शारदा म्याम- दरबार हाईस्कूलको इतिहास पुनर्निर्माण
१९१० सालमा स्थापित नेपालको पहिलो आधुनिक विद्यालय दरबार हाईस्कूल (हाल भानु माध्यमिक विद्यालय) को इतिहास जति गौरवशाली छ, यसको नेतृत्वको कथा भने त्यति नै एकांकी। स्थापनाकालदेखि लगातार १७२ वर्षसम्म यो ऐतिहासिक विद्यालयको सर्वोच्च पद प्रधानाध्यापकमा केवल पुरुषहरूले मात्र एकछत्र राज गरे।
तर, त्यो लामो र एकांकी परम्परालाई तोड्दै ४ मंसिर २०८२ मा एउटा नयाँ इतिहास लेखियो। शारदाकुमारी पौडेल दरबार हाईस्कूलको इतिहासमै पहिलो महिला प्रधानाध्यापक नियुक्त भइन्।
२२ जना पुरुष प्रधानाध्यापकहरूको अविच्छिन्न शृङ्खला तोड्दै २३औं प्रअका रूपमा विद्यालयको नेतृत्व सम्हाल्न आइपुगेकी हुन् शारदा । यसरी उनको जिम्मेवारी एउटी महिलाको पदोन्नति मात्र रहेन, बरु नेपाली समाज र शिक्षा क्षेत्रमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच विरुद्ध एउटा बलियो सन्देश पनि बन्यो।
अविश्वासका पर्खालहरू
शिक्षित पारिवारिक पृष्ठभूमिमा हुर्किएकी शारदा बुबाकै प्रेरणाले शिक्षण पेशामा आएकी थिइन्। ‘घरमा छोराछोरी बीच कुनै विभेद थिएन। बुबा पनि शिक्षक हुनुहुन्थ्यो, उहाँकै प्रेरणाले म शिक्षा क्षेत्रमा आएँ’, उनी आफ्नो बाल्यकाल सम्झिन्छिन्।
स्याङ्जामा जन्मिएकी शारदा २०६१ सालमा शिक्षण पेशामा प्रवेश गरेकी हुन्। महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा पहिलो नियुक्ति पाएसँगै उनले त्यहाँ १० वर्ष स्वास्थ्य शिक्षा पढाइन् । २०७१ सालमा खुला प्रतिस्पर्धाबाट माविको नाम निकालेपछि उनी अर्थशास्त्र पढाउन दरबार हाईस्कूल आएकी थिइन्।
दरबार हाईस्कूलमा लामो समय कार्यवाहक प्रधानाध्यापकका रूपमा काम गरेर पूर्ण प्रअको जिम्मेवारीसम्म आइपुग्दा उनले भोगेको मुख्य चुनौती भनेको महिलाप्रतिको अविश्वास नै थियो। ‘प्रधानाध्यापक हुने योग्यता (शैक्षिक डिग्री), अनुभव र प्रक्रिया पुरुष र महिलाका लागि एउटै हो। तर महिला भएकै कारण केही कमजोरी छ कि भनेर सधैं माइक्रोस्कोपले हेर्न खोजिन्छ’, उनी आफ्नो भोगाइ सुनाउँछिन्।
उनका अनुसार, प्रत्यक्ष रूपमा कसैले ‘तपाईं महिला हो’ भनेर नहेपे पनि समाज र सहकर्मीहरूको ‘बडी ल्याङ्ग्वेज’, हेराइ र कटाक्षमा त्यो मानसिकता स्पष्टै देखिन्थ्यो। ‘महिलालाई ‘डोमिनेट’ र ‘ह्यारेस’ गर्ने अवस्था सिर्जना गरिन्छ। मैले पनि चार वर्षसम्म त्यो सङ्घर्ष गरें। यदि म पुरुष भएको भए शायद निमित्त प्रअ पनि सजिलै पाउने थिएँ होला’, उनी भन्छिन्।

उनी थप्छिन्, ‘हाम्रो समाज नै महिलालाई दबाउने सोचबाट ग्रसित छ । विद्यालय पनि समाजकै सानो रूप हो ।’ विद्यालयमा विभागीय प्रमुखको जिम्मेवारी दिंदा पनि महिलालाई प्रस्ताव नै नगरिने र पुरुषलाई मात्र अघि सारिने संस्कार अझै पनि विद्यमान रहेको उनी बताउँछिन्।
७१ बाट ११०० पुगेका विद्यार्थी
२०७१ साल फागुनमा शारदा दरबार हाईस्कूल आउँदा विद्यालयको अवस्था निकै दयनीय थियो। विद्यार्थी सङ्ख्या मुस्किलले १५० थियो। शिक्षक बढी, विद्यार्थी कम र पढाइ कमजोर भन्ने नकारात्मक भाष्य जताततै सुनिन्थ्यो।
त्यसको केही समयलगत्तै २०७२ सालको विनाशकारी भूकम्पले विद्यालयको ऐतिहासिक भवन पूर्ण रूपमा क्षतिग्रस्त बनायो। विद्यालयलाई वाल्मीकि विद्यापीठमा सारियो। त्यसपछि त विद्यार्थी सङ्ख्या झनै घट्यो।
‘भूकम्पपछि विद्यार्थी भर्ना गर्न हामीले टोलटोलमा माइकिङ गर्यौं। खाजा, युनिफर्म, कापी-किताब निःशुल्क दियौं। तैपनि कहिलेकाहीं २०-२५ जना बच्चा मात्र स्कूल आउँदा हामीलाई दशैं नै आए जस्तो खुसी लाग्थ्यो’, सङ्घर्षका ती दिन सम्झिंदा उनी अझै भावुक हुन्छिन्।

त्यसपछि कोभिड महामारी आयो, अनलाइन कक्षा चल्यो। २०७५-७६ तिर चिनियाँ सहयोगमा दरबार हाईस्कूलको भव्य भवन पुनर्निर्माण भएपछि विद्यालय आफ्नै पुरानो थलो अर्थात् रानीपोखरी अगाडि फर्कियो । त्यतिबेला पनि विद्यार्थी सङ्ख्या जम्मा ७१ जना मात्र थियो।
तर, त्यही ७१ जनाबाट शुरु भएको शारदा र उनको टिमको शैक्षिक सुधारको अभियानले अहिले लोभलाग्दो नतिजा दिएको छ। अहिले दरबार हाईस्कूलमा (कक्षा १२ सम्म) विद्यार्थी सङ्ख्या बढेर ११०० पुगेको छ।
‘अहिले आएर हेर्दा सपना जस्तै लाग्छ। हिजो हामी माइकिङ गरेर विद्यार्थी खोज्थ्यौं, आज आफ्ना छोराछोरी निजी विद्यालयमा पढाइरहेका अभिभावकहरूले समेत दरबार हाईस्कूल रोज्न थालेका छन्’, उनी गर्वसाथ भन्छिन्।
सुधारको ‘रोडम्याप’ र नवीन प्रयोग
यो महत्वपूर्ण परिवर्तन भौतिक संरचना राम्रो भएर मात्र सम्भव भएको होइन। शारदाको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न थुप्रै नवीन प्रयोगहरू गर्यो।
‘हामीले नियमित कक्षा, परीक्षा, उपचारात्मक शिक्षण, अतिरिक्त क्रियाकलाप, रोबोटिक्स ल्याब, डिजिटलाइजेसन र शिक्षक तालिममा विशेष जोड दियौं। अभिभावकसँग नियमित बैठक सुरु गर्यौं। यही कारण परिणाम सुधारिएको हो’, शारदाले सफलताको सूत्र सुनाइन् ।
उनको निष्कर्ष छ, ‘महिलाले नेतृत्व गर्दा सुशासन अझ राम्रो हुन्छ भन्ने प्रमाणित भएको छ। महिलामा मितव्ययिता, जिम्मेवारी र इमानदारी बढी देखिन्छ।’

दरबार हाईस्कूलको एउटै भवनभित्र हाल दुईवटा फरक विद्यालय- भानु मावि र संस्कृत मावि सञ्चालनमा छन्। संस्कृत माविमा मात्र करिब ९०० विद्यार्थी छन्। दुई विद्यालयका करिब दुई हजार विद्यार्थीले एउटै भवन र सीमित स्रोतसाधन प्रयोग गर्दा व्यवस्थापकीय चुनौती पनि उत्तिकै छ।
भीडभाड व्यवस्थापन गर्न विद्यालयले ‘टिफिन ब्रेक’ समेत फरक-फरक समयमा गराउनुपरेको छ। विद्यार्थी सङ्ख्या बढे पनि सरकारबाट आउने स्रोतसाधन सीमित भएकाले विद्यालयले अभिभावकको सहयोगमा थप कर्मचारी नियुक्त गरेर काम चलाइरहेको छ।
शिक्षक अभाव हुन नदिन शारदाकै नेतृत्वमा विद्यालयले हालसालै ‘टिचर्स बैङ्क’ नामक एउटा नवीन र उदाहरणीय योजना शुरु गरेको छ। यस अवधारणाअन्तर्गत वैकल्पिक शिक्षकहरूको एउटा ‘पुल’ (समूह) निर्माण गरिन्छ।
यदि कुनै नियमित शिक्षक बिरामी भएर वा अन्य कारणले एक हप्ता वा सोभन्दा बढी समय कक्षा लिन नसक्ने भएमा, टिचर्स बैङ्कमा सूचीकृत भएका शिक्षकहरूलाई तत्काल बोलाएर कक्षा सञ्चालन गरिन्छ। यसले गर्दा विद्यार्थीको पढाइ कहिल्यै रोकिंदैन।
आत्मविश्वासी पुस्ता निर्माणको लक्ष्य
अहिले बाहिरबाट विद्यालय र उनको नेतृत्वप्रति आउने प्रतिक्रिया निकै सकारात्मक छन्। तर शारदालाई लाग्छ, अझै धेरै गर्न बाँकी छ।
आगामी दिनमा विद्यालयको प्रविधिगत क्षमता अझै सुदृढ बनाउने, विद्यार्थीको प्राविधिक दक्षता बढाउने र थप ऐच्छिक विषयहरू राख्ने उनको योजना छ। खेलकुद, विद्यार्थीको वक्तृत्वकला र रोबोटिक्स कार्यक्रमलाई उनी विशेष प्राथमिकतामा राख्न चाहन्छिन्।

‘म दरबार हाईस्कूललाई यस्तो विद्यालय बनाउन चाहन्छु, जहाँबाट उत्पादन भएका विद्यार्थीहरू आत्मविश्वासी, सीपयुक्त र परीक्षामा मात्र नभई जीवनका हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम होऊन्’, उनी आफ्नो लक्ष्य सुनाउँछिन्।
आफू शिक्षण पेशामा लागेकोमा शारदालाई ठूलो गर्व छ। १७२ वर्षको एकाधिकार तोडेर दरबार हाईस्कूलको कुर्सीमा बस्ने उनी पहिलो महिला त हुन् नै, त्योभन्दा ठूलो कुरा उनी हजारौं विद्यार्थीको भविष्य कोर्ने एक अथक् ‘गुरुआमा’ हुन्।
‘शिक्षक बन्नु आत्मसन्तुष्टिको पेशा हो। सधैं बच्चाहरूसँग रहँदा मन सधैं युवा रहन्छ’, उनी मुस्कुराउँदै आफ्नो कुरा टुङ्ग्याउँछिन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी