‘प्याड टु गो’ ले तोड्छ महिनावारीको मौनता
नेपालमा महिनावारी अझै पनि धेरैका लागि लाज, गोप्यता र अभावको विषय हो। यहाँ हजारौं किशोरी महिनावारी हुँदा प्याड नपाउँदा स्कूल छुटाउँछन्, चुपचाप पीडा सहन्छन् र गम्भीर स्वास्थ्य जोखिममा पर्छन्।
यही मौनतालाई तोड्दै दुई युवती- शुभांगी राणा र जेसलिना राणाले शुरु गरेको ‘प्याड टु गो’ ले स्यानिटरी प्याडलाई केवल एउटा उत्पादन होइन, महिलाको आधारभूत अधिकारका रूपमा स्थापित गर्ने अभियान चलाएको छ।
स्कूल र सार्वजनिक स्थलमा ‘भेन्डिङ मेसिन’ जडान गर्नेदेखि ‘रातो कर माफ गर’ जस्ता नीतिगत आन्दोलनसम्म फैलिएको यो सामाजिक उद्यमले नेपालमा महिनावारी स्वास्थ्यलाई नयाँ दिशातर्फ डोर्याएको छ।
‘प्याड टु गो’ ले मुख्यतया चार आयाममा काम गरिरहेको छ: जागरण, उपलब्धता, किफायती मूल्य र नीतिगत पैरवी। राणाद्वयको यो काम सांस्कृतिक सोच, लैङ्गिक समानता र सामाजिक न्यायको एउटा प्रेरणादायी लडाइँको स्वरूप बनेको छ ।
इन्जिनियरिङ र कानूनको सङ्गम
‘प्याड टु गो’ की सह-संस्थापक हुन्, शुभांगी र जेसलिना। उनीहरू दुवै काठमाडौंमा हुर्किएर भारतबाट उच्च शिक्षा हासिल गरेका युवती हुन्।
शुभांगी राणाले काठमाडौंको सेन्ट जेभियर्स स्कूलबाट माध्यमिक शिक्षा सकेपछि भारतको वारंगलस्थित राष्ट्रिय प्राविधिक संस्थान (एनआईटी) बाट सिभिल इन्जिनियरिङमा स्नातक गरिन्। सन् २०१८ मा नेपाल फर्केर हाइड्रोपावर क्षेत्रमा काम गरेकी उनी हाल अमेरिकाको एमआईटी स्लोन स्कूल अफ म्यानेजमेन्टमा एमबीए गर्दैछिन्।
इन्जिनियरिङ, नवप्रवर्तन र सामाजिक उद्यमशीलताको क्षेत्रमा अनुभव बटुलेकी उनी ग्लोबल शेपर्स काठमाडौं हब ‘विश्व आर्थिक मञ्च’की सदस्य पनि हुन् ।
त्यसैगरी, जेसलिनाले नेशनल ल युनिभर्सिटी, दिल्लीबाट पाँच वर्षे एलएलबी पूरा गरिन् र पछि हार्वर्ड ल स्कूलबाट एलएलएम (मास्टर्स) पनि सकिन्। सन् २०१८ मा नेपाल फर्केर एम्नेस्टी इन्टरनेसनलसँग काम गरेकी उनी हाल अन्तर्राष्ट्रिय मानवअधिकार सङ्गठनमा युएन एड्भाइजरका रूपमा कार्यरत छिन्।
दुवैको थर ‘राणा’ भए पनि उनीहरू दिदीबहिनी वा आफन्त होइनन्। उनीहरूका भाइहरू एउटै स्कूलमा पढ्ने भएकाले उनीहरू बीच चिनजान भएको थियो। दुवैको अध्ययनको क्षेत्र फरक भए पनि व्यवसायसँगै समाजसेवा गर्ने चाहना भने एउटै थियो। सन् २०१८ मा भेट भएपछि दुवैले आफूले पाएको राम्रो शिक्षा र सुविधायुक्त जीवनबापत समाजलाई केही फिर्ता दिने सोच बनाए।
शुभांगीलाई सानैदेखि साथीहरू वा समाजका मानिसले ‘छुई भएँ, पर सरें’ जस्ता शब्द प्रयोग गर्दा मनमा चसक्क हुन्थ्यो। महिनावारी भयो भन्नलाई पनि अनेक शब्द सापटी लिनुपर्ने र महिनावारीलाई नै ‘अछूत’ बनाउने भाष्य परिवर्तन गर्नुपर्छ भन्ने छाप उनको बालमस्तिष्कमा परिसकेको थियो।
शुभांगी भन्छिन्, ‘शब्दले नै महिनावारीलाई अछूत बनाएको छ । यो गलत हो भन्ने नराम्रो छाप बाल्यावस्थादेखि नै परिसकेको थियो ।’ महिनावारी कुनै पाप होइन, यो प्राकृतिक प्रक्रिया हो भन्ने सकारात्मक सन्देश फैलाउने उनको योजनामा जेसलिनाले पनि दरिलो साथ दिइन्।
संयोग कस्तो पर्यो भने, एउटा पारिवारिक कार्यक्रममा भेटिएका शुभांगी र जेसलिना । पहिलो भेटमै शुभांगीले आफ्नो योजना सुनाइन् र तत्काल साथ दिने सहमति दिइन् जेसलिनाले ।
भेन्डिङ मेसिनबाट शुरु भएको क्रान्ति
भारतमा अध्ययन गर्दा उनीहरूले त्यहाँका विश्वविद्यालयमा ‘स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन’ देखेका थिए। नेपालमा महिनावारी स्वास्थ्यको चुनौती देखेपछि उनीहरूले त्यही प्रविधिलाई नेपाल भित्र्याउने निर्णय गरे। विकसित देशहरूमा प्रचलनमा आइसकेको यो प्रविधिलाई शुभांगी र जेसलिनाले नै पहिलो पटक नेपाल ल्याएका हुन्।
सन् २०१८ मा उनीहरूले भारतबाट १० वटा म्यानुअल भेन्डिङ मेसिन अर्डर गरे, जसमा सिक्का (क्वाइन) हालेपछि सजिलै प्याड निस्किन्थ्यो। बिजुली विना पनि चल्ने गरी डिजाइन गरिएका यी मेसिनहरू ग्रामीण तथा दुर्गम क्षेत्रका लागि निकै उपयोगी थिए। शुरुमा उनीहरूको सोच मेसिन मात्र बेच्ने थियो, तर नेपालमा महिनावारी बारे जागरणको कमी त थियो नै, सँगै उत्पादनको अभाव र महँगो मूल्यको समस्या पनि । यो देखेपछि उनीहरूले आफ्नो व्यापारिक मोडल नै परिवर्तन गरे।
प्याड टु गोले ‘सेफ्टी नेपाल’ सँग सहकार्य गरेर बजार मूल्यभन्दा सस्तो प्याड उपलब्ध गरायो। मेसिनमा नाफा नलिने गरी प्याड राखियो। विस्तारै यी मेसिनहरू स्कूल, अफिस, अस्पताल, बैंक, सिनेमा हल, होटल र जेलसम्म पुगे। शुरुमा १० वटा मेसिनबाट शुरु भएको यो अभियान अहिले सयौंको सङ्ख्यामा फैलिएको छ।
स्कूलमा मेसिन राखेपछि महिनावारीबारे खुला छलफल शुरु भयो। उनीहरूले मेसिनलाई ‘आइस ब्रेकर’ (संवाद शुरु गर्ने माध्यम) का रूपमा प्रयोग गरे। विद्यार्थीले मेसिन कसरी चल्छ भनेर सोध्थे, त्यसपछि त्यहींबाट महिनावारी, सरसफाइ र ‘डिस्पोजल’ को कुरा शुरु हुन्थ्यो।

छात्र र छात्रा दुवैलाई समेटेर गरिने यस्ता सेसनहरूले सांस्कृतिक र धार्मिक ‘ट्याबु’ तोड्न ठूलो मद्दत गर्यो। बाढी प्रभावित क्षेत्र र कोभिड महामारीका बेला पनि उनीहरूको यो अभियानले महिलाहरूलाई ठूलो राहत दिएको थियो।
