विपन्न बस्तीका ट्युसन मास्टर
बिहानको झिसमिसे उज्यालोसँगै ठीक ६ बजे बिनटोलका बालबालिका शिवनाथ राउत कहारको दैलोमा पुग्छन्— ट्युसन पढ्न । बिहान ८ बजेसम्म उनका घरमा करिब ३० जना बालबालिकाको ट्युसन कक्षा चल्छ । यी बालबालिकालाई सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बबरगञ्ज बिनटोलका शिक्षक शिवनाथले ट्युसन पढाउँछन् ।
उनको ट्युसनमा प्रायः दलित र विपन्न परिवारका बालबालिका हुन्छन् । यहाँ पढ्न आउने विद्यार्थी र उनीहरूका अभिभावकले कहिल्यै शुल्क तिर्नु पर्दैन, किनकि यो शिवनाथले समाजसेवाको रूपमा सञ्चालन गरेको निःशुल्क ट्युसन हो । बिनटोलमा झण्डै अढाइ वर्षदेखि यो ट्युसन चलिरहेको छ ।
‘बिहान ६ बजेदेखि ८ बजेसम्म घरमै ट्युसन पढाउँछु । पढ्नेहरू बिनटोलका अत्यन्त विपन्न दलित परिवारका बालबालिका छन् । ट्युसन पढाउँदा अभिभावकले पनि बालबालिकालाई स्कूल पठाउँछन् । भविष्य उज्वल हुन्छ’, शिवनाथले सुनाए ।
शिवनाथ खुट्टाको अपांगता भएका व्यक्ति हुन् । तिघ्रादेखि तलसम्मको खुट्टाले काम नगर्दा उनी लट्ठीको सहारामा मात्र हिंडडुल गर्न सक्छन् । शारीरिक रूपमा अपांगता भए पनि उनको आत्मबल मजबुत छ ।
कुनै पनि गरिब, विपन्न र दलित समुदायका बालबालिका शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने सोचका साथ शिवनाथले नौ वर्षदेखि अनवरत निःशुल्क ट्युसन पढाउँदै आएका छन् ।

अहिले उनको घरमा चलिरहेको ट्युसन तेस्रो स्थान हो । यसअघि घरभन्दा अलि पर बिर्ता बजार नजिक मुसहर बस्तीमा उनको निःशुल्क ट्युसन तीन वर्ष चल्यो । जहाँ ४० जना मुसहर समुदायका बालबालिकालाई पढाए । उनीहरूलाई विद्यालय पठाउने वातावरण बनाए शिवनाथले । शिवनाथले त्यस अघि चाँदनीचोक मुसहर बस्तीका ५० जना बालबालिकालाई झण्डै ४ वर्ष निःशुल्क ट्युसन पढाएका थिए ।
बिर्ता मुसहर बस्तीका फनिलाल सदाका अनुसार शिवनाथले ट्युसन पढाउन आउनुअघि धेरै बालबालिका पढ्न विद्यालय जाँदैनथे । ‘पहिले त्यति बच्चा स्कूल जान्थेनन् । खेलेर समय बिताउँथे । शिवनाथले ट्युसन पढाउन थालेपछि बच्चाहरू स्कूल जान थाले’ फनिलाल सदाले भने ‘उनले ट्युसन पढाउन थालेपछि कतिपय बच्चा स्कूल जान छाडेका थिए । पछि फेरि स्कूल जान थाले ।’
ट्युसनको क्रममा गाउँका केही व्यक्तिहरूले भाँड्ने प्रयास पनि गरे । उनी संयमित भए । विपन्न दलित समुदायका बालबालिकालाई जसरी पनि जोडबल गरेर पढाउनुपर्छ भन्ने शिवनाथको अभियान हो ।
त्यस कारण पढ्न र विद्यालय जान नचाहने बालबालिका तथा पढाइप्रति चासो नराख्ने अभिभावकलाई शिवनाथले फकाएर त्यसतर्फ डोर्याउन खोज्छन् । शिक्षाले कालान्तरमा हुने फाइदा तथा महत्वको बारेमा भनेर अभिभावकलाई प्रभावित गर्ने प्रयास गर्दै पढाइको वातावरण बनाउने शिल्प उनीसँग छ ।
‘दलित समुदाय यतिकै शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा पिछडिएका छन् । बालबालिका पढेनन् भने पुस्तौं पछाडि धकेलिन्छन् । शिक्षा विना कसैको जीवनस्तर कहिल्यै उँभो लाग्दैन’, शिवनाथको भनाइ छ ।
शिवनाथ यत्तिकैमा सीमित छैनन्, अपांगता भएका तथा अशक्तलाई सहयोगको अभियानमा पनि उनी खट्छन् । विभिन्न संस्थासँग समन्वय गरेर सहयोग गराउने कार्यमा अग्रपंक्तिमा हुन्छन् ।
यस अभियानले पढ्न नपाएका दलित तथा विपन्न परिवारका बालबालिका पढ्न पाएका छन् । विद्यालय जान थालेका छन् । अशक्त अपांगता भएकाहरूले सहयोग पाउँछन् ।
स्थानीय बद्री बिनका पाँच नातिनातिनालाई शिवनाथले ट्युसन पढाउँछन् । फुसको घर जीर्ण भइसकेको उनको परिवारलाई खान–लाउनै धौ–धौ छ । पाँच जना बालबालिकालाई पढाउन उनले सोचेकै थिएनन् । तर शिवनाथकै जोडबलमा आफ्ना पाँच नातिनातिना पढाइरहेको बिनकी पत्नी कान्ति मुखियाको भनाइ छ ।
‘शिवनाथले नभनेको भए, मेरा नातिनातिना पढ्ने नै थिएनन् । खानलाउनै मुस्किल छ । शिवनाथले नै ट्युसन पढाउनुहुन्छ । स्कूल पठाउन भन्नुभयो । अनि नातिनातिनालाई स्कूल पठाउँछु । शिवनाथले ट्युसन पढाएको पैसा लिनुहुन्न’, कान्ति मुखियाले सुनाइन् ।
एसएलसीपछि उनले थालेका थिए निःशुल्क ट्युसन
शिवनाथले निःशुल्क ट्युसन पढाउने र बालबालिकालाई शिक्षामा प्रेरित गर्ने काम कक्षा १० मै अध्ययनरत हुँदा शुरू गरेका थिए । त्यतिबेला दलित र अशक्तहरूको एउटा समिति गठन भएको थियो ।
जसको अध्यक्ष उनलाई बनाइयो । समितिलाई एउटा संस्थाले अशक्त, अपांगता भएकाहरूलाई वितरण गर्न ३० हजार रुपैयाँ सहयोग गरेको थियो । प्रत्येक अपांगता भएका र अशक्तलाई ४०० रुपैयाँसम्म वितरण गर्न शिवनाथ दलित बस्तीहरूमा पुगेका थिए । त्यस क्रममा मुसहर बस्तीका बालबालिका विद्यालय नजाने गरेको, दिनभर खेल्दै बिताउने र अभिभावकहरूलाई पनि कुनै चासो नरहेको दृश्य देखे ।
‘म त्यसरी बस्तीमा पुग्दा नजिकबाट दलित र विपन्न बालबालिकालाई खेल्दै गरेको मात्र देखें, पढ्ने–लेख्ने कतै थिएनन् । अभिभावकलाई पनि वास्ता थिएन । बालबालिकाको भविष्य झन् अन्धकार हुने देखें । त्यसपछि उनीहरूलाई पढ्ने वातावरण बनाउनुपर्छ भन्ने लाग्यो’, शिवनाथ विगत सुनाउँछन् ।

२०६८ सालमा उनले चन्द्रपुर गाउँपालिका–२ बबरगञ्जस्थित दुर्गा खोबारी जनता माविबाट एसएलसी पास गरे । त्यसपछि मुसहर बस्तीका बालबालिकालाई निःशुल्क ट्युसन पढाउने कामसँगै आफ्नो उच्च शिक्षा पनि अगाडि बढाए । ‘म एसएलसी पास भएपछि मुसहर बस्तीमा निःशुल्क ट्युसन शुरु गरें । अभिभावकसँग कुरा गरेर बच्चाहरूलाई विद्यालय पठाउने वातावरण बनाउन थालें’, उनले सम्झिए ।
पढाउने क्रममा धेरै दलित र विपन्न परिवारसँग कापी–कलम किन्नेसम्मको क्षमता नभएको थाहा पाए । उनले विभिन्न संस्थाहरूसँग समन्वय गरेर कापी, कलम, झोला लगायतका पठन सामग्री बालबालिकालाई उपलब्ध गराउने प्रयासहरू थाले । ‘संस्थाहरूसँग मिलेर बेला–बेला विपन्न समुदायका विद्यार्थीलाई कापी–कलम वितरण गर्दै गयौं । ट्युसन पनि प्रभावकारी बन्दै गयो’, शिवनाथ भन्छन् ।
एसएलसी पास गरेपछि लगनशीलता र जेहेन्दारका कारण दुर्गा खोबारी जनता माविले शिवनाथलाई न्यूनतम पारिश्रमिकमा निजी स्रोतको शिक्षकका रूपमा नियुक्त गर्यो । यसमा तत्कालीन प्रधानाध्यापक वाल्मीकि सिंहको विशेष पहल थियो । शिवनाथले प्राथमिक तहका विद्यार्थीलाई पढाउँथे र त्यहींबाट कक्षा ११ मा अध्ययन थाले । यसरी उनले सहजै प्लस टू तहको अध्ययन अघि बढाए ।
शिवनाथको संघर्ष यात्रा
शिवनाथ, बुबा चुल्हाइ राउत र आमा स्व. ललिता देवीका पाँच छोरामध्ये कान्छा हुन् । २०४८ साल वैशाख १ गते जन्मिएका शिवनाथको शारीरिक अवस्था सामान्य थियो । तर एक महिनापछि अचानक उनलाई ज्वरोले च्याप्यो । उपचारको क्रममा डाक्टरले दायाँ तिघ्रामा सुई लगाएपछि त्यो भाग क्रमशः सुक्न थाल्यो र अन्ततः उनको दायाँ खुट्टा सधैंका लागि गुम्यो । यो घटना अझै पनि उनका बुबा चुल्हाइका मनमा ताजै छ ।
‘जन्मेको एक महिना हुँदा नै ज्वरोले बेस्सरी च्याप्यो । समयमै निको भएन । डाक्टरले तिघ्रामा सुई लगाएपछि विस्तारै सुक्न थाल्यो । गरिब भए पनि उपचारमा कुनै कसर बाँकी राखिएन, तर छोराको खुट्टा निको हुन सकेन’, बुबा चुल्हाइ अतीत सुनाउँछन् ।
शरीरले अशक्त भए पनि शिवनाथको आत्मबल भने कहिल्यै कमजोर भएन । जेठो दाजु रामनाथ, माइलो रामविश्वास, साहिंलो रामकेवल र काहिंलो विगनाथका बीच उनी सधैं आत्मविश्वासका साथ अघि बढे ।
९ वर्षको उमेरसम्म उनी हिंड्न सकेनन् । अरू बालबालिकालाई विद्यालय जाँदै गरेको देख्दा उनलाई पनि पढ्न मन लाग्थ्यो । तर हिंड्न नसक्दा विद्यालय पुग्न गाह्रो हुन्थ्यो । उनले जिद्दी गर्दा बुबाले बोकेर विद्यालय पुर्याइदिन्थे । पछि आफैं घस्रिएर जान थाले । विद्यालय जाँदा–आउँदा शरीरभर धुलो–माटोले भरिन्थ्यो, कहिले काँडा घोचिन्थ्यो, कहिले सिसाले काटिन्थ्यो । कैयौं पटक पल्टिन्थे । अरू बच्चाहरू उनलाई हेरेर घृणा गर्थे । यो देख्दा बुबाको मन पग्लिन्थ्यो ।

बुबा सम्झिन्छन्, ‘धुलैधुलो भएर आइपुग्थ्यो । माया लागेर ‘मैले कमाएर पाल्छु, पढ्न नजाऊ’ भन्थें । तर शिवनाथको जिद्दीसामु बुबा पनि हार मान्थे । तर पनि जिद्दी गरेर कक्षा ५ सम्म हात र घुँडाको सहारामा विद्यालय जान्थे । ‘५ कक्षासम्म म घुँडा–हातको सहारामा विद्यालय जान्थें । धेरै पटक लडें, चोट लाग्यो, तर हार मानिनँ’, शिवनाथ सुनाउँछन् ।
कक्षा ५ पास गरेपछि उनी लट्ठीको सहारामा हिंड्ने अभ्यास गर्न थाले । झण्डै ६ महिनाको प्रयासपछि उनी लट्ठीको भरमा हिंड्न थाले र जीवन अलि सहज भयो । कक्षा ६ मा पहिलोपटक पाइन्ट–सर्ट लगाउँदा उनी निकै खुशी भएको शिवनाथ सुनाउँछन् ।
कक्षा ८ सम्म पुग्दा उनले एक खुट्टाले नै साइकल पनि चलाउन थाले । त्यसले उनलाई झन् सजिलो बनायो । कक्षा १२ सम्म उनले घर नजिकैको खोबारी जनता माध्यमिक विद्यालयमा पढे ।
