+

बेथिति विरुद्ध निरन्तर रहबर

पूरा सूची
Shares
रहबर अन्सारी मधेश प्रदेशका ती सांसद हुन्‌; जो सुशासन, विकास, शिक्षा, पर्यावरण र धार्मिक सहिष्णुताको पक्षमा सदन तथा सडकमा आवाज उठाइरहन्छन् । बिहान उठेदेखि राति नसुतेसम्म जनताकै काममा लागिरहने यी माननीय इमान, लगन र असल कर्मका कारण जन–जनको मनमा बसेका छन् ।
रहबर अन्सारी

रहबर अन्सारीले ५ माघ २०८१ को प्रदेश सभालाई सम्बोधन गर्दै भने, ‘चरम भ्रष्टाचारले मधेश प्रदेशको सुशासन र विकासमा अवरोध पुगेको छ । मधेश प्रदेशलाई कि त भ्रष्टाचारीको रेडलाइन एरिया घोषणा गरियोस्, कि यस विरुद्ध कडा कदम चालियोस् !’

रहबर मधेश प्रदेशका ती सांसद हुन्‌; जो सुशासन, विकास, शिक्षा, पर्यावरण र धार्मिक सहिष्णुताको पक्षमा सदन तथा सडकमा निरन्तर बोलिरहन्छन् । सरकारी अड्डामा हुने बेथिति होस् कि बैंक तथा वित्तीय संस्थाले लाद्ने चर्को ब्याज । अथवा, कालोबजारी नै किन नहोस् निरन्तर खबरदारी गरिरहन्छन् ।

पर्सा–१ (क) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रहबर स्पष्ट वक्ता, इमान, लगन र असल कर्मका कारण जिल्लावासीमाझ विश्वासिलो युवा नेताका रूपमा परिचित छन् ।

०००

वीरगञ्ज महानगरपालिका–१४ का रहबर अन्सारी (३९) को दिनचर्या बिहान झिसमिसेसँगै शुरु हुन्छ । उठ्नेबित्तिकै करिब दुई घण्टा व्यायाम, त्यसपछि मोर्निङ वाक्‌मा निस्केर बस्ती र गल्ली घुम्दै नेता, कार्यकर्ता र जनतासँग भेटघाट । उनी फरक–फरक गाउँ घुमेर जनतासँग सम्बन्ध बलियो बनाउनुका साथै समाजका ताजा समस्या बुझ्ने गर्छन् ।

‘सधैं फरक–फरक बस्तीमा पुग्छु, जनतासँग कुरा हुन्छ । जनप्रतिनिधिको हैसियतले उनीहरूका गुनासा सुन्छु र समाधानको प्रयास गर्छु । यसले जनतालाई पनि अपनत्वको अनुभूति हुन्छ’, उनी भन्छन् ।

२–३ घण्टाको मर्निङ वाक्‌पछि सांसद रहबर घर फर्किएर बिहानको खाजा खान्छन्, अनि फेरि काममै लाग्छन् । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म योजना बनाउने, जनतासँग भेटघाट गर्ने, समस्या सुन्ने र तोकिएका कार्यक्रमहरूमा सहभागी भएर बित्छ ।

दिउँसो २ बजेको खानापछि केहीबेर विश्राम गर्छन् । ३ बजेदेखि फेरि भेटघाट र योजना बनाउने काममा जुट्छन् । बिहान उठेदेखि राति सुत्नेबेलासम्म जनताकै काममा समय व्यतीत हुने उनी बताउँछन् ।

सांसद रहबरकहाँ कतिपय मानिस अनुचित सिफारिश समेत बोकेर आउँछन् । उनका भनाइमा अनुचित कामका लागि प्रायः नजिककै मानिसहरूको दबाब बढी हुन्छ । तर आफूलाई सकेसम्म नियन्त्रणमा राख्ने कोशिश गर्छन् । व्यक्तिगत लाभका लागि प्रशासनलाई प्रभावित गर्ने काम लिएर आउनेहरूको आग्रह अस्वीकार गर्दा कतिपय रुष्ट भएर फर्किने गरेको उनको भनाइ छ ।

‘भेट्न आउने मानिसका सिफारिश र गुनासा थरीथरीका हुन्छन् । उचित/अनुचित सबैखाले सिफारिश गरिदिन जोडबल हुन्छ । तर निर्णय गर्दा स्वविवेक प्रयोग गर्दै आफ्‌नो निर्णय न्यायपूर्ण छ कि छैन विचार गरेर मात्र काम गर्छु’, उनी भन्छन् ।

सदन चल्ने दिनमा भने रहबरको तालिका केही फरक हुन्छ । सदनको समयअनुसार आफ्नो कार्यक्रम मिलाएर सहभागी हुन्छन् ।

रहबर सुशासन, विकास, शिक्षा, पर्यावरण र धार्मिक सहिष्णुताको पक्षमा निरन्तर लागिरहन्छन् । उनको कामले जनता प्रभावित भएका छन् ।

यसका अलावा सामाजिक न्याय, सुशासन प्रवद्र्धन र भ्रष्टाचार विरुद्धका गतिविधिमा चासो बढी हुन्छ । यति गर्दा उनको क्षेत्रमा जनताको समस्या तत्काल समाधान हुन्छ, सुशासनमा बल पुग्छ ।
दिनभर जनताको सेवा, गुनासो, सिफारिश र दबाबका बीच न्यायपूर्ण निर्णय गर्ने प्रयासमा व्यस्त रहने रहबरका लागि यो दैनिकी अब सामान्य भइसकेको छ ।

बेथिति विरुद्ध निरन्तर खबरदारी

माघ २०८१ तिर सिमेन्टको अचाक्ली मूल्य बढ्यो । बजारमा कृत्रिम अभाव सिर्जना गरी उद्योग तथा सरकारले मूल्य बढाएपछि सांसद रहबरले खबरदारी शुरु गरे । उद्योग र सरकारले टेरेनन् । यसपछि उनी मूल्य कार्टेलिङ विरुद्ध सर्वोच्च अदालत पुगे । शुरुमा सर्वोच्चले रिट दर्ता गर्नै मानेन । रिट दरपीठ विरुद्ध फेरि रिट हालेपछि अदालतले दर्ता गर्ने आदेश दियो । २९ माघमा रिट दर्ता भएर अहिले यो मुद्दा विचाराधीन छ ।

रिटको सुनुवाइ र आदेशमा लामै समय लाग्ने देखपछि रहबर सरकार र उद्योगीमाथि दबाब सिर्जना गर्न सडकमा उत्रिए । सिमेन्टको मूल्यवृद्धि र सरकारको अकर्मण्यता विरुद्ध उनले वीरगञ्जमा पृथक् आन्दोलन अघि बढाए । १५ माघमा सिमेन्टको बोराको पहिरन लगाएर उनको नेतृत्वमा वीरगञ्जमा प्रदर्शन भएको थियो । सिमेन्टको मूल्यवृद्धि विरुद्धको यो अभियान देशव्यापी बहसको विषय बनेको थियो ।

पछिल्लो समय उनले न्यायपालिकाको कार्यसम्पादन पारदर्शी हुनुपर्ने मुद्दा उठाएका छन् । इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालतको आदेशबाट कारागारमा रहेका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई उच्च अदालतको अस्थायी इजलास वीरगञ्जले सफाइ दिएपछि उनले यो मुद्दा उठाएका हुन् ।

‘गम्भीर प्रकृतिको अपराधमा पनि न्यायपालिकाको न्याय सम्पादनमा प्रश्न उठ्न थालेको छ । उदाहरणका लागि आफताब आलमको मुद्दा’ रहबर भन्छन्, ‘न्यायपालिकामाथिको विश्वास बढाउन केही सेन्सेटिभ केसमा बाहेक जघन्य अपराधका घटनाको फैसला लाइभ हुनुपर्छ ।’

यसअघि कोभिड महामारीको बेला बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायी तथा आमजनताको ढाड सेक्न खोज्दा पनि सांसद रहबर चुप बसेनन् । लामो समयको लकडाउनले थला परेको व्यावसायिक क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाले लगाएको चर्को ब्याज तथा सरकारको कर असुली विरुद्ध रहबरको नेतृत्वमा वीरगञ्जमा आन्दोलन भएको थियो । त्यतिबेला उनी नेकपा (माओवादी केन्द्र) वीरगञ्ज महानगर अध्यक्ष थिए ।

करको विरोधमा २५ जना कार्यकर्तासँग उनी अर्धनग्न भएर प्रतीकात्मक आन्दोलनमा उत्रिएका थिए । ‘कोभिडको मारले बजार व्यवसाय धराशायी थियो । तर बैंक, वित्तीय क्षेत्र र सरकारले चर्को ब्याज तथा कर असुली गर्न खोजे । जनतामाथिको यस्तो अन्याय सहन सकिंदैन भनेर हामी सडकमा आएका थियौं’, रहबर भन्छन् ।

विभिन्न सामाजिक गतिविधिमा उनी यसरी निरन्तर अगाडि रहन्छन् । सुशासनको मुद्दा बोकेर अघि बढ्छन् । भ्रष्टाचार विरुद्ध सदनदेखि सडकसम्म खुलेर बोल्ने उनको बानी छ । खरो र स्पष्ट बोल्ने भएकै कारण त्यतिबेला उनले सदनमा धेरै बोल्ने अवसर समेत पाएनन् । भ्रष्टाचार विरुद्धमा सदनमा बोलेको उनको एक अभिव्यक्ति भने निकै चर्चित बनेको थियो ।

गत ५ माघमा प्रदेश सभामा सम्बोधन गर्दै उनले दिल्लीको रेडलाइट एरिया जस्तै ‘प्रदेशलाई भ्रष्टाचारीहरूको रेडलाइट एरिया’ घोषणा गरियोस् भन्ने अभिव्यक्ति दिएका थिए । ‘मधेश प्रदेशमा बढ्दो भ्रष्टाचारले विकास र सुशासनमा अवरोध पुगेको छ । प्रदेशलाई भ्रष्टाचारीहरूको सुरक्षित थलो बनाइएको छ । कि त भ्रष्टाचारीहरूको रेडलाइट एरिया घोषणा गरियोस् कि यस विरुद्ध कडा कदम चालियोस्‌’, उनले सम्बोधन गर्दै भनेका थिए । यसरी नै उनी भ्रष्टाचार तथा नीतिनिर्माण लगायत विषयमा खुलेर बोल्छन् ।

‘म मन्त्री हुँदा सदनमा खासै बोल्न पाइनँ । तर जति बोलेको छु, सुशासनको पक्ष र भ्रष्टाचारको विपक्षमा जनताको समस्या उठाएको छु’, सांसद रहबर भन्छन् । क्षेत्रको विकासे योजना पारदर्शी र गुणस्तरीय होस् भन्ने हिसाबले काम गर्ने गरेको उनको भनाइ छ । शिक्षा विना समाजको समृद्धि परिकल्पना गर्न नसकिने भएकोले शिक्षाको गुणस्तरमा सुधार ल्याउने योजना अघि बढाउनुपर्ने उनको मत छ ।

हिन्दू र मुस्लिम समुदाय बीच यदाकदा हुने गरेका द्वन्द्व नियन्त्रणका लागि वीरगञ्जमा सद्भाव कायम गर्ने कार्यमा रहबरको भूमिका रहन्छ । उनकै नेतृत्वमा वीरगञ्ज उपमहानगरपालिका–१८ भवानीपुरमा हनुमानको मन्दिर निर्माण भएको छ । रहबर मुस्लिम समुदायको भए पनि सन्देश दिनको लागि उनले आफ्‌नै नेतृत्वमा हनुमानको मूर्ति प्राणप्रतिष्ठा गराएका थिए । यसपछि वीरगञ्जमा साम्प्रदायिक द्वन्द्व भएको छैन ।

यसरी रहबर सुशासन, विकास, शिक्षा, पर्यावरण र धार्मिक सहिष्णुताको पक्षमा निरन्तर लागिरहन्छन् । उनको कामले जनता प्रभावित भएका छन् । वीरगञ्जकी बासिन्दा गुड्डी राजनीतिक तथा व्यावहारिक रूपमा असल आचरण भएकाले रहबर अन्सारीलाई राम्रो युवा नेताको रूपमा मान्छिन् ।

‘रहबरलाई म राम्रो युवा नेता मान्छु । राजनीतिप्रति लगनशील, इमानदार, विश्वास गर्ने खालको व्यक्ति हुनुहुन्छ’ उनी भन्छिन्, ‘मोटिभेसनल स्पिकर, तर्कसंगत बोल्ने व्यक्तित्व हुनुहुन्छ । उहाँले गरेका सबै काम सराहनीय छन् ।’

राजनीतिमा लगाव

डा. एई अन्सारी र आमा साहना साहका छोरा रहबरको जन्म १५ वैशाख २०४३ मा भएको हो । उनकी दिदी डा. जेवाना अन्सारी चिकित्सक छिन् । वीर अस्पतालमा काम गरिसकेका डाक्टर बुबा एईको प्रेरणाले रहबरको जीवनमा सेवा र नेतृत्व दुवैको मिश्रण छ ।

रहबरले बीबीए (ब्याचलर्स) भारतको सिम्बाएसिस इन्टरनेशनल युनिभर्सिटीबाट पढे । त्यसपछि उनले पब्लिक पोलिसीमा मास्टर्स गरे । पढाइपछि डेढ वर्ष चितवनको भरतपुर अस्पतालमा काम सिक्ने क्रममा उनले अस्पताल व्यवस्थापन र स्वास्थ्य सेवा नजिकबाट अनुभव गरे । सोही क्रममा सिद्धि विनायक अक्सिजन प्रालिमा प्रोजेक्ट डाइरेक्टर भएर भरतपुर मेडिकल कलेजमा अक्सिजन प्लान्ट जडान गराउने जिम्मेवारी पनि सम्हाले ।

रहबर राजनीति केवल सत्ताका लागि होइन, सार्वजनिक चासोका विषयमा काम गर्नकै लागि रोजेको बताउँछन् ।

उनका बुबाले सेवानिवृत्त भएपछि वीरगञ्जमै अस्पताल खोलेर सेवा गर्ने सपना बोकेका थिए । २०६५ सालमा बुबाले वीरगञ्जमा १५ बेडको अस्पताल निर्माणको काम प्रारम्भ गरे । त्यही क्रममा छेउमा रहेका एक गरिब परिवारसँग रहबरको चिनजान भयो । उठबस बाक्लियो र खानपिन पनि त्यहीं हुन थाल्यो ।

त्यहाँ रहबरले महसुस गरे– समाजका धेरै मानिसको जीवन भोक, दुःख र असमानताले भरिएको छ । उनको मनमा सामाजिक कार्यप्रति चेत पलायो । ‘मेरो जुन व्यक्तिसँग घनिष्टता भयो, उनीहरू मलाई एकदमै सम्मान गर्थे । तर उनीहरूको अवस्था दयनीय थियो । त्यो अवस्था देख्दा लाग्थ्यो, मैले सामाजिक कार्य गर्नुपर्छ । त्यसको लागि राजनीति गर्नु उत्तम हुन्छ’, रहबर सम्झिन्छन् ।

२०६६ सालमा रहबर तत्कालीन माओवादी पार्टीमा प्रवेश गरे । राजनीति सिक्दै २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वीरगञ्ज महानगरको मेयरका लागि उम्मेदवारी दिए । यसमा उनले पाँचौं स्थान प्राप्त गरे । सोही वर्ष प्रदेश सभा क्षेत्र नं. १ (क) बाट पनि प्रतिस्पर्धा गरे । जसमा ६ हजार ९०० मत ल्याएर तेस्रो भए । उक्त चुनावमा जसपाका जन्नत अन्सारी विजयी भएका थिए भने कांग्रेसका रामनारायण कुर्मी दोस्रो बनेका थिए ।

२०७९ को प्रदेश सभा चुनावमा उनले फेरि सोही क्षेत्रबाट उम्मेदवारी दिए । यस पटक भने ७ हजार ८१७ मत ल्याउँदै रहबर निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ५१९ मत पाएका थिए । यसरी रहबर सदनमा प्रवेश गरे ।

सम्पन्न परिवारमा जन्मेका रहबरको परिवारमा श्रीमती सदफ खान र दुई छोरी– सनाया र इनाया छन् । स्वास्थ्य क्षेत्रसँगै उनी सामाजिक र राजनीतिक क्षेत्रमा जुटेर अघि बढिरहेका छन् ।

२०६५ देखि २०७२ को बीचमा उनी अन्तर्राष्ट्रिय सिभिल सोसाइटीसँग आबद्ध भई विभिन्न युथ क्याम्प र उद्यमशीलताका कार्यक्रममा लागेका थिए । त्यही अनुभवले आफूलाई आत्मविश्वास बढाएको र समस्याको समाधान खोज्ने आँट आएको रहबरको भनाइ छ ।

उनले २०७२ मा पब्लिक पोलिसी पढ्न युरोपको हंगेरीस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीमा मास्टर इन पब्लिक पोलिसी (गभर्नेन्स) अध्ययन गरे । उनले यो पढाइबाट बुझे, सार्वजनिक नीति पढ्नुको अर्थ भनेको समय सान्दर्भिक समस्यामा जनताको हितमा उचित समाधान खोज्नु हो ।

रहबर राजनीति केवल सत्ताका लागि होइन, सार्वजनिक चासोका विषयमा काम गर्नकै लागि रोजेको बताउँछन् । ‘सुशासनको परिचय आफ्नो व्यवहार र विचारबाट देखाउनुपर्छ । म मान्छेहरूको पीडा सुनेर, समाधान सोचेर काम गर्न चाहन्छु’, उनी भन्छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।