
२०६०/६१ सालतिर नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । सर्वसाधारणका लागि घरबाहिर निस्कनु पनि जोखिमपूर्ण मानिन्थ्यो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४, टाकुरेका युवा सुरेश भट्टराई भने आफ्ना साथीहरूसँग मोटरसाइकलको पछाडि टेलिस्कोप बोकेर काठमाडौं डुलिरहन्थे ।
हेर्दा ठ्याक्कै मोर्टार जस्तो देखिने त्यो उपकरणले सुरक्षाकर्मीलाई झस्काउनु अस्वाभाविक थिएन । ठाउँठाउँका चेकिङमा उनीहरू टेलिस्कोप सहित सुरक्षाकर्मीको निशानामा परिरहन्थे ।
सुरक्षाकर्मीको गहन सोधपुछमा परेपछि बल्लतल्ल टेलिस्कोप र आफ्नो खगोलीय अभियानबारे बुझाएर उनीहरू गन्तव्यमा पुगेका कैयौं घटना छन् । दिउँसो आकाशमा तारा नदेखिने र राति सुरक्षाकर्मी तथा विद्रोही दुवैको डर मान्नुपर्ने त्यो अवस्थामा ज्यानको बाजी राखेर नै उनीहरूले खगोल अभियानलाई निरन्तरता दिए ।
शान्ति प्रक्रियापछि मात्रै उनीहरूले निष्फिक्रीसँग टेलिस्कोप बोकेर कहिले नगरकोट त कहिले कीर्तिपुरका डाँडाहरू चहार्न पाए । नेपालमा खगोल विज्ञानको गोरेटो कोरिरहेका सुरेशको दृढ संकल्पलाई न संकटकालीन सुरक्षा त्रासले बिथोल्यो न त कमजोर पूर्वाधारले । उनको दृढ संकल्प र बलियो इच्छाशक्तिले नेपालमा खगोल विज्ञानको बीउ रोप्यो, जुन आज मौलाइरहेको छ ।
संस्कृतबाट खगोलतिर
२०७२ सालको भूकम्पअघि रानीपोखरी अघिल्तिर कम्पाउन्डभित्र एउटा पुरानो लामो सेतो भवन थियो, जहाँ अहिले पुरानै डिजाइनमा नयाँ भवन बनिसकेको छ । नेपालको पहिलो आधुनिक विद्यालय भवन एउटा भए पनि त्यहाँ दुईवटा विद्यालय सञ्चालित थिए– तल्लो तलामा संस्कृत माध्यमिक विद्यालय र माथ्लो तल्लामा भानु मावि ।
बाबाआमासँग काठमाडौं आएर केही समय कमलपोखरीमा अध्ययन गरेपछि उनी त्यही संस्कृत माविमा भर्ना भए । कोटा सकिएर दरबार हाईस्कूलमा पढ्ने उनको चाहना पूरा हुन सकेन, तर संस्कृत माविमा उनको जिज्ञासु मनले नयाँ बाटो फेला पार्यो ।
विद्यालयको तल्लो तलामा संस्कृत व्याकरणको जटिल शब्द र वाक्य संरचना पढ्ने सुरेश, फुर्सद मिल्नासाथ माथिल्लो तलाको भानु माविको कम्प्युटर ल्याबमा उक्लिन्थे । त्यहाँ कम्प्युटर छुन पाउँदा र स्क्रिनमा कर्सर नाचेको देख्दा दङ्ग पर्थे । यसरी विस्तारै उनको विज्ञान प्रविधिप्रति रुचि जागृत हुन थाल्यो ।
दरबारमार्गस्थित तीनधारा छात्रावासमा बसेर संस्कृत पढेका सुरेश २०६२/६३ सालको जनआन्दोलनमा धोती लगाएर शंख फुक्दै सडकमा निस्कने विद्यार्थीमध्ये एक हुन् । तर विस्तारै उनको मन संस्कृतबाट विज्ञानतिर मोडियो ।
अमृत साइन्स क्याम्पसबाट आईएस्सी सकेलगत्तै सुरेशले वाल्मीकि विद्यापीठबाट उत्तरमध्यमा उत्तीर्ण गरे । पुनः उनले त्रिचन्द्र कलेजबाट भौतिकशास्त्रमा स्नातक र माइतीघरको सेन्ट जेभियर्सबाट एस्ट्रोफिजिक्स (खगोल भौतिकशास्त्र) मा स्नातकोत्तर गरे । अहिले उनी त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रमै विद्यावारिधिरत छन्, जसको मूल लक्ष्य खगोलीय ज्ञानको विस्तार र अध्ययन नै हो ।
नेपाली भौतिकशास्त्री तथा खगोलशास्त्रीको पहिचान बनाएका सुरेश त्रिचन्द्र बहुमुखी क्याम्पसमा भौतिकशास्त्र प्राध्यापन पनि गरिरहेका छन् ।
नासो हुँदै खगोलमा संस्थागत यात्रा
त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दाताका, सुरेश र उनका सहपाठीहरूको एउटा समूह अध्यापकहरूको परम्परागत शिक्षण शैलीप्रति असन्तुष्ट थियो । जिज्ञासा राख्न नपाइने र सोधिहाले पनि व्यङ्ग्य र छेडखानी मात्रै पाउँदा विद्यार्थीहरू निराश थिए ।
सन् २००७ तिर उनीहरूले घण्टाघरसँगैको भवनमा खगोल विज्ञान (एस्ट्रोनोमी) बारे तालिम दिइन्छ भन्ने थाहा पाए । त्यहाँ पुगेका सुरेश सहित २३ विद्यार्थीको चियागफले एउटा नयाँ मोड लियो– उनीहरूले खगोल सम्बन्धी एउटा संस्था बनाउने निर्णय गरे । यही सिलसिलामा जन्मियो, नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ।
‘त्यतिबेला हामीसँग युवाजन्य लहड र खगोलमा केही काम गर्ने इच्छाशक्तिबाहेक केही थिएन’ सुरेश सम्झन्छन्, ‘खगोलकै विषयमा वैज्ञानिक धार नै विकसित गरेर अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्नुपर्छ भन्ने सोच त निकै पछि आएको हो ।’
शुरुमा उनीहरूसँग एक थान टेलिस्कोप पनि थिएन । साथीहरूसँग खर्च जुटाउँदै बाइकमा तेल हाल्ने र जसोतसो मागेर टेलिस्कोप लिएर हिंड्नुपर्थ्यो ।
पछि, ‘एस्ट्रोनोमर्स विदआउट बोडर्स’ नामक संस्थाले उनीहरूलाई एउटा टेलिस्कोप दियो । त्यसयता सुरेशले नेतृत्व गरेको नासो समूहले विद्यार्थीलाई खगोलीय ज्ञान दिने, यस क्षेत्रमा रुचि बढाउने र अध्ययन–अनुसन्धानका क्रियाकलापलाई निरन्तरता दिइरहेको छ ।
एउटा उद्देश्यमा दृढ भएर लागिरहँदा १५ वर्ष कतिखेर बित्यो, पत्तै भएन । ‘त्यतिबेला टेलिस्कोप लिन भारत पुग्दा मलाई यो क्षेत्रमा काम गर्न सक्छौं भन्ने लागेको थियो’ उनले भने, ‘यो अवधिमा नेपालमा भएका गतिविधि बारे अन्तर्राष्ट्रिय समुदायले राम्रै थाहा पाएको छ ।’
‘जिरो टेलिस्कोप’ बाट शुरु भएको नासोको अभियानले नेपालमा खगोल विज्ञानको परिचय गराउन र अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान बनाउन महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् ।
दुई दशकका तीन पाइलाः जनचेतना, शिक्षा र शोध
सुरेश भट्टराई नेपालमा खगोलीय अध्ययनलाई तीन चरणमा विस्तार गर्नुपर्ने देख्छन्– आउटरिच (जनचेतना), शैक्षिक कार्यक्रम र खोज तथा अनुसन्धान ।
शुरुका ५–७ वर्ष नासोले जनचेतना अभियानलाई विशेष महत्व दियो । विद्यालयहरूमा पुगेर जूनतारा देखाउने, खगोलीय घटनाबारे अवलोकन गराउने र सञ्चारमाध्यमबाट जानकारी दिने काम प्राथमिकतामा परे ।
‘खगोल तथा अन्तरिक्ष विज्ञानको बारेमा जनमानसमा जनचेतना जगाउने अभियानले मानिसहरूलाई जिज्ञासा पैदा गरायो’ सुरेश भन्छन्, ‘जिज्ञासा विना कुनै पनि विषयमा रुचि हुँदैन र मानिसको रुचि नभएको विषयमा अध्ययन–अनुसन्धान अघि बढ्दैन ।’
जनचेतनापछि शिक्षाको पालो आउँछ । अहिले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठमा खगोलशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ हुन्छ । यद्यपि, यसको सैद्धान्तिक अवधारणा आधुनिक खगोलशास्त्रसँग पूर्णतः मेल खाँदैन ।
त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्र अन्तर्गत खगोल पढाइ हुने ‘कस्मोलोजी’ कार्यक्रम भने विद्यार्थी अभावमा रोकिएको छ । यही खाडल पुर्न सुरेशको समूहले शैक्षिक कार्यक्रम, तालिम र कार्यशालाहरू डिजाइन गरेको छ, ताकि रुचि राख्ने मानिसहरू दीर्घकालसम्म संलग्न हुन पाउन् ।
यही क्रममा, सन् २०१३ देखि नेपालमा ओलम्पियाड कार्यक्रम शुरु भएको छ, जसबाट करिब ३ हजार विद्यार्थीलाई खगोल अध्ययनमा संलग्न गराइएको छ । यसले प्रतिभावान् विद्यार्थीलाई थप अवसर र छात्रवृत्तिको ढोका खोल्न मद्दत गरेको छ ।
अर्को काम हो– खोज र अनुसन्धान । नेपालमा ठूला–ठूला टेलिस्कोपहरू नभए पनि ‘ओपन साइन्स’ को अवधारणा अनुसार, विश्वभरका ठूला टेलिस्कोपबाट आएका तथ्यांकको सहज पहुँच छ । ‘अनुसन्धान संस्कार महत्वपूर्ण पक्ष रहेछ, शुरुमा यसकै विकास हुनुपर्छ’, सुरेश बताउँछन् ।
विभिन्न मुलुकका वैज्ञानिक र विज्ञहरूसँग सहकार्य गर्दै नासोका शोध अनुसन्धानकर्ताहरूले ग्रह, तारा, रेडियो फ्रिक्वेन्सी, ‘भेरिएबल स्टार’ र अन्तरिक्ष भू–उपग्रहको सहायताले अध्ययन गरिरहेका छन् । बाह्य सौर्यमण्डलमा जीवनको सम्भावना जस्ता नवीन विधामा पनि नेपालमा ज्ञान र अवधारणा आदानप्रदान भइरहेको छ ।
टेलिस्कोपबाट आकाश नियालिरहँदा सुरेशले आफू टेक्ने जमिन पनि बलियो बनाइरहेका छन् । आधा दर्जन बढी शोधपत्रहरू प्रकाशन गरिसकेका उनी नासोको नेतृत्व गरिरहेका छन् । सन् २०११ मा स्पेस जेनेरेसन एड्भाइजरी काउन्सिल योङ लिडरसिप अवार्ड प्राप्त गरेका उनले नेपालमा खगोलीय सीप विकास गर्न सन् २०१८ मा आईएयू/ओएडी प्रोजेक्ट ग्रान्ट पनि पाए ।
योसँगै उनले सन् २०१७ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट विज्ञान प्रविधि प्रवर्द्धन अवार्ड पनि जितिसकेका छन् । स्वदेशी/विदेशी संस्थाहरूसँगको सहकार्यमा उनी खगोलशास्त्रीय शिक्षा प्रवर्द्धनसँगै प्रकाश प्रदूषण न्यूनीकरणमा पनि सक्रिय छन् ।
सम्भावनाको आकाश र चुनौतीका बादल
नेपालका उच्च पहाडहरू खगोलीय अध्ययनका लागि प्रचुर सम्भावना बोकेका ठाउँहरू हुन् । प्रकाश प्रदूषणबाट टाढा रहेका मुस्ताङ जस्ता स्थानहरू उत्कृष्ट वेधशाला बन्न सक्छन् । तर बिजुली र उच्च गतिको इन्टरनेटको अभाव तथा जलवायु परिवर्तनका कारण बढ्दो झरी जस्ता चुनौतीले गर्दा यो सम्भावनालाई वास्तविकतामा बदल्न भने गाह्रो छ ।
‘पृथ्वीकै सबैभन्दा अग्लो ठाउँ सगरमाथा अन्तरिक्षबाट समेत नजिक पर्छ भनेर तर्क गर्न सकिन्छ’ सुरेश भन्छन् । अन्तरिक्षमा गर्नुपर्ने कतिपय अभ्यासका लागि नेपालको उच्च भूभाग उपयोगी मानिन्छ । तर यस्ता गतिविधिहरू सरकारी स्तरमा प्रायः प्राथमिकतामा छैनन् ।
सुरेशलाई ‘ज्ञान भनेको ज्ञान नै हुँदोरहेछ’ भन्ने एउटा नयाँ ज्ञानको बोध भएको छ । ‘पीएचडी गरिरहेको विद्यार्थीको एउटा ज्ञान, बीएस्सी गर्नेको अर्को र प्लस टु पढ्नेको झन् अर्को ज्ञान हुँदैन रहेछ’ उनी भन्छन्, ‘ज्ञान सही हुनुपर्छ, तर त्यो मानिसको तह र स्तरअनुसार फरक हुँदो रहेछ ।’ यो बुझाइ उनको अभियानको आधार बनेको छ ।
भविष्यदृष्टिः तारामण्डल र वेधशालाको सपना
जनचेतना र शिक्षा विस्तारपछि सुरेशलाई पूर्वाधार निर्माणमा पनि काम गर्न मन लागेको छ । नासो समूह नेपालमा एउटा आधुनिक खगोलीय वेधशाला अर्थात् तारामण्डल अब्जर्भेटरी तथा प्लानेटारियम बनाउन चाहन्छ । यसका लागि लगानी जुटाउनु चुनौतीपूर्ण भए पनि यो दीर्घकालीन हितमा हुने उनको बुझाइ छ ।
‘अहिलेको हाम्रो लगानी साना बालबालिकाका लागि हुनेछ’ सुरेश दृढतापूर्वक भन्छन्, ‘आजको भोलि नै केही भएन भनेर हामी आत्तिनुहुँदैन, नतिजा आउन केही दशक लाग्छ ।’
दक्षिणएशियाका धेरै मुलुक खगोल अध्ययनमा पूर्वाधारका हिसाबले नेपालभन्दा अगाडि भए पनि, समुदायस्तरमा जनचासो र रुचि जगाउने सन्दर्भमा नेपाल सार्कमै अब्बल रहेको सुरेशको दाबी छ ।
नासोले अन्तर्राष्ट्रिय समन्वयमा बंगलादेश, भुटान र भारतमा समेत समुदायस्तरमा टेलिस्कोप वितरण गरेको छ, जसलाई उनी खगोलीय ज्ञान विस्तारको पहिलो पाइलो मान्छन् ।
आफ्नो जीवनका दुई दशक खगोल विज्ञानमा समर्पित गरेका सुरेश भट्टराईको सपना विशाल छ । उनी केवल जूनतारा देखाउने ‘दाइ’ मा मात्र आफ्नो परिचय सीमित गर्न चाहँदैनन् । उनी त नेपालको आकाशमुनि भविष्यका खगोलशास्त्रीहरू उत्पादन गर्ने र अन्तरिक्षको असीम सम्भावनालाई नेपाली युवाहरूसँग जोड्ने एक दूरदृष्टि बोकेका एक अभियानकर्ता हुन् ।
समुदायलाई ज्ञान, सीप र उपकरणको माध्यमबाट सशक्त बनाउँदै रातको वातावरण संरक्षण मार्फत भावी पुस्ताका खगोलशास्त्रीहरू तयार पार्न उनी अविचल र प्रतिबद्ध देखिन्छन् । यो अनवरत प्रयासले विश्व खगोल विज्ञानको मानचित्रमा नेपालको एउटा छुट्टै स्थान बनाउन सक्छ ।
‘अहिलेको हाम्रो लगानी साना बालबालिकाका लागि हुनेछ, आजको भोलि नै केही भएन भनेर हामी आत्तिनुहुँदैन, नतिजा आउन केही दशक लाग्नेछ’, सुरेश दृढ विश्वासका साथ भन्छन् ।