नेपाली डायस्पोरा जोड्ने ग्रेट लेडी
न्यूयोर्कमा बस्ने प्रीति पाण्डे अधिकारी एक उद्यमी र सामाजिक अभियन्ता हुन्, जसले विश्वभर छरिएका नेपाली प्रतिभाहरूलाई जोड्न महत्वपूर्ण भूमिका खेलेकी छन् । उनले सन् २०२३ मा स्थापना गरेको गैरनाफामूलक अभियान ‘द ग्रेट नेपाली डायस्पोरा’ ले संसारभर उत्कृष्ट काम गरिरहेका हजारौं नेपाली प्रोफेसनललाई जोडेको छ । स्थापनाको तीन वर्षमै द ग्रेट नेपाली डायस्पोराका ५० वटा च्याप्टर र ८ वटा उद्योग- विशिष्ट हबहरू मार्फत १० हजारभन्दा बढी नेपाली प्रतिभाहरूलाई एकैठाउँमा ल्याएको छ ।
प्रीति पाण्डे अधिकारी मैतीदेवीमा जन्मिन्, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कूलबाट विद्यालय शिक्षा आर्जन गरिन्, अमेरिका र क्यानडाबाट उच्च शिक्षा प्राप्त गरिन् । हुर्काइ र पढाइमा उनले आम नेपाली निम्न र मध्यम वर्गले जस्तो ठूलो अभाव सामना गर्नुपरेन । तर, आफ्नो २० वर्षभन्दा लामो करिअरमा विश्वका विभिन्न देशमा बस्दा उनलाई सधैं एउटा हुटहुटीले सताइरह्यो- विश्वभर छरिएका नेपालीको सीप, क्षमता र नेटवर्कलाई कसरी नेपालको हितमा लगाउन सकिन्छ ? त्यही हुटहुटीले जन्माएको अभियान हो, ‘द ग्रेट नेपाली डायस्पोरा’ अर्थात् ‘महान् नेपाली प्रवासी ।’
मैतीदेवीको रैथाने पाण्डे परिवारमा उनको जन्म भयो । बुवाआमाबाट तीन सन्तान जन्मिए, तीनैजना छोरीहरु । अहिले पनि समाजमा छोराको रहर गर्ने चलन छ, त्यसबेला नहुने कुरै भएन । तर, उनका तीन दिदीबहिनीलाई बुबाआमाले कहिल्यै पनि छोरी भएकोमा विभेद भएको महसुस हुन दिएनन् । ‘उहाँहरूको त्यो साथले भविष्यका हरेक मोडमा मेरो आत्मविश्वास निकै बढायो’, उनी भन्छिन् ।
विद्यालय शिक्षा सेन्ट मेरिजमा पढेपछि ओ र ए लेभल भने उनले बूढानीलकण्ठ स्कूलबाट आर्जन गरिन् । पाण्डे परिवारमा जन्मेकाले हुनुपर्छ, उनलाई सानोमा सेनाको डाक्टर बन्ने रहर थियो र त्यही अनुसार उनले पढेकी पनि थिइन् ।
तर, ओ लेभल पढ्दै गर्दा उनलाई यस्तो अनुभव आयो- त्यो क्षेत्र मेरा लागि होइन कि ? त्यसो हुँदा एमबीबीएस पढ्ने कलेज खोज्दाखोज्दै त्यसलाई बीचमै छाडिन् र अमेरिकामा स्नातक पढ्नका लागि आवेदन दिन थालिन् । नभन्दै युनिभर्सिटी अफ टेनेसीमा अर्थशास्त्रमा उनले भर्ना पाइन्, सर्वोत्कृष्ट अंकका साथ पास गरिन् ।

त्यसपछि उनी नेपाल फर्केर विवाह गरिन् र नेपाल इन्भेस्टमेन्ट बैंकमा काम गर्न थालिन् । पाँच वर्ष त्यहाँ काम गरेपछि एमबीए पढ्न उनी क्यानडाको युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया (भ्यानकुभर)मा गइन् । फाइनान्स र स्ट्राटेजीमा एमबीए गरेकी पढाइकै क्रममा ६ महिना सिंगापुरमा एक्सचेन्ज प्रोग्रामका लागि गइन् । तर, श्रीमान् पनि त्यहीं काम गर्ने हुनाले ५ वर्षसम्म त्यहीं बसेर काम गरिन् । त्यहाँ अमेरिकन स्टार्टअपको सिंगापुर कार्यालयमा काम गर्न मौका पाएपछि उनमा स्टार्टअप प्रति रुचि बढ्दै गयो ।