नीतिगत लडाइँ: ‘रातो कर माफ गर’
भेन्डिङ मेसिनमा प्रयोग हुने प्याड सस्तो र सर्वसुलभ बनाउन उनीहरूले प्याडमा लाग्ने करबारे अध्ययन गरे। नेपालमा महिनावारीमा प्रयोग हुने सामग्रीलाई ‘विलासिताको वस्तु’ को सूचीमा राखेर १३ प्रतिशत कर लगाइएको देखेपछि उनीहरूले यसको विरुद्धमा लड्ने निधो गरे। जेसलिनाको कानूनी पृष्ठभूमिले यसमा ठूलो भूमिका खेल्यो।
सन् २०२० को लकडाउनमा उनीहरूले ‘रातो कर माफ गर’ (#RatoKarMaafGar) अभियान शुरु गरे। यो पैरवीमा सहयोग पुग्यो जेसलिनाको कानूनी पृष्ठभूमिले । सन् २०२० को लकडाउनमा साउथ एशियाली अनलाइन संवाद आयोजना गरे । भारत, माल्दिभ्स, भूटानले प्याडको ट्याक्स हटाइसकेका थिए ।
सन् २०२१ मा युवाहरूको नेतृत्वमा प्रदर्शन नै भयो । यो आन्दोलनले सरकारलाई दबाब दियो। निरन्तरको सडक प्रदर्शन, परामर्श र दबाबपछि सन् २०२२ मा सरकारले भन्सार कर त हटायो तर भ्याट बाँकी नै थियो।
यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो र अन्ततः सन् २०२५ मा अदालतले भ्याट समेत हटाउने ऐतिहासिक आदेश दियो। चार वर्ष लामो यो लडाइँले स्यानिटरी प्याडलाई ‘लक्जरी’ बाट ‘अत्यावश्यक सामग्री’ का रूपमा स्थापित गरिदियो।
अन्तर्राष्ट्रिय पहिचान र भविष्यको बाटो
‘प्याड टु गो’ एउटा एनजीओ होइन, यो एउटा सामाजिक उद्यम (सोसल इन्टरप्राइज) हो। यो अनुदानमा निर्भर नभई स्वतन्त्र रूपमा चल्छ र आफ्नो नाफाको १० प्रतिशत समाजमै फिर्ता गर्छ।
शुभांगी र जेसलिनाको यो अथक् परिश्रमलाई अन्तर्राष्ट्रिय जगतले पनि उच्च मूल्याङ्कन गरेको छ। प्रतिष्ठित म्यागजिन ‘फोर्ब्स’ ले उनीहरू दुवैलाई सन् २०२० को ‘थर्टी अन्डर थर्टी’ (३० वर्षमुनिका सफल सामाजिक उद्यमी) को सूचीमा समावेश गरेको थियो। यसका साथै उनीहरूले एमआईटी पीकेजी फेलोसिप, युनुस एन्ड युथ सामाजिक प्रभाव पुरस्कार लगायत थुप्रै अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्।
पोखरा र झापाका जेलहरूमा मेसिन राखेर कैदी महिलाहरूको स्वास्थ्य र सम्मान सुनिश्चित गर्नेदेखि स्कूलहरूमा छात्राहरूको उपस्थिति बढाउनेसम्मका काममा यो उद्यमले अमूल्य योगदान दिएको छ। सानो सुरुआतले पनि कति ठूलो नीतिगत र सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने कुराको जिउँदो प्रमाण हो- प्याड टु गो।
आफ्नो विशेषाधिकारलाई बुझेर समाजलाई केही दिन तत्पर यी दुई युवा महिलाले शुरु गरेको यो अभियान नेपालको महिनावारी स्वास्थ्यमा एउटा क्रान्तिकारी अध्याय बनेको छ ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी