+
+
Shares
स्थलगत– बाँके :

अरूलाई चाहिएको छ सुशासन र विकास, मुस्लिमलाई शान्तिसुरक्षा

‘कत्लकी रात’ अर्थात् चुनाव अघिको मौन अवधिमा हुने भित्रभित्रैको हल्लाखल्ला नेपालगञ्ज क्षेत्रमा सबैभन्दा चर्को पर्छ। मानौं, त्यो प्रतिनिधि छान्ने पर्व होइन, हलाल पर्वको तयारी हो। नेपालगञ्ज क्षेत्रका धेरैजसो घरमा भगवा झण्डा लगाउने र हरिया झण्डा फहराउने क्रम छ।

बसन्त बस्नेत कृष्ण अधिकारी बसन्त बस्नेत, कृष्ण अधिकारी
२०८२ फागुन १४ गते २२:००

१४ फागुन, बाँके । हिन्दु हुनु र चुनाव आउनुका बीच कुनै साइनो छैन। मुस्लिम वा अरू कुनै धर्मावलम्बी हुनु र राजनीतिक आस्था राख्नु भनेको बिल्कुल बेग्लाबेग्लै विषय हुन्। तर बाँके, कपिलवस्तु सेरोफेरोका क्षेत्रमा मुस्लिम हुनु र चुनाव आउनुका बीच एककिसिमको भयले राज गरिरहन्छ।

‘कत्लकी रात’ अर्थात् चुनाव अघिको मौन अवधिमा हुने भित्रभित्रैको हल्लाखल्ला यी क्षेत्रमा सबैभन्दा चर्को पर्छ। मानौं, त्यो प्रतिनिधि छान्ने पर्व होइन, हलाल पर्वको तयारी हो। नेपालगञ्ज क्षेत्रका धेरैजसो घरमा भगवा झण्डा लगाउने र हरिया झण्डा फहराउने क्रम छ।

अचम्म, झण्डा नै लगाए पनि पार्टीका झण्डा लाग्नुपर्ने। विश्वकप फुटबलका बेला हामी ब्राजिल, अर्जेन्टिना वा फ्रान्स आदिका झण्डा सहजै लगाउँछौं। नत्र नेपालमा कि त राष्ट्रिय झण्डा लाग्ने हो, कि त पार्टीका।

तर पश्चिम तराईका यी क्षेत्रमा धर्मविशेषका झण्डा लागिरहेका छन्। खासगरी चुनावका बेला यो क्रम अझै बढ्दो क्रममा छ।

‘अरूतिर सुशासन र विकास मागेको सुनिन्छ, हामी चाहिं शान्ति–सुरक्षामा कमी नहोस् भन्ने माग मात्रै राखिरहेका छौं’ नेपालगञ्ज उपमहानगरपालिका–११ इदगाह रोडका एक स्थानीयले अनलाइनखबरसँग व्यथा सुनाए, ‘अरूतिर जे कुरा चुनावमा उठ्छ, हाम्रोमा उठ्दैन।’

ती स्थानीयले भने झैं यस पटकको निर्वाचनमा मुस्लिम समुदायको मुख्य चासो शान्ति–सुरक्षामा देखिएको छ। स–साना विवाद बढ्दै गएर दंगा–बबाल नै हुने हो कि भन्ने चिन्ता धेरै मुस्लिम अगुवाहरूमा देखिन्छ। शान्तिसुरक्षा चुस्तदुरुस्त होस्, अतिवादीहरू माथि कडा निगरानी होस् भन्ने उनीहरू चाहन्छन्।

नेपालगञ्जका वरिष्ठ पत्रकार सिराज खानका अनुसार मुस्लिम समुदायमा सामाजिक सद्भाव नखल्बलियोस् र शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न होस् भन्ने माग नै प्रमुख छ।

उदाहरण ईस्तियाक राईको दिउँ। उनी यो क्षेत्रका एमाले उम्मेदवार हुन्। तीनपल्टभन्दा बढी पार्टी परिवर्तन गरिसके। उनको धार्मिक भोटब्लक एउटै छ। यही भोटब्लक उनी र मतदाता बीच प्रश्नोत्तर गर्न बाधा गर्ने ब्लक बन्न पुगेको छ।

ईस्तियाक त दृष्टान्त मात्रै हुन्। हिन्दु होउन् या मुस्लिम जुनसुकै धार्मिक आस्थाको उम्मेदवारलाई पनि विगतमा के गर्‍यौ र अब के गर्नेछौ भनी सोधिनसक्ने प्रश्नबाट उम्किने सुविधा यिनै हरिया, पहेंला झण्डाहरूले दिएका छन्।

लुम्बिनी प्रदेशका बाँके, कपिलवस्तु, रूपन्देही, नवलपरासी र बर्दिया जिल्लामा मुस्लिम समुदायको उल्लेख्य सामुदायिक संख्या छ। पछिल्लो गणना अनुसार यो प्रदेशमा मुस्लिम समुदायको कुल जनसंख्या ३ लाख ८१ हजार ८०६ रहेको छ। जुन कुल जनसंख्याको करिब ७.४५ प्रतिशत हुन्छ।

बाँके जिल्लामा मुस्लिम समुदायको १ लाख ४९ हजार ७३६ छ। जुन जिल्लाको कुल जनसंख्याको करिब २४.८, प्रतिशत हुन्छ। त्यसैगरी कपिलवस्तुमा १ लाख ४ हजार ६७६ अर्थात् १८.१ प्रतिशत, रूपन्देहीमा ७३ हजार १५२ अर्थात् ६.५ प्रतिशत, नवलपरासी पश्चिममा २७ हजार ५६९ अर्थात् ७.२ प्रतिशत र बर्दियामा २३ हजार ८८९ अर्थात् ५.२ प्रतिशत छ।

अरू समुदायसँग प्रखर भएर संवाद गर्न सक्ने मुस्लिम एकातिर छन्। त्यस समुदायभित्र पनि तीव्र प्रतिक्रियामा आइहाल्ने आवेगयुक्त व्यक्तिहरूको कमी छैन। हिन्दु समुदाय वा अन्यमा पनि उस्तै खालको आवेगले काम गरिरहेको हुन्छ।

नेपालगञ्जमा बस्दै आएका पूर्वराजनीतिकर्मी तथा लेखक सनत रेग्मीको विचारमा, राजनीतिक र सामाजिक एजेन्डाले समाजलाई डोर्‍याउन छाडेको छ। प्रविधिले त्यस्तो हल्लालाई झन् चर्को पारिदिएको छ।

‘धर्मको विषय विशुद्ध आस्थाको विषय हो, यसलाई राजनीतिसँग जोड्नु ठिक होइन,’ रेग्मी भन्छन्, ‘तर नेपालगञ्ज त्यस दृष्टिले अलिक संवेदनशील अवस्थामा नै छ। राजनीतिक पार्टीहरूले आफ्नो प्रचार अभियान चलाउँदा धार्मिक विषयलाई अगाडि ल्याउने अभ्यास उचित होइन।’

बाँके जिल्ला बार एशोसिएसनका पूर्व अध्यक्ष एवं अधिवक्ता अयुब सिद्धिकी भन्छन्, ‘सीमापारिका अतिवादी संघसंस्थाहरूको आडमा कुनै पनि बेला दंगाफसाद हुन सक्छ भन्ने त्रास नेपालगञ्जवासीमा छ।’

सामाजिक सद्भाव कायम राख्नु नेपालगञ्जका लागि अत्यावश्यक छ। विवादमा नपरेका, भ्रष्टाचार, सहकारी र बैक ठगी जस्ता मुद्दामामिलामा नपरेका, सुशासन र दण्डहीनताका पक्षमा वकालत गर्न सक्ने व्यक्ति निर्वाचित हुनुपर्छ भन्ने चाहना मुस्लिम समुदायको छ।

युवा अभियन्ता एवं अधिकारकर्मी साहिल अन्सारीका अनुसार मुस्लिम समुदायको मुख्य चासो शान्ति सद्भाव र विकासमा छ। राज्यका निकायहरूमा मुस्लिम समुदायका युवाहरूले पनि समान अवसर पाउनुपर्छ भन्ने उनीहरूको चाहना छ।

प्रमुख राजनीतिक दलहरूले मुस्लिम समुदायलाई निर्णायक तहमा पुर्‍याउने भन्दा पनि भोट बैंकको रूपमा प्रयोग गरिरहेको बुझाइ मुस्लिम बुद्धिजीवीहरूको छ।

मुस्लिम बुद्धिजीवी एवं नेपाल अडिटर्स एशोसिएसन अडानका केन्द्रीय सचिव जुबेर राईका भनाइमा मुस्लिम समुदायको चासो र रोजाइमा विकासप्रेमी र युवा उम्मेदवार छन्।

मुस्लिम बहुल बाँके, कपिलवस्तु, रूपन्देही, नवलपरासी र बर्दियाका ५ वटा जिल्लामा १५ वटा निर्वाचन क्षेत्र छन्। ती जिल्लामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस, एमाले र रास्वपाले एक–एक सिटमा मात्रै उम्मेदवार बनाएका छन्।

नेपाली काङ्ग्रेसले कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट अतहर कमाल मुसलमान, एमालेले बाँके २ बाट इस्तियाक राई र रास्वपाले रूपन्देही ५ बाट तौफिक अहमद खालाई उम्मेदवार बनाएको छ। नेकपाले भने रूपन्देही ३ बाट फैज अहमद खा रूपन्देही ५ बाट मोहमद वकिल मुसलवानलाई उम्मेदवार बनाएको छ।

बाँकेको क्षेत्र नं १ बाट २०४८ सालमा सैयद मेराज अहम शाह र बाँकेकै २ नं क्षेत्रबाट यस अघि भएका दुई वटा निर्वाचन ईस्तियाक अहमद राई विजयी भएका थिए। २०७० सालमा कपिलवस्तुबाट अतहर कमाल मुसलमान विजयी भएका थिए।

त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यका अनुसार, बाँके क्षेत्र नं २ मा विकास निर्माणका ठूला र महत्वाकांक्षी योजना भन्दा पनि उम्मेदवार हिन्दु, मुस्लिम, पहाडी वा मधेशी को भन्नेमा धेरैको चासो हुन्छ।

यो क्षेत्रमा धर्म र भाषालाई आधार मत दिने उम्मेदवार छनोट गर्ने अस्थिर मतदाता करिब १५ देखि १८ प्रतिशत रहेको अनुमान डा. आचार्यको छ।

त्यसैगरी क्षेत्र नं २ को शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमध्ये करिब २० प्रतिशत गरिबीको रेखामुनि छन्। विश्लेषकहरूको तर्कमा, गरिब मतदाताहरूमध्ये अधिकांश आर्थिक प्रलोभनमा पर्ने सम्भावना उच्च हुन्छ। गरिब मतदाताका लागि भने धार्मिक आवरण केवल भोट माग्ने अस्त्रका रूपमा मात्रै प्रयोग गर्ने गरेका छन् उम्मेदवारहरूले।

२०४८ देखि हालसम्म भएका आम निर्वाचनलाई नजिकबाट नियाल्दै आएका प्रा.डा. आचार्यका अनुसार बाँके क्षेत्र नं २ का करिब एक चौथाइ अर्थात् २५ प्रतिशत मतदाताले मतदान हुनुभन्दा अघिल्लो दिन मात्रै कुन उम्मेदवारलाई भोट दिने भनेर निर्णय गर्छन्। जसका कारण क्षेत्र नं २ को निर्वाचन परिमाण सधैं अनिश्चित र रोचक हुन्छ।

बाँकेको क्षेत्र नं २ मा धर्मका आधारमा मतदाताहरूको ध्रुवीकरण हुने संभावना धेरै हुन्छ। विश्व हिन्दु महासंघ लगायत हिन्दुवादी संघ–संगठनका नाममा होस् वा मुस्लिमसँग संगठनका नाममा, धार्मिक मत केन्द्रित हुने क्रम बढेको छ। यस पटकको चुनावमा प्राय: सबै पार्टीले आफ्ना उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेका कारण यस पटकको चुनावी प्रतिस्पर्धा विगतको भन्दा फरक र रोचक बनेको छ।

विगतमा पनि कतिपय घटनाहरूका कारण नेपालगञ्ज विवाद र भयको तारो बन्ने गरेको छ। सीमापारिबाट हतियारधारी व्यक्ति आएर नेपालगञ्ज र कपिलवस्तुमा मुस्लिम समुदायका अगुवाहरूलाई गोली हानेर हत्या गरिए पनि ती घटनाको छानबिन र अनुसन्धान अझै हुनसकेको छैन।

कुनै समय कपिलवस्तुका मुस्लिम समुदायका नेता मिर्जा दिलसाद वेग निकै चर्चित थिए। उनी सहायक मन्त्री पनि बने। सद्भावना पार्टीबाट राजनीति शुरु गरेर राप्रपामा प्रवेश गरेका मिर्जा दिलसाग वेग २०५० को दशकमा प्रभावशाली नेतामा गनिन्थे। उनको डाइलग थियो– ‘सौ गिरिजा बराबर एक मिर्जा।’ तर ती एक मिर्जाको पनि १५ असार २०५५ मा काठमाडौंको सिफलमा हत्या भएको थियो। खैर, यसका पछाडि धार्मिक मात्रै नभई उनको कतिपय शंकास्पद उठबसलाई आधार मानिएको प्रचार फैलिएको थियो।

२०६८ फागुन १७ गते साँझ करिब ७:४५ बजे नेपालगञ्जको व्यस्त न्यूरोड क्षेत्रमा रहेको एउटा होटलका बसिरहेका नेपालगञ्जका मजित मनिहारको मोटरसाइकलमा आएका दुई जना भारतीय सुटरहरूले गोली हानेर हत्या गरेका थिए। हत्यापछि सुटरहरू होटलको पछाडिको बाटोहुँदै मोटरसाइकलमा चढेर जमुनाह नाका हुँदै भारततर्फ भागेका थिए।

मुस्लिम समुदायका मजित माथि तस्करी, डकैती र अवैध हातहतियारको कारोबारमा संलग्न रहेको आरोप लाग्ने गर्दथ्यो। त्यो घटनाले नेपालगञ्जमा ठूलो त्रास फैलाएको थियो। एउटा सुरक्षित मानिने होटलभित्रै विदेशी सुटर छिरेर हत्या गर्नुले नेपाल–भारत खुला सीमाको सुरक्षा चुनौतीलाई उदाङ्गो पारेको थियो।

सुरक्षा क्षेत्रबारे विश्लेषण गर्दै आएका अध्येता जयनारायण शाहको भनाइमा, बाँके जस्तो संवेदनशील जिल्लाका लागि छुट्टै खालको सुरक्षा रणनीति चाहिन्छ। चुनावका बेला त्यस्तो गम्भीरता थप आवश्यक पर्ने उनी बताउँछन्।

‘अन्यत्र जस्तो निर्वाचन प्रहरी वा नियमित तयारी गरेर हुँदैन, किनभने कुनै पनि बेला समस्या उत्पन्न हुन सक्छ भन्ने आकलन भइसकेपछि त्यस अनुसारको रणनीति बनाउनुपर्छ’ अध्येता शाह भन्छन्, ‘राष्ट्रिय सेवा दल, पूर्व सैनिकहरू तथा विभिन्न पक्षहरूलाई जोडेर एकीकृत सुरक्षा रणनीति बनाउनुपर्छ। त्यसपछि मात्रै आम मतदाताको ध्यान शान्तिसुरक्षाबाट सुशासन, विकास, रोजगारी लगायत अरू मुद्दातर्फ डोरिन सक्छ।’

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?