सिंगापुरबाट सन् २०१४ मा परिवारसहित उनी नेपाल फर्किन्, केही वर्ष बस्ने योजनासहित । तर, सन् २०१५ मा भूकम्प गएपछि उनी अमेरिका गइन् । न्यूयोर्कमा उनले फ्युज मेसिन्स मार्केटिङ एन्ड अपरेसनको भाइस प्रसिडेन्टका रूपमा साढे ३ वर्ष काम गरिन् । नेपाली मूलका समीर मास्केले स्थापना गरेको आईटी स्टार्टअप फ्युज मेसिन्स हालै अमेरिकाको स्टक एक्सचेञ्ज नासड्याकमा सूचीकृत भएको छ । यो नेपाल बाहिर कुनै पनि मुलुकमा सूचीकृत नेपाली मूलका व्यवसायीले स्थापना गरेको पहिलो कम्पनी हो ।
त्यसबीचमा उनलाई लाग्यो, करिअरलाई अर्को लेभलमा पुर्याउन आवश्यक छ । त्यसपछि विश्वकै प्रतिष्ठित येल स्कूल अफ म्यानेजमेन्टमा उनी एड्भान्स डिग्रीका लागि भर्ना भइन् । त्यही बेला कोभिड-१९ को महामारीले संसारलाई छोप्यो । नेपालमा उनकी आमालाई कोभिडका कारण तीन साता अस्पतालमा राख्नुपर्यो । डाक्टरहरुले आशा नै मारिसकेका थिए, तर सौभाग्यवश उनी निको भइन् ।
त्यसपछि उनलाई लाग्यो, ‘जीवनको कुनै ग्यारेन्टी रहेनछ । समाजमा प्रभाव पार्ने केही न केही काम त तत्कालै गर्नुपर्ने रहेछ, अवकाश पाएपछि त्यस्तो काम गरौंला भनेर बस्नु नहुने रहेछ ।’ किनभने उनले न्युयोर्कमा कोभिडको भयावह रूप देखिसकेकी थिइन् ।
त्यतिबेला उनले स्ट्यान्फोर्ड र येलका प्रोफेसरहरूसँग मिलेर एउटा ‘मास्क प्रोजेक्ट’मा काम गर्ने अवसर पाइन् । त्यो परियोजनाअन्तर्गत १० करोड मान्छेलाई मास्क वितरण गरिएको थियो । त्यो प्रोजेक्टका लागि नेपाल र दक्षिण एशिया क्षेत्रको जिम्मेवारी अधिकारीको काँधमा थियो । भारत, पाकिस्तान, बंगलादेशलगायत मुलुकमा काम गर्दा उनको अनुभव के रह्यो भने खासगरी नेपालमा सानो कामको पनि सबैले जस लिन खोज्ने, काममा दोहोरोपन हुनेलगायत समस्या रहेछ ।
‘हरेक विपत्तिमा डायस्पोराबाट प्रशस्त पैसा संकलन हुन्छ, त्यो देशमा पठाइन्छ तर त्यो पैसा कहाँ जान्छ, कसरी सदुपयोग वा दुरुपयोग हुन्छ, भन्ने कुनै ट्र्याक हुँदैन। हामी चीन-भारतको कुरा त गर्छौं तर नेपालीहरूमा कार्यकुशलताको कमी तथा पूर्वाग्रह हुने देखियो’, उनी भन्छिन् ।
अर्को कुरा येल जस्तो प्रतिष्ठित विश्वविद्यालयमा पढ्दा उनले थाहा पाइन्, त्यहाँका पूर्वविद्यार्थी (एलमुनाई)को सञ्जाल एकदमै बलियो हुने रहेछ । उनले येल एलमुनाईको न्युयोर्क च्याप्टरको बोर्डमा बसेर पनि काम गरिन् । ‘येलको पूर्वविद्यार्थी कुनै ठूलो कम्पनीको सीईओ भएको रहेछ भने पनि त्यो विद्यालयको विद्यार्थीले ऊसँग सजिलै पहुँच पाउँछ । तर, नेपालीहरूमा भने एकले अर्कालाई सहयोग गर्ने बानी कम देखियो’, उनको अनुभव छ ।
त्यसपछि उनले सन् २०२२ तिर लिंक्डइन भन्ने सामाजिक सञ्जालमा यसबारे प्रश्न सोध्न थालिन्, ‘नेपालीहरू किन एकअर्कालाई काममा सहयोग गर्दैनन्, केही कुरा गर्यो भने अर्काले आइडिया चोर्छन् कि भनेर किन डराउँछन् ?’
त्यसमा हजारौं मान्छेले रेस्पोन्स गरे । तीमध्ये धेरैले, आफूहरुमा पनि त्यस्तो प्रश्न पटकपटक आउने गरेको बताए । अनि धेरै प्रोफेसनल नेपालीहरुले एकअर्कालाई सहयोग गर्दा खुसी हुने गरेको कुरा पनि बताए । अनि जन्मियो, ‘द ग्रेट नेपाली डायस्पोरा’ ।
त्यसरी संसारभरका नेपालीहरुले सकारात्मक प्रतिक्रिया दिएपछि उनी निकै उत्साहित भइन् । ‘मलाई लाग्यो- यो सकारात्मक ऊर्जालाई एउटा आकार दिनुपर्छ । त्यसपछि मैले आफ्नो जागिर छोडेर समुदाय बनाउन थालें ।’
नेपालीहरू भेट्दा वा संस्थामा बस्दा रमाइलो गर्छन्, खाना खान्छन्, तर कामको कुरा गर्दैनन् भन्ने आम बुझाइ छ । ‘त्यसो हुँदा नेपाली संस्था सँगै दालभात खान वा शुद्ध नेपाली बोल्न मात्र होइन, नेपाललाई माया गरेर केही प्रभावकारी काम गर्न पनि बनाउनुपर्छ भन्ने मलाई लाग्यो’, उनी भन्छिन् ।
अनि ५ अगस्ट, २०२२ मा द ग्रेट नेपाली डायस्पोराको जन्म भयो । विदेशमा पनि नेपालीहरुको संस्थाहरु राजनीति, जातजाति क्षेत्रलगायतका आधारमा बन्ने गरेका छन् । त्यसभन्दा माथि उठेर नेपालका लागि देखिने काम गर्ने गरी नेपाली प्रोफेसनलहरूको एउटा आर्मी बनाउने उद्देश्यले उनले मानिसहरुलाई संगठित गरिन् । ‘धेरै नेपाली प्रोफेसनलहरू पुराना संस्थाहरूको किचकिच र राजनीतिबाट वाक्क भएर आफ्नो नेपाली पहिचानबाट टाढा भइरहेका थिए । हामीले उनीहरूलाई एउटा प्रोफेसनल स्पेस दियौं’, उनी भन्छिन् ।
त्यसरी एउटा लुज नेटवर्कका रूपमा शुरु गरेको संस्थाको विस्तार यति छिटो भयो कि, अहिले संसारभर ५० भन्दा बढी च्याप्टरहरू छन् । सबैभन्दा बढी च्याप्टर अमेरिकामा नै छन्, तर युरोप, अष्ट्रेलिया, दुबई लगायत मध्यपूर्वका देशलगायत धेरै ठाउँमा यसको उपस्थिति छ । ती देशहरुमा मासिक कार्यक्रमहरु हुन्छन्, नेपालमा प्रभावकारी काम गरिरहेका छन् ।
विदेशमा बस्ने नेपालीहरुका गैरआवासीय नेपाली संघलगायत अनेक संस्था छन् । तर, अधिकारीले चार वर्षअघि मात्रै शुरु गरेको यो संस्था यति चाँडै किन यति आकर्षणको केन्द्र भयो त ?
