७ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव मनाइएको छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइएको हो ।
विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधिलाई तिल्कोत्सव भनिन्छ ।
दहीचिउरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित १ हजार १ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव गरिएको हो ।
भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका सहमहन्त रामरोशन दासले गरेका थिए ।
तिलकोत्सवमा धनवट्टी पनि गर्ने गरिन्छ ।
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको तेस्रो दिन जनकपुर ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा धनुष यज्ञ मनाइएको थियो ।
भोलि पाँचौ दिन सोमबार राम र जानकीको मटकोर, मुख्य दिन मंगलबार जानकी र भगवान रामको विवाह र बुधबार रामकलेवा गरी विवाह पञ्चमी महोत्सव सम्पन्न हुने छ ।
४ मंसिरदेखि सुरु भएको विवाह पञ्चमीको पहिलो दिन नगरदर्शन, दोश्रो दिन ५ मंसिरमा फूलवारी लिला सम्पन्न भएको छ ।

प्रतिक्रिया 4