+

नीति र न्याय अर्थात् नन्दाकुमारी 

१५०० रुपैयाँ तलबमा शुरु गरेको रेडियो पत्रकारिताले नन्दाकुमारी थापालाई बाजुराको दूरदराजका बस्तीसम्म चिनायो। समाजका अनेकौं लाञ्छना चिर्दै अब्बल पत्रकार बनेकी उनी अहिले बडिमालिका नगरपालिकाकी उपमेयरका रूपमा सीमान्तकृतको न्यायका लागि लडिरहेकी छिन्।
पूरा सूची
Shares
नन्दाकुमारी थापा

कुनै बेला बाजुरा र आसपासका गाउँहरूमा गुन्जिने रेडियो सेटहरूमा एउटा चिरपरिचित आवाज सुनिन्थ्यो। त्यो आवाजले दूरदराजका किसान, मजदुर र सीमान्तकृत वर्गका दुःख, पीडा र समस्याहरूलाई बुलन्द गर्थ्यो। रेडियोमा बोल्ने त्यो रहरले नन्दाकुमारी थापालाई बाजुरा जस्तो विकट जिल्लामा एउटी समक्ष पत्रकारका रूपमा मात्र स्थापित गरेन, त्यही पत्रकारिताको जगले आज उनलाई एउटा सक्षम र कुशल जनप्रतिनिधि (उपमेयर) को जिम्मेवारीमा पुर्‍याइदिएको छ।

त्यो बेला बाजुरामा पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता निकै पातलो थियो। जिल्लामा क्रियाशील पत्रकार महिलालाई औंलामा गन्न सकिन्थ्यो। नन्दाकुमारी माइक समातेर गाउँगाउँ पुग्दै गर्दा समाजले उनलाई सजिलै स्वीकारेको भने थिएन।

‘यो जान्ने-बुझ्ने भइसकेकी छे र ?’ भन्ने जस्ता अनेकौं प्रश्न र कुरा काट्नेहरूको भीडलाई छिचोल्दै अगाडि बढेकी नन्दाकुमारी अहिले बडिमालिका नगरपालिकाको उपमेयरको जिम्मेवारीमा छिन्।

दूध बेचेर हुर्किएको बाल्यकाल

२८ पुस २०४६ मा मार्तडी बजारमा बुवा खन्टे थापा र आमा नरू थापाको कोखबाट नन्दाकुमारीको जन्म भएको हो। सामान्य किसान परिवारमा जन्मिएर हुर्किएकी उनको बाल्यकाल मार्तडीमै बित्यो।

परिवारको आम्दानीको मुख्य स्रोत नै गाईभैंसीको दूध बिक्री गर्नु थियो। त्यसैले नन्दाकुमारीको दैनिकी बिहान गोठ, दिउँसो खेत र साँझ घरायसी काम गर्दै बित्थ्यो। सानै उमेरदेखि नजिकबाट सङ्घर्ष देखेकी र भोगेकी उनले कक्षा १ देखि १२ सम्म मार्तडीकै मालिका उच्च माध्यमिक विद्यालयमा अध्ययन गरिन्।

२०६३/६४ सालमा एसएलसी उत्तीर्ण गर्दा उनको हातमा प्रमाणपत्र मात्र थिएन, जिम्मेवारीको भारी पनि थियो। पढाइभन्दा धेरै समय उनले घरायसी काम र भाइबहिनीको हेरचाहमा लगाउनुपर्थ्यो। एकातिर भाइबहिनीलाई आफूभन्दा ठूलो मान्छे बनाउने रहर थियो भने अर्कोतिर आमाबुवाको सपना साकार पार्ने लक्ष्य। त्यही लक्ष्य बोकेर उनले नेपाली विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरिन्। 

१५०० को जागिर हुँदै समुदायकी सञ्चारकर्मी 

स्नातक पढ्दै गर्दादेखि नै नन्दाकुमारी रोजगारीको खोजीमा थिइन्। २०६७ सालमा उनले रेडियो बाजुरामा सञ्चारकर्मीका रूपमा काम गर्ने अवसर पाइन्। मासिक १५०० रुपैयाँ तलबमा उनले काम शुरु गरिन्।

रेडियोकर्मीका रूपमा पाउने त्यो रकम निकै सानो थियो, तर उनको सपनाको जग भने ठूलो थियो। त्यही पन्ध्र सय रुपैयाँ उनको पढाइ खर्च जुटाउने बलियो आधार बन्यो। समयसँगै उनको मिहिनेत र लगनशीलताले उचाइ लिंदै गयो। 

रेडियोमा कार्यक्रम उत्पादकदेखि कार्यक्रम प्रमुख र स्टेसन म्यानेजर हुँदै प्रबन्धकसम्मको जिम्मेवारी उनले सम्हालिन्। उनको अविच्छिन्न सङ्घर्षकै परिणाम सुरुआतको १५०० रुपैयाँ तलब बढेर ३४ हजार रुपैयाँसम्म पुग्यो।

महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका समस्यालाई आफ्नो कार्यसूचीको केन्द्रमा राखेर उनले काम गरिरहेकी छिन्।

बाजुरा जस्तो भौगोलिक रूपमा विकट ठाउँमा एउटी महिला पत्रकारका रूपमा स्थापित हुन सहज थिएन। उनी दैनिकजसो रेडियो कार्यक्रम मार्फत आम श्रोतासँग साक्षात्कार गर्थिन्। बाजुराबाटै रेडियोका अतिरिक्त राजधानी दैनिक, दृष्टि अनलाइन र देशभरका सामुदायिक रेडियोहरूको सञ्जाल ‘सामुदायिक सूचना नेटवर्क’ (सीआईएन) मा समेत उनले काम गर्ने अवसर पाइन्।

सञ्चारकर्मीका रूपमा दुर्गम बस्तीका सम्भावना र समस्या उजागर गर्न खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै सीआईएनले उनलाई देशभरबाट ‘अब्बल पत्रकार’ को सम्मान समेत प्रदान गरेको थियो। 

प्रश्न गर्न छाडेर उपमेयरको यात्रा

पत्रकारितासँगै राजनीतिक रुचि पनि राख्ने थापा नेकपा एमाले निकट प्रेस चौतारी नेपालको जिल्ला अध्यक्ष र नेपाल पत्रकार महासङ्घको जिल्ला सचिव थिइन्। बाजुराको गाउँगाउँ पुगेर बनाएको जनसम्पर्क, पत्रकारिताबाट कमाएको विश्वास र इमानदारीकै आधारमा एमालेले २०७९ सालको वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उनलाई उपमेयरको उम्मेदवार बनायो।

नन्दाकुमारीले प्रेस चौतारी र पत्रकार महासङ्घ दुवै पदबाट राजीनामा दिएर निर्वाचनमा प्रतिस्पर्धा गरिन्। नभन्दै बडिमालिका नगरपालिकावासीले उनको सङ्घर्ष र कुशलतालाई अनुमोदन गरे। 

थापाले ४ हजार २३३ मतसहित सानदार चुनाव जित्दा उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राधिकाकुमारी सिंहले ३ हजार ३५१ मत प्राप्त गरिन्। मतदाताले उनलाई प्रश्न गर्ने पत्रकारको भूमिकाबाट जवाफ दिने जनप्रतिनिधिको जिम्मेवारीमा पुर्‍याइदिए ।   

जनप्रतिनिधि बनेर सेवा गर्ने पृष्ठभूमि आफ्नो पत्रकारिता क्षेत्रको योगदान र समर्पणले नै तयार पारेको उनी बताउँछिन्। ‘पत्रकारिताले मेरो दृष्टि बदल्यो। म समस्या मात्र देख्ने होइन, संरचना बुझ्ने व्यक्ति बन्न सक्छु भन्ने आँट आयो’ उपमेयर थापा भन्छिन्, ‘पत्रकारितामार्फत उठाउने आवाजलाई नीतिगत शक्तिमा रूपान्तरण गर्न पाएँ भन्ने लागेकै कारण म राजनीतिमा आएकी हुँ।’

नीति र न्यायमा नन्दाकुमारीको छाप

उपप्रमुख भएपछि नन्दाकुमारी पदलाई प्रतिष्ठाका रूपमा नभई जिम्मेवारीका रूपमा लिएर काम गरिरहेको बताउँछिन् । उनी कार्यालयमा बस्नेभन्दा पनि जनताको घरदैलोमै पुगिरहेकी हुन्छिन् ।  

महिला जनप्रतिनिधिका रूपमा उनले इमानदारी र पारदर्शितालाई प्राथमिकतामा राखेकी छिन्। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका समस्यालाई आफ्नो कार्यसूचीको केन्द्रमा राखेर उनले काम गरिरहेकी छिन्।

नन्दाकुमारीकै नेतृत्वमा सुदूरपश्चिमका ८८ पालिकाहरूमध्ये बडिमालिका नगरपालिका लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्ने एक मात्र पालिका बनेको छ । यो उपलब्धिलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले समेत आफ्नो प्रतिवेदनमा उच्च मूल्याङ्कन गरेको छ।

न्यायिक समितिको संयोजकको हैसियतले उनले नगरभित्र थुप्रै नीतिगत सुधारका काम गरेकी छिन्। उनकै पहलमा बाजुरा जस्तो विकट क्षेत्रमा रहेका हानिकारक सामाजिक अभ्यासहरू (छाउपडी, बालविवाह आदि) मा कमी आएको छ र किशोरीहरूलाई शिक्षाको मूलधारमा जोडिएको छ। उनको नेतृत्वमा ‘हानिकारक अभ्यास उन्मूलन नीति’, ‘बालसंरक्षण कार्यविधि’ र ‘उपप्रमुखसँग छात्रवृत्ति वितरण कार्यविधि’ बनाएर कार्यान्वयनमा ल्याएकी छन् । 

महिला र किशोरीहरूमा सामूहिक रूपमा आफ्ना अधिकारका लागि बोल्न सकून् र निर्णय प्रक्रियामा सहभागी हुन सकून् भनेर क्षमता विकासलाई पनि उनले प्राथमिकतामा राखेर काम गरिरहेकी छन् । यहीक्रममा मानव विकास सूचकाङ्कमा ७७औं स्थानमा रहेको बाजुराको कठिन भूगोल र स्रोत-साधनको अभावका बीच ९ वटै वडाका टोल-टोलमा पुगेर जनताको आवाज सुन्नु उनको दिनचर्या बन्ने गरेको छ ।  

त्यसैगरी, हिंसा प्रभावित महिलालाई सुरक्षित राख्न अल्पकालीन आवास (सेफ हाउस) को भवन निर्माण सम्पन्न गरी कार्यविधि बनाएर सञ्चालनमा ल्याउने महत्त्वपूर्ण काम पनि उनकै पहलमा भएको छ। सीमान्तकृत वर्गका लागि योजना निर्माणदेखि अनुगमनसम्ममा उनले सक्रिय भूमिका निर्वाह गरिरहेकी छिन्। 

सुदूरपश्चिमको दुर्गम भूगोलमा बसेर नीतिगत सुधार र महिला अधिकारको क्षेत्रमा एउटा मानक स्थापित गर्ने उद्देश्यका साथ काम गरिरहेको नन्दाकुमारी बताउँछिन् ।  

पारिवारिक सन्तुलन र आगामी लक्ष्य

२०७० मङ्सिरमा विवाह बन्धनमा बाँधिएकी नन्दाकुमारी एक छोरी र एक छोराकी आमा हुन्। घर, परिवार र सार्वजनिक जिम्मेवारी बीच सन्तुलन मिलाउँदै उनी राजनीतिक जीवनमा अघि बढिरहेकी छिन्।

उपमेयरको जिम्मेवारीमा काम गर्दा उनले मेयरले गर्ने सबै काम नजिकबाट सिक्ने अवसर पाएकी छिन्। यो कार्य अनुभवले उनको आत्मविश्वास अझ बलियो बनाएको छ। अब उनको मनमा नयाँ हुटहुटी छ- आगामी निर्वाचनमा मेयरकै उम्मेदवार बनेर नगरपालिकाको नेतृत्व हाँक्ने।

दूध बिक्री गरेर गुजारा चलाउने किसान परिवारकी छोरीको पत्रकारिता हुँदै जनप्रतिनिधिसम्मको यो यात्रा सङ्घर्ष, साहस र सपनाको कथा हो। उनको जीवनयात्राले प्रमाणित गरेको छ- परिस्थिति जतिसुकै कठिन किन नहोस्, दृढ इच्छाशक्ति र इमानदारी भयो भने समाजका हरेक अवरोधलाई चिर्दै अगाडि बढ्न सकिन्छ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।