अधिकारी भन्छिन्, ‘किनभने यो प्रोफेसनलहरुको नेटवर्क हो, हामी काम गर्छौं, यो संस्थाका माध्यमबाट धेरैले रोजगारी पाएका छन् । इन्टर्नसिपको अवसर पाएका छन् । स्टार्टअपहरूले मेन्टरसिप पाएका छन्, लगानी जुटाउने अवसर पाएका छन्’, उनी भन्छिन् ।

संस्थाले संसारभर रहेका नेपाली ‘रोल मोडेल’हरूलाई शोकेस गर्ने गरेको छ । उनीहरुको योगदानलाई नेपाली र डायस्पोरामाझ उजागर गर्ने गरेको छ ।
त्यति मात्रै होइन, विदेशमा रहेका नेपालीहरुलाई कसरी व्यावसायिक हुने, कोही नेपाली कुनै ठाउँमा छ भने कसरी सम्पर्क गर्ने, कसरी समयको रेस्पेक्ट गर्ने जस्ता व्यावसायिक सीप सिकाउने काम पनि यसले गर्ने गरेको उनी बताउँछिन् ।
इभेन्टहरूमा करिब १० हजार मानिसहरु सहभागी भइसकेको उनी बताउँछिन् । विभिन्न देशमा स्वयंसेवी रूपमा नेपालीहरुले यसका च्याप्टर बनाउँछन् । संस्थाले शुरुमा केही सहयोग र पूर्वाधार दिने गरेको छ । ‘नेटवर्किङ कार्यक्रमहरुमा अपरिचित मानिसहरु आउँछन् र साथी बनेर फर्कन्छन्, त्यसरी बनेको नेटवर्कबाट उनीहरुले एकअर्कालाई सहयोग पुर्याइरहेका हुन्छन्’, उनी भन्छिन् ।
यसले गर्ने कामहरु मुख्य चारवटा छन् :
पहिलो- नीति वकालत (पोलिसी एड्भोकेसी)- हालै संस्थाले नेपालको उड्डयन सुरक्षाका बारेमा ‘पिक अफ नेपाल’ सँग मिलेर नेपालका मन्त्रालयहरूमा अध्ययन प्रतिवेदन बुझाएको छ । दीर्घकालीन विपद् तयारीका लागि पनि संस्थागत नीतिगत सुझाव दिने काम गरेको थियो । साथै, निर्वाचनअघि डायस्पोरा भोटिङको वकालतमा पनि काम गरेको थियो ।
दोस्रो- उद्यमशीलता । उद्यमशीलता प्रवर्द्धनका लागि संस्थाले बजार पहुँच, लगानी जुटाउने (फन्डिङ) र मेन्टरसिपमा काम गर्छ । ‘हामीले एउटा भर्चुअल इन्कुबेटर पनि चलायौं, त्यहाँबाट ग्र्याजुयट भएका कम्पनीले मिलियन डलरभन्दा बढी लगानी जुटाइसकेका छन्’, उनले भनिन् ।
तेस्रो- नेटवर्किङ र मेन्टरसिपः संस्थाले भौतिक रूपमा (इन-पर्सन नेटवर्किङ) र अनलाइन मेन्टरसिपको अवसर प्रदान गर्ने गरेको छ ।
चौथो- डायस्पोरा म्यापिङ सर्भेः अहिले नेपाली डायस्पोराको आकार कत्रो छ, कस्ता कस्ता मानिसहरु छन्, के काम गरिरहेका छन् भन्ने यथार्थ डेटाबेस छैन । त्यो बनाउनका लागि अहिले संस्थाले सर्भेक्षण गरिरहेको अधिकारी बताउँछिन् । यो कामका लागि बेलायत र स्वीस दूतावासले सहयोग गरिरहेको उनले जानकारी दिइन् ।

अहिले जुन आकार र प्रभावको संस्था बनेको छ- स्थापना गर्दा यस्तो होला भन्ने सोचेकी थिइन् त ?
उनी उत्तर दिन्छिन्, ‘मेरो कल्पनाभन्दा बाहिरको कुरा भएको छ । अहिले संस्थालाई अमेरिकाको विदेश मन्त्रालय, दूतावासहरु तथा रिसर्च इन्स्टिच्युसनहरूबाट भ्यालिडेसन प्राप्त भएको छ’ उनी भन्छिन्, ‘मौरिसस, श्रीलंका, बंगलादेश जस्ता देशहरूले पनि डायस्पोरा म्यापिङमा हामीसँग सल्लाह लिने गरेका छन् ।’
संस्था स्थापना गर्दा पहिलो पाइलाका रूपमा विभाजित डायस्पोरालाई जोड्ने (कनेक्टिङ द फ्र्यागमेन्टेड डायस्पोरा) लिइएको उनी बताउँछिन् । दोस्रो पाइला चाहिं- नेपालसँग सार्थक सम्बन्ध बनाउनु (मेकिङ मिनिङफुल कनेक्सन टु नेपाल) हो’, उनी भन्छिन् ।
यो संस्थालाई अघि बढाउने क्रममा उनले अत्यन्तै प्रतिभावान् र सफल नेपालीहरु जोडिएका छन् । ‘क्यालिफोर्नियामा बस्ने पूर्ण सुवेदीले बनाएको चिप मार्स रोभर (मंगल ग्रहमा अहिले पनि सक्रिय अन्तरिक्षयान) मा छ । डा. सुमन खतिवडाको स्टार्टअप अर्ब डलरको हुने क्रममा छ । हाम्रो नेटवर्कमा भएका १५ जनाजति नेपालीका स्टार्टअपहरुमध्ये हरेकले १० करोड डलरभन्दा बढी लगानी जुटाएका छन्’, उनी भन्छिन् ।
उनी प्रविधि, बैंकिङ र गैर-नाफामूलक क्षेत्रमा झण्डै २० वर्षको अनुभव बोकेकी नेतृत्वदायी व्यक्तित्व हुन् । उनी मोमो भीसी नामक भेन्चर क्यापिटल फण्डकी जनरल पार्टनर पनि हुन् । यस फण्डले विशेषगरी पछाडि परेका र विविध पृष्ठभूमिका संस्थापकहरूलाई लगानी र मेन्टरसिप प्रदान गर्दछ ।
नेपालीपन देखाउने नाम भएकाले उनले ‘मोमो भीसी’ राखेकी हुन् । स्टार्टअपहरूमा पैसा मात्र होइन, मेन्टरसिपको पनि खाँचो हुने भएकाले त्यो आवश्यकता पूरा गर्ने उद्देश्यले यो भेन्चर क्यापिटल खोलेको उनी बताउँछन् । पहिलो चरणमा यसले २२ लाख अमेरिकी डलरको फन्ड बनाएको छ । ‘हामी स्टार्टअपहरूलाई डोमेन एक्सपर्टसँग जोडिदिन्छौं ।
एउटा कम्पनीले क्यान्सर भ्याक्सिन बनाउँदैछ भने त्यसमा हामीले नेपाली अन्कोलोजिस्टहरूसँग सल्लाह लिएर मात्र लगानी गर्छौं’, उनी भन्छिन् । अहिलेसम्म यसले ५ वटा कम्पनीमा लगानी गरिसकेको उनको भनाइ छ । दोस्रो चरणमा ठूलो आकारको फन्ड बनाउने गरी काम गरिरहेको उनको भनाइ छ, जसमा नेपाली र नेपाललाई पनि जोड्ने योजना छ ।

यस सँगसँगै एम्पावर्ड वुमेन नामक अभियान पनि उनले शुरु गरेकी छन्, जसले विश्वभरका नेपाली महिलाहरूलाई एकआपसमा जोड्न र उनीहरूको उपलब्धिलाई प्रवर्द्धन गर्ने काम गर्दछ ।
एउटा नेपाली महिलाले यति ठूलो नेटवर्क बनाउन कत्तिको सजिलो भयो ? वार्ताको अन्त्यतिर हामीले सोध्यौं ।
अधिकारी केही समय गम खाइन् र भनिन्, ‘सजिलो पक्कै थिएन । तर, सानोमा बुवाआमाले छोराछोरीमा विभेद नगरी दिएको अवसरले आत्मविश्वास सधैं बढायो । यो धेरैका लागि प्रेरणादायी बनेको छ । एउटी नेपाली केटीले संसारभरका नेपालीलाई जोड्ने हजारौंको नेटवर्क बनाएको देख्दा धेरैले गर्व गर्छन् ।’
संस्थाका स्वयंसेवीहरुमध्ये ५० प्रतिशतभन्दा बढी महिला रहेको पनि उनी सगर्व सुनाउँछिन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी