+

हवल्दार संगीताले अदालतलाई न्याय दिइन्

भदौ २४ गते दाङमा सरकारी कार्यालयहरू धमाधम जलिरहेका थिए। आगो र ढुङ्गा बोकेको आक्रोशित भीड जब जिल्ला अदालततर्फ अघि बढ्यो, तब प्रहरी हवल्दार सङ्गीता अधिकारी आफ्नै ज्यानको पर्वाह नगरी भीडको अगाडि उभिएर हात जोड्न थालिन्। उनको त्यही अदम्य साहसले एउटा न्यायालय खरानी हुनबाट जोगियो।
पूरा सूची
Shares
संगीता अधिकारी

फागुन मसान्तको मध्य दिउँसो। दाङ जिल्ला अदालतमा नियमित कामकाज भइरहेको थियो। वकिलदेखि न्यायाधीशसम्म न्यायको वकालत गर्दै थिए। पाँच वर्षअघि मात्र नयाँ भवनमा सरेको अदालत आफ्नै लयमा न्याय सम्पादन गर्दै थियो।

अदालतको त्यही परिसरमा सुरक्षामा तैनाथ थिइन्, प्रहरी हवल्दार सङ्गीता अधिकारी। सङ्गीता तिनै साहसी महिला प्रहरी हुन्, जसले भदौ २४ गते यही अदालतलाई खरानी हुनबाट जोगाएकी थिइन्।

देशभर सरकारी संरचनाहरूमाथि आगजनी र तोडफोड भइरहँदा, विध्वंसकारी भीडसामु एक्लै उभिएर सङ्गीताले आफ्नो जिम्मेवारी मात्र पूरा गरिनन्, सिङ्गो प्रहरी सङ्गठनकै शिर उँचो बनाइन्। उनको एउटा सुझबुझपूर्ण साहसले हजारौं न्यायका मिसिलहरू डढेर खरानी हुनबाट जोगिए।

गत फागुनको अन्तिम साता दाङ जिल्ला अदालतको त्यही परिसरमा अनलाइनखबर सँग कुरा गर्दै सङ्गीताले भदौ २४ गतेको त्यो कहालीलाग्दो घटना र आफ्नो प्रहरी जीवनका अनुभूतिहरू साटिन्।

क्रिकेट छाडेर खाकी बर्दीमा 

दाङको घोराही उपमहानगरपालिका-९, ढिकपुरमा जन्मिएकी हुन् सङ्गीता। स्वभावले उनी शान्त र शालीन छिन्। तर, थिचोमिचो र अन्याय नसहने, बोल्न नडराउने उनको अर्को जब्बर स्वभाव पनि छ। उनी सधैं ‘आफ्ना लागि होइन, अरूका लागि केही गर्नुपर्छ’ भन्ने सोच्थिन्।

हुर्कंदै जाँदा उनलाई सुरक्षा फौजप्रति गहिरो रुचि जाग्न थाल्यो। नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल- जहाँ भए पनि उनी फौजमा भर्ती हुन चाहन्थिन्। ’सुरक्षा फौजमा गए नागरिकको सुरक्षा गर्न पाइन्छ र देशको सेवा गर्ने मौका मिल्छ भन्ने लाग्थ्यो’, उनी भन्छिन्।

त्यसबाहेक उनी क्रिकेट पनि राम्रो खेल्थिन्। स्थानीय क्रिकेट क्लबको कप्तान रहेकी उनले क्षेत्रीय स्तरका खेलहरू समेत खेलिसकेकी थिइन्। तर, जसै उमेर बढ्दै गयो र जिन्दगीको बाटो रोज्नुपर्ने बेला आयो, उनले क्रिकेटको ब्याट छाडेर प्रहरीको खाकी बर्दी रोजिन्।

२०६९ सालमा बाबुलाई लिएर उनी प्रहरीमा भर्ना हुन फारम भर्न नेपालगञ्ज पुगेकी थिइन्। संयोग कस्तो भने, पहिलो प्रयासमै जम्मा १९ वर्षको उमेरमा उनी नेपाल प्रहरीमा प्रवेश गरिन्। ‘प्रहरीमा नाम निस्केको दिन मलाई संसार जिते जस्तो लागेको थियो। किनभने, त्यो मेरो लागि केवल जागिर थिएन, प्रहरी पोशाकमा सजिएर नागरिकको सेवा गर्ने मेरो सबैभन्दा ठूलो सपना थियो’, उनी मुस्कुराउँदै सुनाउँछिन् । 

