
अर्घाखाँचीका कमलजंग कुँवर (३४) सानैदेखि भविष्यका सपना देख्थे । उमेर बढ्दै गयो, योजना पनि बदल्दै गए । गाउँमा हुँदा हेडमास्टर बन्ने सपना देखेका उनले कहिले काठमाडौं पुगेर ट्राभल एजेन्सी चलाए त कहिले बुटवल फर्केर कुक बने ।
अरूको सफलताबाट सिक्न सिपालु कमलजंगले बुटवलका गल्ली चहार्दै ठेलामा चाउमिन बेचे । ठेलाको त्यही चाउमिन पसललाई परिष्कृत र आधुनिकीकरण गर्दै ‘ड्याडिज किचन’ ब्रान्डको फास्टफुड व्यवसायका रूपमा स्थापित गरे । अहिले काठमाडौं र पोखरासम्म २५ शाखा विस्तार गरी चेन रेस्टुराँको साम्राज्य खडा गरेका छन् ।
सफलताले पछ्याउँदै गएपछि उनको सपना थपिएको छ– छिट्टै भारतको नयाँदिल्लीमा स्तरीय होटल खोलेर नेपालको पर्यटन प्रवर्द्धन गर्ने । उनको नारा छ— ‘कायापलट ल्याउँछौं स्वदेशमै : सम्मान गरौं युवा उद्यमशीलताको ।’
७५० बढीलाई रोजगारी दिएका कमलजंगले सेफलाई साढे दुई लाख र चार्टर्ड एकाउन्टेन्टलाई डेढ लाख तलब दिइरहेका छन् । ६–६ महिनामा कर्मचारीको तलब बढाइदिने उनले व्यवसायबाट कमाएको आम्दानी निजी प्रयोजनमा खर्च गर्दैनन्, व्यवसाय विस्तारमै लगानी गर्छन् ।
परिवारका ४ छोरा र २ छोरीमध्ये कान्छो छोरा कमलजंग पढाइमा सधैं क्लास टपर थिए । उनी एसएलसीमा फर्स्ट डिभिजनमा उत्तीर्ण भए । त्यो बेला उनी १४ वर्षका थिए । एसएलसीपछि २०६३ मा बुटवल झरे । आफ्नो सर्कलका साथीभाइले म्यानेजमेन्ट पढेको देखेर उनी बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा भर्ना भए । शुरूका दुई महिना आफ्नै दाइसँग बसेपछि बुटवल–७ दीपनगरमा दिदी गीता कुँवरको घरमा बसेर पढ्न थाले ।
वाणिज्यमा १२ कक्षा उत्तीर्ण भएपछि कमलजंग बुटवलको एक्सिस कलेज भर्ना भए । व्याचलर तेस्रो सेमेस्टर पढ्दै गर्दा आफैं कमाउनुपर्छ भन्ने लागेर काठमाडौं हान्निए । काठमाडौंमा आफन्तसँग मिलेर ट्राभल एजेन्सी खोले । ‘आफ्नै बिजनेस शुरू गरेपछि ठाउँ–ठाउँमा घुमेर राम्रै नेटवर्क बनाएँ, व्यक्तित्व र व्यावसायिक क्षमता विकास पनि भयो’ उनी भन्छन्, ‘नेपालमा धेरै काम गर्न सकिन्छ भन्ने लागेर नयाँ–नयाँ योजना बुनें ।’
ठेलामा चाउमिन बेचेको देखेर व्यवसायमा
चञ्चले स्वभावका कमलजंग ट्राभल बिजनेसमा पनि धेरै टिकेनन् र बुटवल फर्किए । उनको पढाइ बुटवलमै बीबीए छैटौं सेमेस्टर चलिरहेको थियो । उनी बस्ने दीपनगरको दिदीको घर अगाडि सोमबारे हाटबजार लाग्थ्यो । त्यहाँ दर्जनौं ठेलामा चाउमिनको व्यापार हुन्थ्यो । कमलजंग त्यो व्यापार नियालिरहन्थे ।
खुला चौरको धुवाँ–धुलोका बीच एउटा ठेलामा १०० केजीसम्म चाउमिन बेचेको देखे । अनि ठेलाको चाउमिन व्यवसायलाई आधुनिक र हाइजेनिक तरिकाले गर्न पाए अझ राम्रो कमाइ गर्न सकिन्छ भन्ने लाग्यो ।
कमलजंगले २०६८ सालमा दाजुले किनिदिएको सुनको सिक्री बेचे । भिनाजुसँग ८० हजार सापट मागे अनि २ लाख रुपैयाँ लगानी गरेर दीपनगरमा ‘ड्याडिज किचन’ रेस्टुरेन्ट शुरू गरे ।
तीन जना कर्मचारी राखेर शुरू गरेको रेस्टुरेन्टमा मम, चाउमिन, परौठा, लस्सी, चाइनिज परिकार बेच्न थाले । ग्राहकको रुचि र मागअनुसार उनी परिकारको मेनु फेरिरहन्थे ।
रेस्टुरेन्ट तीन महिना त राम्रै चल्यो । तर कामदारले छाडेपछि उनलाई तनाव भयो । त्यसपछि आफैंले कुकको काम सिके । त्यसबेला उनलाई महिनाको १५ हजार रुपैयाँसम्म घाटा भयो । छुट अफर चलाउँदा पनि पार लागेन । तर निराश भएनन्, ७ महिना पुग्दा व्यापारले गति लियो । दैनिक ५ हजारसम्म व्यापार हुन थाल्यो । अनि व्यवसायमा टिक्न सकिन्छ भन्ने आत्मविश्वास पलायो ।
कमलजंगलाई रेस्टुरेन्टसँगै चोकहरूमा आधुनिक ठेला (ट्रेलर) मा रेस्टुरेन्ट चलाउन सके धेरै व्यापार हुन्छ भन्ने लाग्यो । अनि बुटवलको चौराहामा व्यवसाय शुरू गरे । तर सोचे जस्तो भएन । ट्रेलर घर लैजाने क्रममा सुख्खानगर सुन्दरचोकमा खाल्डोमा खस्यो । ट्रेलर निकाल्न दुई/तीन दिन लाग्यो ।
सुन्दरचोककै खाली ठाउँमा मान्छेको बाक्लो आउजाउ हुने देखेपछि कमलजंगले त्यहीं व्यवसाय गर्ने निधो गरे । त्यसपछि ठेलामा आफैंले तयार गरेको बर्गर बेच्न शुरू गरे । बर्गर नयाँ परिकारसँगै मःम र चिकेन फ्राइड पनि बेचे । त्यहाँ ड्याडिज बर्गरले राम्रो बजार लियो । दिनमै २०० वटासम्म बिक्री हुन थाल्यो । दिन दुगुना रात चौगुना उनले दैनिक २५ हजारसम्मको बर्गर बेचे ।
आफन्त र केटी साथी आउँदा लुक्नुपर्थ्यो
ठेलाको व्यापार चम्किएको थियो तर मान्छेहरू कमलजंग डुबेर सडकमा आएछ भन्थे । उनी आफन्त, कलेज पढ्दाका केटी साथीहरू आउँदा लाजले अक्क न बक्क हुन्थे । उनीहरू आएको देखे भने पसल छाडेर लुक्थे ।
‘मासिक २ लाखसम्म कमाइ भइरहेको हुन्थ्यो तर ठेलाको व्यापार गरेको देख्दा आफन्तले यस्तो काम सुहाएन, बैंकमा १५–२० हजारको जागिर लगाइदिन्छु भन्थे’ कमलजंग सम्झिन्छन्, ‘कामलाई वर्गीकरण गरी सानो–ठूलो भनेर हेप्ने समाजको माइन्ड सेटले कैयौंपटक आफन्त र कलेजका साथी देख्दा ठेला छाडेर बाहिर निस्कन्थें, उनीहरू गएपछि फर्किन्थें ।’
धेरैले ठेलामा गरेको व्यवसायलाई हेलाहोचोको दृष्टिले हेरेपछि कमलजंगले १६ लाख रुपैयाँमा ट्रक किनेर फुड ट्रक बनाए । फुड ट्रकलाई ट्राफिक चोकमा राखेर व्यवसाय विस्तार गरे । फुड ट्रकमा व्यवसाय गर्दा कतिपयले अवरोध प्रयास गरे । तर स्थानीय सुजन पुन लगायतको सहयोगले उनी अघि बढे । दीपनगर, सुन्दरचोक र ट्राफिक चोकसम्म आइपुग्दा उनको व्यापार दैनिक ३ लाख रुपैयाँसम्म हुन थाल्यो । कर्मचारी २५ जना पुगे । मासिक कमाइ ३ लाख रुपैयाँसम्म हुन थाल्यो ।
हेप्नेलाई देखाउन कार चढे, सुनको सिक्री लगाए
सडकमा व्यवसाय गरेको भनेर हेप्नेलाई जवाफ दिन कमलजंगले सुनको सिक्री लगाए । कार किनेर चढे । त्यसपछि कार चढेर ठेलाको व्यापार गर्ने मान्छे भनेर बजारमा चर्चा हुन थाल्यो ।
एक दिन उनी कार चढेर पोखरा घुम्न निस्के । जाँदाजाँदै बाटैमा पोखरामा पनि फुड ट्रकमा व्यवसाय शुरू गर्ने योजना बनाए । पोखरा पुगेर विभिन्न ठाउँ हेरे । चिप्लेढुंगा मन पर्यो । केही दिनमै त्यहाँ फुड ट्रक राखे । तर स्थानीय रेस्टुरेन्ट व्यवसायी विरोधमा उत्रिए । उनीहरूले प्रहरीमा उजुरी दिए । प्रहरीले राख्न दिएन । त्यसपछि उनले ३ महिनासम्म व्यापार गर्न पाएनन् ।
पछि बिरौटा पुगे । त्यहाँ व्यापार शुरू गरेकै दिन ग्राहकको घुइँचो लाग्यो । ड्याडिज किचनले बजार पिट्यो । बिरौटामा पनि केही व्यक्तिबाट अवरोध प्रयास भएको थियो । जसोतसो मिलाए ।
बिरौटामा दैनिक ३५ हजारसम्म व्यापार भयो । ११ जनाले रोजगारी पाए । उनलाई मागअनुसार परिकार पुर्याउन हम्मे पर्यो । धेरै व्यापार भएको देखेपछि घरधनीले आफैं व्यापार गर्ने भनेर फुड ट्रक बनाउन थाले । त्यो कुरा थाहा पाएपछि अब यो ठाउँमा राख्न दिंदैनन् भन्ने लाग्यो र १५ दिनमै पसल अन्यत्र सारे ।
ज्याके डन भनेर चिनिने व्यक्तिले फुड ट्रकमा ढुंगा हान्ने, दुःख दिने सताउने गरेको कमलजंग सम्झिन्छन् । तर हरेस खाएनन् ।
पोखरामा हरेक वर्ष सडक खाना महोत्सव हुन्थ्यो । उनले खाना महोत्सवमा फुड ट्रक राख्न खोजे तर पाएनन् । रेस्टुरेन्ट भएपछि मात्रै स्टल राख्न पाइन्छ भनेपछि २ करोड लगानीमा बिरौटामा रेस्टुरेन्ट सञ्चालनमा ल्याए । अनि महोत्सवमा फुड ट्रक राख्न पाए । महोत्सवमा ड्याडिज किचन नै हिरो भयो । ‘हाम्रा परिकार हाइजेनिक, अरूका भन्दा फरक स्वाद र धेरै भेराइटीका थिए’ कमलजंगले सम्झिए, ‘त्यसैले महोत्सवमा उत्कृष्ट स्टल भयौं ।’
कोरोना महामारीमा पनि बन्द भएन रेष्टुरेन्ट
२ करोड लगानी गरी एक पटकमा २५० जना क्षमताको नेपालकै ठूलो रेस्टुरेन्ट सञ्चालनमा आएको केही समयपछि कोरोना महामारी शुरू भयो । राम्रोसँग चल्न शुरू भएको व्यवसाय उद्घाटनको ७ महिनापछि कोरोना महामारी फैलिएपछि कमलजंग चिन्तामा परे ।
१५ दिनसम्म व्यवसाय बन्द गरेर चुपचाप बसेका उनले जिल्ला प्रशासन कार्यालय पुगेर अस्पताल, प्रहरीलाई सेवा दिने गरी रेस्टुरेन्ट खोल्न दिन माग गरे । प्रशासनले पर्यटकलाई मात्र सेवा दिन अनुमति दियो । उनको पोखरासँगै बुटवल र काठमाडौंको कुकर कफी तीनै ठाउँको व्यापार शुरू भयो । र, पुरानै अवस्थाको व्यापार भयो ।
अरूको बन्द हुँदा उनको व्यवसाय चलेको देखेपछि ड्याडिजले कोरोना भाइरस सार्यो भनेर रेस्टुरेन्ट बन्द गराउने प्रयास भएको कमलजंग सुनाउँछन् । रेस्टुरेन्टको पानी ट्याङ्कीमा विष खन्याइदिएर आफूलाई फसाउने प्रयास गरे पनि असफल भएको उनले स्मरण गरे । नाकाबन्दीका बेला बेलहिया पुगेर ग्याँस सिलिन्डर ल्याउँदा लागूऔषध ल्याएर बेच्यो भनेर प्रहरीमा सुराकी लगाएर दुःख दिने काम समेत भएको उनी बताउँछन् ।
फ्रेन्च स्टान्डर्डको किचन, १०० थरी अडिट
व्यवसायमा दाग लगाएर फसाउने षड्यन्त्र भएपछि कमलजंगले किचनलाई थप सुरक्षित र परिकार पूर्णतः हाइजेनिक बनाउने उपाय अवलम्बन गरे । किचनमा प्रयोग हुने कुखुराको मासुका लागि जिउँदो कुखुरा ल्याएर आफैं प्रशोधन गर्नेदेखि १०० थरी बुँदामा किचन अडिट गर्ने व्यवस्था मिलाए ।
‘फुड इन्स्पेक्सन टिम बनाएर १०० प्वाइन्टमा छड्के चेकजाँच र किचन अडिट हुन्छ’ कमलजंग भन्छन्, ‘किचन अडिटमा कुनै कम्प्लेन र त्रुटि भेटिए कर्मचारीको तीन दिनको तलब कटौतीदेखि निष्कासनसम्मको कारबाही हुन्छ ।’
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी खानाका परिकारको स्वच्छतालाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय गरेका हुनाले नै ड्याडिज किचनले आम उपभोक्ताको विश्वास जितेको कमलजंग बताउँछन् । भेज र ननभेज किचन अलग–अलग छन्, लाइभ छन् र कागज तथा प्लास्टिक प्रयोग निषेध छ ।
१९ आउटलेट
ड्याडिज किचनको व्यवसाय विस्तार हुँदै अहिले बुटवल, पोखरा र काठमाडौंमा गरी १९ वटा आउटलेट पुगेको छ । बुटवलको कालिकानगर, ट्राफिकचोक, शान्तिचोकमा ड्याडिज किचन, ड्याडिज एक्सप्रेस, ड्याडिज फुड ट्रक, पपया जुस सञ्चालनमा छन् ।
काठमाडौंमा कुकर कफी तथा पोखरामा ड्याडिज किचन, ड्याडिज एक्सप्रेस (फल्की) र ड्याडिज फुड ट्रक सञ्चालनमा छन् । काठमाडौंमा छिट्टै हेल्दी ब्रेकफास्ट र भारतको नयाँदिल्लीमा होटल सञ्चालनको तयारीमा रहेको कमलजंग बताउँछन् ।
कमलजंगको व्यवसाय विस्तारको शैलीमा फरक विशेषता छ । उनी बैंकबाट ऋण लिएर लगानी नगरेको दाबी गर्छन् । ‘व्यवसायबाट हुने नाफा जति व्यवसाय विस्तारमै लगाउँछु, बैंकको ऋण छैन’ उनले भने, ‘कमाएको पैसाले व्यक्तिगत सम्पत्ति नजोड्ने संकल्प छ । जति कमाइ हुन्छ, व्यवसाय विस्तारमा लगानी हुन्छ ।’
कामदार कर्मचारी व्यवसायको पहिलो हकदार भएकाले उनीहरूलाई चित्तबुझ्दो तलब दिनुपर्छ भन्ने कमलजंगको मान्यता छ ।
अबको लक्ष्य : २५ आउटलेट, नयाँदिल्लीमा होटल
कमलजंगले नेपालमा २५ आउटलेट पुर्याउने र भारतको नयाँदिल्लीमा होटल सञ्चालनमा ल्याउने योजना रहेको सुनाए । नयाँदिल्लीमा होटल खोल्नुको उद्देश्य नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गर्नु मात्रै रहेको उनको दाबी छ ।
‘भारत विश्वकै चौथो ठूलो शक्तिराष्ट्र र नेपालको छिमेकी देश हो । त्यस्तो देशको करोडौं जनसंख्या भएको संघीय राजधानी नयाँदिल्लीमा होटल खोलेर ड्याडिज किचनको साम्राज्य फैलाउने लक्ष्य हो’ कमलजंग उत्साह पोख्छन्, ‘भारतसँग नेपालको भाषा, संस्कृति, खानपान, रहनसहन मिल्छ । त्यहाँ नेपाली होटल खोलेर नेपालका लुम्बिनीदेखि अन्य पर्यटकीय स्थान चिनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने इच्छा छ ।’