+

समीक्षा अधिकारीको डिजिटल प्रतिरोध

१३ वर्षको कलिलो उमेरमै रेकर्डिङ स्टुडियो छिरेकी समीक्षा अधिकारीले जति छिटो सफलताको शिखर चुमिन्, त्यति नै छिटो समाजका कठोर प्रहारहरू पनि सहनुपर्‍यो। तर, जीवनको सबैभन्दा कठिन आँधीबेहरीमा पनि रत्तिभर विचलित नभई उभिएकी उनी आज नेपाली सुगम सङ्गीतकी एक सशक्त र व्यस्त गायिका हुन्।
पूरा सूची
Shares
समीक्षा अधिकारी

काठमाडौंको कुनै एउटा रेकर्डिङ स्टुडियो। रातो जम्पर, नाकमा फुली र कानमा कुन्डल लगाएकी एउटी गाउँले किशोरी पहिलो पटक त्यहाँ छिर्दै थिइन्। लामो यात्रा गरेर काठमाडौं आइपुगेकी उनलाई विश्राम गर्नुभन्दा बढी हतारो स्टुडियोभित्र छिर्नुमै थियो।

भित्र छिर्दा उनी अलि बढी नै दङ्ग र फुरुङ्ग थिइन्। आखिर उनी आफ्नै सपना मूर्त भइरहेको क्षणकी साक्षी आफैं बन्दै थिइन्। त्यसअघि कहिल्यै पनि रेकर्डिङका ठूला उपकरण र सामग्रीहरूले भरिएको स्टुडियो नदेखेकी ती किशोरी एकैचोटि फिल्मको गीत रेकर्ड गर्न त्यहाँ उभिएकी थिइन्।

त्यतिबेला उनको उमेर भर्खर १३ वर्ष मात्र थियो। ती किशोरी अरू कोही नभएर आजकी चर्चित गायिका समीक्षा अधिकारी थिइन्।

कक्षाकोठाको त्यो गीत र ‘बालापनको उमेर’

समीक्षाको यो साङ्गीतिक यात्राको सुरुआत एउटा संयोगबाट भएको थियो। फिल्म ‘छक्कापञ्जा’ को सुटिङ गर्न छायाँकार पुरुषोत्तम प्रधान सहितको टोली समीक्षाकै गाउँ कास्कीको लाहाचोक पुगेको थियो। टोलीले समीक्षा पढ्ने विद्यालयमै सुटिङ राख्यो।

त्यसैबेला पुरुषोत्तम प्रधानले समीक्षाको गायकी सुने। समीक्षाको स्वर बिल्कुलै प्राकृतिक थियो, कुनै बनिबनाउ कृत्रिमता थिएन। प्रधानले कक्षाकोठामा उभ्याएर समीक्षालाई गीत गाउन लगाए, त्यसलाई रेकर्ड गरे र युट्युबमा अपलोड गरिदिए।

त्यसको केही समयपछि फिल्म ‘नाइँ नभन्नु ल ५’ को निर्माण पक्ष तयारीमा जुटिरहेको थियो। फिल्मको कथा बालकलाकारकै वरिपरि घुम्ने भएकाले एउटा गीतका लागि बाल स्वरकै खोजी भइरहेको थियो। मिल्ने स्वर खोज्दै जाँदा सङ्गीतकार वसन्त सापकोटाको कानमा उनै समीक्षाको स्वर पर्‍यो।

त्यसपछि वसन्त सापकोटाकै विशेष निर्देशनमा समीक्षा काठमाडौं आइन् र आफ्नो जीवनकै पहिलो गीत ‘बालापनको उमेर’ रेकर्ड गराइन्।

विद्यालयमा मोबाइल जफत हुँदाको त्यो क्षण

आफ्नो पहिलो गीत रेकर्ड गराएर उनी गाउँ फर्किइन्। गीत युट्युबमा रिलिज भयो। आफ्नै स्वरको त्यो गीत सुन्न उनी निकै आतुर थिइन्। तर, घरमा इन्टरनेट थिएन। वाईफाई विद्यालयमा मात्र थियो।

गीत सुन्ने हुटहुटीले समीक्षाले आँट गरेरै विद्यालयको आचारसंहिता तोडिन् र लुकाएर मोबाइल स्कूल लगिन्। तर, विद्यालयमा मोबाइल ल्याएको सूचना शिक्षकले पाइहाले। साथीसँग धारामा पानी खान गएको बखत शिक्षकले समीक्षालाई रङ्गेहात पक्रे। 

समीक्षाले भौतिक सजाय त पाइन् नै, केही दिनका लागि उनको मोबाइल पनि जफत भयो। आज यो घटना सम्झिंदा उनलाई निकै रमाइलो लाग्छ।

भाइरल यात्रा र ‘सिङ्गर बन्ने एम’

यी घटनाक्रमको केही समयपछि सोही ठाउँका सिडी विजय अधिकारी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को विजेता बने। उनको जितपछि गाउँमा मिडियाकर्मीहरूको बाक्लो उपस्थिति हुन थाल्यो।

त्यसैबेला मिडियाको नजरमा समीक्षा पनि परिन्। त्यसपछि त समीक्षाको अन्तर्वार्ता लिन गाउँघरमा युट्युबर र पत्रकारहरूको लाइन नै लाग्न थाल्यो। समीक्षाले गाउँमा के गर्छिन् ? उनको साथीसङ्गत कस्तो छ ? दैनिकी कसरी बित्छ ? यस्ता भिडियोहरू छ्यापछ्याप्ती आउन थाले। एक अर्थमा समीक्षा रातारात भाइरल भइन्।

शायद समीक्षाले निकै कम उमेरमै जीवनको सबैभन्दा महत्त्वपूर्ण पाठ सिकिसकेकी छिन् । त्यसैले त आज उनमा न सफलताको कुनै उन्माद छ, न त दुःखको गहिरो बिस्मात।

त्यतिबेला धेरैले ‘भविष्यमा के बन्ने ?’ भनेर प्रश्न गर्दा समीक्षा निर्धक्क भन्थिन्, ‘सिङ्गर, मेरो एम नै हो।’ 

गाउँले लवज, अलिकति लज्जा र मिठास सहित उनले त्यसो भनिरहँदा उनी औपचारिक रूपमै गायिका भइसकेकी थिइन्। जबकि, उनले सङ्गीतको औपचारिक शिक्षा कतैबाट लिएकी थिइनन्।

सफलता, समाजसँगको जुधाइ र पुनरागमन

त्यो समययता आजसम्म आइपुग्दा समीक्षा अधिकारी नेपाली साङ्गीतिक क्षेत्रमा सबैभन्दा धेरै खोजिने र सुनिने नाम बनेको छ। उनले हजारभन्दा बढी गीत गाइसकेकी छिन् भने साङ्गीतिक प्रस्तुतिका लागि देश-विदेशका दर्जनौं मञ्चहरू पुगिसकेकी छिन्।

तर, जति छिटो उनले सफलताको सिंढी चढिन्, त्यति नै छिटो उनले जीवनको सबैभन्दा कालो र नराम्रो समयसँग पनि लड्नुपर्‍यो। एक अर्थमा भन्दा, करिअर शुरु गर्न समीक्षाले खासै दुःख गर्नु परेन, तर त्यही सफलतालाई जोगाउन र टिकाइराख्न भने उनले समाजसँग निकै कठोर सङ्घर्ष गर्नुपर्‍यो।

निकै कम उमेरमै उनले आफ्नो जीवनको चरम उन्नति पनि देखिन् र अवनतिको गहिरो खाडल पनि भोगिन्। तर, यो आँधीबेहरी बीच उनी रत्तिभर हलचल भइनन्, डगमगाइनन्। बरु, आफूलाई भित्रैबाट झन् बलियो र परिपक्व बनाउँदै लगिन्।

डिजिटल प्रतिरोध  

समीक्षाको अस्त्र अब मौनता र सहनशीलता मात्र रहेन। पछिल्लो समय उनले सामाजिक सञ्जालमा हुने ‘साइबर बुलिङ’ र दुर्व्यवहार विरुद्ध डिजिटल प्रतिरोधको साहसिक अभियान नै छेडेकी छिन्। गायिका एलिना चौहानसँग मिलेर आफ्नो निजी जीवन र विगतमाथि लाञ्छना लगाउने परपीडकहरूको आइडी नै सार्वजनिक गर्दै उनले कडा प्रतिकार गर्न थालेकी हुन्। 

जस्तो कुरालाई पनि सराप्ने र गाली गर्ने प्रवृत्तिबाट समाजलाई विवेकतर्फ फर्काउन समीक्षाले चालेको यो कदमलाई अहिले राज्यको उच्च तहदेखि अभिनेता दीपकराज गिरी लगायतका कलाकर्मी र आम नागरिकले समेत दरिलो साथ दिए। सहेर बस्नुभन्दा गलत कुराको डटेर सामना गर्नुपर्छ भन्ने सन्देश दिंदै समीक्षा आज साङ्गीतिक मञ्चकी मात्र होइन, न्याय र आत्मसम्मानकी समेत एउटी बलियो ‘आइकन’ बनेकी छिन्।

यद्यपि, अब समीक्षा त्यो कठिन समयबारे धेरै खुल्न चाहन्नन्, सकेसम्म त्यसलाई बिर्सन चाहन्छिन्। बरु, उनी केवल गाइरहन चाहन्छिन्। आफ्नो कर्ममा लीन हुन चाहन्छिन्। यदि कथंकदाचित यो क्षेत्रले आफूलाई केही पनि दिएन भने गाउँमै फर्केर सामान्य जीवन चलाउन सक्ने सामर्थ्य र साहस पनि उनीसँग छ।

शायद समीक्षाले निकै कम उमेरमै जीवनको सबैभन्दा महत्त्वपूर्ण पाठ सिकिसकेकी छिन् । त्यसैले त आज उनमा न सफलताको कुनै उन्माद छ, न त दुःखको गहिरो बिस्मात। 

बस्, उनी अब जे होस्, जस्तो होस् वा जहाँ पुगियोस्- गाउँमै हुर्किएकी त्यही निश्चल, मधुर र शालीन समीक्षा बनिरहन चाहन्छिन्, जसको स्वरमा हिजो जति प्राकृतिक मिठास थियो, आज पनि उत्तिकै छ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।