नेपालगञ्जमा तालिम सकिएपछि उनको पोस्टिङ काठमाडौंमा भयो। १४ वर्षे प्रहरी सेवाको अन्तरालमा धेरैजसो समय उनले काठमाडौंमै बिताइन्। त्यस क्रममा उनी थुप्रै मूठभेड र दङ्गामा परिन्। आन्दोलनकारीको अघि उभिएर सुरक्षा पहरा दिइन्। तर, दुई वर्षअघि दाङ जिल्ला अदालतमा पोस्टिङ भएकी सङ्गीताले भदौ २४ गते जे भोगिन्, त्यस्तो अघिल्ला १४ वर्षमा कहिल्यै भोगेकी थिइनन्। एक हिसाबले भन्ने हो भने, त्यो दिन उनको प्रहरी जीवनकै सबैभन्दा ठूलो अग्निपरीक्षा थियो।

त्यो कहालीलाग्दो भदौ २४ 

सुशासनको माग राख्दै सडकमा आएका जेनजी किशोर–किशोरीमाथि भदौ २३ गते भएको घटनाको आक्रोशले अर्को दिन (भदौ २४ गते) देशभरका सडकहरू तातिए। काठमाडौंमा युवाहरूको ठूलो भीड तोडफोड र आगजनीमा उत्रियो। संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार लगायत महत्त्वपूर्ण संरचनाहरूमा आगो लगाइयो। एक किसिमले देश नै जलिरहेको थियो।

त्यसको बाछिटा दाङमा पनि पर्‍यो। भदौ २४ गते बिहानैदेखि दाङका सडकमा पनि युवाहरूको ठूलो भीड उत्रियो। मालपोत, वडा कार्यालय, जिल्ला समन्वय समिति र घोराही उपमहानगरपालिका जस्ता सार्वजनिक भवनहरूमा तोडफोड र आगजनी भयो।

भीड पूर्ण रूपमा अनियन्त्रित थियो, जे पनि गर्न सक्थ्यो। ५-६ जनाको प्रहरी टोलीले त्यो विशाल भीडलाई बल प्रयोग गरेर रोक्न सक्ने अवस्था नै थिएन।

त्यस दिन सङ्गीता सहित ५ जनाको प्रहरी टोली (२ महिला र ३ पुरुष) अदालत परिसरको सुरक्षामा खटिएको थियो। बिहान घरमा खाना बनाउँदै गर्दा कमान्डरको फोन आएपछि सङ्गीता पाक्दै गरेको खाना छाडेर भोकै अदालत पुगेकी थिइन्।

दिउँसो करिब २ बजे। घोराहीका सरकारी संरचनामा आगजनी गर्दै हिंडेको उत्तेजित भीड दाङ जिल्ला अदालततर्फ अघि बढ्यो। केही घण्टाअघि मात्रै त्यही भीडले अदालत छेउकै जिल्ला समन्वय समितिको कार्यालयमा आगजनी गरेको थियो, जहाँबाट धुवाँको मुस्लो अझै उडिरहेको थियो।

त्यसको केहीबेरमै त्यो भीड अदालतको दक्षिणतर्फ रहेको मुख्य गेटबाट भित्र छिर्‍यो। हुर्रिंदै आएको भीड देखेर अदालतमा तैनाथ अरू प्रहरीहरू पछाडि हटे। किनभने, भीडको हातमा ढुङ्गामुढा मात्र थिएन, अघि भर्खरै अन्य प्रहरीबाट खोसिएका बन्दुक समेत थिए। त्यसमाथि भीड पूर्ण रूपमा अनियन्त्रित थियो, जे पनि गर्न सक्थ्यो। ५-६ जनाको प्रहरी टोलीले त्यो विशाल भीडलाई बल प्रयोग गरेर रोक्न सक्ने अवस्था नै थिएन।

आगो बोकेको भीडसँग एक्ली सङ्गीताको संवाद 

जसै भीड अदालत जलाउन अघि बढ्यो, सङ्गीता एक्लै आन्दोलनकारीतर्फ अघि सरिन्। पछाडिबाट प्रहरी साथीहरूले उनलाई रोक्दै भने, ‘अगाडि नजाऊ, जे पनि हुन सक्छ। जीवनभन्दा ठूलो केही छैन। तिम्रा त बच्चा पनि साना छन्।’

संयोग कस्तो भने, त्यस दिन सङ्गीताका १० र ७ वर्षकी छोरी र ३ वर्षको छोरा पनि अदालत परिसरमै थिए। सामाजिक सञ्जालमा प्रहरीमाथि कुटपिट भएको भिडियो देखेपछि आमाको चिन्ताले उनीहरू त्यहाँ आएका थिए। भीड अघि बढ्दा बच्चाहरू अत्तालिएर रुन थाले।

तर, सङ्गीता रोकिइनन्। उनलाई आफ्नो र बच्चाहरूको भन्दा बढी चिन्ता अदालतको थियो। ‘देशको सुरक्षा गर्न भनेर हामी प्रहरीमा आएका हौं। जस्तोसुकै अवस्थामा भए पनि हामीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ’, सङ्गीता भन्छिन्।

उनी एक्लै अघि बढेर भीडलाई सम्झाउन थालिन्। हात जोड्दै अदालत नजलाउन आग्रह गरिन्। ‘यो हामी सबैलाई चाहिने ठाउँ हो, हाम्रै सम्पत्ति हो। जनताको करबाटै बनेको हो’ सङ्गीताले भीडलाई सम्झाउँदै भनिन्, ‘भाइ बिन्ती छ, यसलाई नजलाउनुस्। अदालत जलाए घाटा हामीलाई नै हुने हो।’

तर भीड सजिलै मान्नेवाला थिएन। केही युवाहरू उनीसँग प्रतिवादमा उत्रिए। पछाडिबाट कोही उत्तेजित हुँदै कराइरहेको थियो- ‘विद्यार्थी मार्न पाइँदैन, नछोड् नछोड् !’

सङ्गीता अलिकति पनि डगमगाइनन्। ‘तपाईंहरूले अदालत जलाइदिनुभयो भने न्याय मर्छ। मिसिल जले भने पीडितले न्याय पाउँदैनन् र निर्दोषहरू फस्छन्’, उनी हात जोडेर बिन्ती गरिरहिन्।

धेरैबेरसम्म उनले भीडलाई यसैगरी सम्झाइरहिन्। किनभने, त्यहाँ बल प्रयोग गर्नु आत्मघाती हुन्थ्यो र नजिकैको प्रहरी कार्यालयबाट थप जनशक्ति आउन सक्ने अवस्था पनि थिएन। ‘हामीले जनशक्ति मागेका थियौं, तर उताबाट कोही आउन सक्ने अवस्था थिएन। केही उपाय नलागेपछि म आफैं अघि सरें। त्यतिबेला मैले केवल आफ्नो कर्तव्य सम्झिएँ’, उनी भन्छिन्।

लामो समयको अनुनयविनय र सम्झाइबुझाइपछि भीड केही थामथामु भयो। केहीले उनको कुरा बुझेजस्तो गरी शान्त भए र थप तोडफोड नगर्न भने। अन्ततः सङ्गीताको त्यो एक्लो र साहसिक प्रयासले आन्दोलनकारीहरू पछाडि हटे। यसरी एउटा सिङ्गो अदालत खरानी हुनबाट जोगियो।

बढुवा, सम्मान र एउटा गुनासो 

आन्दोलनकारीसामु हात जोडेर अदालत नजलाउन बिन्ती गरिरहेको सङ्गीताको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। उनको सुझबुझपूर्ण साहसले धेरैको मन छोयो।

सिङ्गो प्रहरीको साख बढाएको भन्दै तत्कालीन प्रहरी महानिरीक्षकले उनलाई फोन गरेरै धन्यवाद दिए। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दाङ पुगेरै उनको साहसको सम्मान गरिन् भने हालै मात्र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि उनलाई सम्मान गरेका छन्। 

प्रशंसा मात्र होइन, उनले जिम्मेवारी साहसिकपूर्वक निभाएको भन्दै ‘सहायक हवल्दार’ बाट ‘हवल्दार’ पदमा विशेष बढुवा समेत पाइन्।

सङ्गीतालाई भने अदालत जोगाउन सकेकोमा सबैभन्दा धेरै खुसी लाग्छ। ‘अदालत जलेको भए हजारौं मिसिलहरू जल्ने थिए। मिसिलले नै दोषी र निर्दोष छुट्याउँछ। निर्दोषलाई बचाउने र दोषीलाई सजाय दिने प्रमाण नै जलेपछि न्याय कसरी जिउँदो रहन्थ्यो र ?’ उनी गम्भीर प्रश्न गर्छिन्।

आज उनी सिङ्गो देशको धन्यवाद र प्रशंसाकी पात्र बनेकी छिन्। तर, उनलाई लाग्छ- उनले त केवल आफ्नो ड्युटी (जिम्मेवारी) पूरा गरेकी हुन्। ‘बन्दुकभन्दा ठूलो तागत बोलीमा हुँदोरहेछ। बल प्रयोग गरेको भए परिस्थिति झन् भयावह हुन सक्थ्यो’, उनी भन्छिन्।

तर, सङ्गीताको मनमा एउटा गहिरो गुनासो पनि छ। ‘हामी दिनरात, भोकप्यास नभनी नागरिकको सुरक्षामा खटिन्छौं। जस्तोसुकै जोखिममा पनि होमिन तयार हुन्छौं। तर पनि प्रहरीलाई सधैं गाली मात्र गरिन्छ’ उनी दु:खेसो पोख्छिन्, ‘प्रहरीमा सबै मान्छे खराब हुँदैनन् नि !’

कुरा गर्दागर्दै उनले अदालत परिसरमै ड्युटी गरिरहेकी अर्की महिला प्रहरीतर्फ इसारा गर्दै भनिन्, ‘उहाँ पाँच महिनाकी गर्भवती हुनुहुन्छ। तैपनि आफ्नो जिम्मेवारी सम्झेर ड्युटी गरिरहनुभएको छ। प्रहरी सङ्गठनभित्र यस्ता मान्छे पनि त छन् नि !’

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।