+

कुम: सागरले ल्याएको सांगीतिक हलचल

पूरा सूची
Shares
कुमा सागर नेपाली सांगीतिक आकाशका ती तारा हुन्, जसले कहिल्यै आफ्नो गति रोकेनन्, लय छाडेनन्, धुन बिराएनन् । खासगरी बाजेबाट सुन्दै आएको भजन र नेवारी लोक धुन आफ्नो गायकीमा मिसाइदिए । त्यही मधुर समिश्रण नै कुमाको खासियत बन्यो ।
कुम: सागर

खप्तड स्वामीको एउटा भनाइ छ, ‘सफलताको लागि तीन कुरा आवश्यक छ– दृढ संकल्प, आत्मविश्वास र निरन्तर प्रयास ।’

ठ्याक्कै यही कुरा मेल खान्छ, कुम: सागरको हकमा । उनको जीवनमा सफलताभन्दा असफलताको पल्ला भारी थियो । पढ्न गयो, असफलता । गिटार सिक्न गयो, असफलता । सांगीतिक प्रतियोगितामा भिड्यो, असफलता ।

तर, असफलताको यो शृंखलाले उनलाई कहिल्यै गलाएन । कहिल्यै थकाएन । किनभने, उनीसँग यो असफलतालाई जित्ने एउटै प्रयत्न थियो, निरन्तरता ।

कुम:ले आफ्नो गति रोकेनन्, लय छाडेनन्, धुन बिराएनन् । लागिरहे, लागिरहे । त्यसबेलासम्म लागिरहे, जबसम्म हजारौं दर्शकले उनलाई एक झलक हेर्न मात्र पनि तँछाडमछाड गरेनन् ।

यतिबेला कुम: सागर भनेपछि हुरुक्कै नहुने को छ ? उनको गीतमा लट्ठ नहुने को छ ? उनको कन्सर्टमा झुम्न नचाहने को छ ?

जबजब कुम: सागरको नाम उद्घोष हुन्छ, एउटा विशाल जमात हर्षले नाच्न थाल्छ । चाहे झमझम पानी परिरहेको बेला झ्यालमा बसेर संगीत सुन्न चाहने एकान्तप्रेमी होस् वा हुलमुलमा नाच्दै–उफ्रँदै भाकामा भाका मिलाउने तन्नेरी, कुम: सागरलाई नसुन्ने कोही छैनन् ।

खासगरी आफ्ना बाजेबाट सुन्दै आएको भजन र आफूले बाल्यकालमा सुन्दै आएको नेवारी लोक धुनलाई उनले आफ्नो गायकीमा मिसाइदिएका छन् । त्यही मधुर समिश्रण नै कुम:को खासियत हो ।

आखिर लड्दैपड्दै उनले यो स्थानसम्म आफूलाई कसरी ल्याइपुर्‍याए ?

आज धेरैले ‘कुम: सागर’ भनेर चिने पनि यी प्रतिभाशाली कलाकारको खास नाम सिद्धिसागर प्रजापति हो । माटोका भाँडा बनाउने प्रजापति समुदायलाई स्थानीय भाषामा ‘कुम’ भनिन्छ ।

त्यही भएर आफ्नो थर ‘कुम:’ र नामको ‘सागर’ जोडेर उनले नाम राखे । तर उच्चारणका कारण कसैले कुमस् सागर त कसैले कुम: सागर भन्न थाले । दुवै नामले चिनिन थाले ।

नाम त के भयो र ! चर्चा कामको जो भइरहेको छ । अनि यी नामलाई धेरैको जिब्रोमा झुन्ड्याउने खासियात पनि त उनको काम नै हो । अर्थात्, गायन ।

आज उनी जहाँ छन्, त्यो सजिलै पाएका भने होइनन् । उनले सांगीतिक यात्राको सुरुवाती दिनमा ठूलै संघर्ष गर्नु परेको थियो । चाहे त्यो ‘गिग’ गर्नेमा होस् या एक रियालिटी शो जानेमा ।

०००

कुम: सागर भक्तपुरमा जन्मे-हुर्केका रैथाने नेवार हुन् । उनको बोलीचालीमा नेवारीपन छ । सङ्घर्षका सुरुवाती दिनहरूमा कतिपयले उनलाई त्यहीँ विशेषणका आधारमा ‘जज’ गरे । तत्कालीन समयमा ग्लानी महसुस भयो होला । तर उनले त्यो ग्लानीलाई कमजोरी हुन दिएनन् ।

बरु त्यस्तै स्वपहिचानलाई खुला गरे । र त आज उनी भिडमा परबाटै देखिन्छन् । चिनिन्छन् ।

कुम: सागरको बाल्यकाल भक्तपुरका गल्लीहरूमा नेवारी भजन सुन्दै र सिक्दै बितेको थियो । उनका लागि ती संगीत पाठशाला पनि हुन् । किनकि, उनले कहिल्यै औपचारिक रूपमा संगीत सिकेनन् ।

बाल्यकालमा कुम: सागरलाई तेक्वान्दो र पौडी खेल्न मन पर्थ्यो । पढाइमा भने त्यति धेरै रुचि थिएन । जे जस्तो भए पनि आमाबाट धेरै माया र संरक्षण पाइरहे । बुबाले भने कहिलेकाहीँ कडा व्यवहार गर्ने गर्थे ।

पारिवारिक पृष्ठभूमि र परम्परागत भजन गायनले उनलाई सानैदेखि संगीतप्रेमी बनाएको थियो । सानैदेखि आफ्ना बाजेहरूसँग भजन गाउन मन्दिर जाने गर्थे । बाजेको निधनपछि पनि परिवार र समुदायको उत्प्रेरणाले उनलाई भजनमा निरन्तरता दिन र परम्परागत बाजाहरू प्रोत्साहन मिलिरह्यो । बारम्बार त्यहीँ गरिरहँदा अधिकांश नेवारी भजन कण्ठस्थ भयो, जसले उनको सांगीतिक जगलाई अझ बलियो बनायो ।

कुम: सागरले अहिले जुन प्रकारको संगीत गरिरहेका छन्, त्यसको जग त्यही नेवारी भजनहरूमा छ । खासमा भजनहरूलाई नै आधार बनाएर उनी अहिले उडिरहेका हुन् ।

एक समयमा भजन मन्दिरहरूमा मात्र सीमित हुन्थे, अहिले त्यसलाई उनले फराकिलो बनाएका हुन् । परम्परागत नेवारी संगीत र बाजाहरूमा डुबुल्की मारेर नै आफ्नो संगीतमा मौलिकता र परम्पराको फ्युजन ल्याएका हुन् ।

कुम: सागरले जुन समयमा गीतहरू ल्याए, त्यो समयमा अर्कै शैलीका गीतहरू चल्तीमा थिए । चलेका गायकरगायिकाहरू सुस्ताएका थिए । श्रोताहरू पनि एकै प्रकारका स्वर सुनेर वाक्कदिक्क भइसकेका थिए । त्यस्तोमा कुम: सागरले नयाँ स्वाद ल्याए । धेरैलाई ‘रिफ्रेस’ गर्ने गरी आए ।

सायद भविष्यमा यस्तो हुनसक्छ भनेर उनले सोचेका थिएनन् । सार्वजनिक छवि हेर्दा उनी त्यस्तरी फलको आशा गर्छन् जस्तो लाग्दैन । र त, मस्तले सुरुमा परम्परागत बाजाहरू बजाउन सिके ।

यसले उनलाई भजन गायनमा मात्र नभई वाद्यवादनमा पनि पोख्त बनायो । भलै त्यो प्रारम्भिक झुकाव थियो होला, तर त्यो उनको सांस्कृतिक विरासतसँगको गहिरो सम्बन्धको द्योतक थियो ।

यो समयमा कुम: सागर गायकको रूपमा मात्र छैनन् । एउटा सांस्कृतिक संवाहकको रूपमा पनि स्थापित छन् ।

०००

कुम: सागर विद्यालय पढ्दादेखि नै गीत लेखन र गायनमा प्रगाढ रुचि राख्थे । साथी भाइलाई सुनाउँथे । रोचक कुरा त के भने, मनपर्ने केटी पट्याउन पनि गीत लेख्ने र गाउने गर्थे । यसरी आफूभित्रको कलाकारलाई उनले सानैदेखि पोषण गरिरहेका थिए ।

आज उनी जहाँ छन्, त्यो सजिलै पाएका भने होइनन् । उनले सांगीतिक यात्राको सुरुवाती दिनमा ठूलै संघर्ष गर्नु परेको थियो । चाहे त्यो ‘गिग’ गर्नेमा होस् या एक रियालिटी शो जानेमा ।

एउटा कुरा निश्चित छ- रियालिटी शोले उनलाई ठूलो जनसंख्यामा चिनाएको थियो । जसले जे-जसरी हेरे, उनीहरू पनि गलत थिएनन् । कुम: स्वयं गलत हुने कुरै थिएन । त्यो त लामो समयदेखिको हाम्रो मानसिकताको नतिजा थियो ।

तर, त्यसले कुम: सागरलाई ‘मौलिक’ के भन्ने सायद थाहा दियो । र, संघर्षै संघर्षका बीच उनलाई आफ्नो मौलिक भजनलाई किन रेकर्ड नगर्ने भन्ने सोच आयो ।

अर्कोतर्फ, उनी आफ्ना बाजेसँग अलि बढी सामिप्ययतामा थिए । किनकि उनको वास्तविक नाम पनि बाजेसँग नै जोडिएको छ । अनि बाजेकै स्मृतिहरू सँगालेर सन् २०२० मा ‘बाजेको बजाङ’ रेकर्ड गरे ।

०००

सुरुआती दिनमा कुम: सागर भजनमा थिएनन्, मेटल र रकमा थिए । यो विधामा गितारको निकै महत्त्व हुन्छ । त्यसबेला गाउँले दाइहरूको लहलहैमा लाग्दालाग्दै उनले गितार बजाउन सिकेका थिए ।

‘चिहानकी परी’ उनले गितारमा बजाउन सिकेको पहिलो गीत थियो । अनि आफ्नो पहिलो गितार भने छिमेकी दाइसँग उधारोमा किनेका थिए । त्यतिबेला उनी ७/८ कक्षातिर पढ्दै थिए ।

पढ्न खासै नरुचाउने उनी त्यसपछि संगतले बिग्रिए । थप बिग्रेला भन्ने चिन्ताले बुबाले घरमा नै राखे । बाहिर जान दिएनन् । तर एउटा गुन गरे- इलेक्ट्रिकल गितार किनिदिएर । त्यसपछि औपचारिक रुपमा संगीतको कुम:को यात्रा अझ चम्किएको थियो । ब्यान्ड पनि खोलेका थिए । गिगहरू पनि गर्थे ।

त्यो कुरा उनका बुबालाई मन परिरहेको थिएन । बुबासँग केही नाकझोंक पनि परिरहेको थियो । तर उनको यात्रा रोकिएन । त्यसपछि रियालिटी शोतिर पाइला बढाए ।

०००

बाजेको बजाङ कुम: सागरले मोबाइलबाट रेकर्ड गरेका थिए । नजिकका साथीभाइहरूलाई सुनाउँदा सबैले हौसला दिए ।

त्यो बेलासम्म उनका लागि भजन सांस्कृतिक पक्षमात्र थियो । भजन पनि शक्तिशाली हुन्छ भन्ने उनलाई थाहै थिएन । एकफेर घरमा झगडा पर्यो । अनि रिसको झोकमा उनी भजन सुन्न गइदिए । त्यहाँ भजन सुनिरहँदासम्म शान्त भइसकेका थिए । यहीँ घटनाले कुम: सागरलाई भजनको शक्ति महसुस गरायो ।

त्यसपछि भजनमा बजाइने बाजालाई आफ्नो गीतमा प्रयोग गर्न बाजेहरूसँग सहमति मागे । त्यो समयमा उनले ‘चम्पा’ बनाइरहेका थिए । जसमा पहिलो पटक भजन गाएका छन् । नेपाली बाजा खिं राखेका छन् । नत्र त्यसअघि उनलाई ड्रमसेटको आवाज नै चाहिन्थ्यो । तर जसै आफ्नो गीतका लागि उनले खिं बजाए । त्यो ‘मोटो’ आवाजको शान्त शक्ति महसुस गरे । त्यसपछि निर्णय गरे( ड्रमसेट प्रयोग नगर्ने । नेवारी बाजा नै प्रयोग गर्ने । भजन नै गर्ने ।

‘चम्पा’लाई उनले २०२२ मा रिलिज गरेका थिए । यसमा पाश्चात्य र नेवारी बाजाहरू नै प्रयोग गरिएका छन् । जुन कुम:को ‘युनिक’ कुरो बनिदियो । भलै उनले त्यसअघि र्‍यागी र रक गीत गरेका थिए ।

०००

बाजेको बजाङमा, म साइकल, चमेली फूल, चमेली, ओ चम्पा निस्किसकेका थिए । त्यति चलेका थिएनन् । त्यसै समयमा उनको भेट रोजमान महर्जनसँग भयो । महर्जन पनि नेवारी समुदायमै बढेरहुर्केका वाद्यवादक थिए । कन्सर्टको बहानामा उनीहरूको भेट भएको थियो ।

यता कुम: ‘ए मै रे’ बनाउन लागि परेका थिए । यसमा खिं बजाउने जिम्मा महर्जनलाई दिए । किनकि महर्जनको खिं बजाउने कलाबाट कुम: प्रभावित भइसकेका थिए । गीत बन्यो । जोडी जम्यो । र, ब्यान्ड जन्म्यो- कुम: सागर एन्ड द ख्वपस्

०००

पहिलो, कुम: को व्यक्तित्व । हेर्दा उनी हँसिलो, मिजासिलो देखिन्छन् । शान्तसँग बोल्छन् । कुनै हतारमा बोल्दैनन् । हडबडाउँदैनन् । मुख्य कुरो सोझो देखिन्छन् ।

गीत चर्चित हुँदै गर्दा उनको त्यस्ता भिडिओहरू पनि भाइरल हुँदै गइरहेका थिए । अझ रियालिटी शोसँग जोडिएर गसिप पनि बढिरहेको थियो । गीतहरूको नयाँ स्वादलाई लिएर मान्छेहरूले प्रशंसा छरिरहेका पनि थिए । अर्थात्, दोस्रो कारण सामाजिक सञ्जाल ।

यसरी पृथक् बाटो रोजेर कुम: सागरले नयाँ उचाइ हासिल गरे । उनी कुनै समय नेपालमा कम लोकप्रिय मेटल गाउँथे । अहिले उनको पृथकताको सबले गुनगान गाउँछन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।