News Summary
Generated by OK AI. Editorially reviewed.- रातो मत्स्येन्द्रनाथको रथ तानेर ललितपुरको लगनखेल पुर्याइएको छ।
- रथपूजाका लागि लगनखेलमा भक्तजनहरूको ठूलो भिड लागेको थियो।
- रथयात्राले वर्षा र सहकालको देवता मत्स्येन्द्रनाथको धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउँछ।
१५ वैशाख, काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ तानेर ललितपुरको लगनखेल पुर्याइएको छ ।
ललितपुरको विभिन्न भाग घुमाउँदै रथलाई तानेर मंगलबार लगनखेल पुर्याइएको हो ।
रातो मत्स्येन्द्रनाथ रथयात्राको एक महत्त्वपूर्ण चरण मानिने ‘रथ पूजा’ का लागि लगनखेलमा बिहानैदेखि भक्तजनहरूको ठूलो भिड लागेको थियो ।
रथमा पूजाअर्चना गरी मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । जसका कारण उपत्यकाका विभिन्न क्षेत्रबाट सर्वसाधारण भक्तजनहरू लगनखेलमा जम्मा भएका थिए । रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालको देवताको रूपमा पुजिन्छ । 
नेपाल उपत्यकाको जीवन्त संस्कृतिमा मत्स्येन्द्रनाथको रथयात्राको स्थान निकै उच्च छ ।
किंवदन्ती अनुसार परापूर्व कालमा कान्तिपुरमा भीषण खडेरी परी जनताले निकै कष्ट भोग्नुपरेको थियो । त्यसबेला भक्तपुरका राजा नरेन्द्रदेव र कान्तिपुरका तान्त्रिक वन्धुदत्तले भारतको कामरूप कामाख्याबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याएका थिए । उनको आगमनसँगै काठमाडौं उपत्यकामा पर्याप्त वर्षा भएको र खडेरी हटेको विश्वास रही आएको छ । त्यसैले, उनको रथयात्रालाई ‘वर्षा र सहकालको पर्व’ का रूपमा मनाइन्छ ।
लगनखेलमा हुने रथ पूजाको ऐतिहासिक र सांस्कृतिक महत्त्व छुट्टै छ । यहाँ रथ पुग्दा हुने पूजा र यहाँको चार नारायण मन्दिरसँगको परम्परागत सम्बन्धले नेपालको प्राचीन संस्कृति र धार्मिक सद्भावलाई झल्काउँछ ।

यो उत्सव केवल धार्मिक समारोह मात्र नभई ललितपुरवासीहरूका लागि सामाजिक एकताको प्रतीक पनि बनेको छ ।
सोमबार राति लगनखेलमा रातो मत्स्येन्द्रनाथलाई राँगा, बोका, हाँसको अण्डाको बली दिइएको थियो ।





प्रतिक्रिया 4