+

जसले हाल्दैछन् नमुना पालिकाको जग

पूरा सूची
Shares
कांग्रेस जस्तो प्रजातन्त्र जत्तिकै पुरानो पार्टीमा पसेर ३३ वर्षे ‘काँचा केटा’ प्रकाश तिवारीले आफूलाई स्थापित मात्रै गरेनन्‌; स्याङ्जा अर्जुनचौपारी गाउँपालिका प्रमुख बनेर केही नमूना मानकहरू रच्दैछन् ।
प्रकाश तिवारी

भारतको नानकदेव विश्वविद्यालयमा एमबीए पढेर गाउँ फर्कंदा स्याङ्जा अर्जुनचौपारीका प्रकाश तिवारी ३३ वर्षका थिए । कांग्रेस जस्तो प्रजातन्त्र जत्तिकै पुरानो र स्थापित दलको राजनीतिमा दशकौं दशक खाइखेली आएकाहरूका लागि उनी जस्ता ‘काँचा केटा’ को आगमन सहजै पच्ने कुरा थिएन ।

प्रकाश एमबीए पढ्न जानुअघि नेविसंघ, तरुण दल इत्यादिको पृष्ठभूमिमा थिएनन् । कांग्रेसको नेता नै बन्न चाहिने यस्ता आधारभूत कुनै पनि मापदण्डमा नपरेका उनीसँग थियो, काठमाडौंमा एक इन्भेष्टमेन्ट कम्पनीको म्यानेजर हुँदाको अनुभव ।

२०७७ सालको कुरा हो । चार वर्ष जागिर खाइसक्दा उनलाई गाउँ फर्केर नेतृत्व गर्ने मनसुबा पलायो । उनी गाउँ फर्केर प्रदेश कार्यसमितिको क्षेत्रतर्फको सभापतिमा प्रतिस्पर्धा गर्न खोजे । ‘भ्रातृ संगठनबेगर सीधै पार्टीमा छिर्न खोज्दा गाउँकै मान्छेले टुरिष्ट आयो समेत भन्दिए’ निकट विगत सम्झँदै प्रकाशले सुनाए ।

कांग्रेस ‘ल्याटरल इन्ट्री’ प्रति उदार नहुँदा तीन तहको चुनावमा उम्मेदवार हुन पार्टी सदस्य हुनुपर्ने अनिवार्य शर्त छ । पार्टीबाट स्थानीय, प्रदेश र केन्द्रमा टिकट प्राप्त गर्न क्रियाशील सदस्य भएर मात्रै हुँदैन, उपल्लो तहका नेताहरूसँग पहुँच पुर्‍याउने व्यक्ति पनि हुनुपर्दछ । कुनै व्यक्ति विषयगत विज्ञ छ भने पनि कांग्रेसले तोकेका चरण चरणका मापदण्डहरू पूरा गरेर मात्रै उम्मेदवार दाबी गर्न पाउँछ ।

यस्तो पृष्ठभूमिमा प्रकाशप्रति जिल्लामा कार्यरत नेता, कार्यकर्ताले शंका व्यक्त गर्नु स्वाभाविक जस्तै पनि थियो । त्यसअघि उनी क्रियाशील भएर कुनै संरचनामा पनि काम गरेका थिएनन् । पढाइ सकेर राजनीतिमा होमिन स्याङ्जा पुगेका उनी कसो–कसो पार्टी निर्वाचन मार्फत स्याङ्जा–१ (ख) को सभापति चुनिए ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका

त्यस बेला ३३ वर्षे प्रकाशका लागि जनप्रतिनिधिका लागि उम्मेदवार हुने दायरा थप फराकिलो बन्यो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उम्मेदवार हुने मनस्थिति बनाए ।

उनी सम्झन्छन्, ‘२५–३० वर्ष पछि मेरो पालो आउने जस्तो सुनाए । म भने अहिले नै चुनाव लड्छु भनेर सोच बनाएर टिकटको लागि तयारीमा थिएँ ।’कांग्रेस विधान अनुसार पालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट वितरण गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ । जिल्ला संसदीय समितिलाई टिकट वितरण गर्ने अधिकार भए पनि केन्द्रको समेत चासो हुन्छ । कतिपय स्थानमा जिल्ला संसदीय समितिको निर्णय विपरीत केन्द्र समेत हाबी हुने गरेको छ । अर्जुनचौपारीबाट सिफारिश भएका मध्येबाट प्रकाश उम्मेदवार छानिए ।

अब शुरू भयो चुनाव प्रचार । प्रकाशले पूरा गर्न नसकिने बाचाका पुरिया थमाएनन् । उनले जहाँ जनसंख्या बढी छ, त्यो ठाउँमा गर्नुपर्ने पहिलो प्राथमिक काम गर्ने सोचे । बढीले प्रयोग गर्ने बाटो पहिला प्राथमिकताको आधारमा पीच गर्ने आफ्‌नो प्रतिबद्धता जनाए । उनले मतदातालाई थप भने, ‘संघ र प्रदेशबाट मैले अहिले ल्याउने भन्दा बढी बजेट ल्याउँछु । म अलिकति बढी मिहिनेत गर्न सक्छु ।’

उनको सक्रियता, कार्य अनुभव, युवा पुस्ता मतदाताले मन पराए । ५,२९१ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भए । प्रकाश आफूले मात्रै जितेनन्, उपाध्यक्ष सहित पालिकाका ६ वडामा पाँच वटामा कांग्रेसका उम्मेदवारलाई जिताए ।

कांग्रेसबाट निर्वाचित उम्मेदवारमा उत्कृष्ट चयन

नेपाली कांग्रेसले आफ्‌नो दलबाट निर्वाचित पालिकाहरूमा उत्कृष्ट कार्य गरेबापत प्रकाश तिवारीलाई सम्मान गरेको थियो । कांग्रेसबाट पालिकामा प्रमुख र अध्यक्ष गरी जितेका स्थान ३२९ छन् ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनलाई आधार बनाएर कांग्रेसले अर्जुनचौपारीलाई उत्कृष्ट पालिका चयन गरेको हो ।

निर्वाचित जनप्रतिनिधिले गर्नुपर्ने कार्यहरू बारे उम्मेदवार हुनुअघि नै जानकार रहेका तिवारीले पालिकाका सबै सूचक सुधारेका छन् । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन सूचकमा अर्जुनचौपारी पालिका स्याङ्जामै प्रथम रहेको तिवारीले बताए ।

पालिका अध्यक्ष भएर काम गर्दै गर्दा तिवारीले समाजलाई थप बुझ्ने अवसर पाएका छन् । तर हिजोआज वास्तविक काम गरेर नतिजा दिनेभन्दा पनि कृत्रिम होहल्ला मच्चाउने क्रम बढेकोमा उनी उदासीन छन् ।

कतिपय पालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीचमा विवाद भएको सुनिरहँदा अर्जुनचौपारीमा भने सधैं सौहार्दता रह्यो । तिवारीले निर्वाचन जित्दा प्रशासकीय अधिकृत दलगत रूपमा उनी निकट थिएनन् । यद्यपि, पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीचमा बेमेल भएन । निर्वाचन पछि १८ महिनासम्म रहेर प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका थिए ।

विधिमा टेकेर निर्णय गर्दा कर्मचारीमा उच्च मनोबल हुनुका साथै कार्यपालिका तथा गाउँसभाका सम्पूर्ण निर्णय सर्वसम्मत हुन सम्भव भएको तिवारीले सुनाए । उनी भन्छन्, ‘यसले जनप्रतिनिधिमा एकताको भावना र नीति–निर्माणमा सबैको सहभागिता सुनिश्चित गरेको छ ।’

जनतालाई सन्तुष्टि बनाउने गरी गर्ने काममा मुख्यतः कर्मचारी भएकाले उनीहरूको परिचालन यथोचित हुनुपर्ने आफ्‌नो ध्यान रहेको तिवारी बताउँछन् । कर्मचारीलाई आफैंले भन्दै आएको बारे भन्छन्, ‘हामी पाँच वर्ष मिलेर काम गरेर परिणाम दिन सक्यौं भने सफल हुन्छौं । हामी आफूमा जुध्यौं भने असफल हुन्छौं ।’ कर्मचारीलाई प्रभावकारी परिचालन गर्न सक्ने जनप्रतिनिधि सफल हुने तिवारीको बुझाइ छ ।

सबै जनप्रतिनिधिहरूलाई सहमत गराएर तिवारीले भिन्न प्रकृतिको काम पालिकामा गरेका छन् । जनप्रतिनिधिले प्राप्त गर्ने सेवा–सुविधाको १० प्रतिशत काटेर सामाजिक उत्तरदायित्व कोष बनाएका छन् । सेवा सुविधाबापत प्राप्त हुने रकमबाट १० प्रतिशत त्यो काट्दा शुरू–शुरूमा जनप्रतिनिधिहरू खुशी पनि देखिएका थिएनन् ।

