
दलित बाहुल्य एउटा बस्ती, जसलाई वर्षौंदेखि चरम गरिबी, अभाव, अशिक्षाको राप र तापले गलाएको छ। न घरको छाना बलियो छ, न त भरपेट खाना र एकसरो नाना। बिहान-बेलुकाको छाक टार्नकै लागि झिसमिसेदेखि साँझ नपरुन्जेलसम्म भौंतारिन बाध्य छ सिंगो बस्ती।
चरम गरिबीले थला परेको यो बस्तीमा पछिल्लो केही वर्षयता भने साँझ र बिहान छुट्टै चहलपहल देखिन थालेको छ। यो चहलपहल कुनै विवाह, भोजभतेर वा उत्सवको होइन, बालबालिकाको कल्याङमल्याङले ल्याएको हो।
बिहान उठ्नेबित्तिकै र विद्यालयबाट घर फर्किएपछि बालबालिकाहरू हातमा बोरा बोक्छन्। बोरासँगै कापी-कलम च्याप्छन्। हुल बाँधेर साँघुरा गल्ली हुँदै लम्किन्छन्। बस्ती बीचको अलि फराकिलो आँगनमा पुगेपछि बोरा ओछ्याएर बस्छन्, कापी–किताब पल्टाउँछन् र पढ्न शुरु गर्छन्। वर्षौंपछि बस्तीमा आएको एउटा चमत्कारी परिवर्तन हो यो।
पर्सा सदरमुकाम वीरगञ्जबाट करिब २० किलोमिटर पश्चिम उत्तरको सखुवाप्रसौनी गाउँपालिका-५ महुवन गाउँमा छ यो दलित बस्ती। वीरगञ्ज-ठोरी हुलाकी सडक हुँदै रामनगरी चोकबाट उत्तरतर्फ करिब ३ किलोमिटर दूरी पार गरेपछि यहाँ पुग्न सकिन्छ। वीरगञ्जको गण्डक चोक भएर गण्डक नहरैनहरको सडक भएर पनि यो बस्तीमा पुग्न सकिन्छ।
दलित बस्तीमा एकाएक शैक्षिक जागरणको हुरी ल्याउने व्यक्ति हुन् मनोज राम। शिक्षित समाज भए मात्रै जातीय विभेद, छुवाछूतमुक्त समाज बनाउन सकिन्छ भन्ने बुझाइ छ उनको। उच्च शिक्षा प्राप्तपछि शिक्षित व्यक्तिहरूबाट पाएको सम्मानजनक व्यवहारबाट उनले यो निष्कर्ष निकालेका हुन्।
मनोज भन्छन्, ‘समाजमा जातीय विभेद, छुवाछूत यथावत् छ। यसलाई चिर्ने मुख्य माध्यम भनेकै शिक्षा हो। शिक्षाले मात्रै समाजमा जरो गाडेर बसेको परम्परावादी सोच न्यूनीकरण गर्छ।’
विगतमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जातीय विभेद भोग्नु परे पनि अहिले आएर त्यस्तो अनुभूति आफूले गर्नु नपरेको उनी सुनाउँछन्। यो आत्मसम्मानलाई मनोज शिक्षाको बलमा प्राप्त गरेको उपलब्धि ठान्छन्। शिक्षाको उज्यालो ज्योति छर्न सके दलित बस्तीका नागरिकले पनि आत्मसम्मान पाउने विश्वास उनको छ। यही कारणले दलित बस्तीमा शिक्षाको ज्योति छर्ने जिम्मेवारीलाई उनले पहिलो प्राथमिकतामा राखेका छन्।
जब उनी २०७२ सालमा निमावि तहको स्थायी शिक्षक बने, त्यसपछि उनले बस्ती–बस्तीमा शैक्षिक जागरण अभियान सञ्चालन गरे। विद्यालय समयबाहेक बिहान-बेलुका दलित बालबालिकाका लागि उनले महुवनस्थित आफ्नै घरको आँगनबाट निःशुल्क ट्युसन कक्षा शुरू गरे। २०७७ सालमा १० जना दलित बालबालिका भेला गरेर शुरू भएको ट्युसन कक्षामा दिनप्रति दिन विद्यार्थी बढ्दै गए। सोही वर्ष उनले ‘पिस फर दलित फाउन्डेसन नेपाल’ नामको संस्था गठन गरेर यो कामलाई अभियानकै रूपमा व्यापक बनाउँदै लगे।
मनोजले अहिले दलित बालबालिकाका लागि महुवन गाउँ सहित चार ठाउँमा ट्युसन कक्षा विस्तार गरेका छन्। सखुवाप्रसौनी गाउँपालिका-३ कौवावन गाउँ, सोही वडाको कटैया गाउँ र वीरगञ्ज महानगरपालिका–१९ केहुनिया विन्दवासिनीमा पनि ट्युसन कक्षा विस्तार गरिएको छ। जहाँ बालविकासदेखि कक्षा ६ सम्मका १ हजारभन्दा बढी दलित बालबालिकाले निःशुल्क पढिरहेका छन्।
२०७९ सालसम्म उनी आफैंले निःशुल्क ट्युसन पढाए। त्यसपछि भने चारवटै ट्युसन सेन्टरमा स्वयंसेवक शिक्षक खटाएका छन्। ट्युसन सेन्टरमा सबै बालबालिकाले समान रूपमा सिक्ने अवसर पाउने गरी समय व्यवस्थापन गरिएको छ। एउटै कक्षा पढ्ने विद्यार्थीलाई एकै ठाउँमा बसाउने र उनीहरूको जिज्ञासा सामूहिक रूपमा समाधान गर्ने शिक्षण सिकाइ विधि अपनाइएको छ। विद्यार्थीले आवश्यकता अनुसार व्यक्तिगत रूपमा पनि शिक्षकसँग प्रश्न सोध्न सक्ने व्यवस्था मिलाइएको छ।
मनोज स्वयंसेवक शिक्षकहरूलाई मासिक ६ हजारका दरले पारिश्रमिक दिन्छन्। स्वयंसेवक शिक्षकहरूलाई दिइने पारिश्रमिकको स्रोत चन्दा संकलन भएको उनी बताउँछन्। मनोज भन्छन्, ‘देश विदेशबाट फाउन्डेसनको नाममा सहयोग प्राप्त भइरहेको छ। जन्मदिन वा वैवाहिक वर्षगाँठमा दाताहरूले नगद वा शैक्षिक सामग्रीहरू सहयोग गर्नुहुन्छ। यही सहयोगबाट अहिलसम्म निःशुल्क ट्युसन सेन्टर चलिरहेको छ।’
समुदायस्तरमा पठनपाठनको संस्कार बसाल्न ट्युसन सेन्टरहरू सहयोगी बन्दै गएको उनी दाबी गर्छन्। शिक्षामा दलित बालबालिकाको पहुँच बढाउन, विद्यालयमा टिकाउन र गुणस्तरीय शिक्षाका लागि जिज्ञासु बनाउन ट्युसन सेन्टरले सघाएको उनको तर्क छ। दलित बस्तीका बालबालिकाले निःशुल्क शिक्षा पाउने कुरालाई संसार चिन्ने र बुझ्ने अवसरको रूपमा लिन्छन् मनोज।
‘शिक्षाको महत्त्व मैले बुझेको छु। शिक्षाले मानिसलाई सक्षम बनाउँछ। राज्यको हरेक निकायमा पुग्ने माध्यम नै शिक्षा हो। समाज रूपान्तरणको माध्यम पनि शिक्षा हो। शिक्षाले नै हिम्मत दिलाउँछ, डर हटाउँछ, सामाजिक न्यायका लागि संघर्ष गर्न आत्मबल दिलाउँछ। आफ्नो महत्त्व, अधिकार र जिम्मेवारी पनि बुझ्छ’, उनी भन्छन्।
दलित भएकै कारण सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा हुने विभेदविरुद्ध उभिन पहिले आफैं जागरुक हुनुपर्ने उनको तर्क छ। यसका लागि पहिलो शर्त नै शिक्षा हो भन्ने उनी ठान्छन्।
दलित समुदायमाथिको विभेद केवल व्यक्तिगत नभई संस्थागत, संरचनागत र ऐतिहासिक रूपमा जरा गाडेर बसेको छ। यस्ता विभेदहरू अन्त्य गर्न शिक्षा, सचेतना, कानूनी कार्यान्वयन, राजनीतिक इच्छाशक्ति एवं समान व्यवहार र आत्मसम्मानको भावना विकास हुनुपर्ने उनको सुझाव छ।
जंगबहादुर र मैनादेवीले देख्न नपाएको खुशी
१६ असोज २०४९ मा जंगबहादुर महरा चमार र मैनादेवीको तेस्रो सन्तानको रूपमा जन्मिएका हुन् मनोज। उनले यस धर्तीमा पाइला टेक्दा परिवारमा खुशीको बहार त आयो तर उनले भोग्नुपर्ने गरिबी र अभावको भने लेखाजोखा गरिसाध्य नै थिएन। परिवार र समाज शिक्षित थिएन। एकछाक खाना र शरीर ढाक्ने एकसरो लुगाको जोहो गर्न उनको परिवारले ठूलो संघर्ष गर्नुपर्थ्यो।
चरम गरिबी र अभावले गाउँका अरू परिवार जस्तै थिचिएको थियो मनोजको परिवार पनि। चार सन्तानको पालनपोषण गर्न ठूलै संघर्ष गर्नुपर्थ्यो। जंगबहादुरले मजदुरी गरी ल्याएको ज्यालाबाट दुई छाक टार्न धौ–धौ हुन्थ्यो।
जंगबहादुर विवाहको सिजनमा बाजा बजाउन हिंड्थे। कहिले अर्काको गाईवस्तु चराउन जान्थे। मजदुरी गर्न चितवनको रामपुरदेखि भारतका विभिन्न शहरसम्म पुग्थे। मैनादेवी पनि मजदुरी गर्थिन्। उनी घर बाँध्ने डोरी बाटेर र खर काटेर बेच्थिन्।
यस्तो चुनौतीपूर्ण अवस्थामा पनि आमाबुवाले मनोजलाई पढाए। छोराको जीवनमा अशिक्षाको अँध्यारो हुन दिएनन्।
मनोजलाई आमा मैनादेवीले स्कूलमा भर्ना गरिदिइन्। शिक्षाको महत्त्व बुझेकी मैनादेवीसँग छोराका लागि कापीकलम किन्ने पैसा हुँदैनथ्यो। मेलापात र ज्याला–मजदुरी गरेर जेनतेन कापी–कलमको व्यवस्था गरिदिन्थिन्। छोरालाई उच्च शिक्षा पढाएर सरकारी जागिरे बनाउने उनको लक्ष्य थियो।
मनोजको पढाइ अघि बढ्दै गयो। संघर्षशील आमा मैनादेवीले मनोजलाई हौसला दिइरहिन्। आमाबुबाको त्याग र हौसलालाई मनोजले अवसरमा बदल्दै लगे। आमाबुबाको मुहारमा खुशी ल्याउन उनले असाधारण संघर्ष, दृढ आत्मबल र इच्छाशक्ति देखाए। चरम गरिबी र अभावलाई ऊर्जा र प्रेरणाको स्रोत सम्झेर मिहिनेत गरे।
२०६४ सालमा मनोजले एसएलसी उत्तीर्ण गरे। त्यसपछि उच्च शिक्षा अध्ययन गर्न वीरगञ्ज छिरेका मनोज ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भए। उनलाई पढाउन आमाबुबाले ५ कट्ठा जग्गा बन्धकी राखेका थिए।
आईएड पास गरेपछि मनोजले गैरसरकारी संघ–संस्थामा सानातिना कामहरू गर्न थाले। यसले आमाबुबामाथि परेको आर्थिक बोझ केही कम भयो। उनले स्नातक तहको अध्ययनलाई पनि निरन्तरता दिए।
२०६९ सालमा मनोजका बुबा जंगबहादुर मजदुरी गर्न फेरि चितवनको रामपुर हान्निए। काम गर्दागर्दै अचानक उनी खेतमै ढल्न पुगे। यही निहुँमा उनको निधन भयो। बुबाको निधनसँगै मनोजको घरको खम्बा ढल्न पुग्यो।
बुबाको निधनपछि मनोजको उच्च अध्ययन बिथोलियो। गुजारा चलाउन संघ–संस्थाका कामलाई निरन्तरता दिइरहे।
पति वियोगमा डुबेकी आमा मैनादेवी पनि एकाएक बिरामी परिन्। छोरो पढाउन गरेको लामो संघर्षले मैनादेवीको बुढ्यौली शरीरलाई गलाउँदै लग्यो। सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या बढ्दै गयो।
चिकित्सकले उनलाई दमरोग लागेको पहिचान गरे। उपचार चलिरहेकै समयमा २०७१ सालमा मैनादेवीले पनि मनोजलाई सदाका लागि छाडेर गइन्।
छोरा मनोज सरकारी जागिरे भएको हेर्ने चाहना थियो आमा मैनादेवीको। आमाबुबाको सपना साकार पार्न दरिलो अठोट लिएर उनी अघि बढिरहे। अन्ततः २०७२ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी निमावि तहको स्थायी शिक्षक बने। साथसाथै मनोजले स्नातक तह (बीएड) सम्मको पढाइ पनि पूरा गरे।
बुबाको मिहिनेत, आमाको प्रेरणा र लगानीले आफूले यो सफलता प्राप्त गरेको मनोज बताउँछन्। समाजमा शिक्षित हुनुपर्छ, सरकारी जागिरे हुनुपर्छ भन्ने आमाबुबाको त्यो सपना पूरा गर्न सकेकोमा मनोज आफूलाई भाग्यमानी सम्झन्छन्।
इच्छाशक्ति र लगनले असम्भवलाई पनि सम्भव बनाउँछ भन्ने प्रमाणित गरेर देखाए मनोजले। गरिबी, अशिक्षा र अभावलाई जितेर उनले समाजमा ज्ञानको उज्यालो छरिरहेका छन्।
जसरी कमलको फूलले हिलोमा आफ्नो अस्तित्व कायम राखेर सौन्दर्य, पवित्रता र आकर्षण झल्काउँछ, त्यसरी नै पिछडिएको वर्गबाट पनि सुन्दर, सफलता र सकारात्मक उपलब्धि हासिल गर्न सकिन्छ भन्ने यथार्थ मनोजले प्रस्तुत गरेका छन्।
१० दिनका लागि रामबाट तेली भएँ
सानैदेखिको अभाव र गरिबीबीच मनोजले अध्ययनलाई निरन्तरता दिए। उनको एसएलसी दिने समय नजिकियो। २०६४ सालमा एसएलसी दिन घरभन्दा करिब ६ किलोमिटर टाढा पोखरिया शहर जानुपर्ने भयो।
घरबाट आउजाउ गरेर परीक्षा दिनसक्ने अवस्था थिएन। उनलाई पोखरियामा डेरा गरेर बस्नुपर्ने बाध्यता आइपर्यो। कोठा खोजे, तर दलित भएकै कारण कोठा पाएनन्। उनी समस्यामा परे।
मनोजका एक जना मिल्ने तेली साथी थिए। उनले पोखरियामा डेरा खोजिसकेका थिए। मनोजको समस्या ती साथीलाई थाहा थियो। उनै तेली साथीले कोठा खोजिदिए। तर मनोजले आफ्नो वास्तविक पहिचान लुकाउनुपर्ने भयो। मनोज १० दिन साह तेली भएर कोठामा बस्न तयार भए।
मनोजसँग अरू विकल्प पनि थिएन। जात लुकाएर १० दिन पोखरियामा बस्नु पर्दाको त्यो क्षण सम्झँदा अहिले पनि मनोजको मन भारी हुन्छ। यही घटनाले उनलाई जातीय विभेद विरुद्ध उभिन थप बल दियो।
एसएलसी दिंदा मात्रै होइन विद्यालयमा साथीहरूबाट पनि उनले नमिठो अनुभव भोग्नु परेको छ। चमार, मुसहर तथा दुसहार जातिले सुँगुरको मासु खान्छन्, यिनीहरू अछूत जाति हुन् भनेर साथीहरूले कुरा गरेको तितो यथार्थ उनी सुनाउँछन्।
के छ उपलब्धि ?
ट्युसन कक्षाले दलित तथा विपन्न परिवारका बालबालिकामा पढाइप्रति आकर्षण बढेको दाबी मनोजको छ। १० जनाबाट शुरू गरिएको ट्युसन सेन्टरमा १ हजारभन्दा बढी बालबालिका सहभागी हुनुलाई उनी पढाइप्रति बढेको आकर्षण ठान्छन्। अभिभावकमा समेत बालबच्चा पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको ठम्याइ मनोजको छ।
ट्युसन पढ्न आउने बालबालिकालाई बेलाबेलामा दाताहरूले उपलब्ध गराउने झोला, कापी र कलम वितरण गरिन्छ। जसले ट्युसन कक्षामा बालबालिकाको आकर्षण बढेको छ। ट्युसन कक्षाले शिक्षण सिकाइमा निरन्तर सुधार, विद्यालय जाने र उत्तीर्ण दर पनि बढेको उनी बताउँछन्।
मनोज भन्छन्, ‘यसअघि दलित तथा विपन्न परिवारका बालबालिका निरन्तर विद्यालय जाँदैनथे। बीचमै ड्रपआउन हुने क्रम बढ्दो थियो। तर अहिले बालबालिकाहरू निरन्तर विद्यालय गइरहेका छन्। ड्रपआउट दर पनि घटेको छ।’
यो अभियानले बालबालिकामा अर्को ठूलो परिवर्तन ल्याएको छ। गाउँमा नयाँ मान्छे देख्नासाथ घरभित्र लुक्ने, डराउने, अनुहार छोपेर बस्ने, भाग्ने बालबालिका अहिले गुडमर्निङ, गुड आफ्टरनुन, नमस्ते भनेर अभिवादन गर्छन्। बालबालिकामा बोल्ने र पढ्ने क्षमताको विकास भएको छ।
अभियान कसरी टिकाउने ?
मनोजको अगुवाइमा पर्साका चार स्थानमा यो अभियान सञ्चालनमा छ। अभियानले बालबालिकामा पठनपाठन संस्कृति विकास भएको छ। चन्दा संकलन गरेर सीमित स्रोतसाधनबाट सञ्चालन भइरहेको यो अभियान रोकिने हो कि भन्ने चिन्ता मनोजलाई मात्रै होइन, अभिभावकलाई समेत छ।
स्थानीय सरकारले जिम्मा लिएर अभियानलाई निरन्तरता दिन मनोजको आग्रह छ। स्थानीय तहले नीति, कार्यविधि, निर्देशिका बनाएर यो अभियानलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ।
मनोज भन्छन्, ‘स्थानीय सरकारले चाह्यो भने दलित सीमान्तकृत वर्गका बालबालिकाका लागि केही गर्न सक्छ। त्यसका लागि इच्छाशक्ति चाहिन्छ। हामीले सीमित स्रोत–साधनमा यो अभियान सञ्चालन गरिरहेका छौं। स्थानीय सरकारले पनि प्रत्येक वडामा यो अभियान चलाउन सक्छ। धेरै बजेट पनि लाग्दैन।’
‘स्थानीय तहलाई दलितमैत्री बनाउनुपर्छ। दलितका लागि शिक्षामा लगानी बढाउनुपर्छ। मधेशमा दलित समुदाय पछाडि परेका छन्। शिक्षामा पहुँच छैन। दलितका लागि शैक्षिक क्रान्ति ल्याउनु आवश्यक छ’, मनोज भन्छन्।
नतिजा बिग्रिने चिन्ता
ट्युसन सेन्टरमा पढेका बालबालिकाले राम्रो नतिजा ल्याएर माथिल्लो कक्षा (७-१०) पढिरहेका छन्। उनीहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि राम्रो नतिजा ल्याउने अपेक्षा मनोजको छ। तर ७-१० कक्षासम्म दलित तथा विपन्न परिवारका बालबालिकाका लागि अतिरिक्त कक्षाको व्यवस्था छैन। उनीहरूसँग पैसा तिरेर ट्युसन पढ्ने आर्थिक हैसियत पनि छैन। जसले गर्दा एसईईको नतिजा बिग्रिने हो कि भन्ने बढी चिन्ता मनोजलाई छ।
‘७-१० कक्षाका बालबालिका पढाउन हामीसँग स्रोतसाधन छैन। आफैं पैसा खर्च गरेर ट्युसन पढ्ने आर्थिक हैसियत उनीहरूसँग छैन। त्यसैले एसईई नतिजा बिग्रने हो कि भन्ने हामीलाई डर छ’ मनोज भन्छन्, ‘हामीलाई दलित तथा विपन्न परिवारका बालबालिका बीचैमा ड्रपआउट हुन्छन् कि भन्ने डर पनि छ। त्यसका लागि स्थानीय सरकार र सम्बन्धित विद्यालयले गहिरो निगरानी गर्नुपर्छ।’
के भन्छ स्थानीय सरकार ?
मनोजले सञ्चालन गरेको अभियानबाट गाउँपालिका अध्यक्ष यसवन्त यादव खुशी छन्। पिछडिएका दलित समुदायमा शैक्षिक जागरण ल्याउन मनोजले खेलेको भूमिकाको सराहना गर्छन् यादव।
‘स्थानीय तहले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ’ अध्यक्ष यादव भन्छन्, ‘शैक्षिक क्षेत्रमा उहाँहरूले खेलिरहनुभएको भूमिका विद्यालयको भन्दा कम छैन। यो अभियानले दलित तथा विपन्न परिवारका बालबालिकामा शिक्षाको बीजारोपण भएको छ। बीचैमा विद्यालय छाड्ने समस्या पनि कम भएको छ।’
दलित समुदायका बालबालिका लक्षित यो अभियानलाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ मा स्थानीय सरकारले फाउन्डेसनका लागि डेढ लाख रुपैयाँ बजेट छुट्याएको अध्यक्ष यादव बताउँछन्।
यादव भन्छन्, ‘यो अभियानले दलित समुदायमा सकारात्मक प्रभाव पारेको छ। बालबालिकालाई पढाउनुपर्छ भन्ने सोचको विकास भएको छ। अभियानले एक खालको शैक्षिक जागरण नै ल्याएको छ। दलित समुदायको शैक्षिक उत्थानमा यो अभियानले सघाउने विश्वास हामीले लिएका छौं।’
के भन्छन् अभिभावक ?
मनोजले सञ्चालन गरिरहेको ट्युसन कक्षाबाट बालबालिकामा पढ्ने संस्कृतिको विकास भएको स्थानीय अभिभावकहरू बताउँछन्। अभिभावक सुरेन्द्र पासवान भन्छन्, ‘दलित बस्तीमा शैक्षिक जागरण आएको छ। स्कूल समयबाहेक बिहान-साँझ बालबालिका ट्युसन कक्षामा व्यस्त हुन्छन्। पढ्ने उमेरका बालबालिका अनावश्यक घुम्ने, डुल्ने गरेको भेटिंदैनन्। यो परिवर्तन उहाँहरूकै प्रयासबाट भएको हो।’
शुल्क तिरेर बालबालिकालाई अतिरिक्त कक्षा पढाउने हैसियत यहाँका अभिभावकसँग नभएको उनी बताउँछन्। जसका कारण स्कूल समयबाहेक बिहान-साँझ बालबालिकाले ट्युसन सेन्टर गएर अतिरिक्त शिक्षण सिकाइ गर्ने गरेका छन्। पासवान भन्छन्, ‘बालबालिकाको शिक्षण सिकाइमा सुधार आएको छ। अभिभावकमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ।’
तीन पुरस्कारबाट सम्मानित
दलित सामाजिक अभियन्ता मनोज विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन्। दलित अधिकारका क्षेत्रमा योगदान गरेबापत उनले राष्ट्रिय स्तरको भीममाया स्मृति पुरस्कार प्राप्त गरेका छन्।
यसैगरी पर्सा मिलन केन्द्र काठमाडौं र गण्डकी प्रदेशअन्तर्गत मिजार समुदायबाट पनि उनी सम्मानित भएका छन्।