवनस्तर कहिल्यै उँभो लाग्दैन’, शिवनाथको भनाइ छ ।
शिवनाथ यत्तिकैमा सीमित छैनन्, अपांगता भएका तथा अशक्तलाई सहयोगको अभियानमा पनि उनी खट्छन् । विभिन्न संस्थासँग समन्वय गरेर सहयोग गराउने कार्यमा अग्रपंक्तिमा हुन्छन् ।
यस अभियानले पढ्न नपाएका दलित तथा विपन्न परिवारका बालबालिका पढ्न पाएका छन् । विद्यालय जान थालेका छन् । अशक्त अपांगता भएकाहरूले सहयोग पाउँछन् ।
स्थानीय बद्री बिनका पाँच नातिनातिनालाई शिवनाथले ट्युसन पढाउँछन् । फुसको घर जीर्ण भइसकेको उनको परिवारलाई खान–लाउनै धौ–धौ छ । पाँच जना बालबालिकालाई पढाउन उनले सोचेकै थिएनन् । तर शिवनाथकै जोडबलमा आफ्ना पाँच नातिनातिना पढाइरहेको बिनकी पत्नी कान्ति मुखियाको भनाइ छ ।
‘शिवनाथले नभनेको भए, मेरा नातिनातिना पढ्ने नै थिएनन् । खानलाउनै मुस्किल छ । शिवनाथले नै ट्युसन पढाउनुहुन्छ । स्कूल पठाउन भन्नुभयो । अनि नातिनातिनालाई स्कूल पठाउँछु । शिवनाथले ट्युसन पढाएको पैसा लिनुहुन्न’, कान्ति मुखियाले सुनाइन् ।
एसएलसीपछि उनले थालेका थिए निःशुल्क ट्युसन
शिवनाथले निःशुल्क ट्युसन पढाउने र बालबालिकालाई शिक्षामा प्रेरित गर्ने काम कक्षा १० मै अध्ययनरत हुँदा शुरू गरेका थिए । त्यतिबेला दलित र अशक्तहरूको एउटा समिति गठन भएको थियो ।
जसको अध्यक्ष उनलाई बनाइयो । समितिलाई एउटा संस्थाले अशक्त, अपांगता भएकाहरूलाई वितरण गर्न ३० हजार रुपैयाँ सहयोग गरेको थियो । प्रत्येक अपांगता भएका र अशक्तलाई ४०० रुपैयाँसम्म वितरण गर्न शिवनाथ दलित बस्तीहरूमा पुगेका थिए । त्यस क्रममा मुसहर बस्तीका बालबालिका विद्यालय नजाने गरेको, दिनभर खेल्दै बिताउने र अभिभावकहरूलाई पनि कुनै चासो नरहेको दृश्य देखे ।
‘म त्यसरी बस्तीमा पुग्दा नजिकबाट दलित र विपन्न बालबालिकालाई खेल्दै गरेको मात्र देखें, पढ्ने–लेख्ने कतै थिएनन् । अभिभावकलाई पनि वास्ता थिएन । बालबालिकाको भविष्य झन् अन्धकार हुने देखें । त्यसपछि उनीहरूलाई पढ्ने वातावरण बनाउनुपर्छ भन्ने लाग्यो’, शिवनाथ विगत सुनाउँछन् ।
२०६८ सालमा उनले चन्द्रपुर गाउँपालिका–२ बबरगञ्जस्थित दुर्गा खोबारी जनता माविबाट एसएलसी पास गरे । त्यसपछि मुसहर बस्तीका बालबालिकालाई निःशुल्क ट्युसन पढाउने कामसँगै आफ्नो उच्च शिक्षा पनि अगाडि बढाए । ‘म एसएलसी पास भएपछि मुसहर बस्तीमा निःशुल्क ट्युसन शुरु गरें । अभिभावकसँग कुरा गरेर बच्चाहरूलाई विद्यालय पठाउने वातावरण बनाउन थालें’, उनले सम्झिए ।
पढाउने क्रममा धेरै दलित र विपन्न परिवारसँग कापी–कलम किन्नेसम्मको क्षमता नभएको थाहा पाए । उनले विभिन्न संस्थाहरूसँग समन्वय गरेर कापी, कलम, झोला लगायतका पठन सामग्री बालबालिकालाई उपलब्ध गराउने प्रयासहरू थाले । ‘संस्थाहरूसँग मिलेर बेला–बेला विपन्न समुदायका विद्यार्थीलाई कापी–कलम वितरण गर्दै गयौं । ट्युसन पनि प्रभावकारी बन्दै गयो’, शिवनाथ भन्छन् ।
एसएलसी पास गरेपछि लगनशीलता र जेहेन्दारका कारण दुर्गा खोबारी जनता माविले शिवनाथलाई न्यूनतम पारिश्रमिकमा निजी स्रोतको शिक्षकका रूपमा नियुक्त गर्यो । यसमा तत्कालीन प्रधानाध्यापक वाल्मीकि सिंहको विशेष पहल थियो । शिवनाथले प्राथमिक तहका विद्यार्थीलाई पढाउँथे र त्यहींबाट कक्षा ११ मा अध्ययन थाले । यसरी उनले सहजै प्लस टू तहको अध्ययन अघि बढाए ।
शिवनाथको संघर्ष यात्रा
शिवनाथ, बुबा चुल्हाइ राउत र आमा स्व. ललिता देवीका पाँच छोरामध्ये कान्छा हुन् । २०४८ साल वैशाख १ गते जन्मिएका शिवनाथको शारीरिक अवस्था सामान्य थियो । तर एक महिनापछि अचानक उनलाई ज्वरोले च्याप्यो । उपचारको क्रममा डाक्टरले दायाँ तिघ्रामा सुई लगाएपछि त्यो भाग क्रमशः सुक्न थाल्यो र अन्ततः उनको दायाँ खुट्टा सधैंका लागि गुम्यो । यो घटना अझै पनि उनका बुबा चुल्हाइका मनमा ताजै छ ।
‘जन्मेको एक महिना हुँदा नै ज्वरोले बेस्सरी च्याप्यो । समयमै निको भएन । डाक्टरले तिघ्रामा सुई लगाएपछि विस्तारै सुक्न थाल्यो । गरिब भए पनि उपचारमा कुनै कसर बाँकी राखिएन, तर छोराको खुट्टा निको हुन सकेन’, बुबा चुल्हाइ अतीत सुनाउँछन् ।
शरीरले अशक्त भए पनि शिवनाथको आत्मबल भने कहिल्यै कमजोर भएन । जेठो दाजु रामनाथ, माइलो रामविश्वास, साहिंलो रामकेवल र काहिंलो विगनाथका बीच उनी सधैं आत्मविश्वासका साथ अघि बढे ।
९ वर्षको उमेरसम्म उनी हिंड्न सकेनन् । अरू बालबालिकालाई विद्यालय जाँदै गरेको देख्दा उनलाई पनि पढ्न मन लाग्थ्यो । तर हिंड्न नसक्दा विद्यालय पुग्न गाह्रो हुन्थ्यो । उनले जिद्दी गर्दा बुबाले बोकेर विद्यालय पुर्याइदिन्थे । पछि आफैं घस्रिएर जान थाले । विद्यालय जाँदा–आउँदा शरीरभर धुलो–माटोले भरिन्थ्यो, कहिले काँडा घोचिन्थ्यो, कहिले सिसाले काटिन्थ्यो । कैयौं पटक पल्टिन्थे । अरू बच्चाहरू उनलाई हेरेर घृणा गर्थे । यो देख्दा बुबाको मन पग्लिन्थ्यो ।
बुबा सम्झिन्छन्, ‘धुलैधुलो भएर आइपुग्थ्यो । माया लागेर ‘मैले कमाएर पाल्छु, पढ्न नजाऊ’ भन्थें । तर शिवनाथको जिद्दीसामु बुबा पनि हार मान्थे । तर पनि जिद्दी गरेर कक्षा ५ सम्म हात र घुँडाको सहारामा विद्यालय जान्थे । ‘५ कक्षासम्म म घुँडा–हातको सहारामा विद्यालय जान्थें । धेरै पटक लडें, चोट लाग्यो, तर हार मानिनँ’, शिवनाथ सुनाउँछन् ।
कक्षा ५ पास गरेपछि उनी लट्ठीको सहारामा हिंड्ने अभ्यास गर्न थाले । झण्डै ६ महिनाको प्रयासपछि उनी लट्ठीको भरमा हिंड्न थाले र जीवन अलि सहज भयो । कक्षा ६ मा पहिलोपटक पाइन्ट–सर्ट लगाउँदा उनी निकै खुशी भएको शिवनाथ सुनाउँछन् ।
कक्षा ८ सम्म पुग्दा उनले एक खुट्टाले नै साइकल पनि चलाउन थाले । त्यसले उनलाई झन् सजिलो बनायो । कक्षा १२ सम्म उनले घर नजिकैको खोबारी जनता माध्यमिक विद्यालयमा पढे ।
शिवनाथको चाहना विज्ञान विषय पढेर इन्जिनियर बन्ने थियो, तर त्यसका लागि टाढा जानुपर्ने र आर्थिक अवस्था कमजोर भएकाले सम्भव भएन । त्यसपछि उनले घरदेखि करिब ७ किलोमिटर टाढा रहेको सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित श्रीनारायण बहुमुखी क्याम्पसमा अंग्रेजी विषयमा स्नातकसम्म पढे ।
विपन्न घरका मनकारी शिवनाथ
पढ्दै–पढाउँदै शिवनाथले यहाँसम्मको यात्रा तय गरेका छन् । यद्यपि, उनको घरको आर्थिक अवस्था खासै राम्रो छैन । दाजुहरू झण्डै एक दशकअघि नै अलग भइसकेका छन् । परिवारमा बुबा चुल्हाइ, पत्नी नीलम कुमारी र दुई छोरा– ९ वर्षीय आशिष र ७ वर्षीय आदित्य रहेका छन् । आमाको एक वर्षअघि देहावसान भयो । आशिष कक्षा २ मा र आदित्य यूकेजीमा पढिरहेका छन् । समाजका अन्य बालबालिकासँगै आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि पनि उनी निरन्तर संघर्षरत छन् ।
हाल शिवनाथसँग ८ धुरको घडेरी छ । यसै घडेरीमा दाजुभाइ मिलेर बनाएको सानो पक्की घर छ । बुबाको पाँच कठ्ठा पैतृक जग्गामध्ये उनको भागमा एक कठ्ठा खेत मात्र परेको छ । विद्यालयमा अस्थायी रूपमा निजी स्रोतबाट पढाउँदा आउने केही रकम र घरमा पालेको एउटा भैंसी–बाख्राबाट घर खर्च चलाउँछन् । केही दिनअघि विद्यालयको जागिर गुमे पनि उनी निराश छैनन् ।
शिवनाथमा अझै संघर्ष गर्ने आँट छ । कुनै विकल्प खोज्दै अघि बढ्ने र निःशुल्क ट्युसनसँगै समाजसेवा पनि जारी राख्ने दृढता उनको छ । उनी भन्छन्, ‘मेरो पहिचान नै निःशुल्क ट्युसन मास्टर भएको छ । यसले विपन्न परिवारको जीवनमा केही भए पनि अवश्य परिवर्तन आउँछ । पैसा नै सबैथोक होइन । मिहिनेत गरेर जेनतेन परिवार चल्छ । तर शुल्क लिएर ट्युसन पढाउने मनस्थितिमा म छैन । शुल्क लिएर पढाउन आग्रह गर्ने पनि धेरै हुन्छन्, तर म इन्कार गर्छु ।’
शिवनाथको यो कामबाट प्रभावित भएर सर्लाही क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचित लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले चार वर्षअघि उनलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए । ‘शिवनाथ समाजसेवी व्यक्ति हुनुहुन्छ । आफैं फरक क्षमताको भएर पनि विपन्न बालबालिकालाई निःशुल्क ट्युसन र असहाय–अशक्तहरूको सहयोगमा लाग्नु सामान्य कुरा होइन । त्यसैले मैले पनि सहयोग गरेको हुँ । उहाँले कहिलेकाहीं मलाई पनि अशक्तहरूका लागि भन्नुहुन्छ, म सकेको सहयोग गर्छु’, प्रदेश सांसद महतो भन्छन् ।
प्रदेश सांसदको सहयोगमा थप गरेर शिवनाथले एउटा स्कुटी किनेका छन् । स्कुटीले उनलाई आउजाउ गर्न सहज भएको छ । बाहिरका मानिसहरूले भेटेर प्रोत्साहन गर्दा उनी धेरै खुशी हुन्छन् । ‘मेरो आत्मबल बढ्छ । अझै केही गर्नुपर्छ भन्ने लाग्छ । त्यसैले निरन्तर अघि बढ्छु’, उनी भन्छन् ।
आजको दिनमा शिवनाथ जस्तो विना पैसा ट्युसन पढाउने र सहयोग गर्ने मानिस भेट्न निकै मुश्किल रहेको भन्दै स्थानीय सुकेशरी मुखिया प्रशंसा गर्छिन् ।