२०७९–२०८४ का जनप्रतिनिधिले भविष्यमा कोष मार्फत सहयोग गर्न सकिने अर्थ्याउँदै सबैलाई मनाए । तिवारी भन्छन्, ‘सेवा–सुविधा काटेर कोष बनाउँदा पनि उनीहरूलाई मैले मिलाएर सर्वसम्मत निर्णय गराएँ ।’

जनप्रतिनिधिको १० प्रतिशत रकम कोषमा जम्मा हुँदै जाँदा ठूलो रकम संकलन हुनेछ । यस कार्यकालका जनप्रतिनिधिको तर्फबाट भनी कोष मार्फत सहयोग गर्न सकिने अवस्था बन्ने तिवारी बताउँछन् । ‘अगाडिका जनप्रतिनिधि आए गए । उनीहरूको कार्यकाल सकिएपछि केही गर्न सक्ने अवस्था छैन । हामीले आफ्‌नो कार्यकालमा सेवा–सुविधाबाट नै बचत गर्‍यौं भने एउटा कोष बन्ने र त्यसले भविष्यमा पनि सामूहिक केही काम गर्न सकिने मनसायले यो कार्य सुरुवात गरें’, तिवारी भन्छन् ।

पालिकाको अध्यक्ष तिवारी बनेपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको छ । २०७९ सालमा कक्षा ३, ५ र ८ को पालिकास्तरीय परीक्षामा क्रमशः २४.२ प्रतिशत, १७.१ प्रतिशत, र १२.८ प्रतिशत मात्र उत्तीर्ण भएका थिए, भने २०८१ सालमा यी प्रतिशत क्रमशः १०० प्रतिशत, ९७.६ प्रतिशत, र ९२.९ प्रतिशतमा पुगेका छन् । सामुदायिक शिक्षाको गुणस्तर सुधार्न कठोर निर्णय लिएको उनले सुनाए । सामुदायिक विद्यालयको नतिजा क्रमशः सुधारिंदै गएको छ ।

विद्यालय आउने तर पठनपाठनमा ध्यान नदिएका शिक्षकलाई पेशागत जिम्मेवारी बहन गर्न बाध्य पारिएकोे तिवारीले जानकारी गराए । उनी भन्छन्, ‘शिक्षक उत्प्रेरित छन्, अभिभावक खुशी ।’

शिक्षामा राज्यको लगानी अनुसारको प्रतिफल प्राप्त नहुनुको एक कारणमा शिक्षकले नपढाउनु रहेको तिवारीको निर्क्योल छ । जिम्मेवारी बोध नगरेका आफ्‌नै नजिकका नातेदारलाई समेत शिक्षकबाट हटाइदिए ।

निजी विद्यालय सञ्चालक बनेर सामुदायिक विद्यालय शिक्षाप्रति ध्यान नदिएकाले उनलाई हटाउन बाध्य भएको तिवारी सुनाउँछन् । शिक्षकलाई कामप्रति जिम्मेवार बनाएसँगै सामुदायिक विद्यालयको नतिजामा उल्लेखनीय सुधार आएको सुनाए ।

पालिकाले स्वास्थ्यका लागि ‘नागरिकलाई टेवा, घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रम राखेर स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म विकेन्द्रीकरण गरेको छ । स्वास्थ्य संस्था शनिबारका दिनमा पनि खुला राख्ने व्यवस्था गरिएको छ । निर्वाचन पछि तीन वटा वडामा स्वास्थ्य चौकी निर्माण गरिएको छ ।

तिवारी निर्वाचित भएर आएपछि पालिकाको पूर्वाधार विकासमा उल्लेखनीय कार्य भएको छ । २०७९ सालमा १ किलोमिटर पनि अर्जुनचौपारीमा पक्की सडक थिएन । यस आर्थिक वर्षभित्र २० किमि बढी सडकलाई पक्की बनाउने गरी काम भइरहेको तिवारीले जानकारी गराए ।

पालिकाले वार्षिक १५–२० प्रतिशतले आन्तरिक राजस्वको आकार बढाउँदै लगेको र लक्ष्य समेत हासिल गरेको छ । पालिकाको बेरुजु वर्षेनि घट्दै गएको छ । बीउ पूँजी कार्यक्रम मार्फत आमा समूह तथा विपन्न नागरिकका लागि आईपीओ जारी गरेर उनीहरूलाई आर्थिक रूपले सबल बनाउन मद्दत पुर्‍याएको तिवारीले जानकारी गराए ।

नवग्रह मन्दिर, नवग्रह कृषि फार्म, लामडाँडा होमस्टे, औद्योगिक ग्राम, स्थानीय रोजगार कार्यक्रम लगायतबाट पालिकामा रोजगारी सिर्जना गरिएको छ । ९४ जनालाई पालिका आफैंले रोजगारी प्रदान गरेको छ ।

पालिका अध्यक्ष भएर काम गर्दै गर्दा तिवारीले समाजलाई थप बुझ्ने अवसर पाएका छन् । तर हिजोआज वास्तविक काम गरेर नतिजा दिनेभन्दा पनि कृत्रिम होहल्ला मच्चाउने क्रम बढेकोमा उनी उदासीन छन् ।

स्याङ्जाका अन्य पालिकाहरूको कुनै न कुनै छुट्टै पहिचान हुने तर अर्जुनचौपारीलाई कसरी चिनाउने ? कौतूहल तिवारीमा थियो । पालिकाको पहिचानको संकटबारे तिवारीले सुनाए, ‘सिरुबारीको तलको गाउँ अथवा वालिङ र पुतलीबजारको बीचबाट पर्वततिर जाने पालिका ठाउँमा पर्छ भनेर चिनाउनुपर्ने एउटा बाध्यता थियो ।’ पर्यटकीय गन्तव्य, धार्मिक स्थल, ठूलो विकास आयोजना लगायत केही नहुँदा कुन रूपमा पालिकाको पहिचान बनाउने भन्नेमा घोत्लिए । त्यसपछि पालिका अध्यक्ष तिवारीले नयाँ अवधारणा ल्याए, नेपालकै पहिलो नवग्रह मन्दिर बनाउने ।

अर्जुनचौपारी गाउँपालिकाको लागि गौरवको आयोजना बनाउन शुरू गरियो । १५७ रोपनी क्षेत्रफलमा प्रधानमन्त्री रोजगार कार्यक्रमको साझेदारी सहित १ वर्षमा (गत माघमा) मन्दिरको निर्माण सम्पन्न भयो । जनश्रमदान र ७० लाख रुपैयाँ खर्च गरी मन्दिर बनाइएको छ । ‘हामीसँग बजेट थिएन । यहाँको जनसमुदायसँग श्रमदानबाट बनाउनुपर्ने कुरा भयो । हाम्रो पहिचान जोडिएको कुरा हो भन्दा गाउँपालिकाका नागरिकले पनि श्रमदान खुशी सहित गर्नुभयो । न्यूनतम लागत बनाउन सफल भयौं ।’

मन्दिर शुरू भएसँगै गत शिवरात्रिमा अनुष्ठान गरिंदा ९ दिनमा डेढ लाख भक्तजनलाई पालिकावासीले स्वागत गरेका थिए । पालिका अध्यक्ष तिवारीका अनुसार मासिक रूपमा करिब ३० हजार भक्तजन मन्दिरमा दर्शनका लागि आउँछन् । नवग्रह मन्दिरमा भारतका तीर्थालु समेत आउने गरेका छन् । नवग्रहको पूजाको क्रममा वाचन गर्नका लागि शिक्षा लिन पालिकाले एक जनालाई पढ्न भारत समेत पठाएको छ ।

दैनिक सरदर ३ हजार व्यक्ति मन्दिरमा दर्शनका लागि आउँदा पालिकामा आर्थिक चलायमान हुन टेवा पुगेको छ । प्रत्येक शनिबार नवग्रहको विशेष पूजा हुने हुँदा दर्शनार्थी थप बढ्छन् ।

पालिका अध्यक्ष भएर काम गर्दै गर्दा तिवारीले समाजलाई थप बुझ्ने अवसर पाएका छन् । तर हिजोआज वास्तविक काम गरेर नतिजा दिनेभन्दा पनि कृत्रिम होहल्ला मच्चाउने क्रम बढेकोमा उनी उदासीन छन् । समाजमा विचलन ल्याउने व्यक्ति नेता हुने प्रवृत्ति रहेको उनले सुनाए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।