+
+
Shares

गुगलद्वारा ‘जेमिनी ३.५ फ्ल्यास’ सहितको नयाँ सर्च इन्जिन र एआई एजेन्ट ‘स्पार्क’ सार्वजनिक

अब प्रयोगकर्ताले सूचना खोज्नका लागि धेरै ‘गुगल’ गरिरहनु नपरोस् भन्ने उद्देश्यका साथ गुगलले आफ्नो सर्च इन्जिनलाई आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टको रूपमा रूपान्तरण गरेको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते २०:०२

अब प्रयोगकर्ताले सूचना खोज्नका लागि धेरै ‘गुगल’ गरिरहनु नपरोस् भन्ने उद्देश्यका साथ गुगलले आफ्नो सर्च इन्जिनलाई आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टको रूपमा रूपान्तरण गरेको छ।

गुगलको वार्षिक सम्मेलनमा कम्पनीले जेमिनी एआई, सर्च इन्जिन र अन्य सेवाहरूमा गेम-चेन्जिङ एआई सुविधाहरू थप गरेको घोषणा गरेको हो।यो नयाँ प्रविधिले बजारमा वर्चस्व कायम गरिरहेका एन्थ्रोपिक र ओपनएआई जस्ता प्रतिस्पर्धीहरूलाई कडा टक्कर दिने अनुमान गरिएको छ।

बितेका २५ वर्षमा गुगलको सर्च बारमा गरिएको यो सबैभन्दा ठुलो परिवर्तन हो। नयाँ सर्च बक्सले प्रयोगकर्ताका लागि एउटा छुट्टै एआई एजेन्टको रूपमा काम गर्नेछ। कम्पनीको सबैभन्दा तीव्र गतिको ‘जेमिनी ३.५ फ्ल्यास’ मोडलद्वारा संचालित यो नयाँ सर्च बारले लामो र कुराकानी शैलीका (कन्वर्सेशनल) प्रश्नहरू सजिलै बुझ्न सक्छ।

यसको मद्दतले प्रयोगकर्ताले ब्याकग्राउन्डमा २४सै घण्टा काम गर्ने ‘इन्फर्मेसन एजेन्ट’ हरू बनाउन सक्छन्।

उदाहरणका लागि, यदि तपाईँले ‘मेरो मनपर्ने एथलिटले नयाँ जुत्ता सार्वजनिक गर्दा मलाई जानकारी दिनू’ भनी कमान्ड दिनुभयो भने, गुगलको एआईले इन्टरनेटका विभिन्न ब्लग, समाचार र सामाजिक सञ्जालहरू आफैँ खोजेर अपडेट दिनेछ।

यसका साथै, सर्च इन्जिनले प्रयोगकर्ताको लोकेसन र मौसमको जानकारीलाई मिलाएर अन द फ्लाई नै कस्टम फिटनेस ट्र्याकर वा मिनी-एप्स समेत कोड गरेर बनाइदिन सक्छ।

जेमिनी ‘स्पार्क’ र एन्ड्रोइड हेलो 

गुगलले जेमिनी एआई भित्र ‘स्पार्क’ नामक एउटा नयाँ मोड थपेको छ । जसले प्रयोगकर्ताको कमान्ड बिना नै ‘अटोनोमस्ली’  लामो समयसम्म काम गर्न सक्छ। यो फिचरले क्रेडिट कार्डको स्टेटमेन्ट वा इमेल इनबक्सहरू लगातार निगरानी गरेर महत्त्वपूर्ण अपडेटहरूको सारांश वा गर्नुपर्ने कामको सूची तयार पारिदिन्छ।

स्पार्कले गुगल डक्स, जिमेल र स्न्यापसटहरू जस्ता विभिन्न एपहरू बीच डाटाहरू एकीकृत गर्न सक्छ। यो फिचर म्याक कम्प्युटरहरूमा पनि उपलब्ध गराइनेछ, जसले लोकल फाइलहरूसँग सजिलै काम गर्न सकोस्।

ल्यापटप बन्द हुँदा वा फोन लक भएको अवस्थामा पनि यो एआई एजेन्ट ब्याकग्राउन्डमा सक्रिय रहन्छ, जसलाई प्रयोगकर्ताले आफ्नो फोनको माथिल्लो भागमा रहने ‘एन्ड्रोइड हेलो’ नामक नयाँ भिजुअल इन्डिकेटरमार्फत ट्र्याक गर्न सक्छन्। यो फिचर सिलिकन भ्यालीमा तहल्का मच्चाइरहेको ओपनक्ला को सीधा जवाफ मानिएको छ।

एजीआई तर्फको यात्रा र चुनौती

गुगलले यी एआई एजेन्टहरूलाई आफ्नो बृहत् लक्ष्य अर्थात् ‘आर्टिफिसियल जनरल इन्टेलिजेन्स’ सम्म पुग्ने माध्यम बनाएको छ । जहाँ एआईले मानव सरह जुनसुकै विषयमा निर्णय लिन सक्छ। गुगल डिपमाइन्डका चिफ एआई आर्किटेक्ट कोराय काभुककुओग्लुका अनुसार हालका एआई मोडलहरू समयका हिसाबले केही ‘स्ट्याटिक’ छन् । तर भविष्यमा एआई आफैँले आफ्नो बुद्धिमत्ता अपडेट गर्न सक्ने गरी काम भइरहेको छ।

गुगलको डिपमाइन्ड ल्याब र यसको विशाल क्लाउड पूर्वाधार कम्पनीको सबैभन्दा ठुलो हतियार भए तापनि व्यावसायिक बजारमा भने गुगल अझै पछि नै छ। हालैको तथ्याङ्क अनुसार अमेरिकामा सशुल्क व्यावसायिक एआई सब्स्क्रिप्सनमा एन्थ्रोपिकको हिस्सा ३४.४% र ओपनएआईको ३२.३% हुँदा गुगलको हिस्सा मात्र ४.५% रहेको छ।

यद्यपि, गुगलका सिइओ सुन्दर पिचाईका अनुसार जेमिनीका हाल ९० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता भइसकेका छन् र कम्पनीले यसै वर्ष एआई पूर्वाधार तथा चिप्स निर्माणका लागि करिब १८० देखि १९० अर्ब डलर खर्च गर्ने योजना बनाएको छ। प्रविधिमा भइरहेको यो विकासले एकातिर रोजगारी र सुरक्षामा चिन्ता बढाए पनि गुगलले प्रयोगकर्तालाई नवीन अनुभव दिनका लागि आफ्ना मोडलहरूलाई परिमार्जन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?