शिवनाथको चाहना विज्ञान विषय पढेर इन्जिनियर बन्ने थियो, तर त्यसका लागि टाढा जानुपर्ने र आर्थिक अवस्था कमजोर भएकाले सम्भव भएन । त्यसपछि उनले घरदेखि करिब ७ किलोमिटर टाढा रहेको सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित श्रीनारायण बहुमुखी क्याम्पसमा अंग्रेजी विषयमा स्नातकसम्म पढे ।
विपन्न घरका मनकारी शिवनाथ
पढ्दै–पढाउँदै शिवनाथले यहाँसम्मको यात्रा तय गरेका छन् । यद्यपि, उनको घरको आर्थिक अवस्था खासै राम्रो छैन । दाजुहरू झण्डै एक दशकअघि नै अलग भइसकेका छन् । परिवारमा बुबा चुल्हाइ, पत्नी नीलम कुमारी र दुई छोरा– ९ वर्षीय आशिष र ७ वर्षीय आदित्य रहेका छन् । आमाको एक वर्षअघि देहावसान भयो । आशिष कक्षा २ मा र आदित्य यूकेजीमा पढिरहेका छन् । समाजका अन्य बालबालिकासँगै आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि पनि उनी निरन्तर संघर्षरत छन् ।

हाल शिवनाथसँग ८ धुरको घडेरी छ । यसै घडेरीमा दाजुभाइ मिलेर बनाएको सानो पक्की घर छ । बुबाको पाँच कठ्ठा पैतृक जग्गामध्ये उनको भागमा एक कठ्ठा खेत मात्र परेको छ । विद्यालयमा अस्थायी रूपमा निजी स्रोतबाट पढाउँदा आउने केही रकम र घरमा पालेको एउटा भैंसी–बाख्राबाट घर खर्च चलाउँछन् । केही दिनअघि विद्यालयको जागिर गुमे पनि उनी निराश छैनन् ।
शिवनाथमा अझै संघर्ष गर्ने आँट छ । कुनै विकल्प खोज्दै अघि बढ्ने र निःशुल्क ट्युसनसँगै समाजसेवा पनि जारी राख्ने दृढता उनको छ । उनी भन्छन्, ‘मेरो पहिचान नै निःशुल्क ट्युसन मास्टर भएको छ । यसले विपन्न परिवारको जीवनमा केही भए पनि अवश्य परिवर्तन आउँछ । पैसा नै सबैथोक होइन । मिहिनेत गरेर जेनतेन परिवार चल्छ । तर शुल्क लिएर ट्युसन पढाउने मनस्थितिमा म छैन । शुल्क लिएर पढाउन आग्रह गर्ने पनि धेरै हुन्छन्, तर म इन्कार गर्छु ।’
शिवनाथको यो कामबाट प्रभावित भएर सर्लाही क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचित लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले चार वर्षअघि उनलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए । ‘शिवनाथ समाजसेवी व्यक्ति हुनुहुन्छ । आफैं फरक क्षमताको भएर पनि विपन्न बालबालिकालाई निःशुल्क ट्युसन र असहाय–अशक्तहरूको सहयोगमा लाग्नु सामान्य कुरा होइन । त्यसैले मैले पनि सहयोग गरेको हुँ । उहाँले कहिलेकाहीं मलाई पनि अशक्तहरूका लागि भन्नुहुन्छ, म सकेको सहयोग गर्छु’, प्रदेश सांसद महतो भन्छन् ।
प्रदेश सांसदको सहयोगमा थप गरेर शिवनाथले एउटा स्कुटी किनेका छन् । स्कुटीले उनलाई आउजाउ गर्न सहज भएको छ । बाहिरका मानिसहरूले भेटेर प्रोत्साहन गर्दा उनी धेरै खुशी हुन्छन् । ‘मेरो आत्मबल बढ्छ । अझै केही गर्नुपर्छ भन्ने लाग्छ । त्यसैले निरन्तर अघि बढ्छु’, उनी भन्छन् ।
आजको दिनमा शिवनाथ जस्तो विना पैसा ट्युसन पढाउने र सहयोग गर्ने मानिस भेट्न निकै मुश्किल रहेको भन्दै स्थानीय सुकेशरी मुखिया प्रशंसा गर्छिन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी