
देशको राजधानी शहर भएकाले काठमाडौं महानगर जति शक्तिशाली छ, यसको चर्चालाई दुई युवा नेताले थप बढाइदिएका छन् । र, महानगर सँगसँगै आकर्षणको केन्द्रमा छन्– मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ।
एउटै उमेर समूह, ३२/३३ वर्षका बालेन र सुनिता विशेषगरी युवा पुस्तामाझ प्रिय छन् । बुढा नेताहरूको शासन र दलीय प्रणाली विरुद्ध प्रचार गरेरै बालेनले मेयर जितेका थिए ।
गैरदलीय उम्मेदवारी दिएरै मेयर जितेका बालेनको कार्यशैली तीन वर्षपछि पनि उस्तै छ । देश चलाइरहेका प्रमुख दल, तिनका नेता र प्रधानमन्त्रीसँग बालेनले समन्वय होइन, सिंगौरी खेल्दै आएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र मेयर बालेन बीच त एकप्रकारले इगोकै लडाइँ छ । जसलाई पुष्टि गर्न अनेक उदाहरण दिन सकिन्छ ।
ओली र बालेनको अडान बुझाउने पछिल्लो घटना हो– प्रमुख प्रशासकीय अधिकृत विवाद ।
बालेनले नरुचाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जसरी पनि काठमाडौं महानगर पठाउने नीति ओली सरकारले लियो । गुरागाईंलाई रोक्ने अडानमा बालेन टसमस भएनन् । आफ्नो सदावहार शैलीमा बालेनले स्टाटस लेखेरै ‘सबैलाई टुकुचा खोलामा गाडिदिने’ चेतावनी दिए, गैरजिम्मेवार तरिकाले ।
सरकारले पनि बालेनलाई पेल्ने नीति बदलेन । जसले गर्दा महिनौंसम्म प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा महानगरका कर्मचारीले तलब नपाउनेदेखि अरू थुप्रै काममा समस्या भयो । मुख्य कुरा त महानगरको बजेट आउने/नआउने निश्चित थिएन ।
यो तहमा पुगेको समस्या सुल्झाउन लगातार लागिपरेकी थिइन्, उपमेयर सुनिता डंगोल ।
उनले अरू जनप्रतिनिधिलाई विश्वासमा लिने प्रयास गरिन्, संविधान र कानूनको व्यवस्था सम्झाइन्, सबै पक्षसँग आवेग त्याग्न आग्रह गरिन्, सम्भावित खतरा र सहकार्यको सम्भावना देखाइन् । ‘… डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौं । हामी सबै हातेमालो गरेर अघि बढौं’, उपमेयर डंगोलले सार्वजनिक अपिल समेत गरिन् ।
सुनिताले सार्वजनिक अपिल गरिरहँदाको पृष्ठभूमि भने असाध्यै तिक्ततायुक्त थियो । मेयर बालेनको आदेशमा महानगर प्रहरीका प्रमुख आफैं दलबल सहित प्रमुख प्रशासकीय अधिकृत रोक्न खटिएका थिए । त्यो संकट समाधान गर्न पनि उपमेयर डंगोलले नै अग्रसरता लिएकी थिइन् ।
‘मेरो सिद्धान्त नै हो– सहकार्य, सहमति र सहअस्तित्व’ उपमेयर डंगोल भन्छिन् । उनको यही शैलीले महानगर अगाडि बढिरहेको छ । यदि सुनिता डंगोलको समन्वयकारी अग्रसरता हुन्थेन भने महानगरको चालु आर्थिक वर्षको बजेट अझै रोकिनसक्थ्यो । निर्दलीय भूमिकाको प्रतीक (नेता भएर) बनेका बालेन भर्सेस परम्परागत शक्ति बीचको लडाइँमा महानगर बन्धक बन्थ्यो ।
‘महानगरको नेतृत्वमा आएपछि मेरो भूमिका नै समन्वयकर्ता जस्तो छ’ डंगोल भन्छिन्, ‘क्राइसिस आउँछ, कोअर्डिनेसन गर्नुपर्यो ।’ अघिल्ला वर्षहरूमा वडाध्यक्ष र मेयर बीचको लफडा व्यवस्थापन उनको भूमिका हुन्थ्यो । यसपटक समस्या झनै बढ्यो ।
महानगरको मूल नेतृत्वमा रहेका बालेनलाई नै मनाउनुपर्ने, आफ्नै पार्टी एमालेका नेताहरूलाई बुझाउनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरूको कुरा सुन्नुपर्ने जस्ता दायित्व उनले निर्वाह गरिन् ।
अर्थात् उपमेयर डंगोल परिपक्व र जिम्मेवार देखिंदा आर्थिक वर्षको अन्तिम दिन नै सही, बजेट पारित भयो, महानगरको संकट टर्यो ।
उल्लेखनीय काम
महानगरको नेतृत्वमा रहेर जस्तो सार्वजनिक भूमिका निर्वाह गरिरहेकी छन्, डंगोलले उपमेयरका रूपमा आफ्नो परिभाषित जिम्मेवारीलाई पनि उदाहरणीय बनाउने कोशिश गरिरहेकी छन् ।
स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था बमोजिम उनले न्याय सम्पादन, बजार अनुगमन, बजेट निर्माण जस्ता कामलाई सकेसम्म प्रभावकारी बनाउन खोजेकी छन् ।
‘मान्छेहरूलाई पहिले त अन्यायमा परेको छु र न्याय पाउनुपर्छ भन्ने बुझाउनुपर्छ’ उपमेयर डंगोल भन्छिन्, ‘त्यसका निम्ति न्यायिक सचेतना फैलाउन जरूरी रहेछ, मैले यसमा काम गरेको छु ।’ यसका निम्ति महानगरबाट कार्यविधि पारित गर्नुपर्यो, त्यो कामको नेतृत्व उपमेयर डंगोलले गरिन् ।
काठमाडौं महानगर राजनीतिको चक्रव्यूहमा फसेको र नेतृत्व संवादविहीन बनेको बेला उपमेयर सुनिता डंगोल संवाद र समन्वयको सेतु बनेर आइन् । बालेन र सत्ता शक्तिबीचको तानातानबीच उनले कानून र संवैधानिक विवेकबाट मार्ग खोज्ने अभ्यास गरिरहेकी छन् ।
अहिले महानगरका प्रत्येक वडामा ‘निःशुल्क कानूनी सहायता’ कार्यक्रम सञ्चालनमा छ । जस अन्तर्गत कानूनमा स्नातक गरिरहेका विद्यार्थीहरू ‘पेड इन्ट्रनसिप’ मा खटिएका छन् । उनीहरूले महानगरवासीलाई न्याय/अन्यायको ज्ञान बाँड्ने, समस्यामा परेकालाई निवेदन लेखिदिने जस्ता काम गर्छन् ।
वडास्तरमै न्यायिक सञ्जाल र मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडा न्यायिक सञ्जालमा दलित महिला सदस्यको संयोजकत्वमा समिति छ । यो समितिलाई मेलमिलापको प्रयत्न गर्ने र नभए कानूनी प्रक्रिया अगाडि बढाउने अधिकार कार्यविधि बनाएरै दिइएको छ ।
‘प्रहरी, वकिल, प्रशासन जस्ता राज्यको संरचनामा जान भन्दा आफूले चिनेको प्रतिनिधिलाई भन्न सजिलो हुने रहेछ, यो कुरालाई ध्यान दिएर वडामै न्यायिक सञ्जाल र मेलमिलाप केन्द्र विस्तार गरिएको छ’, उपमेयर डंगोल भन्छिन् । वडा तहको सञ्जालले ‘न्याय संवाद’, ‘न्याय चौतारी’ जस्ता शीर्षकमा न्यायिक सचेतना फैलाउने काम गरिरहेको छ । न्याय सम्पादनको यो शैलीले लाभग्राही पनि उल्लेख्य संख्यामा बढेको छ ।
न्याय सम्पादनमै उपमेयर डंगोलले गरेको अर्को काम हो– निःशुल्क कानूनी सहयोग । मुद्दा–मामिला लड्ने आर्थिक हैसियत नराख्ने वर्गका निम्ति यो कार्यक्रम ल्याइएको छ ।

‘यदि कसैले मुद्दा–मामिलाका क्रममा वकिललाई खर्च दिने समेत हैसियत राख्दैन भने वडाको सिफारिशमा त्यस्तो वर्गका मानिसलाई मुद्दा लड्ने खर्च सघाउँछौं’, उपमेयर डंगोल भन्छिन् ।
उपमेयरको जिम्मेवारीमै पर्ने बजार अनुगमनलाई पनि प्रभावकारी बनाउने विकल्प अगाडि बढाएकी छन् । ‘चाडका बेला मात्र अनुगमन हुन्छ भन्ने कुरालाई तोड्दै छौं’ उनी भन्छन्, ‘परीक्षण सामग्री सहित अनुगमनको भ्यान अब सधैं बजारमा कुद्छन् ।’
रैथाने उत्पादन, सीप र संस्कृतिको प्रवर्द्धन उनको पूर्वघोषित मुद्दा हो । उपमेयर बनेको यो तीन वर्षमा उनले ‘एक वडा, एक नमूना उद्यम’ जस्ता नारा मार्फत रैथाने सीप, उत्पादन र संस्कृति प्रवर्द्धनलाई जोड दिएकी छन् ।
महानगरका विद्यालयहरूमा ‘बुक फ्री फ्राइडे’ अभियान उनकै सोच र अग्रसरतामा चलिरहेको छ । ‘किताब विनै स्कूल जाने भनेपछि नानीहरू खुशी हुन्छन् । तर त्यहाँ त्यसदिन जे सिक्छन्, त्यो उनीहरूको जीवनसँग जोडिएको हुन्छ । थाहै नपाई रमाइलोमै अभ्यास गर्छन्’, उपमेयर डंगोल भन्छिन् ।
सीप विकास, युवा उद्यमशीलता, महिला सशक्तीकरण, सम्पदा, संस्कृति र भाषाको सम्वद्र्धन जस्ता क्षेत्रमा उनले उल्लेखनीय काम गरेकी छन् । धेरै प्रचार विनै सञ्चालित यस्ता धेरै काम डंगोलको नेतृत्वमा भइरहेको छ ।
योङ ग्लोबल लिडर–२०२५ मा छनोट हुनुलाई उपमेयर डंगोलको कामकै मूल्यांकन मान्न सकिन्छ । वर्ल्ड इकोनोमिक फोरमले विश्वभरका ४० वर्ष मुनिका युवा नेता छनोट गर्दा एशियाबाट डंगोल सहित ११ जना परेका हुन् । डंगोलसँगै एशियाबाट थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा, भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू लगायत छन् ।
सुनिता डंगोललाई ‘सांस्कृतिक सम्पदा प्रवर्द्धन, युवा सशक्तीकरण र शहरी नवप्रवर्तन’ मा योगदान गरेकाले योङ ग्लोबल लिडर छनोट गरिएको उल्लेख गरिएको छ ।
खासै वास्ता नहुने र उपलब्धिका मानक नमानिने जनसम्पर्कको काम अर्को छुटाउने नहुने पाटो हो । ‘मेयर गैरदलीय हुनुभएकाले धेरै जमघट गर्नुहुन्न, त्यस्तो उहाँको स्वभाव पनि छैन’ डंगोल सचिवालय स्रोत भन्छ, ‘राजधानीवासीलाई आफ्नो गुनासो सुनाउने नजिकको मान्छे उपमेयर नै हुनुभएको छ । उपमेयरलाई भेट्नेको सधैं भीड नै हुन्छ ।’
पुस्तान्तरणकै पुल
सुनिता डंगोलले बितेको तीन वर्षमा महानगरको उपमेयरका रूपमा जति काम गरेकी छन्, उपमेयर बनिरहँदाको पृष्ठभूमि सहित बुझ्दा उनको परिचय थप फराकिलो हुन्छ ।
२०७९ सालको स्थानीय चुनाव भइरहँदा पुराना दलहरूप्रति दिक्क भएका युवा पंक्तिमा स्वतन्त्र उम्मेदवारीप्रति चासो बढिरहेको थियो । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको आकर्षण अझ बढी थियो । यस्तो हुनुमा २०७४ सालको चुनावी नतिजा पनि थियो ।
स्वतन्त्र उम्मेदवार बनेर रञ्जु दर्शनाले प्राप्त गरेको मतले राष्ट्रिय चर्चा सहित सनसनी मच्चाएको थियो । एमालेका विद्यासुन्दर शाक्यले मेयर जिते पनि रञ्जु दर्शनाले उल्लेख्य मत पाएकी थिइन् । त्यसकारण २०७९ सालको चुनावमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने लहर नै थियो ।
बालेन, सुमन साय्मिहरूसँगै पूर्व मिस नेवाः सुनिता डंगालले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन् । उम्मेदवारी घोषणासँगै ठूलो हिस्सामा थप चर्चा कमाएकी सुनितालाई पछि एमालेले उपमेयर पदको उम्मेदवार बनायो ।
भलै, मेयर पदका एमाले उम्मेदवार केशव स्थापित र कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई हराउँदै स्वतन्त्र उम्मेदवार बालेनले मेयर जिते ।
उपमेयरमा भने सुनिता डंगोल लगभग प्रतिस्पर्धाहीन जस्तै भइन् । कांग्रेस, माओवादी सहित तत्कालीन सत्तारुढ ५ दलका तर्फबाट उम्मेदवार बन्दा पनि रामेश्वर श्रेष्ठ प्रतिस्पर्धाबाट निकै पछि रहे ।
सुनिताले ६८ हजार ६१२ मत ल्याएर उपमेयर जित्दा निकटतम प्रतिस्पर्धी श्रेष्ठले जम्मा २३ हजार ८०६ मत ल्याए ।
मत परिणामका हिसाबमा सुनिताले बालेन भन्दा धेरै मत ल्याइन् । लौरो चिह्न लिएका बालेनले ६१ हजार ७६७ मत ल्याएर मेयर जित्दा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४९ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए ।
बालेनले भन्दा धेरै मत सुनिताले पाउनुमा एकभन्दा बढी कारण हुन सक्छन् । तर सुनिताले मत पाउने देखेरै एमाले जस्तो बलियो पार्टीले एउटा युवती सुन्दरीलाई टिकट दिएको पनि बिर्सनुहुन्न । त्यसबेला एमाले वृत्तमा सुनिता सेलिब्रेटी, सामाजिक अभियन्ता, युवा र महिला भएकीले टिकट दिइएको तर्क गरिएको थियो ।
समायान्तरमा भने उनी एमाले जस्तो पुरानो पार्टीमा पुरानो र नयाँ पुस्तालाई जोड्ने पुल बन्न पुगिन् । २०७९ सालको चुनावकै क्रममा पनि त्यस्तो अनुभव गर्न सकिन्थ्यो । २०५० सालमा जन्मिएकी सुनिता डंगोलले २०४३ सालबाटै काठमाडौंको मेयर पदमा उम्मेदवार बन्न थालेका केशव स्थापित सँगसँगै मत मागेकी थिइन् ।
सुन्दरीको फरक परिभाषा
उपमेयर हुनुअघि सुनिता डंगोलको परिचय सामाजिक अभियन्ता थियो । र, उनलाई आम रूपले चिनाउने घटना सातौं मिस नेवाः थियो । जहाँ सुनिताले समाज, संस्कृति र सामाजिक सम्बन्धहरूबारे सिकिन् । देश–विदेशका सामाजिक अभियानहरूमा सामेल हुने अवसर पाइन् ।
सन् २०११ मा मिस नेवाः को ताज पहिरिएपछि नेवाः सम्पदा, भाषा र लिपिको संरक्षण एवं सम्वर्द्धन उनको स्वाभाविक दायित्व हुन पुग्यो । र, आफ्नो दायित्वमा उनी दत्तचित्त भएरै लागिन् । आफूले पहिरिएको ताजलाई उनले ग्लामर भन्दा बढी कल्चरल दायित्व भनेर प्रवर्द्धन गरिन् ।
‘हाम्रो आँखा, शिक्षा माथि’ नाराका साथ सक्रिय भइन् । रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियानमा लागिन् । उनलाई ‘लिपि क्विन’ पनि भनियो । नेपाल भाषा विज्ञ भएर काम गरिन् । नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिइन् । एमसी भएर नामसँगै थोरै दाम पनि आर्जन गरिन् ।
त्यसो हुँदा एक्स्पोजरको कमी थिएन । २०७६ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमको सञ्चालन सुनिताले गर्नु उनको फैलिंदो आकारकै रूप थियो ।
मेयर पदमा दाबी गरिरहँदा भनेकी पनि थिइन्, ‘चर्चामा आउन पोलिटिकल स्टेप लिन जरूरी छैन ।’ चर्चा कमाउन नभएर राजधानीवासीको जीवन प्रणालीलाई सहज बनाउनु आफ्नो उद्देश्य रहेको सार्वजनिक घोषणा गरेकी थिइन् ।
अर्थात् एमालेबाट उपमेयरको उम्मेदवार बन्नुअघि नै सुनिताले आफू प्रतिभाशाली युवा नेता रहेको पुष्टि गरिसकेकी थिइन् । एमाले उम्मेदवार बन्नुअघि उनले सारेका एजेण्डा, अभिव्यक्ति र गतिविधिले पनि सुनितालाई बुझ्न मद्दत पुग्छ ।
धेरैले भन्ने गरेको विकासको मोडेल, राजनीतिक नेतृत्वको परिभाषा र देश बनाउने सूत्रमा सुनिताको अलग मत थियो । उनी भन्थिन्– ‘राजधानीवासीको चाहना विशाल संरचनाहरूमा होइन, स–साना व्यवस्थापनमा छ ।’
रैथाने ज्यापुकी छोरी अनि नेपाली र अंग्रेजी भाषामा स्पष्ट कुरा राख्न सक्ने सामर्थ्यले सुनिता धेरैभन्दा भिन्न छिन् । ‘म दीर्घकालीन राजनीतिमा आउन चाहन्छु, राजनीतिबाट समाजको परिवर्तन गर्न चाहन्छु’ उनी भन्छिन्, ‘पावर भनेको रेस्पोन्सिबिलिटी पनि हो ।’
स्वतन्त्र हैसियतमा मेयरको उम्मेदवार बन्दै गर्दा ‘आठ पिलर मोडेल’ नै तयार पारेकी थिइन् । जसमा थियो– फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सोसियल इन्जिनियरिङ, भौतिक पूर्वाधार निर्माण, डिजिटल काठमाडौं (ई–गभर्मेन्ट), रिसर्च एण्ड डेभलभमेन्ट, युथ इम्पावरमेन्ट एण्ड इम्प्लोइमेन्ट र कल्चरल हेरिटेज ।
आफ्नो कार्यक्रम लिएर मत माग्न नै थालिसकेकी थिइन्, सुनिता । ‘फोहोरबाट मोहोर अर्थात् पैसा तिरेर फोहोर फाल्ने होइन, पैसा लिएर फोहोर दिने नीति ल्याउनुपर्छ’, उनी भन्थिन् ।
सार्वजनिक यातायात सेवालाई सबैका निम्ति सुरक्षित र भरपर्दो बनाउनुपर्ने वकालत थालेकी थिइन् । सामुदायिक विद्यालयको गुणस्तर सुधारले शिक्षा क्षेत्रमा रहेको विभेद घटाउने तर्क गर्थिन् ।
कुनै व्यक्तिको हिरोइज्मले नभएर व्यवस्थित शासन प्रणालीले देश बन्ने निष्कर्ष निकालेकी थिइन् । अर्थात् बालेनले जे भनेर मेयर जिते, सुनिताको कुरा धेरै भिन्न थिएन ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर